उत्तर कोरिया माथि लगाइएको प्रतिबन्ध खुकुलो पार्ने प्रस्ताव

391

रुस र चीनले राष्ट्र संघ सुरक्षा परिषदमा उत्तर कोरिया माथि लगाइएको प्रतिबन्ध खुकुलो पार्ने प्रस्ताव पेस गरेका छन् । आणविक निशस्त्रीकरण गर्ने शर्तमा उत्तर कोरियामाथिको प्रतिबन्ध खुकुलो पार्नुपर्ने दुइ राष्ट्रको प्रस्ताव छ । अमेरिकाले भने उक्त मस्यौदा प्रस्तावलाई अपरिपक्वताको संज्ञा दिएको छ ।

उत्तर कोरिया र अमेरिकाबीचको वार्तालाई प्रोत्साहन गर्न उत्तर कोरियामा उत्पादित समुन्द्रजन्य खाद्यान्न र टेक्सटाइल माथिको निर्यात प्रतिबन्ध हटाउनुपर्ने प्रस्ताव गरिएको रुसी अधिकारीले बताएका छन् । अमेरिकी विदेशमन्त्रालयका अधिकारीले अपरिपक्व प्रस्तावमा सुरक्षापरिषदले निर्णय गर्न नहुने टिप्पणी गरे । निशस्त्रीकरण वार्तामा बस्न अस्वीकार गरेको उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरी उत्तेजनात्मक गतिविधी बढाउने चेतावनी दिइरहेकोले तत्काल प्रतिबन्ध हटाउने बारे बहस गर्न आवश्यक नभएको अमेरिकाको भनाइ छ । त्यस्तै प्रस्तावमा विदेशमा काम गरिरहेका उत्तर कोरियाली नागरिकमाथिको प्रतिबन्ध हटाउन पनि माग गरिएको छ ।

त्यस्तै अन्तरकोरियाली रेल र सडक सञ्जाल परियोजनामाथि राष्ट्र संघले लगाएको प्रतिबन्ध हटाउने प्रस्ताव गरिएको छ । तर सुरक्षा परिषदमा प्रस्तावित प्रस्तावमा मतदान हुने नहुने अझै स्पष्ट हुन सकेको छैन । १५ सदस्यीय सुरक्षा परिषदमा पेश गरिएको प्रस्ताव पारित हुन नौ सदस्य मुलुकको समर्थन आवश्यक पर्छ । अमेरिका र उत्तर कोरियाबीच गत फ्रेबुअरीमा भियतनामको हनोइमा शिखर वार्ता भएपनि सहमतिविनै वार्ता अवरुद्ध अवस्थामा रहेको छ ।।

प्रतिक्रियाहरू