कोरियामा नेपालीको समस्या विकराल बन्दै, नेपाली दूतावास र सरोकारवाला लास मात्रै गन्दै

0
7321

नेपाल र कोरिया सरकार बिच सन २००७ मा भएको दुई पक्षीय श्रम सम्झौता पछि सन २००८ बाट  रोजगार अनुमति प्रणाली(इपिस)मार्फत कोरियन भाषा परिक्षा पास गरेर नेपालीहरु रोजगारीको लागि कोरिया जान थालेका हुन् ।कम खर्चमा तुलनात्मक रुपमा बढी आम्दानी हुने कोरियामा पछिल्लो समय  युवापुस्ताहरुको आकर्षक रोजगार गन्तव्यको रुपमा परिचीत रहदै आएको छ।बर्सेनि हजारौंको सङ्ख्यामा शिक्षित युवाहरू कोरियाको सपना बोकि भाषा परिक्षाको लागी आवेदन दिदै  विश्वविद्यालयको डिग्री दराजको घर्रामा थन्क्याएर कोरिया जाने गरेको छ।भाषा परिक्षा शुरु भए यता पछिल्लो दस बर्षमै करिब ६० हजार नेपाली युवाहरू रोजगारीको सिलसिलामा कोरिया पुगिसकेका छ्न।

तर पछिल्लो समय यहाँ नेपालीहरुको संख्या बढे सगै डरलाग्दो तवरले आत्महत्या,डिप्रेसन,औद्योगिक दुर्घटना,सुतेको सुतेकै अवस्था मृत्यु, एवं अन्य शारीरिक एवं मानसिक रोगीको संख्या पनि बढ्दै गएको छ।इपिस कोरिया शाखाका अनुसार प्रत्येक बर्ष ९ जनाले ज्यान गुमाउने गरेको छ।२०१८ को जुन महिनासम्म  मात्रै ६ जनाले ज्यान गुमाइसकेका छ्न भने पङ्तिकारले यो लेख लेख्दै गर्दा ५ दिनको बिचमा ५ जनाको दु:खद मृत्युको खवर प्राप्त भएको छ।घटनाको बिस्तृत बिवरण आउँने क्रममा छ।यो तथ्यांकलाई नजोडिकन इपिस शाखाको डेटा हेर्दा हालसम्म १०७ जना नेपाली कामदारले ज्यान गुमाएका छ्न।

-- Ad --


रोजगारीको लागी परदेश गएर आफ्नो सपना साकार बनाउने,घर परिवार खुसी,सुखी राख्ने निश्चल, निर्दोष अभिलाषाहरु आँखाले हेर्दा हेर्दै,क्षितिज पारिको निलो आकाशमा हावाका झोक्काहरु बिलाए झैं बिलिन हुन पुगेको तितोसत्य लेखिरहदा देशलाई सिङापुर/स्विजरल्याण्ड  बनाउछु भनेर कहिल्यै नथाक्ने सिहदरवारभित्र सात पुस्ता पुग्नेगरी देशको रगत चुसिरहेका दानवी जुकाहरु कहिल्यै नउठ्ने गरि पक्षघातको इन्जेक्सन गर्न धेरै ढिला भैसकेको प्रतीत भैरहेको छ।हालसम्म यस्ता समवेदनशील बिसयमा नेपाल सरकारको गम्भीरतापुर्बक ध्यान नगएको साथै समस्या निराकरण गर्न पहल समेत भएको देखिदैन।सम्बन्धित सरोकारवाला निकायको यथोचि

त कार्यगत समन्वय र सहकार्य स्थलगतरुपमा भएको खण्डमा अहिले बढ्दै गएको गम्भीर समस्या तथा मानवीय क्षति कम हुनेमा दुई मत छैन तर हाल बिप्प्रेषणमार्फत राज्यको जिडिपिको ठूलो हिस्सा ओगटेको अर्थतन्त्रमा नेपाल सरकार नौजवान युवाहरुमार्फत ट्याक्स लिँदै बिदेश पठाएर  रेमिटान्स मात्रै भित्र्याउने काम गरिरहेको छ।

 

कोरियाको सन्दर्भमा हाल नेपाल सरकारले नेपाली दूतावासमार्फत नेपाली कामदारको स्थिति समस्या,चुनौती र अवसरहरुको बारेमा कुनै पहलकदमी लिइएको पाइदैन।गम्भीर प्रकृतिका समस्याहरुको लागि मनो चिकित्सक,परामर्शदाता अन्तरक्रियात्मक सेमिनार गर्नु त परको कुरा!नेपालीहरुको बिचमा आपसी समन्वय र सहकार्य गर्दै गर्नुपर्ने महत्वपूर्ण राष्ट्रिय उत्सव/पर्वहरु समेत दूतावासले मनोमानी ढंगबाट गर्दै आएको,नेपालसरकारको दुतको रूपमा जुन कामकारबाहीमा गर्नुपर्थ्यो त्यो गर्न चुकेको आवाजहरु बेला बेलामा समाजिक संजालभरी पोखिएका देखिन्छन् । भनिन्छ “जहाँ इच्छा त्यहाँ उपाय” यो भनाइलाई चरितार्थ गर्दै अहिले नेपाली दूतावास दक्षिण कोरियाको श्रवण सम्म  नेपाली मजदुरहरुको प्रतिध्वनि आवाज गुन्जाउन ढिला भैसकेको छ ।इच्छा शक्ति भए असम्भव केहि छैन,काम नगर्ने खाली कुरा गरेरमात्र टार्ने नेपाली प्रवृत्ति अब पनि नत्यागे कहिले त्याग्ने?

यी यावत् समस्याहरुको समाधानका लागि सरकारि तहबाटै नेपाली कामदारहरुको स्थलगत अध्ययन गरि यथोचित ढङ्गले नितिगत,कार्यगत र प्रक्रियागतरुपमा ठोस योजनाहरु तर्जुमा गर्दै कार्यन्वयनका लागि ब्यवहारिक पहलकदमी लिन जरुर आवश्यकता देखिन्छ।हाल बिदेशी सहयोग परामर्श केन्द्रमार्फत दिइने दोभाषे सेवा चौबीसै घण्टा पुर्याइ क्षेत्रगत रुपमा सेवा बिस्तार गर्ने,बैंक,पुलिस चौकी लगायत अन्य प्रशासनिक तथा कानुनी परामर्शका लागि समुचित प्रबन्ध  यथाशक्य अघि बढाउने,स्थलगत अध्ययन प्रतिबेदनको आधारमा समस्याको वर्गीकरण गरेर निकास पहिल्याउनका निमित्त क्षेत्रगतरुपमा मानसिक एवं शारीरिक दुर्बलताको आधारमा मनोचिकित्सक,बिज्ञ परामर्शदाताहरुबाट प्रत्यक्ष अन्तर्कृयात्मक सेमिनारहरु गरिनुपर्छ।कोरियाको फरक परिवेश,हावापानी, जीवनशैली,भाषा,रहनसहन,संस्कृतिको बारेमा पनि उचित कक्षाको ब्यबस्था गरि फरक वातावरणीय विविधतायुक्त परिस्थितिमा सहज समायोजनका लागी ध्यान दिन आवश्यक देखिन्छ।

दोश्रो कुरा,सरकारि तवरबाट अपेक्षित कुनै सहयोग,सल्लाह या समस्या समाधानको मार्ग नपहल्याइएको अवस्थामा ब्यक्तिगतरुपमा आफु, आफैं र आफ्नो लागी स्वयं सजगता र सचेतता अपनाउनु पर्ने देखिन्छ।।जस्तै कार्यस्थलमा औद्योगिक दुर्घटनाबाट बच्न सुरक्षाको सम्पुर्ण प्रक्रिया अपनाइ ध्यानपुर्वक काम गर्ने,डिप्रेसनबाट जोगिन एक्लै नबस्ने,साथिभाइहरु सगँसमय बिताउने,कम्पनी भित्र या बाहिर सधैं आफ्नो स्वास्थ र सुरक्षाको बारेमा सतर्क रहने।

प्रत्येक महिना विभिन्न कारणले लगातार नेपालीहरुको दु:खद निधनको  खवर हेर्दै सुन्दै र संजालमा रोदन मिश्रित श्रद्धाञ्जली अर्पण गर्नु मात्रै हाम्रो कर्तव्य हो त!के एक जिम्मेवारीबोध,मानव हृदयी मनले यस्ता घटना टुलुटुलु हेरेर मात्रै बस्न मिल्ला!यि र यस्तै प्रश्नहरुले गर्दा पङ्तिकारलाइ आफ्ना भोगाइ मिश्रित कुराहरु कोरियामा आउन चाहानुहुने र यहाँ  रहनुहुनेहरुको लागि लेख्न करै लाग्यो।

सर्वप्रथम कोरिया प्रवेशको पहिलो खुड्किलो र अनिवार्य सर्त कोरियन भाषा परिक्षा उतिर्ण हो।जसका निमित्त कोरियाको बारेमा भाषा कक्षा संचालन गर्ने  ईन्स्टिच्युटहरुले नेपालमा जुन सपना देखाइन्छ त्यो सपना वास्तविक कोरियामा हुबहु सत्य छैन।एकोहोरो मासिक कमाईको डोरी मात्रै देखाएर एक खालको लहरमा वास्तविकता भन्दा माथी गएर पिङ खेल्न लगाएको देखिन्छ। भाषाको साथै यहाँको

बाताबरण,जीवनशैली,हावापानी,अन्यसमस्या,चुनौती र अवसरहरुको बारेमा अभिमुखिकरण मार्फत सवल र दुर्बल पक्षहरुको बारेमा पर्याप्त जानकारी दिनुपर्ने देखिन्छ। यदि तपाईं कोरिया जान लाग्नुभएको हो भने शारीरिक र मानसिकरूपमा पुर्ण आत्मविश्वासका साथ काम गर्न सक्ने स्वास्थ लिएर मात्रै कोरियाको लागि आवेदन गर्नुहोस् न कि,भर्खरै युनिभर्सिटीको ग्राजुयट गर्दै गरेका,नेपालमा काम गर्ने अनुभव नभएका,बाबुआमा,छिमेकी या साथीभाइको लहैलहैमा!छिमेकीको छोरा घोडा चढे भन्दैमा आफू धुरी चड्नु मुर्खता हो, हाम्रो नेपाली समाज एक खालको मनोसामाजिक रोगबाट ग्रसित छ।देखासिकी,अनुपयुक्त,अस्वस्थ प्रतिस्पर्धा,प्रतिकुल परिस्थितिको बाबजुद पनि तुलनात्मक लाभको भारी अपेक्षा गर्ने परम्परा।जो जस्को पारिवारिक आर्थिक पृष्ठभुमि राम्रै छ,जीवनयापन गजबसग चलेकै छ,पढाई,ब्यापार,ब्याबसाय,परिवार, सामान्यतया ठिकैसग चलेकै छ,भने कृपया कोरिया गएर करोडपति बन्ने  हतास मानसिकता बनाउनु पुर्व आफैंलाई गम्भीर समिक्षात्मक प्रश्न गर्नुहोस।के कोरियामा मैले भोग्नुपर्ने चुनौतीको पहाड मेरो काँधले थाम्न सक्ला!तपाईंको जेनेटिकल कोडले मजबुत स्वास्थ दिएको छैन भने बेकार धरातलीय यथार्थभन्दा पर गएर आफ्नै जीवन वियोगान्त फिल्मको कथा जस्तो गगनचुमी सपना पूरा गर्न खोज्दा जीवनभरी पिडारुपि दर्दहरुले आफ्नो छाँयाले जस्तै नछोड्ने स्थिति आउन नदिन पुर्णरूपमा बलियो आत्मविश्वास,दृढ सङ्कल्प,पुर्ण स्वस्थ शरीर र कोरियाको बारेमा पर्याप्त अध्ययन गरेर आउनुहोस् ।शारीरिक एवं मानसिक तनावबाट मुक्ति,प्रतिकुल परिस्थितिसामु पनि डटेर लाग्ने साहस बढोत्तरीका निमित्त आध्यात्मिक ज्ञान,योग,ध्यान,साधाना अचुक  उपाय हो,दैनिक जीवनमा योग,साधनालाइ प्रभावकारी उपयोग ल्याउन सके शारीरिक,मानसिक रुपमा स्वस्थ हुनुको साथै सफलताले भरिएको खुसी जीवन खोज्न कतै जानुपर्दैन।

 

कोरिया कामको देश हो,टाइगर अफ एसियाको रुपमा विश्वले कोरियालाई चिन्दछ्न।आज भन्दा करिब ६० बर्ष अघि गृहयुद्ध,गरिवि,भोकमरी सँग पैठेजोरी गर्दै झन्डै ४ दशकको बिचमा अधभुत बिकास गरेर संसारकै नमुना समृद्ध मूलक बनाउन यत्तिकै सम्भव थिएन भन्ने कुरा कोरियन जीवनशैली हेरेरै थाहा हुन्छ।यहाँ बाँच्नकै लागि पनि परिवारको प्रत्येकले काम गर्नुपर्छ,प्रत्येकले काम नगरे यी कोरियनहरुको जीवनशैली कसरी चल्छ होला!काम गर्दा गर्दै कहिलेकाही सोचमग्न हुन्छु।फेरि एकैछिनको सन्नाटापछि कसैले मनभित्र  प्रश्न गरे जस्तो हुन्छ ।तिम्रो नेपाल गरिब भएको काम नगरेर हैन? उत्तर खोजीन्जेल सन्नाटा चिर्न आँखा फर्फराउछु।फेरि निरन्तर काममै हराउने गर्छु।

 

महत्त्वपूर्ण कुरा,कोरियामा गएपछि करोडपति बनिन्छ,त्यहाँ निकै धेरै कमाइ हुन्छ भन्ने सपना यथार्थमा गलतसिद्ध छ जुन म आफैंले भोगेको छु।समय क्रममा म आफैंलाई सोचेअनुरुप कोरियाको जीवनशैली नपाँउदा डिप्रेसनको एक तह पार गरेर उम्केको छु।कम्पनीको कामको अवस्था,कम्पनीको मालिक,अन्य अन्यकामदारहरुले दिने मानसिक तनावपुर्ण वातावरण,थोरै तलब,कामको पेलाइ इत्यादिका कारण जीवनमा ठूलो दुर्घटना हुनबाट म आफैं बचेको छु।यि समस्याहरु कोरियाको प्रतिनिधि समस्या हो,जो कोहिले यस्तो तनावपूर्ण वातावरणमा आफुलाइ समायोजन गदै अघि बढ्न सक्दैन,परिणामत;मानसिक रोगको सिकार हुँदै फ्रस्टेसन,डिप्रेसन मार्फत अन्ततोगत्वा आत्महत्या जस्तो अमानवीय कहालीलाग्दो कुकदम चाल्ने बाध्यकारी अन्तिम अवस्थामा पुग्दै आफ्नो जीवनको सारा सुखी र सुख जीवनभोगको अन्त्य गर्न स्वयं  पुग्दछन।यस्तो निन्दनीय विभत्स कार्य कोहि कसैले गर्न नपरोस् ।अक्सर मानिसहरु आत्महत्या गर्नु कायरता हो भन्छौं तर यथार्थमा त्यो सत्य होइन बरु यो त तनाव,तनाव,तनाव हरबखत तनावको स्थितिबाट पुरै ब्रेनको सेप नै बिग्रेर सधै  दुख,पिडा,अशान्ति,दर्द हुँदै एक्लोपना/बिरक्तिएर जीवनप्रतिको नैराश्यताको सर्वोच्च बिन्दु हो जहाँ उसले मृत्यु बाहेक कुनै कुरा देखेको हुँदैन।  बिनम्रतापुर्बक अनुरोध, तपाईं कोरियामा भर्खरै आउनु भएको छ,यहाँ समायोजन हुन मुस्किल भएको  छ भने आफ्नो प्राण भन्दा प्यारो घर पर्खेर बसेको छ,भौतिक संसारको साक्षत भगवान तपाईंको आमा बुबा तपाईं शकुशल फर्कने दिन गन्दै बस्नु भएको छ। प्रवासमा जीवन सहज नभए नि सङ्कोच प्राणभुमि फर्केर यो सुन्दर जीवन लिलामा सकारात्मक गति दिने प्रयत्न गर्नुहोस् ।रुचि लागेको काममा रमाँउनुहोस।बाँँकी जिन्दगी खुसी भएर जिउनुहोस् ।संसारमा सबैभन्दा ठूलो कुरा खुसी हो,खुसी भएमा मनमा शान्ति मिल्छ,जिवनमा सन्तुष्टि प्राप्त हुन्छ।जिवनमा धन केवल साधन हो साध्य  होईन।मनि इज एभृ थिङ बट न थिङ!यस्को थिम बुझ्नु भयो भने धनको महिमा बिबेचना गरिराख्नु पर्दैन ।

जिटुजी(सरकारि पद्धति)मार्फत रोजगार सम्झौता हुँदै कोरिया प्रवेश हुने भएपनि इपिस प्रणालीमा सम्पुर्ण अधिकार रोजगारदातामा निहित हुने कानुनी  प्रावधानका कारण समस्या जटिल बन्दै गएको देखिन्छ।कम्पनीमा अत्यन्तै गाह्रो काम, कोरियामा सामान्यतया थ्रीडि (डेन्जर,डर्टी,डिफिकल्ट)काम गर्नु  बिदेशी कामदारहरुको दैनिकी हो,थ्रीडि जस्तो दैनिक कार्य गर्न जो कसैलाई सहज हुँदैन।फेरि गाह्रो काम दैनिक ८ देखी १२/१५ घण्टा सम्म पसिना चुहाएर जोखिम मोल्दै निरन्तर गरिरहनु के तपाईंले कुनै कोठामा बसेर देखेको सपना जस्तो सजिलो छ?त्यसैले म भन्छु,कोरियामा लाख कमाउन सकिन्छ लाख दु:ख भोगेर मात्रै ।

(लेखक: सामाजिक अभियान्ता साथै काभ्रे सम्पर्क समिति द.कोरियाका सचीव हुनुहुन्छ ।)

 

 

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here