तलब बृद्धी सङ्गै सेवा सुविधामा गरिने कटौतीका कारण प्रवासी श्रमिकहरु पिडित

0
726

दक्षिण कोरियामा यति बेला तलब बृद्धीको चर्चा चारै तिर फैलिएको छ । कोरियामा बृद्धी हुने तलबबाट कोरियामा कार्यरत स्वदेशी तथा बिदेशी ज्यालामा काम गर्ने श्रमिकहरु लाभान्वित हुने भनिए पनि तलब बृद्धी सङ्गै गरिने सेवा सुविधा कटौतीका कारण प्रवासी श्रमिक मारमा पर्ने भएका छन । हाल दक्षिण कोरियामा प्रवासी श्रमिकको संख्‍या १० लाख भन्दा बढी रहेको एक तथ्याङ्कले देखाएको छ। इ.पी.एस.बाट मात्र कोरिया आउने प्रवासी श्रमिकको संख्‍या २ लाख ७० हजार भन्दा बढी रहेको छ। कोरियामा श्रमिकको अभावको कारण प्रवासी श्रमिक ल्याउने गरिएको हो। त्यसैले, कोरियामा प्रवासी श्रमिकको संख्या दिन प्रतिदिन वृद्धि हुदै गइरहेको हो। कोरियन सरकारले तोक्ने न्युनतम ज्याला प्रवासी श्रमिकले पनी नियमले पाउने भनिए पनि प्रवासी श्रमिक माथि अनेकन प्रकारले बिभेद तथा भेदभाव गर्ने कोरियन समाजमा प्रवासी श्रमिकले पाउने ज्यालामा पनि समानता हुनुपर्ने आवाज उठी राखेको छ। यतिबेला ”प्रवासी श्रमिकले पाउने सेवा र सुविधा अति नै कम भएन र ? सस्तो भएकोले पो प्रवासी श्रमिक चलाएको हो ”यो भनाई कोरियाको परम्परावादी (conservative ) पार्टीका नेता क्वन सङ्दोङ (권성동 ) ले एक कार्यक्रममा कोरियन श्रम मन्त्रीलाई भनेका हुन ।

प्रवासी श्रमिकले कहिले पो उचित सेवा र सुविधा पाएका छन र? कोरियाका यि परम्परावादी नेताको अपमानजनक वक्तव्यले दर्शाए जस्तै प्रवासी श्रमिकलाई अझैपनि कोरियन समाजले सस्तो मुल्यका दासको नजरले हेर्दै आइरहेको छ । न्युनतम ज्याला बढेपछि रोजगारदाताहरुले श्रमिकहरु मध्ये सबभन्दा कमजोर तह माथि ( प्रवासी श्रमिक माथि ) आक्रमण गर्न सुरु गरेको छ । साना तथा मझौला उद्योग समिति ( korea Federation of SMEs ) ले प्रवासी श्रमिक कोरिया प्रवेश भएको पहिलो बर्षमा न्युनतम ज्याला ८०% दोस्रो बर्ष ९०% तेस्रो बर्षमा १००% ज्याला दिने प्रस्ताव मन्त्रालयमा पेस गरेको छ । कोरियाको राष्ट्रिय सभाका वातावरण तथा श्रम कमिटिका अध्यक्ष तथा परम्परावादी पार्टीका नेता किम हाक योङले (김학용 ) ले प्रवासी श्रमिकको ज्याला घटाउन फरक न्युनतम ज्याला लागु गर्नुपर्ने जस्ता श्रमिकको हित विपरित हुने प्रस्ताव अगाडि सारेका छन । तर रोजगारदाताले श्रमिकको लिङ्ग , राष्ट्रियता , धर्म , बर्ण र सामाजिक स्तरको आधारमा श्रम सर्तमा भेदभाव गर्न नपाउने कुरा श्रम नियम र ILo को समान व्यवहार निती आदिमा उल्लेख गरिएको छ । यसरी प्रवासी श्रमिकलाई न्युनतम ज्याला फरक दिने भन्नु त श्रमिक माथि भेदभाव गर्ने असभ्य कार्य हो । कोरियामा उल्लेख गरेको सामान्य मजदुरी भन्दा अझ सिथिल र गार्‍हो काम गर्न बाध्य प्रवासी श्रमिकको कोठा भाडा र खानाको नाममा ज्यालाबाट बढिमा २०% सम्म पहिले देखी नै काट्न थालिसकेका छन । अहिले फेरी प्रवासी श्रमिकको न्युनतम ज्यालामा भेदभाव गर्ने प्रस्ताव कदापि पारित हुनुहुदैन।

-- Ad --


अधिकारको हिसावले प्रवासी श्रमिकको अवस्था पहिलेबाटै एकदमै नाजुक छ। प्रवासी श्रमिकको हकमा कम्पनी परिवर्तन र छनोट गर्न, मजदुर तिन अधिकार पूर्ण रुपमा उपयोग गर्नबाट वञ्‍चित गराएको छ। कम्पनीमा जबर्जस्ति काम गर्न बाध्य गराएको छ, प्रवासी श्रमिकहरुलाई उनीहरुले कानुन बमोजिम पाउने सेवा सुविधा नदिएको अवस्था छ। जसका कारण प्रवासी श्रमिकले अनेकन् दुख: कष्ट खेप्नुका साथै कति प्रवासी श्रमिकहरु अङ्गभङ्ग हुने र कतिले त आत्महत्या पनि गर्ने गरेका छन ।

लेखक: मधुसुदन ओझा, सचिव – (प्रवासी श्रमिक युनियन- MTU)

कोरियन सरकारले व्यवसायीको कुरालाई मात्र सुनेर मजदुर कानुनको उल्लङ्घन गर्दै नीति नियम ,निर्देशिका बनाई रहेको अवस्था छ गत वर्ष मात्र प्रवासी श्रमिकको कम्पनीले खाने बस्नेको व्यवस्था गरिदिएमा त्यसको खर्च बापत तलबको बढीमा २० प्रतिशत प्रवासी श्रमिकले दिनु पर्ने निर्देशिका बनाएको थियो।

यो प्रवासी श्रमिकले पाउने तलबको तुलनामा निक्कै बढी हो ।  कुनै पनि सम्झौता गर्दा दुई पक्षको उपस्थिति र सहमतिमा गर्नु पर्छ भन्ने छ, तर प्रवासी श्रमिकको हकमा यो नियम पालना नगरिएको अवस्था छ। त्यस्तै, थेजिकगुम पाउनको लागि कोरिया छोड्नु पर्ने हुन्छ, जुन कानून विपरीत छ समान काम समान ज्यालाको नियम लागू गरिएको छैन। हालै कोरियामा गरिएको एक सर्बेक्षणको परिणाम अनुसार आधा भन्दा ज्यादा ५५.४ प्रतिशत प्रवासी श्रमिक कार्य स्थलमा २/२,३/३ लाख वन ( लगभग नेपाली २०/३० हजार ) भाडाको रुपमा गोदाम घर , कन्टेनरमा बस्न विवस छन । जसमध्ये ३९ प्रतिशतको बस्ने ठाउँमा ट्वाईलेट समेत छैन भने ३४ प्रतिशतको बस्ने ठाउँमा बाथरुमको समेत व्यवस्था गरिएको छैन भने २० प्रतिशत यस्ता गोदाम घर र कन्टेनरमा ढोका र ताल्चाको समेत व्यवस्था छैन । यस्ता ठाउँमा महिला कामदारका लागि बस्न असुरक्षित भएपनि प्रवासी महिला श्रमिकहरु भने यस्तै ठाउँमा बस्न विवस छन । उक्त सर्बेक्षणका अनुसार एक हप्तामा ५० घण्टा भन्दा बढी काम गरेर महिना भरी कामगरे वापत वेसिक तलब नपाउने प्रवासी श्रमिकको सङ्ख्या पनि निक्कै छ। समान काम गरे पनि महिला श्रमिकहरुलाई ज्यालामा भेदभाव गरिन्छ। यसरी पहिलेबाट ज्यालामा बिभेद खेप्न विवस प्रवासी श्रमिकहरु भने ज्याला बृद्धी हुँदा समेत अनेकौ बहानामा गरिने सेवा सुविधा र ज्यालामा कटौतीका कारण पिडित हुने गरेका छन ।

त्यसैले, कोरियामा यसरी प्रवासी श्रमिकहरु माथि गरिने भेदभावका बिरुद्ध सबै प्रवासी श्रमिकहरु एकजुट भएर दबाब सिर्जना गर्न नितान्त जरुरी छ।

 

 

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here