एक अनुभव: कोरियामा तलब वृद्धि, अगाडी घाँस देखाएर गोरु जोताउने अस्त्र मात्र

1592

आज म यो लेख मार्फत ईपिएस प्रक्रियामार्फत कोरिया आउने कामदारहरुको तलब वृद्धि र पछिल्लो समय तलब वृद्धिसँगै मेरो केहि अनुभवहरु छोटकरीमा सेयेर गरेको छु ।
शुरुमा म सन् २०१३ मा कोरिया प्रबेश गर्दा न्यूनतम ज्याला प्रतिघण्टा ४८६० कोरियन वन थियो । जसमा २०९ घण्टा काम गर्दा मासिक न्यूनतम पारिश्रमिक १०१५७४० कोरियन वन हुन आउथ्यो । त्यसैगरी क्रमस: २०१४ मा ७.२% वृद्धि गरी न्यूनतम ज्याला प्रतिघण्टा ५२१० कोरियन वन, २०१५ मा ७.१% वृद्धि गरी न्यूनतम ज्याला प्रतिघण्टा ५५८० कोरियन वन, २०१६ मा ८.१% वृद्धि गरी न्यूनतम ज्याला प्रतिघण्टा ६०३० कोरियन वन, २०१७ मा ७.३% वृद्धि गरी न्यूनतम ज्याला प्रतिघण्टा ६४७० कोरियन वन हुन पुग्यो । त्यसैगरी २०१८ मा १६.४% ले वृद्धि गरी न्यूनतम ज्याला प्रतिघण्टा ७५३० कोरियन वन पु¥यायो तर सोहि समयवाट यदि कम्पनीले चाहेको खण्डमा खाना, आवास, पानि, विजुली तथा फोहोर लगाएत विभिन्न शीर्षकहरुमा पैसा काट्न पाउने भनी रोजगारदाता लाई सहजिकरण गरिदियो । र सोहि आधारमा टेकेर रोजगारदाताले कामदारमाथी ब्रह्मलुट मच्चाउन थालियो ।

२०१९ मा १०.९% ले वृद्धि गरी न्यूनतम ज्याला प्रतिघण्टा ८३५० कोरियन वन, अर्थात मासिक २०९ घण्टा (जसमा शनिबार तथा सार्वजनिक विदाहरु पनि समावेश गरिन्छ) काम गर्दा मासिक न्यूनतम पारिश्रमिक १७४५१५० कोरियन वन हुन आउँछ । साथै ओभरटाईम वा नाईट काम वा विदाको दिनमा काम गर्नुपर्दा जसमा बेसिकको १५०% अर्थात प्रतिघण्टा १२५२५ वन का दरले निर्धारण गरिएको छ । त्यसैगरी नाइटमा ओभरटाईम र विदाको दिनमा ओभरटाईम गरिएको खण्डमा बेसिकको २००% अर्थात प्रतिघण्टा १६७०० वनका दरले पाईन्छ । त्यसैगरी विदाको दिनमा ओभरटाईम सँगै नाईटमा हो भने बेसिकको २५०% अर्थात २०८७५ वन प्रतिघण्टाका दरले निर्धारण गरिएको छ ।

अहिले कोरियामा तलब वृद्धि अगाडी घाँस राखेर मेलामा गोरु जोताउने अस्त्र मात्र भएको छ, घाँस अगाडी देखिन्छ खान पार्इँदैन र निरन्तर हिँडिरहनुपर्छ । जोतिरहनुपर्छ । अर्थात एकातिर तलब वृद्धि भएको जस्तो देखाई उत्साह पनि जगाउने तर विभिन्न बाहानामा कटौटी गर्दै जाँदा वढेको भनिएको तलब झन कम वुझ्ने अवस्था आएको छ । सँगसँगै कम्पनी मार्फत प्रदान गरीने मासिक बोनस, विभिन्न लामो विदाहरु (गर्मी विदा, छुसक र सलनाल) मा दिइने बोनस तथा उपहार, मासिक काम गरेपछि पाईने थप एक दिनको तलब, लगाएतका सुविधाहरु लोप भईसकेका छन् । त्यसैगरी एन्जाङ (ओभरटाईम) पनि दुर्लभ तथा लोपउन्मोख अवस्थामा रहेको छ ।

मेरो कम्पनीको सन्दर्भमा –

कोरियन सरकारले तलब वृद्धिसँगै साना उद्योगहरुलाई आर्थिक भार नहोस भनी सहुलियत अनुदान पनि दिने ब्यवस्था गरिदियो । त्यसै आधार रहि मेरो कम्पनीको साहुले पनि विभिन्न उपाय लगाई धेरै नामको कम्पनि एकै ठाऊँमा दर्ता गर्ने र सबैलाई साना उद्योग देखाई सरकारबाट पनि अनुदान असुल्ने साथै कामदारवाट पनि विभिन्न शीर्षकमा पैसा कटौटी गर्ने दोहोरो निति लिएको छ । साथै आवास शुल्क, खाना शुल्क हरु शिर्षक बनाएर कटौटी गरिराखेको छ पैसा काट्ने विभिन्न उपाय खोज्दै जाँदा रोजगारदाता अर्थात मेरो कम्पनीको मालिकले अन्ततः फेब्रुरी महिना २८ को हुन्छ भनि २ दिनको तलब न्यूनतम मासिक तलबवाट घटाएर दिने नीति कार्यन्वयन गरेछ र सोहिअनुरुप तलब भुक्तानी भयो । न्यूनतम मासिक तलब पनि घटाउने अवस्था आउँदा यस्तो हुनु नपर्ने भनी म काम गर्ने कम्पनीमा कार्यरत सबै कामदारहरु एकजुट गराई अफिसमा गएर कुरा गरियो र सोहि समयमा साहुको छोराले एचआरडी कोरियामा फोन लगाई नेपाली भाषामा प्रत्यक्ष म सँग बोल्न लगायो । फोन लगाईसकेपछि मेरो तर्फवाट यस्तो यस्तो भएको हजुर के हो कसो हो नियमकानुन के कस्तो रहेको छ भनेर कुरा राख्दा जो साहुको छोराले फोन सम्पर्क गराएको उक्त अफिसमा कार्यरत नेपालीभाषी ब्यक्तिले नै अहिले तलब वृद्धि भएपछि यस्तो अवस्था आएको हो हजुर यदि कम्पनीले वा रोजगारदाताले चाहेको खण्डमा त्यसरी काट्न सक्छ भनीसकेपछि म लगाएत सम्पूर्ण कामदार यदि नियम नै हो भने नियम त सबैले मान्नैपर्छ भन्ने निश्कर्षमा पुगी फर्केर आयौँ । र अन्ततः रोजगारदाताले यो शीर्षकमा पनि तलब काट्ने अवस्थाको सृजना भयो ।

अन्तमा म अहिलेको तलब वृद्धि सँगै कामदारम रोजगारदाताले फैलाएको पारिश्रमिक कटौटीको महामारी मान्दछु । यसरी सबै कटौटी गर्न पाउने ब्यवस्था सहितको उच्चतम तलब वृद्धि हुनु भन्दा वरु सामान्य अवस्थामै रही तलब वृद्धि भएको राम्रो ।
नोट :- यो छोटो आर्टिकल मार्फत सेयेर गरिएका कुराहरु नितान्त मैले भोगेको अनुभव र वास्तविक भोगाई मात्र हुन् ।

लेखक एईडेन छन्त्याल
हाल दक्षिण कोरिया

प्रतिक्रियाहरू