कोरिया जाने नेपाली कामदारको हवाईभाडा घट्यो

3182

रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरिया जाने नेपाली प्रशिक्षार्थी कामदारको हवाई टिकट प्रतिव्यक्ति १२ हजार ९८० रुपैयाँका दरले घटेको छ । वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मुलुक दक्षिण कोरिया जानेहरूका लागि यसअघिको तुलनामा प्रतिव्यक्ति कुल २३ प्रतिशतका दरले हवाई भाडा घटेको हो ।

आइतबारदेखि हवाई भाडा निर्धारणको बोलपत्र स्वीकृत भएपछि कोरिया जाने कामदारको हवाइ भाडा घटेको वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाले जनाएको छ । ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले हवाई भाडाबापत बुझाइँदै आएको प्रतिव्यक्ति ५३० बाट घटाएर ४११ अमेरिकी डलरमा झरेको बताए । उनले प्रतिटिकट ११८ अमेरिकी डलर घटेकाले नेपाली कामदारलाई निकै फाइदा भएको बताए । उनले ईपीएस प्रणाली लागू भएपछि पहिलोपटक कोरिया जाने कामदारले तिर्ने हवाई टिकटबापत लाग्ने रकम विद्युतीय बोलपत्र (इबिडिङ)को माध्यामबाट प्रतिस्पर्धा गराइएको बताए ।

वैदेशिक रोजगारीमा जाने कामदारले बुझाउने रकम र लागतमा कम गराई नेपाली कामदारलाई हित हुने किसिमका लक्षित कार्याक्रम ल्याउने श्रम मन्त्रालयको वर्तमान नीतिअनुसार अहिले कोरिया जाने कामदारको लागत रकम केही कम हुन आएको र यसले नेपाली कामदारलाई प्रत्यक्ष रूपमा लाभ हुने सो शाखाले जनाएको छ ।

 

उनले यसवर्ष ९औं चरणको भाषा परीक्षामा कुल ७ हजार ९९६ जना परीक्षार्थी उत्र्तीण भएको जानकारी दिए । यो वर्ष दक्षिण कारियाले जम्मा ७ हजार १ सय जना नेपाली कामदार मात्र लैजानका लागि कोटा दिएको थियो । सो कोटाभन्दा ८९६ जना बढी परीक्षार्थी उत्तीर्ण भएको ईपीएस कोरिया शाखाले जनाएको छ । जसमा कृषि क्षेत्रमा कुल २ हजार ९६८ जना र उत्पादनमूलक क्षेत्रमा ५ हजार २८ जना परीक्षार्थी उत्तीर्ण भएका छन् ।

अहिलेसम्म ईपीएस कोरिया शाखाको अनुसार काठमाडांैबाट दक्षिण कोरिया जानका लागि प्रतिव्यक्ति नेपाली प्रशिक्षार्थी कामदारले एकतर्फी हवाइ भाडाबापत ५३० अमेरिकी डलर बुझाउँदै आएका थिए । अबदेखि ईपीएस कोटामा कोरिया जाने प्रशिक्षार्थी  कामदारले प्रतिव्यक्ति जम्मा ४११ अमेरिकी डलर (४५ हजार २१० रुपैयाँ)  मात्रै हवाई भाडा बुझाउनुपर्नेछ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि निर्धारण गरेको बिनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्री मूल्य ११० रुपैयाँ रहेको छ । सोही विनिमय दरअनुसार अब दक्षिण कोरिया जाने नेपाली कामदारले प्रतिटिकट हवाई भाडा १२ हजार ९८० रुपैयाँ घटेको सो शाखाले जनाएको छ ।

सन् २००८ देखि दक्षिण कोरियामा ईपीएस प्रणाली लागू भएपछि नेपाली प्रशिक्षार्थी कामदारले ५४१ अमेरिकी डलर हवाई भाडाबापत सम्बन्धित ट्राभल एजेन्सीलाई बुझाउने गरेका थिए । २०७३ सालको पुस महिनादेखि भने कोरिया जाने कामदारले प्रतिव्यक्ति ५२९ दशमलव ७५ डलर एवं ५८ हजार २७२ रुपैयाँ हवाई भाडा बुझाउँदै आएका थिए । ईपीएस प्रणालीबाट वार्षिक करिब ८ हजारको संख्यामा कोरिया रोजगारीका लागि नेपाली प्रशिक्षार्थी कामदार जाने गरेका छन् । हवाई भाडा घटेसँगै अब नेपाली कामदारको वार्षिक १० करोड रुपैयाँभन्दा बढी बचत हुने अपेक्षा गरिएको छ ।

सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि दक्षिण कोरियाले नेपाली कामदार लिन सुरु गरेको हो । त्यसबेलादेखि अहिलेसम्म दक्षिण कोरियामा ईपीएसमार्फत करिब ६१ हजारभन्दा बढी नेपाली कामदार पुगिसकेका छन् ।

प्रतिक्रियाहरू