अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक उत्तर कोरियाली भूमिमा पाइला टेके

644

डोनाल्ड ट्रम्प उत्तर कोरियाली भूमिमा पाइला राख्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । आइतबार राष्ट्रपति ट्रम्पले दुई कोरियाको सीमाना छुट्टाउने सैनिक रहित क्षेत्रमा कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गरेका हुन् । गत फेब्रुअरीमा यी दुई नेताबीच कोरियाको आणविक कार्यक्रमको विषयलाई लिएर शिखर सम्मेलन भएको थियो ।

राष्ट्रपति ट्रम्प र नेता किमले दुई कोरियालाई छुट्याउने क्षेत्रमा उभिएर हात मिलाएका थिए। किमसँग भेटवार्ता गरे लगत्तै ट्रम्पले सैनिकरहित क्षेत्रबाट उत्तर कोरियामा पाइला टेकेका थिए।

‘यो विश्वको लागि ठूलो दिन हो र मेरा लागि पनि यहाँ आउनु गर्वको कुरा हो। ‘ राष्ट्रपति ट्रम्पले भने, ‘धेरै ठूला कार्यहरु भइरहेका छन्। ‘ किमसँग भेट्नुअघि राष्ट्रपति ट्रम्प र दक्षिणी कोरियाली राष्ट्रपति मुनले अमेरिकी र दक्षिणी कोरियाली अधिकारीहरुसँग केहीबेर छलफल गरेका थिए।

यसअघि ट्रम्पले ट्विट गर्दै तेस्रो शिखर सम्मेलनका लागि आमन्त्रण गर्दै किमसँग भेट्न ज्यादै उत्सुक रहेको बताएका थिए।’हेरौँ अब के हुन्छ ‘ सोलमा व्यापारीहरुसँग कुरा गर्दै ट्रम्पले भने, ‘ एउटा ह्यान्डसेक भनेको धेरै हो। ‘

यी दुई नेताबीच सन् २०१८मा पहिलोपटक भेटवार्ता भएको थियो। पहिलो वार्ता फलदायी रहेको बताइएपनि दोस्रो शिखर सम्मेलन बिना निष्कर्ष टुंगिएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उनीहरु दुईबीच भएको पछिल्लो वार्ता बिना कुनै निष्कर्ष टुंगिएसँगै सम्बन्ध केही चिसिएको थियो। सम्बन्ध चिसिएपनि दुई नेताबीच चिठ्ठी आदनप्रदान भने भइरहेको थियो।

ट्रम्पसँग भेट्नुअघि किम निर्धारित समयमा नै उक्त स्थानमा आइपुग्नेमा अन्यौल रहेको सञ्चारमाध्यमहरुले जनाएका छन्।

कान्तिपुर दैनिक बाट

प्रतिक्रियाहरू