कोरिया टेकेको एक हप्तामै नेपाल फर्कनु पर्दा

13080

पाँच बर्षे पहिलो कार्यकाल सकेर दोश्रो कार्यकालका लागि कोरिया प्रबेश गरेको जम्मा जम्मी एक हप्ता नबित्दै खै किन हो तत्काल नेपाल फर्कनु पर्ने भयो ।कारण म आफैलाइ थाहा छैन ।जे भएपनि नेपाल जाने निधो गरिएछ ।

पछिल्लो पटक तीन महिना भन्दा बढी नेपालमा बिताइयो ।एकहप्ता अगाडि मात्र कोरिया टेकेको छु । बसुन्जेल दिक्क लागे पनि हिड्ने बेलामा घर परिवार र छोराछोरी को माया जत्ति लाग्थ्यो नेपालको माया पनि त्यतिनै लागेर यो मन भक्कानियो ।त्यो मायाको तिर्सना फेरि पूरा हुने भएछ ।अर्थात् नेपाल जाँदै रहेछु ।कारण म आफैलाइ थाहा छैन ।

सउल तिर एकजना ट्राभल एजेन्सी खोलेर बस्नुभएको भाउजू हुनुहुन्छ ।यो सहित पाचौ पटक भयो ।प्रत्येक पटक नेपाल-कोरिया आवतजावत गर्दा उहाँ सग नै प्लेन टिकट काट्ने गरेको छु ।आखिर प्लेन टिकट त चाहियो नै ।यो पटक पनि उहालाइ नै टिकट काट्नको लागि गुहारियो ।प्राय फोन गर्दा सन्चो बिसन्चो सोधेर आफ्नो औपचारिकता पूरा गर्ने भाउजु यो पटक अलिक फरक भइन् ।

भाउजू भोलि इमर्जेन्सी घर जानू पर्ने भो टिकट कुन को छ होला निरीह भएर प्रश्न गरे ।एक हप्तामै घर जानू छ जोश पनि कसरी जागोस र !

भाउजू ले नेपाल एअरलाइन्स को टिकट अबको तीन महिना सम्मको लागि बुक भैसकेको जनाउदै अन्य लुम्बिनी ,मुक्तिनाथ र माछापुच्छ्रे एअरलाइन्स पनि एक हप्तालाइ प्याक भएको बताइन ।अब सगरमाथा एअरलाइन्स को मात्र केही सिट बाकी छ भनेर फटाफट भनिन् ।

अरे ! यार म कहा छु ।तीन महिना अघि चाइना एअर को सस्तो टिकट छानेर नेपाल गएको र एक हप्ता अगाडि थाइ एअरमा चढेर कोरिया आएको मान्छे एक हप्ता पछि दुनिया एअरलाइन्स को कुरा कसरी आउदै छ ह !

अलिक अकमक्किदै सोधे- हैन भाउजू सिरियस्ली भनेको हो ।अलिक इमर्जेन्सी भयो नेपाल जान लागेको ।

मैले पनि इरियस्ली भनेको छु बाबू ।तपाईं जाने नजाने ? भाउजू अलिक रुखो बनिन् ।

आफुलाइ नेपाल जानू छ अब धेरै बिबाद किन नै गर्नु पर्यो र ।हुन्छ भाउजु जुन को छ त्यसैको टिकट दिनुस भने ।

भाउजुले फेरि सोधिन – बाबू साच्ची तपाइको घर कहाँ रे ? मैले रामेछाप हो भाउजू भने ।

त्यसो भए तपाइलाइ ‘सहिद गङगालाल श्रेष्ठ अन्तर्राष्ट्रिय बिमानास्थल रामेछाप’ सम्मको लागि बिजनेस क्लास को टिकट बुक गरिदिए है भाउजू ले भनिन ।

ए भगवान् ! म आज अतै कमेडी सर्कस मा त छैन ।
रिस उठ्यो ।भाउजू के मजाक गर्दै हुनुहुन्छ तपाइ ? अलिक झर्किए।

भाउजुले फटाफट १० वटा अन्तर्राष्ट्रिय बिमानास्थल को नाम लिदै कुन मा जाने छिटो निधो दिनुस म सग धेरै समय छैन भनिन् ।मलाइ पनि रिस उठ्यो – भो मलाइ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानास्थल सम्म कै टिकट इमेल गर्दिनुस र तपाइको खातानम्बर पनि दिनुस रकम डिपोजिट गरिदिउला ।

बडो अचम्म लागेर सोच्दा सोच्दै प्लेन टिकट अट्याच  भएको इमेल आधा मिनेटमै आयो ।नाम, थर ,पासपोर्ट नम्बर, ठेगाना सबै चेक गरे ।सबै ठिक छ ।पैसा डिपोजिट गरेर भाउजू लाई धन्यवाद भने ।

अनेकन कौतुहलता जगाउदै कार्यस्थल बाट कोरिया को इन्छ्न अन्तर्राष्ट्रिय बिमानास्थल सम्म पुगे ।सबै चेकजाँच गरेर भित्र पसे ।

नभन्दै ग्राउण्डमा ‘सगरमाथा एअरलाइन्स’ लेखेको सगरमाथा को तस्बिर सहितको प्लेन देखियो ।प्रबासी भुमिमा सगरमाथा को चित्र सहित बडेमानको वाइड बडी प्लेन देख्दा गर्बले छाति फुल्यो ।अनि कम्पनिको एउटा कोरियन सम्झदै देखिस भने ।किनकी गत हप्ता थाइ एअर चढेर आउदा तेरो देशमा प्लेन छैन हो भनेर सोधेको इख मनमा बडो नमज्जाले बसेको थियो ।

प्लेन चढ्ने समय भयो ।सबै प्यासेन्जर हरु प्लेन भित्र पस्न लागे ।म पनि भित्र पसेर आफ्नो सिटमा बसे ।एअरहोस्टेज हरु मधुर आवाज सहित नमस्कार गर्दै प्यासेन्जर लाई स्वागत गरिरहेका थिए ।प्लेन चढ्दा पनि सगरमाथा नै चढे जस्तो खुशी भयो मन ।

एअरपोर्ट को रन वे छाडेर प्लेन ले आफ्नो गति लिदै गयो ।छेवैको सिटमा एकजना सुदुर पश्चिम् तिरका यात्रु रहेछन् ।परिचय गरे ।दाजु साइनो लगाए ।

‘अहिले नेपाल सरकारले सबै जनतालाइ एक महिनाको लागि बिदेश घुम्न छुट्टी दिया हुन् ।हम्रा परिवारको अरु सबै सदस्य हरु युरोप तिर घुम्न गया हुन् हम एक महिनाको लागि कोरिया घुम्न आया हुन् ।अहिले सरकारले बर्षमा एकमहिना घुमफिर गर्न बिदा दिने चलन थप्या छन् ।तपाईं पनि घुम्न आया हुन् र ? ‘ भनेर बडो मिठास पुर्ण सुदुर पश्चिमेलि लवजमा दाजुले भने ।

आफू मजदुरी गर्ने मान्छे यार !टिकट बेच्ने ट्राभलकी भाउजु देखि यी सुदुर पश्चिम्का दाजुका कुरा सुन्दा झन् झन् छक्क पर्दै गए ।यहि भएर सबै एअरलाइन्स हरु प्याक भएका रहेछन् भन्ने पनि मनमनै सम्झे ।

उनै सग विभिन्न ब्यक्तिगत कुरा गर्दा गर्दै उडान यात्रा आधाउधि भैसकेछ ।उनले सुनाएका कुरा मेरा लागि सपना जस्तै थिए ।केही पत्याए केही नपत्याइ हो मा हो जनाउदै टाउको हल्लाउँदै बसे ।तर दाजुले कुरा अजिबका सुनाउदै छन् ।पत्याउने प्रमाण ट्राभल एजेन्सिकी टिकट काट्ने भाउजू र यहि सगै बसेको दाजु मात्र छन् ।

त्यतिकैमा पछाडिको सिटबाट एकजना बिदेशिले अफ्ट्यारो गरेर नेपाली बोल्ने प्रयास गर्यो ।मैले नेपाली बोल्न आउँछ कहाँ बाट आउनु भयो भनेर एकैपटक सोधे ।उसले जापान बाट आएको कोरियाको ट्रान्जिट हुँदै नेपालमा काम गर्न हिडेको हो ।बर्दिया तिर कृषि मा काम गर्छु नेपाली भाषा अलिअली सिकेको छु ।नेपाल जस्तो अतिबिकशित देशमा काम गर्न पाउँदा धेरै खुशी लागेको छ ।उसले पनि एकैपटक थपेर समेत उत्तर दियो ।हैट ! अब म आम्शिक रुपमा भए पनि पत्याउनै पर्ने हुँदै गयो ।

यिनै छेउका यात्रु हरु सग गफ गर्दा गर्दै मेरो सिट अगाडिको सिटको सानो खल्तिमा आँखा गयो ।त्यो खल्तिमा केही म्यागेजिन पत्रीका हरु थिए ।प्राय प्लेनमा यात्रुहरुलाइ अल्मल्याउन केही रंगीचंगी पत्रीका हरु राखिएका हुन्छन् ।मैले पनि त्यस्तै सम्झेर एउटा झिकेर हेर्न थाले ।

म्याग्जिनको बाहिरी कभर पृष्ठमा एउटा ठूलो टावर जस्तो राखिएको थियो ।अनि त्यसमा शिर्षक लेखिएको थियो -‘नगरकोटको डाडाबाट मंगलग्रह मा यान पठाउने अन्तिम तयारी अबस्थामा ‘ यो शिर्षक देख्ने बित्तिकै म तीन छक परे । मैले बलिया प्रमाण हरु भेट्दै गए ।

अरे यार म कोरियामा किन मजदुर बन्दै छु ।देश त यस्तो भैसकेछ ।मनमनै प्रिय नेताहरुलाइ धन्यवाद दिदै उक्त म्याग्जिनका पानाहरु पल्टाउदै गए ।

अर्को पाना पल्टाए ।यसको शिर्षक ले झनै खुशी तुल्यायो ।शिर्षकमा लेखिएको थियो ‘निर्मला पन्तका बलत्कारी लाइ ‘प्रचण्ड टावर’ मार्फत खसालेर मृत्युदण्ड दिइयो ।यो शिर्षक देख्नेबित्तिकै मेरा खुशीका आँसु झरे ।केही दिन अघिमात्र अन्तर्राष्ट्रिय महासन्धिमा नेपालले मृत्युदण्ड दिने छैन भनेर हस्ताक्षर गरिएको कारण मृत्युदण्ड को कानुन असम्भब छ भनेको समाचर सुनेको थिए गलत रहेछ ।अब बल्ल आमा दिदी बहिनी सुरक्षित हुने भए भनेर लामो सास फेरे ।

त्यो पत्रीकाको जति पाना पल्टाउदै गए त्यतिनै बिकाश र समृद्धि , अर्थ र उत्पादन , बिज्ञान र आबिश्कार ,पर्यटन र शिक्षा ,आयात र निर्यात का बिषय हरु मेटिएका जबर्जस्त समचार हरु थिए ।पत्रीका लाइ अझ नियाले कतै गाइजात्राको अबसर पारेर निकालिएको त हैन ।अह हैन ।गाइजात्राको संकेत कतै छैन ।मलाइ प्रचण्ड टावरले कौतुहलता बनायो ।

फेरि यो ‘प्रचण्ड टावर’ कहाँ बाट आयो ? तिनै नजिकै सिटका सुदुरपस्चिमेली यात्रु दाइ लाइ सोधे ।यो प्रचण्ड टावर कहाँ छ ? नाम कसरी राखियो ? अनि किन यहि टावर बाट बलत्कारी लाई खसालेर मार्नु परेको नि ?

उनले सबिस्तार आफ्नै लवजमा बताउदै गए – बिदेशबाट जाने प्रत्येक प्लेन हरुले सजिलै देख्ने गरि ललितपुरको भट्टेडाडामा विशाल प्रचण्ड टावर निमार्ण गरिएको रहेछ ।यो अहिले उपत्यकाकै पहिलो पर्यटकिय गन्तव्य बन्दै छ ।यसको नामाकरण  नेकपाका अध्यक्ष क.प्रचण्ड कै योगदानका कारण राखिएको रहेछ ।अझ रोचक त के भने जनयुद्ध कालमा प्रचण्ड कै निर्देशनमा बहुबिबाह गर्नेलाइ भाटे कारबाही भन्दै दर्जनौ भाटा शरिरमा बर्सिन्थे ।तास खेल्नेलाइ तास नै कोच्याएर निल्न लगाइन्थ्यो ।खैनी चुरोट खानेलाइ खैनी चुरोट को खोल सहित खान लगाएर कारबाही गरिन्थ्यो ।हो त्यस्तै निर्मला पन्तका बलत्कारीलाइ कठोर सजाय स्वरुप त्यही टावर बाट खसाएर देशमा मृत्युदण्डको उद्घघोष गरिएको रहेछ ।उनले सबिस्तार बताउदै गए ।

अनि प्रधानमन्त्री केपि ओलि ज्युको नाममा के छ नि ? यो देशलाइ यहाँ पुर्याउन प्रचण्ड को जत्तिकै योगदान उहाको पनि त छ नि हैन र ! उनैलाइ सोधे ।

पुर्ब पश्चिम केपि ओलि रेलमार्ग र केपि ओलि जलमार्ग अहिले सन्सारकै चर्चित रेलमार्ग र जलमार्ग हुन् ।कोरियामा रेल पक्कै चढ्नुभयो होला तपाइ अब रामेछाप जादा सिधै सुनकोशि ,तामाकोशि हुँदै जलमार्ग हुदै घर जादा हुन्छ ।अझ उनैले गुगलमा खोजेर घर सम्म जाने जलमार्गको रुट पनि फेला पारिदिए।

केपि ओलि रेलमार्ग निर्माण गर्दा अलिकती भष्ट्रचार गर्ने एक इन्जिनियर लाई त्यहि रेलको लिगमा किचेर मृत्युदण्ड दिइयो रे।अब बलत्कारी ,भष्ट्रचारी हरुको दिन गए यसो भन्दै गर्दा दाजुको अनुहारमा आक्रोश देखिन्थ्यो ।

ल ठिक छ ।सहि समयमा नेपाल फर्केछु ।अनि हामी जस्ता युबाहरु के गर्छन् नि आजकल ? मैले सोधे ।

अहिले प्रत्येक नेपालिको प्रतिब्यक्ती आम्दानी नै मासिक दस हजार डलर छ ।अब तपाइहरुले के गर्नु पर्यो र ? मन्द मुस्काउदै म सगै प्रतिप्रश्न गरे ।उनका कुरा सुन्दा र अगि हेरेको पत्रीका को समचार हेर्दा देश अहिले हरेक कुरामा आत्मनिर्भर बनेको रहेछ ।नुन देखि सुनसम्मका खनिज पदार्थ उत्खनन गरेर निर्यात गर्दा देशलाइ मासिक खर्बौ आम्दानिको श्रोत जुट्दो रहेछ ।

त्यतिमात्र हैन नेपाल बैदेशिक रोजगार को त गन्तव्य नै बनिसकेको कुरा अघि नै एक जापानीज कामदार ले बताइसकेको छ ।तराइका फाटहरुमा काम गर्न सबै बिदेशी कामदारहरु झिकाइएको रहेछ ।अहिले सबै खाद्य पदार्थहरु अर्गानिक मात्र प्रयोग गरिने रहेछ । यहि प्लेनमा देखिएका कतिपय बिदेशी अनुहारहरु नेपालमा काम गर्न नै हिडेका हुन् भन्ने मलाइ अब बिश्वाश लाग्न थालिसकेको थियो ।अझ उद्योग कलकारखानाको कुरै छाडौ लाखौको सन्ख्यामा अदक्ष बिदेशी कामदार हरु उद्योग कलाकारखाना मा कार्यरत छन् भन्ने कुरा पनि लगभग पक्का भैसक्यो ।

मनमनै गम खाए ।कम्युनिस्ट हरुले अबसर पाए भने कायापलट गर्छन् भन्थे हो रछ ।सर्बहाराको मुक्ती कर्ता कम्युनिस्ट नै हुन् ।गरिबको राज्यसत्ता ल्याउने भन्थे यहि रहेछ ।

अब देशमा उर्जाको त कुरै छाडौ ।१० हजार मेगावाट का जलविद्युत आयोजनाहरु त दर्जनौ तयारी भैसकेछन ।त्यही जलविद्युत आयोजनाका ड्याम हरु कृतिम समुन्द्र जस्तै बनेका रहेछन् । पत्रीका हेर्दा हेर्दै समय सकिन लागिसकेछ ।

काठमाण्डौ ओर्लने समय जती नजिक हुदै गयो त्यति मुटुको चाल बढ्दै गएको थियो ।दुर्भाग्य केही घण्टा हामी उडेको प्लेन आकाशमै होल्ड भयो ।मैले सोचे आकाशमा ट्राफिक जाम भएको होला ।तर म गलत रहेछु ।एउटा ठूलो जमात ले बिमानास्थलको एक छेउको खाली भागमा शान्तिपुर्न जुलुस गर्दै रहेछ ।किन के अपुग भएछ त भनेर बुझ्दा थाहा भो – देशमा लाइट पोलुशन भो रे अर्थात् राती अत्यधिक उज्यालो भएर उज्यालो प्रदुषण भयो रे ।उज्यालो घटाउनु पर्यो भन्ने सरकारसग उनिहरुको बिनम्र माग रहेछ ।आकाशमा प्लेन होल्ड हुँदै थियो ।म कोरिया बनाउने पार्क मिन्ह हि , सिङापुर बनाउने ली क्वान यु ,चीन लाई अर्थिक दिशामा लैजाने देङ सिआओ पिङ , र नेपाल लाई यस्तो बनाउने प्रचण्ड र केपि ओलि लाई सम्झेर धन्यवाद ब्यक्त गर्दै गर्दा ब्युझेछु ।ब्युझिदा म उही मजदुर थिए ।म यहि कोरियामै थिए ।म आफ्नै ओछ्यान मै थिए ।

प्रतिक्रियाहरू