कोरियामा हुण्डी गन्थन

232

आइतबारको दिन अर्थात कोरियामा बिदाको दिन ।अघिल्लो दिनको थकान ,बाहिर कठ्याङ्ग्रिदो जाडो,भित्र बोइलरको भुँई तताई ,राति अबेरसम्मको सोजु(कोरियन रक्सि) को चुस्की सहितको गफगाफ र बसाईले बिहान एघार बजेसम्म पनि ब्यूँझेका हुँदैनन्।सानो कोठा ,कोठामा चार-चार जना अटसमटस भई भुँइमा लम्पसार छन् ।कोठामा बिरे त्यहाँ भए मध्येकै कलिलो छ ।बोलक्कड तर बोलाईमा परिपक्कता र सभ्यता देखिँदैन।काजि मिलनसार र कन्जुस छ ।विस्वास गरिहाल्ने बानीले समयसमयमा धोका खाईरहन्छ ।त्यस्तै मुन्ना भन्ने अर्को पात्र छ जो थोरै बोल्छ ।उसको अर्को विशेषता सकरात्मकता र इमान्दारिता पनि हो र अन्तिम पात्र मिलन छ जो कम्पनीकै पुरानो र कोठाकै प्रिय पात्र हो ।सधैँजसो बिबादमा निर्णायक बोली उसको रहन्छ र सबैलाई रिझाएर ,मिलाएर राख्न सक्ने क्षमतावान् र भएमध्येकै जेठो छ। कोही चिर निन्द्रा त कोही तन्द्रामा भइरहेका बेला बिरे झ्वास्स ब्यूँझन्छ  र पर्खालमा सिरानी ढेप्स्याई त्यसैमा लिन भई मोबाईल हातमा लिन्छ र एक्कासि ठुलो स्वरमा ,,,,,,

●बिरे :तिमी त खुब हुन्डि हुन्डि भन्थ्यौ नि, हुन्डिले डुबायो हैन ? हुनत यो मानव जातिलाई आफैँले देख्नु  र भोग्नु पर्नुे।उपदेश त सानाले दिएको पनि हेक्का राखे हुने नि ।आफैँ ठूला आफै ठालु ।कठै !

-- Ad --


●काजि:(एक्कासि ब्यूँझिएर चनाखो हुँदै )के भन्छ एकाबिहानै ? कि सपनामा बौरिएको हो यो मान्छे ?

●बिरे :कस्तो कुरा हो !दिनमा पनि सपना देखिन्छ र ?,हेर्न फेसबुकमा समाचार छ्याप्छ्याप्ती छ त ।कि देखाइदिउँ (आखैँ अगाडि मोबाईल पुर्याउँदै) या हेर बोल्ड अक्षरमा”कोरियामा लाखौँ रकम कुम्ल्याएर हुन्डिवाला फरार ”

●काजि:(आत्तिँदै मोबाईल अन गर्दै )बुधबारको भाका थियो ,रकम अस्ति नै पुग्नु पर्ने ,आज त हाता लगाईदिन्छु भन्थ्यो ,बर्बाद गर्यो सालाले। फेरि चिनेको पनि छैन ।अब के गर्ने ,कसो गर्ने !लौन साथी हो ,मिलन दाई ,,,

(बाँकि दुई पनि ब्यूँझन्छन  र पर्खालमा अडेस लागि न्युज हेर्न तम्सिन्छन् ।)

●बिरे:चिनेको छैन भने के आधारले पैसा पठाएको त ?नचिनेको मान्छेलाई लाखौँ रकम कसरी बुझाउन सकेको होला ।हैट!मान्छे त हो गाँठे ! कि मैले जस्तो चिरपरिचितसँग कारोबार गर्नु र सतप्रतिशत ढुक्क हुनु ।हैन भने अब पछुताउनुको कुनै तुक छैन ।’किप काल्म बेबे’

●काजि :नकरा तँ।बलेको आगोमा तेल हाल्न त खुब माहिर छस् ।मान्छेको ब्यवहार के ले नाप्छस् ?कि जोखेर पत्ता लगाउछस् ?पोहोर साल बहिनीको बिहेको रिण थियो,आमाको अपरेसन पनि यसै महिना गर्नुपर्ने,आमा अस्पतालमा भर्ना भईसक्नु भा’छ, मोटो रकम खोजखाज गरेर जम्मा पारेको,बर्बाद गर्यो ।अब के भन्ने घरमा ? घरबाट बारबार कल आईराछ “झट्टै पठाईदे ठुले पैसा ,अबेर भईसक्यो। ”

●मुन्ना:के भन्छ ,मान्छे कोरियामै खुस्कियो र ?स्वाहा भाको त छैन नि ।देशमा परिवार होलान्,आफन्त होलान्,बिहे गर्या भए श्रीमती होली ।पैसा च्वाट पारेर निर्धक्क भएर बाँच्न सक्छ र कोही ?फेरि पैसाको कारोबार त्यसमाथि दुई नम्बरी बाटो ,ढिला सुस्ति त कहिलेकाहीँ बेहोर्नु पर्छ नि।

●बिरे :हेर न यो लाटो ,काम कुरो एकातिर को नि के ठिमितिर भनेजस्तो ।अझै पैसा फिर्ता गर्छ भन्ने सोचिराछ ।कतिको फिर्ता गरेर सकोस्, सक्ने भए त गुप्तबास बस्नुपर्थ्यो र ?त्यही कंगाल भएर त फुस्स हराईदियो ।

कठै काजि !

●मिलन:(निन्द्रालु स्वरमा)

काजि ,कति पैसा पठाको ?

पठाउनेको नाम के हो ?

घर कहाँ हो ?

नंम्बर छ ?

●काजि :(निन्यारो स्वरमा)नाम र नम्बर छ ।कल गर्दा स्विज अफ छ l फेसबुक पनि डिएक्टिभ गरिसकेछ ।घर त थाहा छैन दाई ,साथीले दिएको नम्बर थियो र भन्थ्यो ‘ऊसकोबाट अरुको भन्दा मान वन (दश हजार वन)सस्तो छ ‘।मैले पनि सस्तो भन्ने बित्तिकै बुझि हेरेँ,हो रहेछ र यो दोस्रो चोटि पठाए’थे।अब के गर्ने मिलन दाजु ,डुबायो मलाई ।आमाको अपरेशन यहि महिना नगरी हुँदैन ।हरे शिव !(दुई हात टाउकोमा लगि सोचमग्न हुन्छ)
●बिरे:(केहि भावुक हुँदै)साँच्चै परदेशमा नेपालीलाई बिगार्ने नेपाली नै हुँदारहेछन ।महिनौ औला घोटिघोटि निच र हिन गालि सहेर जम्मा गरेको धन कति सजिलै कुम्ल्याउँन सकेको।कति निर्दयी नेपाली।
●मुन्ना:चिन्ता नलेऊ काजि ।एक न एक दिन त पक्कै भेटिएला ।फेरि विदेशी हैन नेपाली हो ।फर्किएर जाने त आफ्नै देश हो नि ।त्यसमाथि तिम्रो मात्र पनि त हैन ,धेरैको पैसा बिगारेछ ।धेरैको खोजिमा भएको व्यक्ति एकदिन अवश्य भेटिन्छ ।
●मिलन:(संवेदनशील बन्दै),तिमीहरु मनलाग्दि पाराले पैसा नपठाओ भाईहरु।कोरियामा अधिकांश नेपालीहरु हुन्डिबाट पठाउँछन ।हुन्डि ,पैसा पठाउने सवालमा दुई चार हजार सस्तो हो ,सस्तो हुँदैमा हामीलाई मनग्यै नाफा हुने होईन र महँगो हुँदैमा घाटा पनि ।चाहे गाउँकै, नजिककै,आत्माकै,नाताकै मान्छे वा साथी नै किन नहोस् ,
हाम्रो रकम सत प्रतिशत घर पुग्छ भन्ने कुनै ठेगान हुँदैन किनकि यो गैरकानुनी कारोबार हो ।पैसा फस्न पनि सक्छ र पुग्न पनि सक्छ । अनि अर्को कुरा यदि यसरी फसिहाले पनि हामीसँग पैसा असुल्ने कुनै कानुनी अधिकार छैन।तिमीहरुलाई थाहा छ कोरियामा बर्षेनि एकदेखि दुई हुन्डिवालाहरुको कायापलट भएको सुन्नमा आउँछ ।कति पैसा कुम्ल्याएर बेखबर हुन्छन् त कति टाट पल्टिन्छन् ।मैले शुरुमै पनि भनेको थिएँ।भरपर्दो माध्यम बैँक हो ।यसबाट पठाऊ ,यसबाट देशलाई पनि टेवा हुन्छ ।
●मुन्ना:(समर्थन जनाउँदै) हो नि ,मलाई कुनै टेनसन नै छैन ।प्रत्येक महिना तलब बैँकमा जान्छ ,बैँक टु बैँक नेपालमा ।कति छिटो,छरितो र भरपर्दो ।त्यति मात्र हो र ,भोलि नेपाल गएर पनि कारोबार गर्न सहज हुन्छ ।
●बिरे:(गीज्याउदै)ओ..हो हो.. हिजोसम्म बैक महँगो भो अब हुन्डिबाट बिचार गर्नुपर्ला भन्ने आज फेरि बैँक नै सौरै आना सही छ भन्ने दुईजिब्रे मानव पनि देखियो ।के सारो जाति हुन सकेका ,आफ्नो त भरपर्दो मुन्छे छ, हिजोआज त बैँकको पो विस्वास लाग्दैन बरु।हिजो मात्रै ….. (बोल्दा बोल्दै मिलनले कुरा काट्छ)

●मिलन(सम्झाउँदै)भो.. भो. ..भाई ,धेरै बकम्फुसे कुरा नछाट् ।अहिले ताहि न तुहिको कुरा गर्ने समय हैन ।सक्छौ काजिबाट पाठ सिक ,अझ सक्छौ उचित सल्लाह थप तर खिल्लि नउँडाउ ,यस्तो समस्या भोलि तिमीलाई पनि नआउला भन्न सकिँन्न ।याद राख ।(बिरे चुपचाप देखिन्छ )अनि काजि भाई,अब तिमीले आफूजस्ता पीडितहरु को को छन् सम्पर्क गर्न शुरु गर ।फरारको व्यतिगत विवरणको खोजतलास गर ।कोरियामा उसलाई चिन्ने को को छन सबैसँग सोधखोज गर ।नेपालमा साथीहरुलाई घरको बारेमा सोधखोज गर्न भन ।आमाको अपरेशनका लागि हामी सबै मिलेर केही पैसा उठाउँछौ र पठाउछौ  ।
घरमा नढाँटि साँचो कुरा बताऊ।अनि अर्को कुरा यसरी मोटो रकम पठाउँदा सल्लाह लिने गर ।सुटुक्क पठाउँदाको परिणाम थाहा भो नि।यदि ईमान्दार छौ र देशको लागि पनि केहि सोच्छौ भने बैकबाट पठाऊ ।
●मुन्ना:(बिरेतिर हेर्दै),बीरे सुन्दै छस् नि ,कान तिखा पारेर सुन है ।तँलाई विशेष काम लाग्छ ।
●बिरे:(अति मलिन हुँदै),हो यार ,मेरो पनि बर्बाद भएछ ।साथीको भर्खर म्यासेज आयो ‘हिजोको पैसा डुब्यो रे ,
डुबाउने त्यहि एउटै रहेछ ।(बीरे बोल्दा बोल्दै रातोपिरो हुन्छ )
●काजि:(सोचमग्न अवस्थाबाट झस्किँदै)कसैको पिडामा खिल्लि उडाउनु हुन्न नि बिर बहादुर।परदेशमा त झन् पिडा साझाको रुपमा लिनुपर्छ ।कस्तो पिडा हुँदो रहेछ ।थाहा भो नि होइन ?म पनि त तँलाई प्याच प्याचि भन्न सक्छु नि आहिले ,सक्दिँन र ?तर म मा त्यस्तो शैलि छैन ।
“जस्ट किप काल्म ब्रोदर”
●मुन्ना:हे भगवान्!
अझ तिम्रो पनि कुम्ल्याउँन भ्यायो ?
अनि तिमीले पनि त्यहि डाकाबाट पठाएको हो र ?
गाउँको चिरपरिचितबाट होइन ?
●बिरे:(रुन्चे स्वरमा)ई.पि.एस बाटै आएको एक गाउँको दाई हो ।मैले त उसैले नै होला कारोबार गर्ने सोच्दथेँ ।र निरधक्क भएर भनथ्यो ,”पैसा कुनै हालतमा बिग्रने फिक्रि छैन”। रकम जम्मा गरि त्यही चोरलाई दिने गर्दो रहेछ ।उसलाई त्यस बापत कमिशन आउँदो रहेछ ।विचरा उसको पनि खायो रे ,,
●मिलन:माझिले समुन्द्रमा म कहिल्यै पानीमा डुब्दै डुब्दिँन भन्न कहिल्यै हुँदैन ।रातदिन उहि पानिसँग खेल्ने माझि एकदिन समुन्दमै गायब हुन पनि सक्छ ।याद गर ऊ माझि हो ,तिमीहरु ढुङ्गामाथिका यात्रु । यसैले बिर बा. भाई ,तिमी जति सुकै भरपर्दो मान्छेबाट पठाऊ वा साथीबाट पठाऊ,हुन्डि कारोबार अवैधानिक र गैरकानुनी हो जबसम्म तिमी यसबाट कारोबार गर्छौ ।
●बिरे:(केहि मिजास त केही सन्किसाथ )हो दाजु,म पनि अबदेखि तपाईजस्तै बैँकबाट पठाउन शुरु गर्छु ।तर यो पैसा त त्यसै छोडिँदैन ।भोटेको गधाभएर काम गरि जोडेको सम्पति कहाँ सजिलै बिर्सन सकिन्छ र ?भेटु मात्र न  …….
●काजि:(आक्रोशित भई)कमिनालाई मैले जान्या छ ।
ब्याजसहित पैसा नलिई त कहाँ छोड्छु र ।कणकणको पैसा हो भगबान छन देख्ने ।यो जुनिमा त सुखसँग कहाँ बस्न सक्ला र ?साला चोर ,धिक्कार छ
●मुन्ना:सकरात्मक सोचबाट सोच्ने गरौँ ।कारोबार हो ,कतै गडबड भयो होला ।उसले पनि कसैलाई पैसा बुझाउने हो ,अर्कैबाट कुकृत्य भएको पनि हुन सक्छ । फेरि केही दिनमै सम्पर्कमा नआउला भन्न पनि त सकिँदैन नि।सबैको रकम फिर्ता गर्ने बाचा गर्दै सम्पर्कमा आए त झनै राम्रो हुन्थ्यो नि ।कि कसो मिलन दाई ?(मिलनतिर हेर्दै)
●मिलन:ठिक कुरा गर्यौ भाई ,यस्तो घटना पनि धेरै भएका छन ।त्यस्तो भयो भने त झन गजब हुन्थ्यो ।तर पनि यो घटनाले नेपालीहरुलाई पाठ त पढाउनु पर्ने ।कोरियामा पैँतीस हजारको हाराहारिमा नेपालीहरु छन् ।सबैले बैँकबाट पठाए त कति रेमिट्यान्स जोडिन्थ्यो होला ।
र यसरी रकम डुब्ने ‘टेन्सन’ पनि हुँदैनथ्यो ।
●मुन्ना:तर हामी नेपालीहरुमा यस्तो सोच कहिले पलाउला र फेरि उता देशको अवस्था पनि तहसनहस छ ,कसले सोच्ने र देशको बारेमा ?नेपाल सरकारले यस बारेमा कडि कडाऊ गरे त हुने हो नि ।
●काजि:गरिरा’छ त, अझै कति गरोस्।नेपालमा गैरकानुनी हुन्डि कारोबार गर्नेलाई धरपकट गरेको समाचार आईरा’छ त ।यो त सबै मान्छेको ईच्छाशक्तिमा भर पर्छ ।ठुल्ठुला संस्थामै आबद्द हुनेहरु हुन्डिमा सक्रिय छन् ।कसलाई के भन्ने र ?आजको युगमा कसैलाई ठेलेर,पिटेर,हप्काएर सोच परिवर्तन गर्न नसकिने क्यार ।स्वयम् व्यक्तिमा राष्ट्रियता टुसाउनु पर्यो ।
●बिरे:(होसमा आएजसरी)हो काजि ,हामीले शुरुदेखि नै बैँकबाट पैसा पठाएको भए यस्तो तनाव नहुने रै छ ।कम तनाब छ अहिले ।टाउको फुट्लाजस्तै भाछ ।थुइक्क दुःखी आत्मा ।
●मिलन :ल छोड्दे आत्मालाई धिकार्न,बरु जाऔ तोङ्देमुन ,बिदाको दिन जमघट हुने ठाउँ उतै हो ।तिमीहरुजस्ता पीडित पनि भेटिन सक्छन् ।ए,,,,अनि अर्को कुरा ,पासपोर्ट,एलाइन कार्ड,एकदुई अटो साइजको फोटा पनि बोक्ने ।आजैबाट कानुनिबाटो हिँड्ने र साथीहरुलाई पनि हिँडाउने ।उठौँ(मिलन उठेर बाथरुमतिर लाग्छ)
●बिरे:(काजितिर हेर्दै)के ट्वाल्ल परिरा?आशा मरिसकेको छैन ।उठ्…उठ्..(आफू उठेर उसको हात तान्दै र दिप श्रेष्ठको गीत गुनगुनाउँदै ,,,,,,
‘झिरमा उनिनु त्यो एउटा कुरा
पीरमा उनिनु त्यो अर्को कुरा,
नभिज्ने आखाँ कस्को छ र
तर झर्नु नझर्नु त्यो अर्को कुरा