
सम्झना राई, कोरियन महिला प्रहरी
यतिबेला नेपाल तथा दक्षिण कोरियाका संचार माध्यमहरुमा निकै नै चर्चामा रहनु भएकी नेपाली चेली हुन् सम्झना राई । नेपालको भोजपुर जिल्लामा जन्मेकी राईले नौ वर्ष अघि कोरियन नागरिकसँग बैवाहिक बन्धनमा बाधिएर यहाँको नागरिकता समेत लिएकी छिन् । सन् दुइ हजार पन्ध्रमा छुसन विश्वविद्यालयमा प्रहरी प्रशासन संकायबाट स्नातक उत्तिर्ण गरिसकेपछि राईले यहाँको प्रहरी अधिकृतका लागि सन् दुइ हजार अठार अर्थात यो वर्ष प्रतिश्पर्धा गरेकी हुन् । प्रहरी अधिकृतमा भर्ति हुन आवश्यक शारिरिक अभ्यास, स्वास्थ्य परिक्षण हुदै प्रशासन परिक्षामा उत्तिर्ण भएपछि राई आठ महिना तालिमको प्रतिक्षामा रहेकी छिन् । कोरियन प्रहरीको विदेश विभागमा सेवा गर्ने पहिलो नेपाली महिला समेत रहेकी राईसँग हेल्लोनेपालकोरिया डट कमका सहकर्मी पत्रकार बविता ओली क्षेत्रीले गर्नु भएको कुराकानी
बबिता ओलीः सर्वप्रथम तपाईलाई हार्दिक बधाई छ, तपाईँ कोरियन प्रहरीमा सेवा गर्ने पहिलो नेपाली महिला हुँदै हुनुहुन्छ। यो नेपालीहरुको लागी पनि गर्वको कुरा हो । सबैभन्दा पहिले भोजपुर देखि कोरियासम्मको यात्रालाई छोटकारीमा बताइदिनुस् न ।
सम्झना राईः मेरो पुर्खौली घर भोजपुर हो । मैले एस.एल.सि सम्म त्यहाँ नै अध्ययन गरे । काठमाडौं आएर स्नातक सम्मको अध्ययन पुरा गरे । अध्ययन गर्दा गर्दै सन् २०१० मा कोरिया आए । यहाँ आएर शुरुमा भाषा पढे । अनि कोरियाको छल्नाम्दो स्थित छुसन विश्वबिद्यालयमा प्रहरी प्रसाशन मेजर बिषय लिएर ल डिपार्टमेन्टमा पढ्न थाले । मलाई कोरियाको प्रहरी सेवाबारे अझ धेरै जानकारी मिल्यो ।
बबिता ओलीः तपाईँमा आफुलाई प्रहरी प्रशासनमा रही सेवा गर्ने सोच कसरी आयो?
सम्झना राईः मलाई सानोमा पुलिस भनेपछि एकदम डर लाग्थ्यो। पछि ठूलो भएपछि प्रहरी भनेको के हो, उनिहरुको जिम्मेवारी के हुन्छ, भन्ने थाहा भएपछि मलाई पनि एकताका प्रहरी पो बनुँकी भन्ने लागेको थियो। तर बिभिन्न कारणले त्यो पूरा भएन । कोरिया आएपछि मैले कोरियन प्रहरीहरु देख्दा एकदमै राम्रो लाग्थ्या े। भाग्यबश मैले यहि बिषयमा पढ्ने मौका पाए ।
बबिता ओलीः जब तपाईँ कोरियामा प्रहरी प्रशासन संकायमा भर्ना हुनुभयो। अध्ययन गर्दाका केहि अनुभवहरु शेयर गरिदिनुस न।
सम्झना राईः मैले सबै बिषयहरु कोरियनमा पढेकी हुँ । हाम्रो डिपार्टमेन्टमा म एक्लै बिदेशी बिद्यार्थी भएर पनि मलाई गाह्रो भएको थियो । तर गुरुहरुको माया सहयोग क्लासमेटहरुको सहयोग पाएर एड्जस्ट हुँदै गएँ।
बबिता ओलीः अहिले बिभिन्न संचार माध्यमहरुमा तपाईँको सफलताको निकै चर्चा भैरहेको छ। यो सफलतासँगै कोरियाबासी नेपालीहरुले तपाईँबाट ठूलै अपेक्ष्या गरेका छन। यसवारे तपाईं के भन्नुहुन्छ ?
सम्झना राईः पहिलो कुरा त, यति धेरै चर्चा हुन्छ भनेर मैले सोचेको पनि थिइन। चिनजानको मान्छेहरुबाट फोन आए पछि थाहा पाँए। खुशी लागेको छ। बधाई दिनुहुने सम्पूर्ण दाजुभाइ दिदिबहिनीहरुलाई धेरै धैरै धन्यवाद भन्न चाहान्छु। हौसला मिलेको छ। अब आउने ८ महिनाको तालिम राम्रोसँग लिएर यहाँहरुको सुरक्षा सेवामा फर्किने छु ।
बबिता ओली (क्षेत्री)ः कोरियामा अबैधानिक च्यानल, अनलाइन सपिङ्ग र विभिन्न तरिकाले नेपालीहरु ठगिईरहेका छन् । अब तपाईं सुवनमा कार्यरत रहँदा ठगिमा परेका नेपालीले उजुरि गरेभने कारवाही अगाडि बढाउनुहुन्छ?
सम्झना राईः मैले ठगिका विषयमा कोरियामा क्रियाशिल पत्रकारहरुले पोष्ट गरेको स्टाट्स हेर्ने गर्छु भने अनलाइन मिडियामा आएका समचार पनि हेर्ने गर्छु । दुःख लाग्छ भाषा कारण नेपाली ठगीमा परेको सुनेर । ठगि र हुण्डी जस्ता अवैधानिक तवरले भइरहेका कार्य बारे उजुरी आए अवश्य पनि पिडितलाई मैले सहयोग गर्नेछु । तर अहिले म भर्खर नियुक्त मात्र भएकी छु । तालिम लिन बाँकी छ । तालिमपछि पनि अनुसन्धानको अधिकार भनेको माथिल्लो स्तरको प्रहरीलाई मात्र हुन्छ । उजुरी परेका केसहरु अनि अपराध, ठगी सम्बन्धी भएमा अनुसन्धान गर्नु भनेको प्रहरीको कर्तब्य हो । मैले अनुसन्धान र कारबाहीका लागिी भरपुर पहल अनि सकेको सहयोग गर्नेछु।
बबिता ओली (क्षेत्री)ः सम्झनाजी, अब एकैछिन पारिवारिक कुरा तर्फ जान चाँहे। तपाईं त नेपाली संस्कारमा हुर्केको मान्छे । दुई फरक संस्कारको जीवन बिताउनु भएको छ । जीवन देखी कत्तिको खुशी हुनुहुन्छ? पारिवारिक सपोर्ट कस्तो छ?
सम्झना राईः खुशी छु । परिवारको एकदमै सपोर्ट छ । मेरो श्रीमानको सहयोग थिएन भने आज म प्रहरी हुने थिइन। अनी मन मिल्यो भने संस्कार भन्ने कुरा त मिलाउन मिल्ने रहेछ। मैले कोरियामा बसेपनि नेपाली संस्कार भूलेकि छैन।
बबिता ओली (क्षेत्री)ः नेपाल कत्तिको जानुहुन्छ? आफ्नो धर्म, संस्कार, रहनसहन, चालचलनलाई कत्तिको मिसगर्नु हुन्छ ?
सम्झना राईः नेपाल कहिलेकाही जान्छु । हरेक बर्ष जान त मन लाग्छ तर बाध्यतावस् जान सकिरहेकि छैन। नेपालको साथीभाइहरु, आफ्न्तहरु निकै मिस गरिरहेकी हुन्छु । चाडबाडको बेला बिषेशगरि मिस हुने रहेछ ।
बबिता ओली (क्षेत्री)ः अब एकैछिन प्रसङ्ग बदलौं सम्झनाजी। कोरियामा कोरियन नागरिकसँग बिहे गरेका नेपाली चेलीहरुको दैनिकीवारे तपाईँ कत्तिको जानकार हुनुहुन्छ? के सबै नेपाली चेलीहरुको अवस्था सुखद नै छ? के भन्नुहुन्छ? सम्झना राई स् धेरैलाई त चिन्दिन तर मैले जती दिदी बहिनीहरुलाई चिन्छु उहाँहरुलाई मैले खुशी देखेकी छु।
बबिता ओली (क्षेत्री)ः अन्त्यमा, समग्र नेपाल र कोरियावासी नेपालीहरुलाई तपाईको सन्देश के छ?
सम्झना राईः सर्वप्रथम त मलाई बधाई र हौसला दिनुभएकोमा एकदमै धन्यवाद दिन चाहान्छु । तपाईंहरुले दिनुभएको हौसलाले मलाई अझ हौसला जागेको छ। भबिष्यमा कोरियाबासी नेपाली दाजुभाइ दिदीबहिनीहरुको सेवा र सुरक्षाको लागी सधै तत्पर रहने छु ।