कोरियामा भाइटिका कसरी मनाइँदैछ – बिशेष कुराकानी

0
291

नेपालीहरुको दशैँ  पछिको दोश्रो महान चाड तिहार सबैको घर आँगनमा आईसकेको छ। यमपञ्चकको पहिलो दिन काग पूजा, दोश्रो दिन कुकुर पूजा, तेश्रो दिन लक्ष्मी पूजा, चौथो दिन गोवर्धन पूजा  र पाँचौ दिन भाइटिका लगाई तिहारलाई सम्पन्न गरिन्छ। यसरी प्रत्येक दिन पूजा गरिनुमा आ-आफनै मान्यता तथा विश्वास रहि आएको छ। तिहारको मुख्य दिन भाइटिकालाई मानिने गरिन्छ। यो पर्व दाजुभाइ एवं दिदीबहिनी बीचको सद्भावको पर्व पनि हो। यो पर्वमा आफ्नो दाजुभाइ दिदीबहिनी भएरै वा नहुनेले पनि बनाईएका दाजुभाइ दिदीबहिनीहरुलाई पूजा गर्ने गर्दछन। यसरी कतिपयले यो बनाइएको सम्बन्धलाई आजीवन कायम राख्दै रगतको नाताभन्दा माथि मान्ने गर्छन।
तिहार नेपाल लगायत बिदेशी भूमीमा रहेका नेपालीहरुले धुमधामसँग मनाउने गर्छन्। कामको ब्यस्तता र पारिवारिक हिसाबले टाढा भएर पनि कोरियामा रहनु भएका नेपालीहरुले चाँही यसपालिको तिहार कसरी मनाउँदैछन् त? हेल्लोनेपालकोरियाडटकम कि सहकर्मी बबिता ओली क्षेत्रीले कोरियामा रहेका नेपालीहरुलाई यसपालिको तिहार कसरी मनाउँदै हुनुहुन्छ भनेर सोध्नुभएको छ।  ।

जुनु गुरुङ -एसिया प्यासिफिक महिला संयोजक, दक्षिण कोरिया

-- Ad --


हामी विदेशीको लागि तिहार कै दिन टिका लगाउँन संभव छैन। यो वर्षको तिहारको टिका पनि शुक्रवार परेको छ। कोरियामा प्राय शनिवार र आईतवार अधिकांश नेपाली दाजुभाइ-दिदीवहिनीहरुको बिदा हुन्छ। तरै पनि म, मेरो घरमा मेरा दाजुभाइहरुलाई शुक्रवार नै टिका लगाउँछु। अनि बिदा मिलाएर टिकाको लागि मेरो घरमा आउँनुहुने मेरा दाजुभाइहरुलाई टिका लगाउने योजनामा छु। अनि यो शनिवार वुमन फर वुमनले साँझ भाइटिका कार्यक्रम गर्दैछ, त्यहाँ पनि जान्छु। यो संस्थाले यसरी भाइटिका गर्ने गरेको मेरै कार्यकालवाट शुरु भएको हो। याद त आउँछ नेपाल हुँदा चाडपर्व मनाएको तर के गर्ने? हामी जहाँ छौँ त्यहाँ नै खुशी हुनु पर्ने रहेछ। परदेशमा जो जहाँ हुनुहुन्छ खुशी भएर तिहार मनाउँनुहोला। तिहारको मंगलमय शुभकामना भन्न चाहान्छुl

अन्जु केसी – अध्यक्ष एन सि सि, दक्षिण कोरिया


यस बर्ष भने लक्ष्मीपूजा गरि यहि शनिवार आफ्नो मन मिल्ने नजिकका भाइहरुलाई टीका लगाई रमाइलो गरि मनाउदै छु। आइतबार एन.सि.सि. बुसान शाखाको तिहार कार्यक्रम आयोजना हुदैछ त्यहाँ प्रमुख अथितिको रुपमा सहभागी हुन जादैछु। त्यहीँ नाचगान गरिन्छ, टीका लगाइन्छ, रमाइलो गरिन्छ। तिहारमा नेपालको धेरै याद आउँछ। परिवारसँग जस्तो परदेशमा त हुँदैन नै तर पनि नेपालको याद मेट्न, आफ्नो संस्कृतिलाई जोगाउन पनि चाडपर्व मनाउने, रमाउने कोशिस गर्नुपर्छ जस्तो लाग्दछ।

सरोज केसी – अध्यक्ष, दोलखाली समाज दक्षिण कोरिया

परदेशको ठाउँमा सबै हामीले भनेको जस्तो त पक्कै पनि हुदैन, एकातिर घर देखि टाढा यो पराइको देशमा छौँ भने अर्को तिर नेपालमा घरपरिवारले तिहार मनाइरहँदा आफू भने १२ घण्टा सम्म काम गरिरहँदाको पीडा त छदैछ तर पनि जहाँ जसरी, रहेता पनि हामी नेपाली हौँ, हामी जहाँ जान्छौं त्यहा हामी  सङ्गसँगै  हाम्रो कला संस्कृति पनि साथमा बोकेर ल्याएका हुन्छौँ, रमाइलो त छैन तर पनि रमाउन जान्नुपर्छ, रमाउन सिक्नुपर्छ। आफ्नो इच्छा छ भने जुनसुकै अवस्थामा पनि आफ्नो आवश्यकता पुरा गर्न सकिन्छ। भोली भाइटिका १० बजे सम्मको डिउटि सकाएर पल्लो कम्पनीमा नेपाली बहिनीहरु छन् उनिहरुको हातबाट टिका लगाउने निधो गरेको छु।

चन्द्र राना – अध्यक्ष, गुल्मी सम्पर्क समिति, दक्षिण कोरिया

प्रवासको भाइटिका अलिकति खल्लो त हुन्छ नै, तै पनि हामी जहाँ छौँ जे जसरि बसिरहेका छौँ, त्यहीँ बाट आ-आफ्नो तरिकाले रमाइलो गर्न सक्नुपर्दछ जस्तो लाग्दछl यसपटकको भाइटिकामा मेरो नितान्त व्यक्तिगत कार्यक्रम भन्दा पनि बिदाको दिन पारेर आगामी शनिवार  बेलुका गुल्मी सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा तिहार बिशेष शुभकामना आदानप्रदान, द्यौसी भैलो कार्यक्रम आयोजना गरेका छौँ। सबैजना त्यही उपस्थित भएर एक अर्कोमा दु:ख सुख साटासाट गरेर रमाइलो गर्ने कार्यक्रम छl तपाइँहरुको मिडिया मार्फत सम्पूर्ण नेपालीहरुलाई उक्त दिन उपस्थित भैदिनुहुन समेत अनुरोध गर्दछुl साथै कोरियावासी नेपालीहरुलाई शुभ-दिपावली तथा  भाइटिकाको शुभकामना व्यक्त गर्दछु l

त्यसैगरी सदाका वर्ष जस्तै वुमन फर वुमनले पनि सामूहिक भाइटिकाको कार्यक्रम राखेको छ भने एन.सि.सि बुसानले पनि वृहत भाइटिकाको कार्यक्रम राखेको छl केहि दिन पहिला किम्हे सिस्टरवुडले पनि द्यौसीभैलो कार्यक्रम सम्पन्न गरेको थियोl यसका अलवा कोरियामा रहेका विभिन्न संघ-संस्थाले पनि आ-आफ्नै तरिकाले सामूहिक भाइटिका, शुभकामना आदान प्रदानको कार्यक्रम राखेको छl

तर, कोरियावासी अधिकांस नेपालीहरुसँग गरिएको कुराकानीलाई आधार मान्दा तिहारको दिन काममा ब्यस्त हुनुपर्ने भएकोले यो वर्षको तिहार निराशजनक रहेको प्रतिक्रिया पाईएको छl

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here