
विज्ञान तथा प्रविधी क्षेत्रमा विगत लामो समयदेखि अध्यापन गर्दै आउनुभएका नेपाली मूलका प्राध्यापक डा. भानु श्रेष्ठ दक्षिण कोरियामा निकै लोकप्रिय नाम हो। दोलखा जिल्ला भिमेश्वर नगरपालिका-२ मा जन्मनुभएका श्रेष्ठ उच्चशिक्षा हासिल गर्न सन् १९९२ मा कोरिया प्रवेश गर्नुभएको हो। Kwangwoon University बाट Electronics Engineering मा स्नातक अनि स्नातकोत्तर हुँदै सन् २००८ मा विद्यावारिधी हासिल गरेपश्चात सोहि university मा अध्यापन गर्दै आउनुभएको छ।
विज्ञान तथा प्रविधी क्षेत्रमा १०० को हाराहारिमा शोधपत्र (Research articles) प्रकाशित गरिसक्नुभएका श्रेष्ठ अध्यापनको अलवा कोरियामा अध्यनरत नेपाली विद्यार्थीका साथै नेपालबाट कोरियामा अध्यनका लागि आउन चाहने विद्यार्थीहरुलाई उचित सल्लाह, सुझाव तथा सहयोग गर्दै आउनुभएको छ। अत्यन्तै सरल र सहयोगि स्वभावका श्रेष्ठ गीत सङ्गीतमा पनि उत्तिकै रुचि राख्नुहुन्छ। उहाँले आफ्नै शब्द, संगित र स्वरमा जन्मभूमी प्रतिको माया र स्नेह प्रतिबिम्बित हुने गीतहरु संकलित ‘द्वाल्खाये माया’ नामक गीति सङ्ग्रह प्रकाशनमा ल्याउनुभएको छ भने कोरियन भाषा सिक्न चाहनेहरुका लागि नेपाली तथा अङ्ग्रेजी दुवै भाषामा अनुवादित ‘एउटै पुस्तकले काफी हुने नेपाली सम्बाद’ नामक पुस्तक पनि प्रकाशित गरिसक्नुभएको छ। उनै डा. श्रेष्ठसँग हेलोनेपालकोरिया ड्टकमले कुराकानी गर्ने जमर्को गरेको छ।
बबिता ओली (क्षेत्री): सर्वप्रथम त हजुरलाई हेल्लोनेपालकोरिया डट्कममा हार्दिक स्वागत छ। आजभोलीको ब्यस्तता कस्तो छ ?
डा. श्रेष्ठः आजभोलि आफ्नै क्षेत्रको अनुसन्धानको काममा ब्यस्त छु।
बबिता ओली (क्षेत्री): हाल दक्षिण कोरिया रोजगारीको अलवा अध्यनको लागी पनि आकर्षणको केन्द्र बन्न थालिसकेको छ। अध्यनको लागि आउन चाहने विद्यार्थीहरुको संख्या वृद्दीसँगै कोरिया प्रवेश गर्न चाहने र प्रवेश गरिसकेका नेपाली विद्यार्थीले के-कस्ता कुराहरुमा ध्यान दिन उपयुक्त देख्नुहुन्छ?
डा. श्रेष्ठः कोरिया आउन चाहने विद्यार्थीहरुले धेरै कुराहरुमा ध्यान दिनु जरुरी छ। खासगरि, विद्यार्थीहरु आफैले सिधै निवेदन दिएर आएका हुन् कि अन्य कुनै consultancy मार्फत आएका हुन् भन्ने कुरामा पनि बिशेष भर पर्छ। जसरि आएपनि सामान्यतया, university सँग सम्बन्धित सूचनाहरु अधिकतम थाहा पाउनु जरुरी छ। जस्तै, आफूले रोजेको university मा पाईने scholarship, Hostel/dormitory को ब्यवस्था, अध्यनको माध्यम, university को संस्कार लगाएत कोरियाको खाना, भाषा र जीवनशैलीको स्तर आदि कुराहरुको बारेमा ध्यान दिनु जरुरी हुन्छ।
बबिता ओली (क्षेत्री): कस्ता नेपाली विद्यार्थीहरु दक्षिण कोरियामा अध्यनको लागि योग्य हुन्छन्?
डा. श्रेष्ठः समग्रमा भन्ने हो भने हरेक University का आ-आफ्नै निश्चित मापदण्ड (Criteria) हुन्छन्। ति मापदण्डहरु पूरा गर्ने जो कोहि पनि पढ्नलाई योग्य हुन्छन्। कतिपय कुराहरु आफूले कुन तहको अध्यन गर्न चाहेको हो भन्ने कुरामा पनि भर पर्दछ। जस्तै, स्नातक अध्यनको (Bachelor’s degree) लागि १२ कक्षा पूरागरि कम्तिमा पनि TOPIK (Test of Proficiency in Korean) Level -3 भन्दा माथि वा सम्बन्धित University को भाषा परिक्षामा कम्तिमा Level-4 पास गरेको हुनुपर्दछ। दोश्रो, सशर्त (Conditional) भर्ना क्राईटेरिया पनि हुन्छ। जसमा सम्बन्धित university मा भर्ना भै १ बर्षसम्म भाषा पढेर level-4 पास गर्यो भने आफूले रोजेको बिषयमा स्नातक अध्यन गर्न पाईन्छ। तेस्रो कुरा, यहाँ Credit transfer गरेर पढ्न पाईने ब्यवस्था पनि छ तर, यसमा भने भाषा अनिवार्य छ।
सन् २०२० देखि यो युनिभर्सिटीले Bio-Medical Science and Engineering (BMSE) कोर्स अङ्ग्रेजी माध्यममा पढाउने योजना बनाएको छ, जसको लागि कोरियन भाषा पास गरिरहन जरुरी छैन्। सम्बन्धित ईकाईबाट आवश्यक क्राईटेरिया पूरा गरि सिधै भर्ना भएर पढ्न सकिन्छ।
स्नातकोत्तर (Master’s degree) र विद्यावारिधि (Ph.D.) मा भर्नाको प्रकृति भने फरक खालको छ। आफ्नै लगानिमा अध्यन गर्न चाहनेका लागि स्नातक पूरा गरिसकेको जो कोहि पनि भर्ना भएर पढ्न सक्छन्। तर, आर्थिक सहायता वा छात्रवृतिको लागि भने आफैले व्यक्तिगत रुपमा आफ्नो हुनेवाला Advisor सँग पूर्णतः बुझ्न आवश्यक छ।
बबिता ओली (क्षेत्री): अहिले नेपाली विद्यार्थीहरु कन्सल्टेन्सी मार्फत महङ्गो रकम तिरेर ३० देखि ५० प्रतिशतसम्म Scholarship भनि पढ्न आउने, तर युनिभर्सटिले पछि Scholarship नदिएर समस्यामा परेका समाचारहरु पनि आईरहेका छन्। यस बारेमा कोरियामा पढ्न आउन चाहने विद्यार्थीलाई तपाँई कस्तो सुझाब दिनुहुन्छ?
डा. श्रेष्ठः सर्वप्रथम विद्यार्थीले थाहा पाउनुपर्ने भनेको यहाँको Scholarship को प्रकृति कस्तो छ अर्थात, पढाइका क्रममा कति समयपछि कति आर्थिक सहायता पाउन सकिने ब्यवस्था छ भन्ने कुरा थाहा पाउनु जरुरी छ। शुरुमा, ट्युशन फी मा ५०% छुट् पाईन्छ भने अरु सेमष्टरहरुमा अघिल्को सेमेष्टरको GPA को आधारमा छुट् पाईने हुन्छ। जस्तै, GPA २ भन्दा माथि छ भने ३०%, २.५ भन्दा माथि भएमा ४०%, ३ भन्दा माथि भए ५०%, ३.५ भन्दा माथि भयो भने ७०% र ४.० छ भने १००% छुट् पाईन्छ। यि कुराहरु बुझेर नआउँदा समस्यामा परेको जस्तो लाग्छ। त्यसैले, ट्युसन फी मा कति छुट् पाउने भन्ने कुरा विद्यार्थी आफैमा भरपर्ने कुरा हो। युनिवर्सिटीले दिने Scholarship बाहेक अन्य Scholarship हरु पनि छन्।
बबिता ओली (क्षेत्री): कतिपय अध्यनको लागि आएका नेपाली विद्यार्थीहरु १/२ सेमेष्टरपछि डिप्रेशनको शिकार भई स्वदेश फर्किन बाध्य भएका घटनाहरु पनि छन्। यसका कारणहरु के-के हुन सक्लान? तपाईँको धारणा के छ?
डा. श्रेष्ठः डिप्रेशनको शिकार भै स्वदेश फर्किन बाध्य हुनुका कारण धेरै हुन सक्छन्। ति मध्ये एक्लोपन महशुस हुनु, सँगै बस्ने साथीको बेवास्ता हुनु, आफ्नै सिनियर वा जुनियरको उचित सरसल्लाह नपाउनु अनि Advisor सँग राम्रो Communication नहुनु आदि हुन सक्छन्। त्यसैले, आफू जहाँ बसिन्छ, पढिन्छ, त्यसको बारेमा निडर भएर सम्बन्धित व्यक्ति वा निकायलाई बुझ्ने र बुझाउने कोशिस गर्यो भने डिप्रेशनको शिकार मात्र होईन एक्लोपनको महशुस पनि गर्नु पर्दैन जस्तो लाग्छ अनि राम्रोसँग आफ्नो पढाईलाई अगाडि बढाउन सकिन्छ।
बबिता ओली (क्षेत्री): कोरियाको शैक्षिक प्रणाली खास गरि प्रविधीको क्षेत्रमा अध्यन अध्यापनको प्रणाली कस्तो हुन्छ? अलिकति बताईदिनुस् न।
डा. श्रेष्ठः कोरियाको शैक्षिक प्रणाली हाम्रो भन्दा फरक पृष्ठभूमिबाट शुरु भएको हो। बिशेष रुपमा प्राविधिक क्षेत्रको कुरा गर्नुपर्दा यहाँ सैद्दान्तिक बिषयसँगसँगै ब्यवहारिक ज्ञानको पनि उत्तिकै अध्यन गर्ने गराउने गरिन्छ। Master’s र Ph.D. तहको अध्यन पनि यस्तै हो तर, खोज अनुसन्धानमूलक कामहरुमा बढि जोड दिईएको पाईन्छ। मूलतः यसकै आधारमा विद्यार्थीको मूल्याङ्कन हुन्छ। अनि अर्को कुरा, यहाँको पढाई Job oriented हुन्छ। अर्थात, यहाँ पढेपछि कहाँ के काम गर्ने भन्नेमा पढ्दापढ्दै विद्यार्थी आफै विश्वस्त भैसकेका हुन्छन्। अध्यन पनि त्यस्तै हुन्छ।
बबिता ओली (क्षेत्री): १०० भन्दा बढि Research articles प्रकाशित गरिसक्नुभएको छ, अनुसन्धान के हो रहेछ? Researcher भएर काम गर्दाको सम्झनलायक क्षण बताईदिनुस् न, अहिलेको पिँढीलाई प्रेरणा मिल्न सक्छ।
डा. श्रेष्ठः मैले बिभिन्न Conference र Journal हरुमा अनुसन्धानका शोधपत्रहरु प्रकाशित गरिसकेको छु। वास्तवमा अनुसन्धानलाई समष्टिमा दुई तरिकाबाट सोच्न सकिन्छ। एउटा, भएकोबाट भएकै पत्ता लगाउनु र अर्को, भएकोबाट नभएको पत्ता लगाउनु। अनुसन्धान भनेको सहज कार्य पक्कै पनि होईन। यस्तै कुराहरुको गहन एवं क्रमिक अध्यन गरेर नै अनुसन्धानकर्ताहरु वैज्ञानिक बनेका हुन्।
जहाँसम्म मेरो कुरा छ, जब म Ph.D. मा अनुसन्धानकर्ताको रुपमा अध्यन गर्दा खोजमूलक शोधपत्र लेखेर स्तरिय जर्नलमा प्रकाशित गर्नु नै प्रमुख लक्ष्य बनाएको थिँए। मैले खासगरि तार-रहित सञ्चार प्रविधी (Wireless communication) मा अझ खास गरेर Down-convertor मा प्रयोग हुने Oscillator को Design, Simulation अनि Fabrication गरेर Chip बनाएको सम्झना ताजै छ। यो Chip बनाउने प्रक्रिया धेरै लामो र जटिल छ। विभिन्न डिजाईनमा ४ वटा Oscillator बनाएकोमा एउटाको चाहि अचम्मैले प्रयोगात्मक रिजल्ट आएन। राम्रोसँग विद्युतिय माईक्रोस्कोपले हेर्दा त Chip लाई अपरेशन गर्ने Bias network लाई जोड्नै बिर्सेको रहेछु। त्यो कुरा चाहि कहिल्यै बिर्सन्न। यसको अर्थ के हो भने, अनुसन्धानको क्रममा सानो कुरा नै किन नहोस त्यसको प्रकृया क्रमिक रुपमा पूरा गर्नुपर्छ, दुई तीन पटक दोहोर्याएर चेक गर्ने गर्नुपर्छ, र धैर्यता पनि त्यत्तिकै हुनुपर्छ।
बबिता ओली (क्षेत्री): नेपालले विज्ञान तथा प्रविधीको अनुसन्धान (Research) का क्षेत्रमा खासै प्रगति गरेको पाँईदैन। अनुसन्धानका क्षेत्रलाई विशेष महत्वका साथ प्रभावकारी बनाउनका लागि यहाँले नितिगतरुपमा समस्या देख्नुहुन्छ कि लगानीमैत्री वातावरणको समस्या देख्नुहुन्छ? सरोकारवाला निकायहरुलाई यहाँको सुझाब के छ? कस्तो निती अबलम्बन गर्नुपर्दछ?
डा. श्रेष्ठः यो प्रश्न शायद नेपालसँग सम्बन्धित छ। तपाँईले भन्नुभएका दुईवटै समस्या हुन्। अनि अर्को, सरकारको बेवास्ता गर्ने प्रवृति पनि हो जस्तो लाग्छ। सबैभन्दा ठूलो कुरा भनेको कुनै पनि काम गर्दा त्यसलाई दिईने चासो हो। अनिमात्र तपसिलका कुराहरु आउँछन्। नेपालमा पनि विज्ञान तथा प्रविधीको क्षेत्रमा अनुसन्धानका प्रयत्नहरु नभएका होईनन् तर कतिपय प्रयत्नहरु गर्भमै तुहिन्छन् अथवा तुहाईन्छ र बाँकि जन्मेको केहि मर्ने गर्दछन् वा मारिन्छन्। त्यसको ब्यवस्थापनमा सरोकारवाला निकायको कुनै चासो नै छैन्। त्यसपछि मात्र नितिगत कुराहरु आउँछन्। लगानि भनेको त धेरै परको कुरा हो। यी सबै कुराहरुको लागि औद्योगिक विकाश, कलकारखानाहरुको निर्माण र सञ्चालन उत्तिकै महत्वपूर्ण छन्, जुन हाम्रो देशमा जानाजान सम्भव तुल्याईएको छैन।
त्यसैले, सम्बन्धित निकायले प्रथमतः विद्यालय स्तरदेखि विश्वविद्यालयसम्म विभिन्न अनुसन्धान केन्द्रको लागि गुरुयोजना तयार गरेर सम्भावित लगानी एवं अनुमानित सहयोग बजेट तयार गर्नुपर्दछ। त्यसमा सरकारले लगानिकर्ताबाट आशा गर्नसक्ने सहयोग तथा प्रविधि यकिन गर्नसक्नु पनि अर्को महत्वपूर्ण कुरा हो।
विदेशी लगानिकर्तालाई निसन्देह लगानिको लागि प्रसय दिई त्यसको लागि सहज वातावरण बनाउन सक्नुपर्छ। औद्योगिक क्षेत्रसँगको सहकार्य र समन्वयको लागि हात फैलाउनु पनि उत्तिकै जरुरी हुन्छ। यसको मतलब, औद्योगिक क्षेत्रको विस्तारलाई पनि त्यत्तिकै प्रसय दिनुपर्छ अनि, अन्तिममा सम्बन्धित निकायको लगातार मनिटरिङ्ग हुनुपर्दछ। त्यसको लागि पनि सम्बन्धित क्षेत्रका विज्ञहरुको समूहलाई परिचालन गर्ने ब्यवस्था गर्नुपर्दछ। यसले ब्रेन गेन (Brain gain) को लागि पनि सहयोग पुग्दछ। यी र यस्ता अति सामान्य तर महत्वपूर्ण कुराहरुलाई विशेष चासो र ईच्छाशक्तिका साथ योजना सहित क्रमिकरुपमा लागु गर्ने क्षमता नेतृत्वले राख्ने हो भने अनुसन्धानको क्षेत्रमा मात्र होईन देशलाई नै कायापलट गर्न सकिन्छ। त्यसैले मलाई भन्न मन लाग्छ, “सम्बन्धित क्षेत्रको विकाशको नाममा सरकार आफैले विज्ञहरुको उचित सल्लाह लिई विकाशका खाकाहरु बनाउनु पर्छ, न कि ‘नेपाल बन्द’, ‘अनसन’ जस्ता विरोध र प्रदर्शनलाई प्रसय दिएर। “हैन भने, के कसैले ‘माग’ राखेन भने देश विकाश नै हुँदैन त?