Home विचार कोरियाबाट के सिक्ने ?

कोरियाबाट के सिक्ने ?

0
कोरियाबाट के सिक्ने ?

तत्कालीन माओवादी र श्री ५ को सरकार विचको लडाइँ सकिएर लोकतान्त्रिक गणतन्त्र तथा शान्ति स्थापना भएको १०  बर्ष बित्न नपाउदै भुकम्पले सारा नेपालीलाई नै रुवायो। कत्तिले प्राण नै त्यागे, कत्ति टुहुरा बने भने कत्ती घरवारविहीन भए। लगातार राजनीतिक उतार चढाव र प्राकृतिक बिनाश बेरोजगारीको प्रमुख कारण बन्न पुग्यो। त्यो मध्ये म पनि एक थिएँ। त्यसैले म पनि वैदेशिक रोजगारीको लागि ३६०० जनालाई पास गराई कोरिया लाने उच्च प्रतिस्पर्धामा छानिएको थिएँ। एकपटक पनि बिदेशको अनुभव नभएको म बिरानो कोरिया छिरेर थेगुमा अवस्थित प्लास्टिक कम्पनिमा काम गर्ने भएँ। कोरियन संस्कृतिमा त्यति धेरै दक्षता नभएको कारणले असजिलोपना लगातार नै थियो। प्रत्येक दिन खाना खाने बेला चम्चा कचौरोमा ठोकिएर आउने आवाजको कारणले कोरियनहरु रिसाउने गर्थे। कोरियन १४ वन लाख तोकुवा तलबमा सम्झौता गरि कोरिया छिरेको मेरो काम गर्ने समय तालिका निश्चित नै थिएन। कुनै नियममा चल्ने हैन कि साहुले जसो निर्णय गर्थ्यो त्यसै गर्नु पर्थ्यो। कोरिया आएको २ महिना नबित्दै कम्पनी त्यागेर कोरियाको दक्षिण पुर्बी टापू गजेदोमा अबस्थित पानीजहाज निर्माण कम्पनीमा जाने निर्णय गर्न पुगेँ। केहि समय पानीजहाजमा  काम गरि फेरि अन्यत्रै CNC/MCT कम्पनीमा काम गर्ने झोक चल्यो, अनि लागें ख्वाङ्जुतिर।

त्यतिन्जेल सम्म गुडाउदा गुडाउदा लगेजको एकातिरका २वटा पाङ्ग्रा खुस्किसकेका थिए। नजिकैको रोजगार प्रबर्द्धन केन्द्र मार्फत YG-1 मा सम्झौता गरि काम गर्ने क्रममा सबै भन्दा ठुलो समस्या चाहिँ भाषा नै हुने गर्थ्यो। कोरियनका हुबहु सबै कुरा नबुझे चित्तै नबुझ्ने। कम्पनिमा काम शुरु गर्नु अघिल्लो दिन सम्म मेहनतका साथ भाषा पढ्छु भन्ने म व्यस्त हुँदै-हुँदै  १ महिना मात्रै के बिताएको थिएँ समय अभाव र शरीरमा अत्याधिक थकान महसुस भएर शरीरले मेरो कुरो सुनेन। कामको थकाइ र घरको मायाले थाकेको म फेरि एकपटक समय लेखाजोखा गर्न थालेँ। फेरि एकपटक समय निश्चित गरिहेरेको त ॐ खाना खानु अगाडि, खाना खाएपछी, बस कुर्दै गरेको समय, बेलुका छुट्टी पछिको समय, अनि आइतबार जस्ता प्रशस्तै समयहरु त्यत्तिकै खेर गइरहेको भेटेँ। समयलाई राम्रो परिचालन गर्दै प्रत्येक आइतबार बिदेशी परामर्श केन्द्र धाउन थाले, कारण भाषा र कोरियन सस्कृती राम्रोसँग सिक्न। बिस्तारै समय बित्दै जादा कोरियन मात्र हैन कि विभिन्न देशका साथीहरू भेट्ने मौका मिल्दै तिनिहरुको संस्कृती रहनसहन अझ गहिरेर बुझ्ने मौका मिल्यो। ख्वाङ्जु बिदेशी परामर्श केन्द्र धाएको ४ महिनामै कोरियन  ३ लेभल पास गर्न सफल भएँ।

समय बित्दै जाँदा अझ कोरियन संस्कृति, इतिहास लगाएत विभिन्न  कुरामा चासो बढ्न थालेकोले लगत्तै ४ लेभल पास गरेँ। गत हप्ता आयोजित ‘विश्व कोरियन भाषा वक्तृत्व प्रतियोगिता’ मा पनि सहभागी भइ आफ्नो कुरा राख्ने अवसर पाएँ। अहिले ‘साह्वेथोङ्हाब प्रोग्राम’को माध्यमबाट अझै विस्तृत रुपमा कोरियन समाज, राजनिती, संस्कृति, हावापानी, अर्थतन्त्र, कानुन लगाएत विविध विषयमा अध्ययन गर्दैछु। काम गर्दै थकान तथा व्यस्तताको बाबजुद पनि मलाई कोरियन भाषा पढ्न उर्जा मिल्नुको वास्तविकता के हो? थाहा छ? कोरियाको रहनसहनमा घुलमिल हुन तथा अर्थतन्त्र विकासको इतिहास थाहा पाउन हो।

६० बर्ष अगाडी संसारको सबैभन्दा गरिब मुलुक कोरिया, साँच्चै नै कहाली लाग्दो गरिबीको रेखालाई केबल आधा शताब्दी मै विकसित देशको सुचिमा नाम लेखाउन कोरियाले के चाहिँ जादु गर्यो? ‘मेहनतसंग राम्ररी’ गरीबीलाई जितेरै छोड्छु भन्ने कोरियन जनताको मानसिकताले हैन र? संसारमै भेट्न गाह्रो जागरुक जनता अनि दिइएको काम अठोटका साथ समयमै फत्ते गर्ने तदारुकता आदि कोरियनका विशेषता हुन्। कहिलेकाहीँ जनजीवन बिताउने क्रममा नराम्रा चरीत्र भएका मानिसहरु भेटिने भएतापनी अधिकांस कोरियनहरु उच्च नैतिकताका धनी छन। हेपाहा प्रवृत्ति रहितको नागरिक सुरक्षा व्यवस्था त्यस्तै पारदर्शी छ।

अन्त्यमा, कोरियामा टिकेर काम गर्न धेरै गाह्रो छ। त्यो कारण हो, परिवार संगै नहुनु। तैपनी केही दु:ख सहेर भावी भविस्यको रेखा कोर्न भएपनी अडिन हुनुहुन सम्पुर्ण नेपालीमा अनुरोध गर्दछु। साथै काम गाह्राे सजिलो भन्दापनि संगै काम गर्ने सहपाठी संगको सम्बन्ध कस्तो छ भन्ने कुरामा भर पर्छ जस्तो लाग्छ। छुट्टीको दिन अर्थात खाली समयमा साथिहरुसंग घुलमिल भइ रमाइलो बसाइ बनाउनुहुन भर्खरै नेपालबाट आउनुभएका मित्रहरुलाई आग्रह गर्दछु।

जाँदाजाँदै, नेपालमा भएका भ्रष्टाचार, अनियमितता अनि अपारदर्शीता लगायत विकृति विसङ्गती विरुद्ध हामीले कोरियाबाट सिकेका विभिन्न कुराहरु राम्रो संग पछ्याउँदै आ-आफ्नो घर, गाउँ, टोलदेखि नै लागू गर्न सक्यौं भने  हाम्रा पछिल्ला पिडिहरुको भविस्य पनि उज्वल हुन्थ्यो कि भन्ने आशा राख्दछु। कोरियाको प्रणालीलाई लागु गरेर नेपालमा भएका केही सिमित राजनीतिको नाममा भ्रष्ट, कलंकहरुलाई सामाजिक बहिस्कार गरि ‘खबरदार म सहन सक्दिन!’ भन्ने नाराका साथ नेपाल प्रस्थान गर्न जरुर छ। धेरै-थोरै देश बिदेश बुझेका तपाईं हामीले नै आफ्नो प्यारो मातृभुमिको लागि केहि योगदान पो दिने कि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here