उत्तर कोरियाले फेरि शुरु गर्यो मिसाइल परीक्षण

733

उत्तर कोरियाले छोटो दूरीका असंख्य मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । ती सबै मिसाइल देशको पूर्वी तटको होडो प्रायद्वीपबाट परीक्षण गरिएको दक्षिण कोरियाले जनाएको हो । सन् २०१७ मा उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण गरेपछि पहिलोपटक शनिबार छोटो दूरीका मिसाइल परीक्षण गरेको हो ।

गत महिना प्योङयाङले एउटा नयाँ हतियार परीक्षण गरेको थियो । यही जनवरीमा भियतनाममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सम्पन्न दोस्रो शिखर बैठकपछि पहिलोपटक उत्तरले सो हतियार परीक्षण गरेको थियो । सो शिखर बैठक सहमतिविनै टुंगिएको थियो । ट्रम्प र किमबीच गत वर्ष १२ जुनमा सिंगापुरमा पहिलो शिखरवार्ता भएको थियो । वार्तापछि उत्तर कोरियाले कुनै पनि प्रकारका आणविक परीक्षण नगर्ने प्रतिबद्धता जनाएको थियो ।

उत्तर कोरिया पूर्ण रूपमा निःशस्त्र नभएसम्म प्योङयाङमाथिको आर्थिक प्रतिबन्ध नहट्ने अमेरिकाले बताउँदै आएको छ । तर, पूर्ण रूपमा निःशस्त्र हुनुअघि आफूमाथि लाग्दै आएका सम्पूर्ण प्रतिबन्ध हट्नुपर्ने उत्तर कोरियाले माग गर्दै आएको छ ।

अमेरिकी प्रतिबन्धकै कारण प्योङयाङ अधैर्य देखिएको बिबिसीकी लाउरा बिकरको टिप्पणी छ । उत्तरको पछिल्लो कदमप्रति अमेरिकाले चासो देखाएको छ । ‘उत्तर कोरियाले शनिबार राति छोटो दूरीको मिसाइल परीक्षण गरेकोबारे हामी सचेत छौँ,’ ह्वाइटहाउसकी प्रवक्ता सारा स्यान्डर्सले भनिन्, ‘आवश्यकताअनुसार हामी निरन्तर अनुगमन गर्नेछौँ ।’

‘उत्तर कोरियाले होडो प्रायद्वीपको उत्तर–पूर्वी तटीय सहर वनसनबाट शनिबार बिहान शृंखलाबद्ध रूपमा सानो दूरीका मिसाइल परीक्षण गरेको छ,’ दक्षिण कोरियाको जोइन्ट चिफ अफ स्टाफले एक विज्ञप्तिमा भनेका छन् । ती मिसाइल जापानी समुद्रमा खस्नुअघि ७० देखि दुई सय किलोमिटर माइलको गतिमा हावामा उडेका थिए । होडो प्रायद्वीप विगतमा पनि क्रुज मिसाइल र लामो दूरीसम्म मार हान्ने तोपको परीक्षणका लागि प्रयोग हुँदै आएको थियो ।

उत्तर कोरियाको समाचार संस्था केसिएनका अनुसार अप्रिलमा उत्तर कोरियाले हतियार परीक्षण गरेको थियो । परीक्षणको उत्तर कोरियाली नेता किम जोङ उन आफैँले निरीक्षण गरेका थिए । सो हतियार स्थल, वायु र समुद्रबाट मार हान्न सकिन्थ्यो । सो हतियार मिसाइल हो वा होइन भन्नेबारे उत्तरले केही प्रस्ट गरेको छैन, तर विज्ञहरूका अनुसार सो सानो दूरीको हतियार थियो ।

गत वर्ष उत्तर कोरियाले आणविक परीक्षण र अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल रोक्ने उत्तर कोरियाली नेता किम जोङ उनले घोषणा गरेका थिए । तर, पनि उत्तर कोरियाका आणविक भट्टीहरूमा आणविक गतिविधि देखिएको विभिन्न अनुसन्धानले देखाएका छन् । उत्तर कोरियाले लामो दूरीको मिसाइलमा फिट गर्न सकिने आणविक बम विकसित गरेको र सो हतियारले अमेरिका आक्रमण गर्न सक्ने दाबी गर्दै आएको छ ।

प्रतिक्रियाहरू