कोरियामा खस्किँदै हुण्डी, सप्रिँदै रेमिट कारोबार

631

इन्छन(दक्षिण कोरिया) बैंकिङ माध्यमभन्दा केही सस्तो रेटमा स्वदेशमा रकम पठाइदिने अवैधानिक हुण्डी कारोबार दक्षिण कोरियामा केही समययता खस्किँदै गएको छ । पछिल्लो समय विभिन्न रेमिट कम्पनीहरू खुलेसँगै यहाँ कार्यरत नेपालीमध्ये अधिकांशले आर्जित रकम रेमिट्यान्स कम्पनीमार्फत् स्वदेश रकम पठाइरहेका छन् ।

वैदेशिक रोजगारीका लागि स्रोत मुलुकमध्ये थोरै कामदार भएपनि ठूलो परिमाणमा रेमिट्यान्स आउने देशका रुपमा कोरियालाई लिने गरिन्छ । कोरियामा रहेका नेपालीले औषत १ लाख ५० हजारदेखि २ लाख रुपैयाँसम्म प्रतिमहिना पैसा स्वदेश पठाउने गरेका छन् । आकर्षक रोजगारी र तलबका कारण कोरियाबाट वैधानिक माध्यमबाट पैसा नेपाल भित्रनुलाई महत्वका साथ लिने गरिन्छ ।

सन् २०१७ को अन्ततिर कोरिया सरकारले रेमिट्यान्स कम्पनीहरूलाई कारोबार अनुमति दिएको हो । रेमिट्यान्स कम्पनीहरूलाई अनुमति दिएसँगै यहाँ कार्यरत अधिकांश नेपालीहरूले रेमिट्यान्समार्फत् पैसा पठाउन सुरु गरेका हुन् । कोरियामा कार्यरतमध्ये हाल करिब ६० प्रतिशत नेपालीहरूले रेमिटमार्फत् पैसा पठाइरहेको बताउँछन् एसबिआई कोष मनीका बजार प्रमुख सरोज खड्का । रेमिट कम्पनीमार्फत् पैसा पठाउँदा नेपालमा विदेशी मुद्रा जम्मा हुने हुँदा देशको अर्थतन्त्रमा टेवा पुग्ने बताउँदै खड्का भन्छन्, “कोरियामा आर्जन गरेको रकम वैधानिक तवरले देशमा पठाऊँ ।”

रेमिट्यान्स कम्पनीहरूले अनलाइन सेवा दिइरहेका र कोरियाको जुनसुकै भेगमा रहेका नेपालीहरूले उक्त अनलाईन सेवा लिन सक्ने उनले जानकारी दिए । कोरियामा १५ देखि २० वटा रेमिट्यान्स कम्पनी र बैंकहरूले नेपाल पैसा पठाउने गरिरहेका छन् । जुन माध्यममार्फत् ६० प्रतिशत नेपालीहरू रकम रेमिट गरिरहेका बताइन्छ । अझै पनि ४० प्रतिशत नेपालीहरूले हुण्डीमार्फत् रकम पठाइरहेको बताइन्छ ।

हुण्डीलाई विस्थापित गर्नकै लागि कोरियामा बैंकहरू आएका थिए तर बैंकिङ माध्यम महँगो र झन्झटिलोका कारण नेपालीहरू हुण्डीबाटै पैसा पठाइरहेका थिए । पछिल्लो वर्षबाट रेमिट कम्पनीहरू आएपछि हुण्डी छोडेर रेमिटतर्फ नेपालीहरू आकर्षित भएको बताउँछन् हानपास तुन्देमुन शाखाका कोअर्डिनेटर कालिका न्यौपाने । न्यौपानेका अनुसार कोरियाका विभिन्न सहरमा शाखा रहेको हानपासमा २० हजारभन्दा बढी ग्राहक रहेका छन् । उनीहरूमध्ये अधिकांशले दैनिक कारोबार गर्ने गरेको न्यौपानेले जानकारी दिए ।

कोरियामा हानपास, जिएमइ, एसविआई कोषमनी, जिमनी, इशारालगायत रेमिट कम्पनीहरू सञ्चालनमा छन् । उनीहरूले ग्राहक आकर्षित गर्नका लागि बिनाधितो ऋण सेवालगायत बम्पर ड्रका उपहार योजनाहरू पनि ल्याइरहेका छन् । त्यस्तै, यहाँका केइबीहाना, उरी, आइबिकेलगायतका बैंकसँग सहकार्य गरी नेपालका नबिल, माछापुछ्रे, ग्लोबल आईएमई, सनराइज, प्रभु, सानिमा, सिद्धार्थ, राष्ट्रिय वाणिज्य बैंक, इन्भेष्टमेन्ट, हिमालयन, एभरेष्ट, मेगा बैंकले पनि नेपाल पैसा पठाइरहेका छन् ।

चुपचाप सेवा थप्दै हुण्डी कारोबारी

कोरियामा खुलेका रेमिट कप्पनीहरूलाई चुनौती दिँदै हुण्डी दलालहरूले चुपचाप सेवा थप्दै गइरहेका छन् । ग्राहक आकर्षित गर्न र आफू लोकप्रिय हुनका लागि पहिला नेपालमा पैसा दिने र पछि कोरियामा पैसा लिने गरिरहेका छन् । उनीहरूमध्ये कसैले नेपालका बैंकमा जम्मा गरिदिने र कसैले आफन्तलाई नै भेटेर पैसा दिने गरेको एक कारोबारीले बताए ।
त्यसो त बैंक र रेमिट कम्पनीहरूको दाँजोमा नेपाली रुपैयाँ ५ सयदेखि ३ हजारसम्म सस्तो पर्ने उनीहरू बताउँछन् । कोरियामा रहेकामध्ये ४० प्रतिशत अझैपनि हुण्डीबाट पैसा पठाउने गरिरहेको कोषमनी कोरियाका प्रतिनिधि सरोज खड्काले बताए ।

 

सब–एजेन्टहरू क्रियाशील

सस्तो दररेटमा स्वदेश रकम पठाइदिने भन्दै कामदारहरूसँग पैसा उठाउने सब–एजेन्टहरू व्यापक रुपमा क्रियाशील छन् । अवैधानिक तवरले बसिरहेका कामदार र ग्रामीण क्षेत्रमा कार्यरतहरूले हुण्डी प्रयोग गर्छन् । जसमध्ये पैसा उठाउने अधिकांश हुण्डी एजेन्टहरूले दलाल ‘लिडर’ लाई पैसा बुझाउने गर्छन् र उनीहरूले ढिलोचाँडो स्वदेशमा पैसा पठाइदिन्छन् । विगतका वर्षमा भने कतिपय हुण्डी लिडरहरू उठाएको पैसा कुम्ल्याएर भाग्ने वा गुपचुप बस्ने गरेका पनि थिए ।

कोरियामा रहेका एनआरएनए प्रतिनिधि, एनसिसी प्रतिनिधि, व्यवसायी, शरणार्थी भिषावाहक, अवैधानिक, सामाजिक तथा राजनीतिक कृयाकलापमा संलग्न र इपिएस कामदारहरू हुण्डी व्यवयायमा संलग्न छन् । उनीहरू आफ्ना च्यानलमा रहेका कामदारहरूसँग पैसा उठाई प्रमुख लिडरलाई दिन्छन् ।

उसले चीन, हङकङ वा कोरियन व्यापारीलाई पैसा दिन्छन् र नेपालमा उनीहरूकै एजेन्टमार्फत् पैसा लिएर ग्राहकको आफन्तलाई दिन्छन् । एक जना कामदारको पैसा पठाइदिएबापत चारदेखि ६ जनाले कमिसन खान्छन् । सजिलै पैसा उठाउन मिल्ने र आम्दानी पनि राम्रै हुने भएकाले अधिकांश नेपालीहरू यसतर्फ आकर्षित छन् । अवैध भएपनि उनीहरू लुकिछिपी हुण्डी रकम उठाइरहेका छन् ।

हुण्डीवाला फरार

दुई वर्षअघि ‘शरणार्थी भिषावाला’ एक हुण्डी दलालले नेपाली कामदारहरूसँग नेपाल पैसा पठाइदिन्छु भन्दै करिब ३ करोड नेपाली रुपैयाँ उठाई फरार भएका थिए । स्रोतका अनुसार उनी हालसम्म कोरियामै लुकेर काम गरिरहेका छन् । यसैगरी कतिपय हुण्डी व्यवसायीले कामदारसँग पैसा उठाएर क्यासिनोमा हारेपछि फरार हुने गरेका घटना धेरै छन् ।

त्यस्तै केही वर्षदेखि फरार छन् अर्का हुण्डी दलाल । उनले पनि कामदारहरूबाट करोडभन्दा बढी उठाएर बेपत्ता भएका थिए । त्यस्तैगरी, लाखौं रुपैयाँ उठाएर बेपत्ता छन् अर्का एक व्यवसायी ।

दलालहरू आजको भोलि नै नेपालमा पैसा पठाइदिन्छांै भन्दै कामदारसँग चर्को रकम असल्ने तर नेपालको असहजताको कारण देखाउँदै महिनौंसम्म पनि नदिने गरेको पाइएको छ । कतिपयले भने आजको भोलि नै दिने गरेको पनि पाइएको छ ।

बैंक र रेमिट सहर केन्द्रित

वैधानिक तवरले स्वदेश रकम पठाउँदा देशको आर्थिक सपोर्टका साथै सुरक्षित र विश्वासिलो भए पनि बैंक र रेमिट कम्पनीहरू सहर केन्द्रित छन् । कोरियामा खुलेका बैंक र रेमिट कम्पनीहरू राजधानी सउल, गान्नाम, सुवन आन्सान, थेगु, बुसानलगायत सहरी क्षेत्रमा भएकाले ग्रामीण क्षेत्रमा कार्यरत नेपालीहरू हुण्डीकै भर पर्नुपरेको कामदारहरू बताउँछन् ।
रेटमा फरक

हुण्डी दलालहरूको आ–आफ्नै सञ्जाल छ र आ–आफ्नै ग्राहक पनि । अनि रकम पठाइदिएबापत लिने दररेट पनि । उनीहरू आफन्त, चिनजानेको र नियमित ग्राहकका लागि अलिक थोरै र नचिनेको कहिलेकाहीँ पठाउनेका लागि अलि बढी शुल्क लिने गरेको नेपालीहरू बताउँछन् ।
त्यस्तै, रेमिट कम्पनीहरूले पनि आ–आफ्नै दररेट तय गर्ने गरेका छन् । हाल कोरियामा ४५ हजारको हाराहारीमा नेपालीहरू कार्यरत छन् । उनीहरूले मासिक १ देखि ३ लाखसम्म बचत गर्छन् ।

प्रतिक्रियाहरू