Home लेख / साहित्य चपस्टिक

चपस्टिक

0
चपस्टिक

-रोशन न्यौपाने आरएन

चपस्टिक समाऊ।
थोरै खाऊ।
धेरै मेहनत गर।

मैले खाना खाने क्यान्टिन- रणभुमि 
थाल,कचौरा डिफेन्सका सामग्री 
अनि चपस्टिक प्रहार गर्ने हतियार

एउटा तेक्वान्दो खेलाडीले 
जसरी खेलाउछ हातमा नाईन स्टिक,
ढाल्छ मान्छे।
मेरो रोहवरमा पल्टिएका भातका सीता
उस्तै उसको रोहवरमा ढलेका मान्छे ! 
मलाई उठाउनु छ सीताहरू
उस्लाई ढाल्नु छ मान्छे

पहिलोचोटि,
कुनै सर्कस-बाजले सर्कस देखाए झै 
चकित भएको थिएँ म,
थुप्रै मान्छेहरूका अौलाहरूमा 
एकैपटक नाचेका चपस्टिकहरू देखेर
सोचेको थिएँ, 
यो कुनै जादुको नगरी हो।
सायद यहाँ रित्ता झोलाहरूबाट 
निकालिन्छ – रेन्चि, पलाश, कुटो,कोदालो 
र अन्य अौजारहरू।
रित्ता बाकसभित्र मान्छेलाई थुनेर मेशिन बनाईन्छ।
कालो कपडाभित्र छोपेर मान्छेलाई 
उल्लु बनाईन्छ र उडाईन्छ।
दिमागलाई कब्जामा लिएर
देखाईन्छ जुम गरेर सुन्दर भविश्यका सपनाहरू

हो वा होईन !
तर, 
मलाई अक्षरको ईन्जिनियरिङ सिकाउने गुरू
जस्ले पहिल्यै देख्न सकेको भए मेरो भविष्य 
र थमाईदिएको भए कलमको साटो 
दुई सिन्काहरू हातमा
र सिकाईदिएका भए सीताहरू खेलाउन, 
उचाल्न र पछार्न।
अहिले, 
म यो मेशिनको दुनियाँमा छटपटाईरहेको हुने थिईन
-अन्नको सिकार खेल्न नजानेर !

खानै नजान्नु त जिउनै नजान्नु होईन र?
अाखिर मैले के पढेँ? 
जस्ले मलाई जिउनै सिकाएन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here