एपिवानका पत्रकार एवं कवि कोरियामा सम्मानित

728
एपिवान एचडि टेलिभिजनका पत्रकार एवं साहित्यकार मोहराज शर्मा कोरियामा सम्मानित भएका छन् । कोरिया भ्रमणमा रहेका शर्मालाई अन्तर्राष्ट्यि नेपाली साहित्य समाज कोरिया च्याप्टरले हिजो सुवन शहरमा सम्मान गरेको हो । टेलिभिजन पत्रकारिता मार्फत नेपाली वांगमय तथा साहित्यलाई उचो पार्न महत्वपुर्ण योगदान पुर्याएको भन्दै अनेसासले सम्मान गरेको छ । पत्रकार शर्माले एपिवान टेलिभिजनमा प्रत्येक शनिवार साहित्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ ।
 
सुवन शहर शनिवार साँझ अनेसासले आयोजना गरेको काव्य सुधा अन्र्तगतको कविता वाचन पनि भएको थियो । सो वाचनमा प्रमुख अतिथि समेत रहेका कवि तथा पत्रकार शर्माले कोरियामा इपिएसकर्मीले भोग्नु परेका समस्या र परदेशिएको पीडालाई कविता मार्फत सुनाउनुभएको थियो भने परदेशमा रहेर पनि साहित्यलाई निरन्तरता दिएको उपस्थित सम्पुर्ण कवि तथा साहित्यकारको प्रशंसा गर्नु भएको थियो ।
 
कविता वाचन कार्यक्रममा कोरियामा रहेर साहित्यमा कलम चलाउदै आएका झण्डै डेढ दर्जन साहित्यकारले आफ्नो रचना वाचन गरेका थिए । अनेसास कोरिया च्याप्टरका महासचिव सरोज भण्डारी सर्वहाराले के अर्थ भो ज्ञानको कविता सुनाउनुभएको थियो भने कार्यक्रम संयोजक गोपीकृष्ण लामिछानेले नेपालीहरु कोरियामा पसिना बगाएर पैसा पठाउने मात्र होइन कि आफ्नो भाषा साहित्यको संरक्षणको अभियानमा सक्रिय छन् भन्ने विचार व्यक्त गर्नुभएको थियो । यसैगरी अन्य साहित्यकारले पनि कविताका साथै मुक्तक, गजल मार्फत परिवार देश सम्झनुका साथै परदेशिएको पिडा सुनाएका थिए ।
प्रतिक्रियाहरू