कविता/ मान्छेको मन र सपना

0
335

 

हार भनेको पिडा
जित भनेको खुसि

-- Ad --


नजित्दै खुसि हुनु
र हार्दा पनि रुचि भैरहनु
त्यो चाँहि  ”सपना”

सानोमा म, पाईलट हुन्थेँ
जमिनबाट देखिने प्लेन भन्दा ठुला,
फिरफिरे उडाउथेँ
कहिलेकाहीँ डाक्टर हुन्थेँ
मेरा साथिहरुलाई ख्याल ख्यालको,
पोलियो थोपा खुवाउथेँ

अल्लि ठुलो भएपछि, हिरो हुन्थेँ
हिरोनी हरुको ईज्जत बचाउथेँ
कहिलेकाहीँ गायक हुन्थेँ
रेडियोले गाएका सबै गित गाउथेँ

मेहनत गर्नु पर्दैन्थ्यो कहिल्यै,
जे चाहन्थेँ त्यहि बन्थेँ
हार्नु परेको थिएन कहिल्यै,
मनसँग खेल्थेँ, मनलाई जित्थेँ
त्यहि जित पछि पछि जिद बन्दै गयो

छिमेकीका सि अाई डि नजर,
बाबु अामाको दबाब,
स्कुलमा सरहरुको कचकच,
यी सबलाइ झुक्याउन सके संसार जितिन्थ्यो
तर पढाइ को रिजल्टसंग हारिन्थ्यो
असफल हुनुसंग मतलब थिएन
मेरो खुसि पढाइ मा थिएन
हरपल खुसि थिएँ, त्यै सबथोक लाग्थ्यो
तर,
कुलो नडोर्याइ लगाएको खेती
पहिले हराभरा थियो,
पछि बन्जर भयो (जिन्दगी)

जब जवान भएँ,
अाफै रँगिदै गएँ
रोमियो जुलियट मन पर्थे
कृष्णलिला पढ्थेँ
मुना मदन पढ्थेँ

मलाई लाग्थ्यो,
जीवनमा हज्जार बाधा हुन्
तर साथमा गोपिनी र राधा हुन्

फुल फुल्ने बेला थियो
मन भुल्ने बेला थियो
फुलाइदिएँ कसैको बगैचामा अाफुलाई
भुलाइदिएँ सारा सपना र
सजाइदिएँ कसैको जिन्दगी

तर,
मोजा नपहिरिई लगाएको जुत्ता,
पहिले ठिक्क थियो,
पछि होलोखुकुलो हुँदै गयो

सम्बन्धहरु त, जुत्ता कपडा जस्तै हुँदा रैछन्
लाउँदा लाउँदै फाट्दै जाने
निभाउदा निभाउदै टुट्दै जाने
सम्बन्ध हरुमा पनि सपना हुन्छन्
सपनाहरु मा पनि सम्बन्ध हुदारैछन्

वास्तवमा,
सपनाहरु निक्कै सस्ता हुन्छन्
तर, जब पुरा हुन्छन्
हामिलाइ मुल्यवान बनाइ दिन्छन्

सपना जहिले पनि
यथार्थ भन्दा माथि हुन्छ,
ग्राभिटिको नियममा,
माथिको चिज सहारा नपाए खस्छ,
टुट्ने र फुट्ने चाँहि
सपनाको गुण मा भर पर्छ

अध्यात्म भन्छ,

तनलाइ बाँध्न मन चाहिन्छ
मनलाइ बाँध्न,
झन शुक्ष्म कण चाहिन्छ
तर,
कुन अनु र परमाणुले बाँध्नु यो अाकाश जत्रो मनलाई ?
मन भनेका त रहरहरु हुन्
रहर भनेका सपनाहरु हुन्
मन बाँधेर बस्नुलाइ पनि के खुसि भनिन्छ ?
मन मारेर हाँस्नुलाइ पनि के जिवन भनिन्छ ?

सबै धर्मले हामिलाइ,
अाफैलाई मान्न लगाउँछन्
साँच्चै भनौँ त म पनि,
अाफुलाई बाहेक कसैलाई मान्दिनँ

मानौँ
तिमिसँग दुइटा कलम छन्
एउटा रामलाइ दिएपछि
कति वटा बच्छन् ?

म सँग दुइटा कलम भएको देखि नसहने
टक्ले गणित सरको कुरा पनि मानिनँ
उनको कुरा मान्नेहरु अाज
अलजेब्रामा एक्स, वाई को मान निकाल्दै छन्
म तातो फलामका गोला पखाल्दै छु

साईन्सले,
माइन्डलाई बाँडिदियो
डेल्टा, ठिटा, अल्फा र बिटा मा

अध्यात्मले,
मनलाई बाँडिदियो,
जाग्रत, स्वप्न, शुसुप्ति र दुर्य (मोक्ष) मा

मेरो मनले,
अाफुलाई बाँडिदियो,
काम, क्रोध, लोभ, मोह र ईर्ष्या मा
अाफैले अाफुलाई बाँड्न नपाउनु ?
अाफैले अाफुलाई टुक्र्याउन नपाउनु ?

अझ, साईन्सले त भनेको छ,

जति धेरै शुक्ष्म, त्यति धेरै शक्तिशाली
तर म मान्छेहरुको दुनियाँ मा छु
मान्छेहरु भन्छन्,
जति धेरै ठुलो, त्यतिधेरै भाग्यशाली

म भाग्यशाली बन्न चाहन्छु,
मलाई त झन,
सयेोँ ठुलाबडाले, हजारौँ पल्ट टिका लगाएर
लाखेोँ पल्ट भनेका छन्
ठुलो मान्छे हुनु,
सगरमाथा को शिखर टेक्नु

म निक्लिन्छु शिखरै टेक्न भनि,
तर श्रिमति खुट्टा बोकाउँछे
यस्तो लाग्छ,
अाफुसँगै हिडेका सहयात्रिहरुले
अाफ्ना बोझपनि मैँ माथि थुपारिदिए

छोराछोरी च्यादर तानिदिन्छन्
यस्तो लाग्छ,
मेरो शरिर कठ्याङ्ग्रिन नदिने बाक्ला कपडाहरु
च्यातिदै,टुक्रिदै छुटिरहेछन्

छिमेकिका हातहरु घाँटी थिच्न अाउछन्
यस्तो लाग्छ,
अाफ्नै लागि भरेको सिलिन्डर भित्रको स्वास,
बोक्दा नबोक्दै लिक भैरहेको छ नाम्चे बजारमै

मेरो गलाबाट स्वास भित्र छिर्न मान्दैन
यस्तो लाग्छ,
हिमपहिरोले पुरिसक्यो मलाई
हैट !
मर्न चाहन्नँ म बाँच्न चाहन्छु

त्यतिबेला म बाँच्नु भनेको बिउँझनु हो
म बिउँझिनु भनेको यथार्थमा हुनु हो
के बाँच्नु भनेको जिउँदो हुनु मात्रै हो त ?
त्यसो हो भने,
किन दौडिईरहनु बाँच्नका लागि ?
किन बोक्नु बोझहरु ?
किन पुग्नु चुचुरोमा ?

अब म शिखर चढ्दिनँ ।

सानोमा कता हो कता तल झरेको सपना देखिन्थ्यो,
तर पनि अामा भन्नुहुन्थ्यो,
उचाइ बढ्छ छोरा, ठुलो भईन्छ

ठुलो भए देखि, कता हो कता माथि पुगेको सपना देख्छु
तर अाफ्ना, पराई सबै मिलेर ,
तल तल झार्न खोज्छन्
यो नभन्नु कि, म अाफै फुल्न र फल्न नसकेको हो,
म झाँगिन खोज्दा हाँगा,
र फल्न खोज्दा फुल झारिन्छन्

अाज बुढेसकालमा लाग्दैछ,
मान्छेका सपनाहरु,
अाकाश जत्रा ठुला हुदारैछन्
बादलका धर्सा जति मात्रै नजिक पर्दा रैछन्

पानी का थोपा जति मात्रै पुरा हुँदा रैछन्

 

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here