अनुभुति: कोरियामा कोरोना परिक्षण

3329

कुरा १ मार्चको हो, दक्षिण कोरियाको सउलमा झम-झमपानी परिरहेको थियो र बाहिरको तापक्रम ५ डिग्रीको आसपास थियो। चिसो कफी र चिसो दहीको पारखी म, सदाझैं त्यो दिन पनि मैले सामान्यतया झैँ चिसो दहि खाए। खाएको केहि घण्टामै घाँटी खसखस गर्दै थियो। साधारण हो भन्ठानेर सुत्ने बेला सँधै झैं तातो पानी पिएर सुतें।

अनुसन्धान प्रयोगशालामा काम गर्ने म, अर्को दिनबाट पुन: आफ्नो काममा गएँ। घाँटीको खस-खस उस्तै थियो, तर मेरो ध्यान भने मेरो अनुप्रयोग को शोधपत्र लेख्नुमै थियो, त्यसैले दिन कटेको र खोकी (सुख्खा) सुरु भएको यादै भएनछ। संगै काम गर्ने नेपाली साथीले पो निकै खोक्न थाल्नुभयो, सन्चो छैन कि कसो भनेपछि पो अनुभव भयो। घाँटी निकै दुख्न थालिसकेको रहेछ त्यसैले बाँकी काम थाती राखेर छिट्टै घर निस्किए। निस्किदै गर्दा सँगै काम गर्ने चिनियाँ साथीले होस् गर्नु है, कोरोना होला भन्दा पो डर लाग्यो र हतार हतार घर गएर नुन पानीले कुल्ला गरेर सुतें।

हुन त, न म बाहिर टाढा गएको थिए, न त भिडभाडमा नै, कोरोना त के होला र भन्ने दिमागमा लागे पनि, यो मनले मानेन। अनि त के चाहियो र, अचेलका युवा जस्तै म पनि कम्प्युटर खोलेर “गूगल काका” लाई सोध्न थाले। अघि पछि जे स्वास्थ्य समस्या भए पनि क्यान्सरसम्म पुर्याउने गूगल काकाले अचेल चै कोरोनामा पुर्याउँदा रहेछन्। अनि त जे स्वास्थ्य समस्या परे पनि गूगल हेरेर आफैलाई डाक्टर जत्तिकै मानेरउपचार खोज्ने जमातको प्रतिनिधि ममा डर झनै थपियो।

 

चीन र कोरियामा सरकारले गरेर मात्र यो भाइरस नियन्त्रणमा आएको हैन। जनताले पनि आ-आफ्नो कर्तव्य निभाउनुपर्छ।

मनमा हजारौं शंकारूपी ज्वारभाटाहरु दौडिन थाले। त्यहि भएर होला, अब हिजो गएको मार्टमा पो कोरोना संक्रमित थिए कि,अस्ति कफीशपमा कफी बनाउने भाई खोक्दै थियो, उसलाई पो लागेर पनि थाहा नभएको हो कि, भेटेका साथीभाईदेखि बाटोमा नजिकैबाट कटेका पैदलयात्रुसम्म सबै शंकाको घेरामा पर्न थाले। यस्तै सोच्दा-सोच्दै अनि खोक्दा-खोक्दै बिहान भैसकेको पत्तै भएन। बिहान सम्मपनि खोकी ठिक नभएपछी मैले आफ्नो प्रोफेसरलाई खबर गर्ने निधो गरें। उहाँले नजिकैको औषधी पसलमा मास्क लगाएर गएर औषधी ल्याएर खानु अनि घरमै आराम गर्नु भन्नुभयो। मैले त्यसै गरे र ३/४ दिनसम्म हेरें। घाँटी दुखाईमा केहि सुधार देखिए पनि पनि खोकी भने कम भएको थिएन। ज्वरो चाहिं नआएता पनि भाइरसको डरले होला, प्रत्येक घण्टामा आफ्नो तापक्रम नाप्ने त बानी नै परिसकेको थियो। मनोभ्रमले हो कि कि साच्चै हो, कता-कता छाती पनि दुखेको जस्तो अनुभूति हुन थालेको थियो। कोरियन औषधीले यो गाउँले शरीरलाई छोएन भन्दै जीरा पानी, ज्वानो पानी, बेसार पानी अनि हुँदा-हुँदा चिनियाँ घरेलु औषधी भनिने कोकमा अदुवा र कागती उमालेर पनि नपिएको भने हैन, तर कुनै औषधीले पनि पार लागेन। कुनै उपायले काम नगरेपछि मनमा कोरोना नै हो भन्ने शंका झन् बढ्दै गयो, साथ-साथै ल्याबका अन्य साथीहरूमा पनि कोरोना भए सबैलाई जोखिम भयो भन्ने तनाव पनि बढ्न थाल्यो। यहाँ  प्रोफेसर नै हाम्रो मुख्य अभिभावक हुनुभएकोले हरेक दिन बिहानीपख वहाँलाई अघिल्लो दिनको अवस्थाबारे जानकारी गराउने गरेको थिए। मलाई साधारण औषधीले ठिक नगरेपछि  प्रोफेसरले १३३९ (कोरियाको कोरोना भाइरस कल सेन्टर) मा कल गर्न सुझाव दिनुभयो। त्यहाँबाट प्रतिउत्तरमा मलाई एकपटक CDC (रोग नियन्त्रण महाशाखा) को वेबसाइटमा राखिएको संक्रमित व्यक्तिहरुको गतिविधि र उनीहरु पुगेको समय र स्थानहरु (activitymap) हेरी म ती स्थान/समयमा भए नभएको यकिन गर्न लगाइयो।

कल गरेपछि ज्वरो नआएकोले र संक्रमितको सम्पर्कमा नपरेको हुनाले कोरोना नै हो भन्ने सम्भावना कम रहेको तर अन्य लक्षणहरुलाई भने वेवास्था गर्नुहुन्न भन्ने निस्कर्ष निस्कियो। उनीहरुले तुरुन्तै मेरो नाम/ठेगाना तथा यहाँको एलियन कार्ड (विदेशी नागरिक परिचयपत्र) नम्बर आदि मागे। त्यो कल राख्नासाथ मलाई नजिकैको अस्पतालको ईमरजेन्सीमा जानुहोस् भनेर म बसेको जिल्लाको स्वास्थ्य केन्द्रबाट कल आयो। उनीहरुले मलाई अस्पतालजान आफै सक्ने वा एम्बुलेन्स पठाउनु पर्ने बारेमा पनि सोधी-खोजी गरे। म खोकी लागेको र हल्का छाती दुखेको जस्तो मात्र भएकोले म आफै आउँछु भनेर भने पश्चात मास्क लगाएर सार्वजनिक साधन प्रयोग नगरी आउनु भनि निर्देशन दिए। र सोही अनुसार म अस्पतालको ईमरजेन्सीमा गएँ।

कोरियाको स्वास्थ्य सेवाको अवस्था

म ईमरजेन्सीको ढोकामा गए, तर मलाई भित्र त्यत्तिकै प्रवेश दिईएन। त्यहाँ भएको स्पिकरमा मलाई सुरुमा सेनिटाइजरले हात सफा गर्न निर्देशन आयो, अनि त्यहाँ रहेको माइक्रोफोनबाट कुरा गर्नु भनियो। अन्य बेला बाटोबाटै ह्वील चेयर वा बेड लिई ढोका बाहिरै बिरामी लिन आउने ठाउँमा ढोका नै बन्द गरी म बाट टाढा बसेको देख्दा, मलाई अछूत व्यवहार गरेजस्तो आभास नभएको भने हैन, तर म लगायत त्यहाँ भएका स्वास्थ्यकर्मी र बिरामीको सुरक्षाको लागि त्यो एकदम जरुरी थियो। त्यहाँ करिब १५/२० वटा मेरो बिगत दुई हप्ताको गतिविधि र भेटेका सम्पूर्ण साथीहरुको अवस्था बारेमा प्रश्न सोधियो। मैले म झन्डै १ हप्ताबाट सेल्फ आइसोलेसनमा रहेको र त्यो भन्दा अगाडि भेटेका नेपालीहरु सबै स्वस्थ रहेको जानकारी गराए पश्चात प्रोटेक्टिभ सुट (PPE) मा एकजना नर्स बाहिर निस्केर मेरो तापक्रम चेक गरी एकछिन पर्खनु भनेर फेरी ढोका लगाएर गइन्। एकछिन पछी नजिकै रहेको सानो ढोकाबाट मलाई अर्कै एउटा सानो कोठामा लगियो।

झ्याल नभएको तर वातानुकुलित, अट्याच बाथरुम सहितको त्यो सानो करिब ६ फिट चौडाई x १० फिट लम्बाई भएको कोठा देखेर एकछिन छक्क परें। एउटा बेड, सानो टेबल, अनि ICU मा जतिको सबै सुविधा भएको त्यो कोठा देख्दा कोरिया सरकारको तयारी आंकलन गर्न सकिने थियो। मनमनै हाम्रो देशमा यसको १०% मात्रको व्यवस्था पो छ कि छैन भन्ने ठूलो पिर पनि लागेर आयो। त्यहाँ गएपछि पालै-पालो गरी PPE लागएका विभिन्न डाक्टर/नर्सका टोली त्यहाँ आए। पहिलो टोलीले मेरो ब्लड प्रेसर नाप्नुका साथै मेरो सम्पूर्ण लक्षणहरु, कहिलेबाट सुरु भयो, कता कता दुख्छ, के के हुन्छ सबै विवरण संकलन गरे। लगत्तै अर्को टोली आएर रगतको नमुना संकलन गरी मलाई स्लाइन दियो। मलाई यो कुनै सिनेमामा ठूला-ठूला नेताको उपचारमा डाक्टरहरु पुगेको जस्तो भान परिरहेको थियो। मेरो देशमा यस्तो सेवा पाउने दिन कहिले आउला भनेर मन अमिलो नि भइरहेको थियो। त्यतिकैमा X-ray र ECG गर्नुपर्छ भनेर मलाइ जानकारी गराइयो। केहि महिना अघि एकजना साथीलाई यहि अस्पतालको  ईमरजेन्सीमा ल्याउँदा X-ray गर्न अर्को ब्लकमा ह्वील चेयरमा राखेर लागेको याद ताजै थियो, त्यसैले म बिस्तारै बेडबाट खुट्टा झार्दै थिए, तर अकस्मात ढोका खुल्यो र त्यो ठूलो X-ray मेसिन मलाई राखिएको कोठाभित्र कार्टमा राखेर ल्याइयो। यो देखेर चाहिं कोरियाको स्वास्थ्य सेवा यसै विश्वमा कहलिएको रहेनछ भन्ने कुरा बुझ्न पाएँ। मेरो सम्पूर्ण टेस्टहरु त्यसरी नै त्यहि कोठामा उपकरण ल्याएर गरियो।  मेरो सबै रिपोर्ट आयो र X-ray, ब्लड टेस्ट मा केहि पनि देखिएन रे त्यसैले अब कोरोनाको परीक्षण गर्नुपर्ने कुराको जानकारी आयो।

कोरोना परिक्षण

पुन: एकपटक एकजना डाक्टर PPE मा त्यो कोठामा आए। उनले हातमा चपस्टिक जत्रो लामो प्लास्टिकको रड लिएर आएका थिए। त्यो चपस्टिक जत्रो लामो रड जसको एकातिर वरिपरी टेस्ट-ट्युब सफा गर्ने जस्तो ब्रस थियो, त्यो मेरो नाकबाट भित्र हालेर त्यहाँबाट स्वाब निकालियो। त्यत्रो रड नाक भित्र जाँदा त एकछिन असह्य पीडा भयो, त्यो पीडा २/३ घण्टासम्म रह्यो। त्यसैगरी अर्को रड घाँटीबाट भित्र हालेर त्यहाँबाट स्वाब निकालियो। त्यसको केहि बेरपछि एउटा टोली आयो जसले मेरो विगत १४ दिनको हरेक दिनको गतिविधिहरु टिपोट गर्यो। साथसाथै मेरो क्रेडिट कार्ड र फोन नम्बरबाट मेरो सम्पूर्ण गतिविधि समय र स्थान दुरुस्तै सुचिकृत गरियो। यदि मेरो रिपोर्ट पोजिटिभ आएमा मसँग सम्बन्धित सबैलाई तुरुन्त खबर गर्न र मेरो गतिविधि वेबसाइटमा राख्न विवरण संकलन गरिएको रहेछ।

करिव त्यो दिनभरको बसाई पश्चात एक झोला औषधी सहित मलाई घरमा गइ आइसोलेसनमा बस्न अनुरोध गरियो। मेरो अवस्था सामान्य रहेको र कोरोना टेस्टको नतिजा भोलिपल्ट मात्र आउने भएकोले अन्य जटिल बिरामीलाई कोठा खाली राख्न त्यसो गरिएको थियो। त्यो दिनभर म अस्पतालमा बस्दा, म त्यो कोठा भन्दा बाहिर जानै परेन, न नै मैले अन्य कुनै बिरामी नै भेट्न पाए जसले गर्दा अस्पतालबाट संक्रमण फैलिने सम्भवना नै रहेन। निस्किनु अघि पुन: एकपटक, म आफै जान सक्ने नसक्ने सोधियो साथै घरमा खानेकुरा भए नभएको पनि जानकारी मागियो। खाने कुरा नभएको अवस्थामा सरकारको तर्फबाट ढोकामै खानेकुरा पठाइदिने व्यवस्था रहेछ।

जिन्दगीकै लामो रात

अस्पतालबाट आएर खाना खाए अनि सधै झैँ घरमा कल गरे। घरमा आमा बाबाको अनुहारमा पनि पीडा स्पष्ट झल्किएको थियो।  बाहिर जति नै ढुक्क भएपनि भित्र मनमा डर भने लागिरह्यो। कुन बेला भोली हुन्छ र रिपोर्ट आउँछ भनेर घडी बारम्बार हेर्दै,कोल्टे फेर्दै, नसुती त्यो रात गयो। घरमा आमा/बाबा पनि सुत्न सक्नु भएनछ। बिहान ९ बजेतिर अस्पतालबाट मेसेज आयो। तपाईको कोरोना परीक्षणको रिपोर्ट “नेगेटिभ” आयो। यो खबरले मेरो परिवारमा मात्र नभई म काम गर्ने संस्थाका सबैलाई ठूलो खुशी दियो। जहिले पनि सकारात्मक (पोजिटिभ) हुनुपर्छ भन्ने मलाई जिन्दगीमा पहिलो पटक “नेगेटिभ” कुराले ठूलो राहत गरायो।

तत्पश्चात पनि हरेक दिन मलाई अस्पतालबाट मेरो स्थिति ३ दिनसम्म फोन कल गरी निगरानीमा राखियो। मलाई पुन: एकपटक परीक्षणको लागि अस्पतालमा बोलाइयो। ३ दिनमा औषधीले मेरो खोकी ठिक भैसकेको थियो, छाती दुख्ने चै अलि-अलि बाँकी थियो। अस्पतालमा यसपटक भने मलाई कोरोना क्याम्पमा चेक गर्न पठाइयो, त्यहाँ फेरी सबै समस्या सोधखोज गरियो र डाक्टरसंग भेट्न एउटा कोठा मा लगियो। कन्टेनरमा बनाइएको सानो फोनबुथ जस्तो त्यो वातानुकुलित र सफा कोठा हरेकपटक बिरामी निस्किएपछि कीटाणुरहित पारिँदो रहेछ। फोन बुथजस्तो कोठाको एकातिर डाक्टर बसेका थिए भने अर्कातिर बिरामी बस्ने ठाउँ थियो। सिसाको झ्यालबाट हेरेर, त्यहाँ राखिएको फोनबाट कुराकानी गर्नुपर्ने व्यवस्था रहेछ। रिपोर्ट सबै राम्रो भएको र सुधार भएकोले अरु ३/४ दिन औषधी खाएमा ठिक हुन्छ भनी मलाई बिदा गरियो। औषधी पसलमा पनि संक्रमण नहोस् भनेर म लगायत सम्पूर्ण रुघा/खोकीका बिरामीलाई बाहिरबाट बेल बजाएर बाहिर नै औषधी ल्याइदिने व्यवस्था रहेछ। मलाई यो भाइरस विरुद्धको लड़ाईमा स्वास्थ्यकर्मीको सुरक्षाको लागि प्रयोग गरिएको यो व्यवस्था हाम्रो देशमा पनि धेरै उपयुक्त हुन्छ जस्तो लाग्यो। सानो खर्च र छोटो समयमा सीसाको झ्याल भएको सानो गाउँको घुम्ती पसलजस्तो कोठा बनाई त्यतिको व्यवस्था सबैतिर गर्न सकिन्छ।

३/४ दिन पुन: औषधी खाइसकेपछी अहिले म स्वस्थ छु र काममा आउन थालिसके। यो रोग लागेपनि, नलागेपनि यसको आफ्नै चोटभन्दा बढी स-साना लक्षण देखिंदा पर्ने मानसिक तनाव पेचिलो र चोटिलो हुँदोरहेछ। मैले यहाँ धेरै जना रोग ठिक भएर फर्किएका मान्छे देखेको छु, त्यसैले यो रोगसँग डराउने भन्दा पनि सचेत रहनु धेरै जरुरी छ। सामान्य लक्षणहरुको तुरुन्त उपचार गरिहालौं जसले गर्दा ठूलो मानसिक तनाव भोग्नुनपरोस् र अहिलेको अवस्थामा ज्वरोलाई चाहिं कदापि साधारण नमानौं। हाम्रो देश नेपालको स्वास्थ्य सेवा यतिको अत्याधुनिक नहोला। मलाई लाग्छ हामी जनताले नियममा बसेर सरसफाईमा ध्यान दिने हो भने हाम्रो देशलाई यो रोगले ठूलो असर गर्दैन। अनावश्यक श्रोत र साधन प्रयोग नगरौ। सरकार र स्वास्थ्यकर्मीलाई सहयोग गरौ। चीन र कोरियामा सरकारले गरेर मात्र यो भाइरस नियन्त्रणमा आएको हैन। जनताले पनि आ-आफ्नो कर्तव्य निभाउनुपर्छ।

भगवानको कृपाले यो भाइरस मेरो शरीरमा नलागे पनि यो दुई हप्तामा भोगेको तनाव जीवनभर मनमा रहनेछ। अन्ततः विगतका केहि हप्तामा मैले अनुभव गरेका र सिकेका कुराहरुलाई संक्षेपमा तल उल्लेख गरेको छु।

नेपाल होस् वा अन्य कुनै देश, social distancing र सेल्फ आइसोलेशन  धेरै महत्वपूर्ण छ। म बिरामी भएको बेला म भिडभाडमा गएको भए, मबाट अरु संक्रमित नभएपनि अरुबाट म सजिलै संक्रमित हुन सक्थे। एकदम आवश्यक नभएसम्म बाहिर ननिस्किनुहोस्।

बाहिरबाट आएपछि, खानु अघि/पछि, शौचालय गएपछि साबुन पानीले हात धुने बानी  विकास गर्नुहोस्।साथ-साथै हामी सबै संग भएको सबैभन्दा फोहोर (शौचालय भन्दा धेरै फोहोर) वस्तु “ मोबाइल फोन” नियमित रूपमा टिस्युमा सेनिटाइजर/अल्कोहल लगाएर सफा गर्नुहोस् र खाना खाँदा प्रयोग नगर्नुहोस्।

अनुहार ( नाक, मुख, आँखा) चलाउने बानी हटाउनुहोस्। अनावश्यक रूपमा बाटोमा भएका सामाग्रीहरु ( रेलिंग, पोल) इत्यादी नछुनुहोस्। ढोकाको ह्यान्डल वा लिफ्टको बटन वा अन्य केहि छुनै पर्ने वा फोन चलाउनुपर्ने भए आफ्नो देब्रे हात प्रयोग गर्नुहोस्। यदि तपाई देब्रे हाते (left-handed) हुनुहुन्छ भने त्यस्ता कामका लागि दाहिने हातको प्रयोग गर्नुहोस्।

भिडभाड बाट टाढै रहनुहोस्। पूजा गर्न मन्दिर /चर्च/गिर्जाघर नै जानुपर्दैन, घर बाट गर्दा पनि हुन्छ। क्षमा पूजा, प्रार्थना सभा गरेर भिडभाड गर्दा संक्रमण झन् बढ्न सक्छ। यस्ता गतिविधि नगर्नुहोस् र सहभागी नहुनुहोस्।

रुघाखोकीलाई सामान्य नठान्नुहोस्। ३/४ दिन सम्ममा पनि ठिक नभए स्वास्थकर्मीको सल्लाह लिनुहोस्। अस्पताल जानै पर्ने भएमा सकेसम्म एक्लै जानुहोस् र सार्वजनिक साधन प्रयोग नगर्नुहोस्।

मौसम परिवर्तनको समय छ, चिसो खाना/ पेय पदार्थ नखानुहोस्। यो संक्रमणकालिन अवस्थामा स्वास्थ्यसंस्थामा गई जांच गराउन सजिलो हुन्न र यसको मानसिक र शारीरिक पीडा असह्य हुनेछ।

सेल्फ आइसोलेशन को मतलब मान्छेहरुबाट टाढा भएर घरमा बस्नुहोस् भन्ने हो। साथीभाई जम्मा गरेर घरमा बस्नुहोस् भन्ने हैन। घरका कोही बिरामी हुनुहुन्छ भने बिशेष सावधानी अपनाउनुहोस्।

यो रोगले बृद्ध र युवा भन्दैन। अहिले विश्वमा भएका बिरामीको ४०% बिरामी ४८ बर्ष मुनिका छन् ति मध्ये २०% लाई अस्पताल भर्ना गर्नुपर्ने अवस्था छ।त्यसैले म युवा भन्ने घमण्ड त्यागेर आवश्यक शतर्कता अपनाउनुहोस्।

घरमै दैनिक व्यायाम गर्नुहोस् र प्रशस्त फलफुल/ताजा साग-सब्जी खानुहोस्। यसले आफ्नो प्रतिरक्षा प्रणाली सुधार गर्न मद्दत गर्छ।

केहि महिनालाई आफु कुन ठाउँमा कुन बेला गएको र को-को भेटेको थिए भन्ने टिपोट गर्नुहोस्। डायरी लेख्नुभए झन् राम्रो। Technical विद्यार्थी भएकोले एउटा सुझाव दिन चाहन्छु। आफू कुन ठाउँमा कुन बेला गएको track गर्न फोनमा GPS र Data जति बेलै ON गरेर – GoogleMap – YourTimeline प्रयोग गर्न सकिन्छ। सिमित देश बाहेक विश्वका प्राय सबै देशमा यो सेवा GoogleMap को Android र IOS दुवैमा प्रयोग गर्न सकिन्छ ( नेपालमा प्रयोग गर्न सकिन्छ)।

गोर्खाका सन्तान हुन् वा हिटलरका सन्तति, यो भाइरसले कसैलाई छोड्दैन।

सफा रहौ। सचेत रहौं।राष्ट्रको जय होस् !

(लेखक दक्षिण कोरियाको सउलस्थित ख्वांगून विश्वविद्यालयमा विद्यावारिधी गर्दैछन्।)

प्रतिक्रियाहरू