कोरियामा नेपाली विद्यार्थी भाग्ने क्रमले इपिएस कोटा गुम्ने खतरा

11585

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज बिष्टले कामदारको कोटा बढाउन कोरियालाई आग्रह गरेको बेला नेपाली दूतावासले त्यहाँ अध्ययन भीषामा जाने नेपालीहरु विचैमा विश्वविद्यालय छोडेर भाग्ने क्रम बढेपछि त्यसले ईपीएस प्रणालीमा असर पार्न थालेको बताएको छ ।

कोरियाको सोलस्थित नेपाली दूतावासले गत असार २७ गते परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै नेपाली विद्यार्थी भाग्ने क्रमले ईपीएसमार्फत नेपाल आउने कामदारको कोटा घट्न सक्ने भन्दै गम्भीर हुन आग्रह गरेको परराष्ट्र मन्त्रालय श्रोतले बतायो । दूतावासले विश्वविद्यालयमा भर्ना भएपनि नेपाली विद्यार्थी कमाउनकै लागि सेमष्टरको अध्ययन पछि छोडेर भाग्ने गरेको औल्याएको छ । खासगरी शैक्षिक परामर्श केन्द्रहरुलाई लाखांै रुपैयाँ बुझाएर कोरिया पुग्ने युवा अवस्थाका नेपालीहरु लगानी अनुसारको कमाई गर्न भाग्ने गरेको बताइएको छ । त्यसले कोरियामा आगामी केही वर्षमै गैरकानूनी रुपमा बसेका नेपालीहरुको संख्या बढ्ने र त्यसले ईपीएस प्रणालीमा असर पु¥याउने दूतावासको विश्लेषण रहेको छ ।

ईपीएस प्रणाली पूरा गरी रोजगारीका लागि कोरिया गएका नेपाली कामदारहरुको संख्या हाल करिव ४० हजारको हाराहारीमा रहेको छ । नेपाली कामदारको लगनशीलता र इमान्दारीताबाट त्यहाँका रोजगारदाता प्रभावित भई ईपीएस प्रणालीबाट जाने कामदारहरुको संख्या अघिल्लो वर्षको ७ हजारबाट बढाएर यस वर्ष दश हजार पुगेको छ । नेपालले पाउने कोटा निर्धारणको कूल अंकमा गैरकानूनी बसोवासको संख्याले उल्लेखनीय रुपमा असर पार्ने बताइएको छ । कोरियामा विद्यार्थीले गर्ने आंशिक रोजगारीको अभाव, भाषिक दक्षताको कमी जस्ता कारणले विद्यार्थीहरुले समस्या भोग्नुपरेको भन्दै दूतावासले त्यसैका कारण धेरैजसो विद्यार्थीले अध्ययन विचैमा छोडेर भाग्ने भन्दै शिक्षा मन्त्रालयले प्रदान गर्ने नो अब्जेक्सन लेटर (एनओसी) प्रदान गर्दासमेत कडाई गर्न आग्रह गरेको छ ।

प्रतिक्रियाहरू