कोशिस गरे जे पनि हुन्छ

807

धेरै धेरै धन्यवाद!

ती सबैलाई धन्यवाद जसले धुलिखेल अस्पतालको ‘कोशिश’ अभियानका निम्ति आर्थिक सहयोग गरेका छन्, जसको नामावली यही आलेख साथ संलग्न छ। भूकम्पमा आफ्नो घरबार सबै गुमाएकी, सिन्धुपाल्लान्चोक मानेखर्ककि श्रीमति फूलमति बिकले दिएको २० रूपैयाँको जगमा स्थापित ‘कोशिश’ अभियानको खातामा २५ मार्च २०१६ सम्म रू. ७१,८०,२९३.०८ (एकहत्तर लाख असी हजार २ सय त्रियानब्बे रूपैयाँ आठ पैसा) जम्मा भएको छ।

यो रकमको कुनै पनि अंश हालसम्म खर्च गरिएको छैन। यही रकमबाट नयाँ वर्ष २०७३ देखि काम थालनी गरिनेछ। स्थानीयबासीसँगको सरसल्लाहमा उनीहरूकै आवश्यकता अनुसार योजनाहरू तर्जुमा गर्ने काम सम्पन्न भएको छ।

‘कोशिश’ अभियानले सञ्चालनमा ल्याउने हरेक गतिविधि स्थानीय बासिन्दाको सक्रिय सहभागितामा सञ्चालित हुँदैछन्।

बितेको एक वर्षमा ‘कोशिश’ अभियानको लागि संकलित रकमबाट नभए पनि, धुलिखेल अस्पतालको मानेखर्क स्वास्थ केन्द्र सदाझै त्यस भेकमा सक्रिय रहेको, विशेष गरी जाडो महिनामा हुनसक्ने समस्यामा सफलतापूर्वक सेवा दिएको जानकारी गराउन पाउँदा खुसी लागेको छ।

भूकम्प आए लगत्तै मानेखर्क लगायत सिन्धुपाल्चोकका अन्य क्षेत्रमा आनन्द संघ फूलहारी गुम्बाले हाम्रो अनुरोधमा सिधा आपतकालिन सहयोग स्वरूप त्रिपाल र खाद्यान्न सहयोग गरेको थियो। हामी आनन्द संघ परिवार र तेन्जिङ दोर्जेज्यू प्रति बिशेष आभारी छौं।  

धुलिखेल अस्पतालको मानेखर्क स्वास्थ केन्द्र ईन्चार्ज देवकुमार खडका, डा.पासाङ शेर्पा र अन्य स्वास्थकर्मीप्रति बिशेष आभार प्रकट नगरी रहन सकिदैन। त्यस बिकट भेकमा भूकम्पको बेला आपतकालिन र भूकम्पपछि पनि धुलिखेल अस्पतालको मानेखर्क स्वास्थ केन्द्र बिशेष रूपले सक्रिय रह्यो।

आज यो लेख्न बस्दा ‘कोशिश’ को मात्र कुरा गर्नु उचित नहोला। ती सबै ज्ञात अज्ञात नेपाली र बिदेशीलाई कृतज्ञता अर्पण गरौं, जसले असंख्य संघसंस्था, अभियान र व्यक्तिगत माध्यमबाट संकटको त्यस घडीमा भूकम्पग्रस्त क्षेत्रमा सहयोगका हात बढाए।

नमन ती सबैलाई जसले आफ्नो गाँस काटेर अरूलाई दिए। सालाम ती सबै राष्ट्रसेवकलाई जसले आफ्नो ज्यान हत्केलामा राखेर अरूलाई बचाए। प्रणाम ती स्वास्थकर्मीलाई, जो अहोरात्र खटे। अभिवादन ती तमाम् स्यमसेवकलाई जसले हामीलाई मान्छे भएर बाच्नुको नयाँ परिभाषा सिकाए।

**

आजको यो आलेख सेतोपाटीमा प्रकाशित तीन आलेखहरू -‘हामी थाकेका छौं हारेका छैनौ’,  ‘कोशिश, गरेपछि हुन्छ’ र ‘२० रूपैयाँको जगमा’ को निरन्तरता हो।

पहिले पनि लेखिसकेँ, म कुनै खासै समाजसेवी र उदारभावना भएको मानिस होइन। भूइँचालो आएपछि आफ्नो र परिवारको चिन्तामा व्यस्त भएको थिएँ। नियतिले क्रमिकरूपमा डोहोर्‍यार मात्र म ‘कोशिश’ मा पुगेको हुँ।

वैशाख १२ को महाभूकम्पको लगत्तै पछि ‘आनन्द संघ’ फूलहारी गुम्बाका भिक्षु लामा तेन्जिङ दोर्जेको अनुरोध टार्न नसकी उहाँलाई साथी गर्न मात्र सिन्धुपाल्चोकका बिकट बस्ती पुगेको थिएँ। अरू बेला साधारण सामान्य देखिने तेन्जिङ दोर्जेले जुन ऊर्जाका साथ भूकम्प पीडितलाई चुपचाप सघाए, म आज पनि छक्क पर्छु।

भूकम्पपीडितलाई फूलहारी गुम्बा ‘आनन्द संघ’ ले  हप्तौ खाद्य सहयोग गर्‍यो, १५ सय थान त्रिपाल बाड्यो, त्यसपछि १२ सय ४० बण्डल जस्तापाता बाड्यो, प्रधानमन्त्री राहत कोषमा तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाज्यू हस्ते ३० लाख सहयोग पनि दियो। आनन्द संघको सहयोग मुख्य रूपले सिन्धुपाल्चोकको दुस्कोट र फुल्पिङकोट क्षेत्रमा थियो। तेंजिङ दोर्जेसँग हिड्दा हिड्दै मलाई पनि भूकम्पग्रस्त कुनै एउटा गाउँमा सानो सहयोग गर्ने विचार पलाएको हो।

एवम् क्रममा, सेवामुलक चिकित्साको ईतिहासमा एक कोशेढुङाको रूपमा स्थापित धुलिखेल अस्पतालका संस्थापक सुत्रधार डा.रामकण्ठ मकाजुले मलाई ‘मानेखर्क’ जान सुझाएपछि ‘कोशिश’ ले आकार लिएको हो।

धुलिखेल अस्पतालमा डाक्टर रामकण्ठ मकाजु र डा.राजेन्द्र कोजुसँग। तस्विरः चन्द्रशेखर कार्की


धुलिखेल अस्पताकको ‘कोशिश’ अभियान डा.रामकन्ठ मकाजुको नेतृत्वमा सञ्चालित छ। अस्पतालका कार्यकारी निर्देशक डा.राजेन्द्र कोजुको बलियो सहयोग अभियानलाई प्राप्त छ। मलाई पनि योसँग जोडिन पाउँदा सन्तोष लागेको छ। बितेको एक वर्षमा मैले धेरै कुरा सिक्ने मौका पाए।

**

भूइँचालो पछि पहिलो पटक मानेखर्क पुग्दा, भत्किएका घरहरू सजिलै देखिन्थे। मानिसहरूको मनमा त्रास हुनेनै भयो। तर त्यस्तो अफ्ठ्यारो समयमा पनि उनीहरू आत्तिएका चाही थिएनन्। राजमार्गभन्दा धेरै भित्र कच्ची बाटोमा रहेको र वर्षको ४ महिना त्यो कच्ची सडकमा यातायात पनि नचल्ने गाउँ हो मानेखर्क।

तस्विरः नरेन्द्र श्रेष्ठ


मानेखर्क गाउँमा एक अर्कालाई सहयोग गर्ने भावना धेरै छ। सामूहिकताको भावना भएको ठाउँले संकटको सामना अलि बढी सहज तरिकाले गर्दोरहेछ। त्यहाँका मान्छेले सरकारी मद्दत कुरेनन्। सिमित गैरसरकारी सहयोगी हात पनि विस्तारै त्यहाँ पुग्न थाले। तर त्यसबेलासम्म गाउँले आफैं मिलेर काम गर्न थालिसकेका थिए। भत्केका घरहरूबाट ढुङाहरू हटाइए, जस्तापाताका केही टहरा बन्न थाले। कोही पालमै लामो समय रहे। मानेखर्कमा पनि जनताले धेरै कष्ट भोगे। अझै भोग्दैछन्। तर पानीबाट बच्न ओत लाग्ने ठाउँसम्म सबैले पाए।

हामी बर्खा याममा पनि हिँडेरै मानेखर्क पुग्यौं। त्यहाँका मानिसहरूले  हामीसँग शिक्षा, स्वास्थ्य र जनजिविकाका निम्ति दिर्घकालिन गतिविधि सञ्चालन गरिदिए हुन्थ्यो भन्ने ईच्छा देखाए। स्कुल भवन भत्केको थियो।

यो स्कुल भवन पुनिनिर्माण गर्न समाजसेवी डा.छिरिङको अग्रसरतामा ‘चाइल्डरिच नेपाल’ ले काम सुरू गर्न थालेको छ। यो धेरै खुसी र सन्तोषको कुरा हो।

भारतीय नाकाबन्दीको असरले गर्दा हामीलाई दिर्घकालीन महत्वका काम सुरू गर्न अबेर भएको हो भन्ने कुरा स्थानीयले बुझेकै छन्। डाक्टर राजेन्द्र कोजु र म पछिल्लो पटक मानेखर्क गएर स्थानीयसँग छलफल गरि निम्न कार्य २०७३ मा सम्पन्न गर्ने लक्ष्य राखेका छौं।

१. मानेखर्कमा १० वटा सौर्य सडक बत्ती जडान गर्ने। यी सडक बत्तीले उज्यालो मात्र दिने छैनन् अपितु सन्देश पनि दिनेछन्–मानेखर्क उज्यालो तर्फ लम्कन चाहने गाउँ हो।सन्देश यो पनि हुुनेछ-  सडक बत्ती भन्ने कुरा सहर बजारलाई मात्र चाहिने कुरा होइन।

२.मानेखर्कमा तीन स्थानका सौर्य उर्जाबाट तातोपानी दिने सार्वजनिक स्नानघर निर्माण गरिने छन्। बुढाबुढी र केटाकेटीले त्यसको प्रयोगमा प्राथमिकता पाउने छन्। मानेखर्क अलि चिसो ठाउँ भएकाले यी सार्वजनिक स्नानगृहको आफ्नै महत्व हुनेछ। 

३. मानेखर्कको माध्यमिक विद्यालयबाट राम्रो अंक ल्याई उतिर्ण गर्ने गरिब र जेहनदार विद्यार्थीको उच्च शिक्षामा सघाउन र मानेखर्क विद्यालयमा अध्यनरत बिपन्न छात्रछात्राका निम्ति २० लाख रूपैयाँको ‘कोशिश छात्रवृत्ति’  कोष खडा गरिनेछ।

स्मरणीय छ–भूकम्पमा आफ्नो घरबार गुमाएकी स्थानीय दलित महिला श्रीमति फूलमति बिकले दिएको २० रूपैयाँको जगमा ‘कोशिश’ अभियानको लागि सहयोग अभियान सुरूवात गरिएको थियो।

४. मानेखर्क माध्यामिक विद्यालयमा १० थान कम्प्युटर जडान गरिने छन्।

५. स्थानीय महिलाको आय आर्जनका निम्ति १० लाख रूपैयाँ लघुबित्त ऋण कार्यक्रमका लागि ‘कोशिश’ अभियानको संकलित रकमबाट दिइने छ। यसको सञ्चालन स्थानीय महिला समूह आफैंले गर्नेछन्।

६. धुलिखेल अस्पतालले आफ्नै खर्चमा मानेखर्कमा (कोशिशका लागि संकलित रकमबाट होइन) निर्माण गर्ने सामुदायिक भवनको शिलान्यास गरिसकेको छ। यो भवनमा बहुउपयोगी क्रियाकलापहरू सञ्चालन गर्नेछ। यो सामुदायिक भवनको निर्माण एक वर्ष भित्रै पूरा गर्ने लक्ष्य छ।    

डा. राजेन्द्र कोजु मानेखर्कमा सामुदायीक भवन सिलान्यासका अवसरमा 


७. धुलिखेल अस्पतालको मानेखर्क स्वास्थ केन्द्रलाई थप साधन सम्पन्न गराउन त्यहाँ एक्स-रे मेसीन र अल्ट्रासाउन्ड मेशिनको व्यवस्था मिलाइने छ। हाल पनि त्यहाँ पोर्टेबल एक्स-रे मेशिन र डेन्टल चेयर राखिएको छ। 

मानेखर्क स्वास्थ्य केन्द्रका ईन्चार्ज देवकुमार खड्कासँग डा. पासाङ शेर्पा


८. कोशिश अभियानसँग निकट सहकार्य गर्दै ‘टिच फर नेपाल’ नेपालले वैशाख २०७३ देखि ३ जना तालिम प्राप्त स्यमसेवक/स्यमसेविकालाई स्थानीय माध्यामिक विद्यालयमा दुई वर्ष शिक्षक/शिक्षिकाका रूपमा पठाउँदै छ।

यसबाट विद्यालयको गुणस्तरमा ठोस बृद्धि हुने हाम्रो विश्वास छ। मानेखर्क बाहेक ‘टिच फर नेपाल’ ले त्यस भेकमा ७ अन्य गरी जम्मा १० जना स्यमसेवक / स्यमसेविका दुई बर्षको लागि पठाउने छ। हामी ‘टिच फर नेपाल’ प्रति आभारी छौं।

९. मानेखर्क एक प्राकृतिक रूपमा पनि सुन्दर गाउँ हो। त्यहाँबाट दुई दिनको दूरीमा हिमालको काखमा मनोरम र धार्मिक महत्वको ‘पाँच पोखरी’ छ। तर पनि त्यो अपार पर्यटन सम्भावनालाई हालसम्म उपयोग गर्न सकिएको छैन।

यो पर्यटन मार्गलाई बिकसित गर्न सकिए, स्थानीय जनताको जीवनस्तरमा  केही सुधार आउने निश्चित छ। कोशिश आभियानले त्यसका लागि सहयोगी हातहरूसँग मिलेर काम गर्नेछ।      

फोटो सौजन्यः माया गुरूङ


१० अन्य गाउँमा झै मानेखर्कका अधिकांश युवा गाउँ बाहिर गएकाले खेती गर्न जनशक्तिको अभाव छ। त्यसैलाई मध्यनजर गर्दै दुई थान हाते ट्यांक्टर कोशिश अभियान मार्फत उपलब्ध गराइने छ। ट्यांक्टरको सञ्चालन र संरक्षण स्थानीयले नै गर्नेछन्।

हाम्रा सहयोगी हातका हौशलाले गर्दा यी सबै काम सम्पन्न हुनेछन्। हामीलाई थाहा छ; यी कुनै ठूला महान कृत्य होइनन्, स-सना काम हुन्। तर हामीलाई यो पनि थाहा छ; थोपा-थोपा मिलेर समुद्र बन्छ। हामीलाई यो पनि थाहा छ; कोशिश गरेपछि हुन्छ।

लोगो डिजाइन्ः राजेश केसी


कोशिश अभियानका लागि सहयोगीको नामावली

नेपाल ईन्भेष्टमेन्ट बैकले चैत १२  गते अर्थात २५ मार्च २०१६ सम्मको रेकर्ड अनुसार प्राप्त सहयोग रकम र दाताको नाम विवरण जारी गरेको छ। ‘कोशिश’ अभियानले बैंक खातामार्फतको मात्र सहयोग लिन्छ।

सहयोग पठाउँदा केहि दाताले मलाई vijayko@gmail.com मा इमेल पठाइ आफ्नो नाम प्रकाशित गर्न नचाहने जनाउ दिएकाले त्यस्ता दाताको हकमा सहयोग रकम मात्र उल्लेख गरिएको छ। केही दाताले बैंक रकम जम्मा गर्दा आफ्नो नाम खुलाएका छैनन्। त्यस्ता दाताहरूको नाम पनि प्रकाशित गरिएको छैन। 

नेपाल ईन्भेष्टमेन्ट बैङको स्टेटमेन्ट अंग्रेजी भाषामा हामीलाई उपलब्ध गराइएकोमा आम पाठकको सुविधाका लागि हामीले दाताको नाम नेपाली भाषामा पनि राखिदिएका छौ।

 

अन्त्यमा सबै सहयोगीहरूलाई धन्यवाद। तपाईँहरू सबैको जय होस्। कोशिश अभियानको लेखा परीक्षण नेपालको लब्ध प्रतिष्ठित चार्टर अडिटिङ फर्मले गर्नेछ।

प्रतिक्रियाहरू