तमु धीं कोरियाले छुसकमा “चौंथो रोधीं सांगीतिक सौगात” आयोजना गर्ने

361

तमु धीं कोरियाले यस वर्षको कोरियन चाड छुसकको अवसर पारेर “चौंथो रोधीं सांगीतिक सौगात” आयोजना गर्ने भएको छ । दिर्घकालिन सेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्वेश्यका साथ आउँदो सेप्टेम्बर १३ (छुसकको दोश्रो दिन) मा कार्यक्रम गर्ने भएको हो ।

यही जून १६ मा नेपाल आदिवासी जनजाती महासंघ दक्षिण कोरिया र कोरियास्थित छाता संस्था नेपाली सम्पर्क समिति (NCC)ले छुसकका लागि गरेको कार्यक्रम बाँडफाँडपछि तमु धीं कोरियाले अनुमति पाए बमोजिम कार्यक्रमका लागि प्रारम्भिक चरणको बैठक सम्पन्न सँगै मूल आयोजक समिति गठन गरेको छ । जस अन्तर्गत संस्थाका केन्द्रिय अध्यक्ष जित बहादुर गुरुङ संयोजक, थेगु शाखा अध्यक्ष हर्क गुरुङ सह-संयोजक, ख्यङ्साङ्नाम्दो शाखा अध्यक्ष अनिश गुरुङ सह-संयोजक साथै अन्य धेरै व्यक्तित्वहरु सदस्यमा चयन गरिएको छ । आगामी बैठकमा विभिन्न समिति, उप-समितिहरु गठन गरिने संस्थाका केन्द्रिय महासचिव लेसन गुरुङले बताए ।

प्रस्तावित कलाकार चयनको काम तीव्र गतिमा भईरहेको र केहि दिनमा टुङ्गो लागिसकेपछि सार्वजनिक गर्ने आयोजक पक्षले जनाएको छ । सबै विधाका प्रस्तुतिको साथमा एउटा पूरा सांगीतिक प्याकेजबाट भरपूर मनोरन्जन लिन सकिने र कलाकारहरुको तत्काल भिषा प्रक्रिया अघि बढाईने संस्थाका केन्द्रिय अध्यक्ष जित बहादुर गुरुङले जानकारी गराए । उनले थपे – “हल, कलाकार र विविध व्यवस्थापनको बारेमा आगामी बैठक बसेर तयारी तीव्र पार्नेछौं ।”

यस अघि २०१५ मा तमु धीं दक्षिण कोरियाले “कर्मा ब्याण्ड”को साथमा रोधीं सांगीतिक सौगात भाग ३ को आयोजना गरेर कार्यक्रम भव्यताका साथ सफल पारेको थियो । यसपटकको कार्यक्रम पनि भव्य र सभ्य रुपमा सफल पार्न कोरिया स्थित सम्पूर्ण संघ-संस्था एवं नेपाली दाजुभाई दिदीबहिनीहरुमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्न तमु धीं कोरियाले हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रियाहरू