Home प्रमुख समाचार एनआरएन कोरियामा बुद्धि गुरुङको उदय

एनआरएन कोरियामा बुद्धि गुरुङको उदय

0
एनआरएन कोरियामा बुद्धि गुरुङको उदय

एनआरएन कोरियाको नवौं महाधिवेसन भर्खरै सकिएको छ । अध्यक्ष पदका लागि चुनावी मैदानमा ३ जना उम्मेदवारहरु थिए । अत्यधिक भोट ल्याएर विजयी हुनुभयो बुद्धि गुरुङ । नव निर्वाचित अध्यक्ष गुरुङको काँधमा करिब करिब गुमनाम रुपमा रहेको एनआरएन कोरियाको साख फिर्ता ल्याउनुपर्ने वाध्यता छँदै छ । त्यसमाथि यहाँ ठूलो संख्यामा रहेको नेपाली श्रमिकहरुलाई एनआरएनले भोट चाहिएको बेलामा मात्र सम्झिने गरेको गुनासोलाई सम्वोधन गर्न केही उल्लेखनीय काम गरेर देखाउनु पर्नेछ । काम गर्ने हुटहुटी र जाँगरको भने उहाँमा कुनै कमी नरहेको उहाँका निकटवर्ति मित्रहरु बताउँछन् । त्यसो त एनआरएन कोरियाको अध्यक्ष हुने उहाँको तेस्रो प्रयास थियो । छैठौं अधिवेशसनमा सहमतिमै लक्ष्मी गुरुङलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभयो । अर्को पटकको चुनावमा सबैको समर्थन पाउने आशामा । तर सातौं अधिवेशन सोचेजस्तो भएन । चुनावी मैदानमा तिनजनाको प्रतिपर्धा भयो । बुद्धि गुरुङले तेस्रोमा चित्त बुझाउनुपर्यो ।

त्यसबेला नै अर्कोपटक जसरी पनि अध्यक्ष हुने अठोट गर्नुभयो । तर कोरोनाको चपेटामा परेको बेलामा भएर आठौं अधिवेशनमा त्यति धेरै तयारी गर्न नपाएका कारण उहाँले उम्मेदवारी दिनुभएन । यसपटक भने उहाँले राम्रै माहोल बनाउनुभएको थियो ।
चुनावी माहोलकाबीच २२ हजार किलोमिटर त गाडीमा मात्रै गुडेको उहाँ सम्झिनुहुन्छ । टिमवर्क गरेर केही काम गरेर देखाउनका लागि उहाँले प्यानल नै बनाउनुभएको थियो । अन्य प्रतिस्पर्धी दुइ टिम पनि प्यानलमा नै थिए । कोरियामा हालसम्मकै सबैभन्दा धेरै एनआरएनको सदस्य दर्ता हुनुमा उहाँको खटाइ पनि एक मुख्य कारण हो । यसबीचमा कोरियाको अधिकांश भागमा रहेका मजदुर साथीहरुसँग साक्षात्कार गर्ने अवसर पाएको बताउनुहुन्छ उहाँ । मजदूर साथीहरुसँग अन्तरक्रिया र छलफलको क्रममा उनीहरुको कोरियाको भोगाइ र पिडालाई मल्हम लगाउन उहाँले गर्नुभएको प्रयास अनि सामाजिक संस्थाहरुलाई गर्नुभएको सहयोगले उहाँको जीत भएको विश्वास व्यक्त गर्नुहुन्छ उहाँ ।
अब उहाँ काम गर्ने मैदानमा आइसक्नुभएको छ । हिजो चुनावी तयारीका बीच गरेको दौडधुप र मेहनतले सार्थकता पाएको छ । निर्वाचित हुने बित्तिकै सदस्यता खारेज भएको विद्यार्थीहरुको सदस्यता शुल्क फिर्ता गर्ने प्रक्रिया शुरु गरेर नयाँ कार्यसमितिले काम शुरु गरिसकेको छ । यसअघि कोरियाबाट विद्यार्थी भिषामै भएको अवस्थामा विभिन्न कार्यसमितिमा महासचिवसम्म निर्वाचित भएको नजिर छ । यस पटक भने केन्द्रको विधानलाई टेकेर विद्यार्थी सदस्य हुन नपाउने भन्दै विद्यार्थीको सदस्यता खारेज गरेको थियो । त्यस्तै अध्यक्ष निर्वाचित हुँदै गर्दा लामो समय सम्म उपचाररत ओम केसी को निधन हुँदा अस्पतालमा तिर्नुपर्ने शुल्कमा ९० लाख (करिब ९ लाख रुपैयाँ) छुट गर्न सहयोग पुर्याएको भन्दै राप्ति समाजले धन्यवाद समेत ज्ञापन गरेको थियो ।
मिहिन रुपमा केही समस्याहरुलाई केलाउँदै गर्दा पासपोर्ट रिन्यु गर्ने कुरामा राज्यले कुनै पनि नागरिकलाई कुनै भेदभाव गर्न नहुने विचार राख्नुहुन्छ । भिषा भए नि नभए नि सबैको पासपोर्ट रिन्यु गर्न पहल गर्ने उहाँको प्रयास हुने मनसाय रहेको छ । त्यसका साथै कोरियामा विभिन्न पेशा व्यवसाय गर्दै आएका नेपालीहरुको छोरा छोरीहरुको लागि उनीहरुले नेपाली भाषा नबिर्सिउन् भन्ने उदेश्यले उपयुक्त समय पारेर भाषा कक्षा सञ्चालन उहाँको प्राथमिकतामा रहेको छ । त्यसैगरी नेपाली श्रमिकहरुको समस्या सम्वोधन गर्न एउटा डेडिकेटेड फोन नं. जसबाट दोभाषे गर्न सक्ने मनोवैज्ञानिक समस्यामा परेका हरुलाई के कस्तो परामर्श वा सहयोग चाहिन्छ त्यस सम्बन्धमा आवश्यक काम गर्न कर्मचारीको व्यवस्था गर्ने बताउनुभयो ।
साथै फिलिपिन्स जस्ता देशहरुले लागु गरेको कुकमिन यंगुम ९सञ्चय कोष० नेपालीहरुको हकमा पनि लागु गर्ने कुरा प्राथमिकतामा रहेको बताउनुहुन्छ ।
सन् १९९९ मा दोङ्देमुनमा आफ्नो व्यवसाय शुरु गर्दै गर्दा त्यसबेला आफूले गरेको अन्तर्राष्ट्रिय कलिङ् कार्डको व्यवसाय उहाँको सम्झनामा छ । हाल फेसबुक, टिकटक, ट्विटर लगायत सामाजिक सञ्जालले छाएको अहिले बाँचिरहेको युगमा त्यो समय एउटा इतिहास भइसकेको बताउनुहुन्छ । बिगतमा गरेको कडा मेहनत अहिले पनि गर्नुपर्ने तर काम गर्ने तरिकाहरु फरक भएको परिवेशलाई स्वीकार्दै अगाडि बढ्न सिक्नुपर्ने बताउनुहुन्छ । उहाँको हाल कोरियाको विभिन्न सहरहरुमा ४ वटा रेष्टुरेण्ट सञ्चालनमा रहेको छ । अवसरको खोजीमा सन् १९९२ मा कोरिया प्रवेश गरेको बुद्धि गुरुङको कोरिया बसाइ ३१ वर्ष पुरा भइसकेको छ ।
एनआरएनको अध्यक्षमा उहाँको उदयसँगै उहाँले सोचेजस्तो जग्गा लिजमा लिएर नेपालको मौलिक किसिमको घर बनाउने र त्यसमा कोरियाको नेपाली संघसंस्थाहरुलाई भेटघाट तथा छलफलको एउटा थलोका रुपमा विकास गर्ने सपना साकार पार्ने बाटो खुलेको छ । त्यसो त चुनावी प्रतिस्पर्धामा उहाँको टिमबाट ३ जना उपाध्यक्ष मध्ये एक जना, २ सचिव मध्ये एक जना र महिला उपाध्यक्ष एकजना सहित कुल ७ जनाले निर्वाचित भए । बाँकी पदहरुमा अन्य टिमबाट निर्वाचित छन् । त्यस्तो अवस्थामा कसरी टिमलाई एकजुट भएर नेतृत्व दिनुहुन्छ भन्दा उहाँ भन्नुहुन्छ, “चुनावी तयारीको बेला हिजोका दिनहरुमा जे जसरी टिम बनाए पनि चुनाव पछिको अवस्था फरक भइसक्यो । हामी सबै एउटै टिम हौ र एकजुट भएर कोरियावासी नेपालीहरुको अपेक्षा पुरा गर्न लागि पर्छौ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here