कोरियाको माईनस २० डिग्रीको चिसोमा काम गर्दा

801

हिँऊ । टाढावाट देख्दा, आहा ! कत्ति रमाईलो लाग्ने, मनमोहक देखिन्छ । नेपालमा हुँदा धेरै वर्षको ग्यापमा कहिलेकाहिँँ नजिकवाट हिँऊ देखेको मान्छे म । कहिलेकाहिँ मात्र आउने भएर होला उत्सब हुन्थ्यो हिँऊ परेको दिन । खसि कुखुरा जे हुन्छ काटेर खाईन्थ्यो । त्यो नभए पनि अरु बेला भन्दा अलि मिठै पकाएर खाईन्थ्यो । घाँसदाउरा गर्न जानुपर्दैनथ्यो ।
गाईभैँसीलाई पराल कुँदो खुवाईन्थ्यो, त्यसैले गाईभैँसी चराऊन पनि जानुपर्दैनथ्यो । फोटो खिच्नलाई तछाडमछाड गरिन्थ्यो । दिनभरि हिऊँमा खेलेर पनि धित मर्दैनथ्यो त्यतिबेला । कामै गर्न नपर्ने र मिठो–मिठो खान पाईने भएर होला, बारम्वार हिँऊ परिदियोस परिदियोस भन्ने लाग्दथ्यो ।

तर, यो कोरियामा , भिन्न रहेछ । नत यहाँ हिँऊ पर्दा उत्सब मनाईदोरहेछ । नत हिँऊ परेको दिन काम गर्दिन भन्न नै पाँईदोरहेछ ।
हुनत..सुरुमा हिँऊ परेको देख्दा फेसबुकका भित्ताहरु , फेसबुक लाईभले भरिएको सत्य हो ।
तर बारम्बार परेको पर्यै गर्ने भएपछि हिँउको महत्त्व पनि बिस्तारै घट्दोरहेछ । फेसबुकका भित्ताहरुमा आउने हिँऊ परेको लाईभ पनि पातलो हुँदै जाँदोरहेछ । धेरै चिसो हुने भएर होला, हिँऊ परेको देख्दा पनि वाक्क दिक्क लाग्दोरहेछ ।
त्यसैले, बिन्ति छ ईन्द्रदेव । अब धेरै हिँउ नपठाईदेऊ, मेरो हात खुट्टा पुरै कठ्याङ्ग्रीएर रगत जम्नै लागेको छ ।

बाहिर सिरसिर चिसो बतास चल्छ । ताल नदि समुन्द्र पुरै बरफ बनेको छ । बाहिर राखेका धाराहरुमा पानि बग्न छोडेको धेरै भईसक्यो । नेपालका धाराहरुमा पनि बग्दैनथ्यो पानि, त्यहाँ नभएर नबग्दा हुन तर यहाँ जमेर ।
१२ १२ घण्टासम्म सँधै फिनिल हाउसभित्र काम गर्छु म । स–साना चरहरुवाट, साना–साना प्वालका द्धारहरुवाट, हावाहरु पाहुना बनेर छिर्छन म भएको ठाउँमा । अनि मेरा हातका औँलाहरु, खुट्टाका पैतला, ओठ लगाएत पुरै अंग–अंगमा प्रेम गर्न थाल्दछ हावाले । प्रेम आफैमा अदभूत हुन्छन् । हावाको प्रेमले मेरो पुरै जिउ क्षणभरमै लल्याकलुलुक हुन्छ ।

प्रेमले सुख, सन्तुष्टि र रोमान्स मात्र दिँदैन, चोट बेदना र दुःख पनि दिन्छ भन्थे, हो रहेछ । हावाले गरेको अदभूत प्रेमवाट मेरा हात खुट्टाहरु सुरुसुरुमा ठिग्रयाउछ र दुख्न थाल्दछ ।
केहि छिनपछि मेरा हात खुट्टाहरु दुख्दा–दुख्दा थाकेर होला सायद आमा टाढिएको बेला एक्लै रुँदारुँदै थाकेर भुलिएको बच्चाजस्तै आफै चुपचाप रहन्छ । चलाउनै नसक्ने गरी कक्रक्कै हुन्छ । तरपनि म निरन्तर काम गरिरहनुपर्छ ।
विन्ति छ मालिक यसरि चिसो हिऊँ परेको बेला धेरै काममा नखटाईदेऊ । मेरो हात खुट्टा पुरै कठ्याङ्ग्रीएर रगत जम्नै लागेको छ ।

मोबाईलमा भएको मौसम एप मा हेर्छु । मेरो ठाउँको तापक्रम कहिले माईनस १७ देखाउँछ । कहिले माईनस १८ देखाउँछ । कहिले माईनस २०/२१ सम्म पनि देखाउँछ । तर म चुपचाप छु । जत्तिसुकै पिडा होस । कठ्याङ्ग्रीएर अङ्ग–अङ्ग झर्नै लागोस । रपनि, कुनै प्रबाह नगरी निरन्तर काम गरिरहेकोछु …. गरिरहनुपर्छ ।

उता घरमा परिवारका सदस्यहरुले यो कुरा थाहा पायो भने, मेरो वारेमा चिन्ता गर्लान् । पिर मान्लान् । त्यसैले कोहि पनि मेरो घरमा यो कुरा नबताईदेऊ मेरो हात खुट्टा र ओठ चिसोले चरचर फुटेर रगत निस्कनै लागेको छ ।
प्रिय मौसम, अब म धेरै खप्न सक्दिन यो तिम्रो प्रेमको चिसो भार । कृपया सँधै यसरी तिमी चिसो बनेर मलाई प्रेमपूर्वक नसटाईदेऊ, मेरो हात खुट्टा र ओठ चरचर फुटेर रगत निस्कनै लागेको छ  ।

यो चिसो मौसमसँग सँधै सँगै बाँच्न सकिएला जस्तो लाग्दैन मलाई ।
श्रीमान ! यो चिसोसँग डिभोर्स गर्नलाई कुन कुन कागजी प्रक्रृया पुरा गर्नुपर्ने हो ? कुन कुन कानुनी वाटो अपनाउनुपर्ने हो ? मलाई यो चिसो मौसमसँग छुट्टिएर एक्लै बाँच्न मन छ । डिभोर्स गर्ने मन छ । 

लेखक एईडेन छन्त्याल
हाल द. कोरिया

प्रतिक्रियाहरू