किन कोरियामा नेपालीले नै नेपालीलाई पिडा दिन्छन? पैसामा हराएको मन ।

1390

हिजोआज दक्षिण कोरियामा रहेका नेपालीमाझ सामाजिक सञ्जालमार्फत नेपालीले नेपालीमाथि गरेको अमानवीय दुव्र्यवहारको चर्चा एकाएक चुलिएको छ ।

विराटनगरका एक क्षेत्री थरका युवालाई नेपालगञ्जका सिंह थरका व्यक्तिले कामको विषयमा गरेको दुव्र्यवहारको विषयमा सामाजिक सञ्जालमा टिकाटिप्पणी भरिभराउ भयो । आफू पहिला नै कोरिया छिरेको ध्वाँस र कोरियाको एक बंगुर फार्ममा आफू शानदार रुपमा काम गरेको रबैयाका साथ अत्यन्तै अश्लील र तुच्छ शब्दद्वारा गाली गरेको उनको फोन अडियो निकै आलोचित बन्यो । त्यो फोन अडियो कोरियाबाट चलाइएका नेपाली युट्यूब च्यानल, अनलाइन तथा फेसबुकमा निकै भाइरल बन्दै गयो । मे महिनाको पहिलो साता तिर सार्वजनिक भएको त्यस अडियोमा एक वर्ष अगाडि कोरिया आएका ती क्षेत्री थरका युवालाई कामको कडा निर्देशनसँगै गालीका वर्षाहरु छाडा रुपमा प्रयोग गरिएको थियो ।

नेपालीले नेपालीलाई गरेको दुव्र्यवहार सार्वजनिक भएपछि सामाजिक सञ्जालमै त्यस्तो व्यवहार गर्ने सिंहप्रति थामिनसक्नुको आक्रोस बढ्यो । घृणित व्यवहारको अडियो सुन्ने जो कोहीलाई पनि आक्रोश पक्कै बढेर आउँथ्यो । त्यो विषय अरु केही नभै कोरियनको काम राम्रोसँग गर चाँडै गर भन्ने विषय रहेछ । पटक–पटक पीडितमाथि नेपाली ती युवाबाट कुटपिट समेत भएको रहेछ ।

कुटपिटबाट उनको छातीमा समेत चोट रहेछ । बाध्य भएर उनले यस विषयमा एक जना नेपाली सञ्चारकर्मीको सहयोगमा सामाजिक सञ्जालमार्फत   न्यायको लागि गुहारेका रहेछन् । प्रवासी मजदुर संगठनका महासचिव मधुसूदन ओझाले गम्भीरतापूर्वक लिएर सत्यतथ्य खोजविन तिर लाग्नुभयो । पीडितले मागेजति क्षतिपूर्ति पाउने र त्यस्तो व्यवहार गर्ने ती नेपालीले माफी मागी सामाजिक सञ्जालमा राख्ने सहमति पछि अहिले त्यो विषय मिलेको छ ।

यो त एउटा प्रतिनिधिमूलक घटना मात्रै मान्न सकिन्छ । कामको सिलसिलामा कोरिया पुगेका नेपालीहरुमा देखिँदै गएको अनुदारता, हराउँदै गएको दया, माया साँच्चिकै गम्भीर विषय हो । सबै नेपालीमा त्यसो नहुन सक्छ, तर धेरैमा दम्भ, घमण्ड, इष्र्या, अपमान जस्ता बानीको विकास हुँदै गएपछि नेपाली एकता र नेपालप्रतिको स्नेह धरापमा छ । समस्यामा परेका नेपालीको उद्दार र सहयोगको लागि कोरियामा रहेका नेपाली सामाजिक सघं सस्था र तिनका अभियन्ताले नै केही हदसम्म अग्रसरता लिएको अनुभुति हुन्छ । कोरियामा सहयोगी नेपाली मन नभएका पनि होइनन् तर असहयोगीको झुण्ड बाक्लो छ ।

नेपालीबाट नेपाली नै पीडित भएका अनेकौं घटनाहरु छताछुल्ल रुपमा कोरियामा भेटिने गर्छन । कम्पनीमा सँगै काम गर्दा पहिला आएकोले पछि आएकालाई हेपाहा व्यवहार गर्ने, यात्रामा भेट हुँदा अलपत्र परेको नेपालीलाई मतलब नगर्ने, चिने पनि नचिनेको झैँ गर्ने खालका गुनासा कति हो कति सुनिन्छन । यस्ता घटना तथा गुनासाले विदेशमा नेपालीको एकतामा संकट हुँदै गएको र मातृभूमिलाई ठूलो प्रहार गरेको आभाष हुन्छ   । यस्तो संस्कारको विकास बढेमा नेपाली   मानवीयताको ठूलो खडेरीको रुपमा चित्रण गर्न सकिन्छ । यसरी हामी कस्तो समाजको कल्पना गर्दैछौँ ?

हामीले चाहेको संस्कार कस्तो हो ? कोरियनलाई देख्दा एकहात शीर निहुरिएर सम्मान गर्ने नेपालीले आफ्नो देशको नागरिकलाई कुनै मतलब गर्दैन भने उबाट नेपाली समाजले के आशा अपेक्षा गर्ने ? अझ त्यही एकहात शीर झुकाएर सम्मान गर्ने कोरियनलाइ खुशी बनाउन आफ्नो मातृभूमिको सन्तानलाई कुटपिट गर्छ, गाली गर्छ भने त्यसलाई असल नेपाली नागरिक कसरी भन्ने ? भनिन्छ ,अनुशासनमा कोरिया अत्यन्तै उत्कृष्ट छ, तर त्यो अनुशासन हामी नेपालीले सिकेर व्यहारमा देखाएको खै ? विदेशीलाइ खुशी बनाउन नेपाली आमाको छातीमा लात बजार्नु जति बदनाम के हुन सक्छ ? यस्ता धेरै प्रश्नहरुले नेपालीपन र नेपाली मन रन्थनिने गरेको छ ।

म आफैले भोगेको कुरा, मे ६ मा राजधानी सौलमा गगन थापाले सम्बोधन गर्ने एक कार्यक्रममा सहभागी हुन छन्नानको रेल स्टेसनमा गएर टिकट लिएँ । तर मलाई रेल लाइन पत्ता लगाउन निकै समस्या भयो । मसँग झण्डै दश मिनेट मात्रै समय थियो । स्टेसनका कर्मचारीले उतातिर मात्रै भने, उता गएको यतातिर होइन भने, यस्तै गर्दा पत्ता लगाउन नसकेर मेरो रेल छुट्न थाल्यो ।

लाइन खोज्दाखोज्दै एउटा लाइनमा दुई जना नेपाली कुरा गर्दै उभिरहेको देखेर खुशी हुँदै मेरो समस्या राखेँ । तर ती दुई जना मतिर हेर्दै थाहा छैन मात्रै भने । उनीहरुको त्यस्तो व्यवहारले मलाई अति नै घृणीत बनायो । उनीहरु अलि लामो समय कोरिया बसेको, अनुभवी अनि नेपाली पनि भए । त्यसैले खुही हुँदै रेलको लाइन कता होला भन्दै सोधेको त मतलब नै दिएनन् । खिन्न मन बनाउँदै म फेरि टिकट काटेको ठाउँ तिर पुगे । एकजना कोरियनलाई टिकट देखाउँदै सहयोग मागेँ । उसले रेल छुटने समय एक मिनेट मात्रै भएको भन्दै हतारमा लाइन पत्ता लगाएर मलाई समातेर रेल चढायो ।

यो घटनाले मलाई निकै सोच्न बाध्य बनायो, मेरो मन मस्तिष्कमा अनेकन भावहरु आए । कोरियामा हामीले धन पायौँ, मन गुमायौँजस्तो लाग्यो । एउटालाई दुख्दा ऐय्या भन्ने नेपाली, कोरियामा ठिक भयो भन्दै रमाउने अवस्था आएछ क्यारे । हामी त श्रम बेच्न आएका हौँ, हामीले गरेको श्रमबाट देशले समेत आर्थिक सबलता पक्कै लिएको छ । यहाँ त, आफ्नै दाजुभाइबीचमा खाडल बनाउन, नेपालीप्रतिको स्नेह, मोह र सम्मान उजाड बनाउन केही नेपालीको व्यवहारले भूमिका खेलेको रहेछ ।

कोरियामा नेपाली मन किन यति धेरै अनुदार र असहयोगी भएको होला ? म यसका कारणहरु थोरै भए पनि केलाउन तिर लागे । हाम्रो कमजोर आर्थिक हैसियत फेरिनु जसले दम्भ, घमण्डको भावना विकसित हुँदै जानु प्रमुख कारण रहेछन् । के त्यसो भए पैसा कमाएपछि हामीले हाम्रो विगतको हैसियत पैसामा बिक्री गरेका हौँ त ? भनिन्छ नि दया, माया, इज्जत, इमानदारिता आदि पैसाले किनबेच गर्ने विषय होइन । तर हामी नेपालीले हाम्रो आफ्नै मन पैसामा आफैसँग किनबेच गर्दैछौँ । हामी नेपाली विदेशी भूमिमा एक अर्काको सम्मानमा चुक्याैँ भने नेपालीको सराप लाग्नेछ । नेपाल आमाप्रतिको गम्भीर अपमान हुनेछ ।

जसमा यस्तो स्वभाव छैन उहाँहरुलाई सलाम छ । जसमा यस्तो स्वभाव विकसित हुँदै गएको छ कृपया सुधार गरौँ । हाम्रो नेपाली मायालाई संसारमा जीवित बनाऔँ । कोरियामा तपाईँले गरेको कडा मेहनत र परिश्रमले पैसा मात्रै कमाउन होइन, कडा अनुशासन तथा एक अर्काप्रतिको सम्मान र प्रेमभावको विकास पनि सिकाए राम्रो । जीवन कोरियामा नै बिताउने त होइन होला, पैसा कमाएपछि त हामी फर्कनु पर्ने सबै नेपालमै हो । हामीलाई चाहिने त हाम्रा नेपाली दाजुभाइहरु नै हुन् । त्यसैले नेपालीपनको विकास सबैसँग होस् । जय स्वाभिमान ।

प्रतिक्रियाहरू