दुवै कोरियाले सन् २०३२ को गृष्मकालीन ओलम्पिक आयोजना गर्न संयुक्त प्रस्ताव गर्ने

2093

उत्तर  र दक्षिण कोरियाले सन् २०३२ को गृष्मकालीन ओलम्पिक आयोजना गर्न संयुक्त प्रस्ताव गर्ने सहमति गरेका छन्।
तीन दिने भ्रमणका क्रममा मंगलबार प्योङयाङ पुगेका दक्षिण कोरियाका राष्ट्रपति मुन जाइ इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको वार्तापछि दुई कोरियाले यो सहमति गरेका हुन्।

बुधबार प्योङयाङमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति मुनले कोरियाली प्रायद्वीपमा अब शान्तिका दिन सुरू भएको बताए।
उत्तर कोरियाली नेता किमले कोरियाली प्रायद्वीपलाई आणविक हतियार र त्रासरहित बनाउन आफूहरूबीच सहमति भएको बताए।
अमेरिकाले त्यही अनुसारको ‘डिल’ गरे योङ्बोस्थित आणविक केन्द्र  पनि बन्द गर्न किम सहमत भएका छन्।
राष्ट्रपति मुनले उत्तर कोरिया विदेशी विज्ञ परीवेक्षकको सहभागितामा  मुख्य आणविक केन्द्र तोङछांग्री मिसाइल इन्जिन टेस्ट साइट सधैँका लागि बन्द गर्न सहमत भएको बताए।
उत्तर कोरियाली नेता किमले आफू निकट भविष्यमै दक्षिणको राजधानी सउल जाने बताएका छन्। उनी सउल आउने पहिलो उत्तर कोरियाली शासक हुनेछन्।
दुई कोरियाबीच प्रायद्वीपमा हुने द्वन्द्वको त्रासलाई हटाउन संयुक्त सैन्य संरचना बनाउने पनि सहमति भएको छ।
पूर्व र पश्चिम दुबैतिरबाट एक वर्षभित्र दुई देशबीच रेल चलाउने सहमति पनि उनीहरूले गरेका छन्।
गत अप्रिलमा दक्षिणको सीमावर्ती गाउँमा दुई नेताबीच पहिलो शिखर वार्ता भएको थियो। त्यसपछि जुन १२ मा किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सिंगापुरमा बैठक भएको थियो।

-- Ad --