धुर्मुस-सुन्तली क्रिकेट रंगशाला निर्माण गर्दै

175

गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्णस्थललाई जस्ताले घेर्न फलामका खम्बा राखिँदै थियो। मिस्त्री र कामदारहरू काममा लागिरहेका थिए। सिमेन्टको मसला बोक्दै फलामको पोल गाढिरहँदा एक युवा मसला बोक्न थाले। मसला बोक्न कस्सिएका युवाको अनुहार देखेपछि कामदार सवै अचम्ममा परे।

सधै टेलिभिजनको पर्दामा देखिएको प्रिय कलाकार सिटाराम कट्टेल उर्फ धुर्मस नै आफूहरु सँगै सिमेन्टको मसला बोकिरहेका थिए । रंगशाला निर्माणको निरीक्षणका लागि पुगेका धुर्मुस आइतबार काममा खटिएको देखेर कामदार सवै अचम्मित बने। धुर्मुस पनि आफै कामदारसँगै काममा लागे।

कामसँगै उनले निमार्ण प्रगतिबारे जानकारी लिए। रंगशाला बन्ने कुराले उत्साहित स्थानीयबाट धुर्मुस घेरिएका थिए। आफ्नो गाँउमा ठूलो योजना ल्याएको भन्दै धुमुसलाई गाउँलेले धन्यवाद पनि दिए।

उनले स्थानीयलाई रंगशाला निमार्ण सबै नेपालीको सपना भएको भन्दै आफ्नो स्थानबाट सबै लाग्न आग्रह गरे। आर्थिक सहयोग गर्न नसके पनि श्रमदान गर्न सकिने भन्दै स्थानीयलाई सक्रियता बढाउन आग्रह गरे । ‘म तपाईहरूसँगै ईंटा बोक्ने हो, भारी बोक्ने हो काम गर्दा सानो होइँदैन, हामी सवै एकसाथ काममा लागौं’, धुर्मुसले भने ।

भरतपुर महानगरपालिका–१६ स्थित शान्ति चोकमा रंगशाला निमार्ण गर्न लागिएको छ। रंगशाला निमार्णमा खटिने कामदारका लागि आवास र सामान राख्न गोदाम बनाउन लागिएको छ। रंगशालाको साइट अफिस स्थापना गरिएको छ। धुर्मुसले दिनभर कार्यालय बसेर भेटघाट पनि गरे।

रंगशाला निर्माणको काम अघि बढेसँगै निमार्ण स्थलमा विभिन्न संघसंस्थाले श्रमदान समेत गर्न थालेका छन्। अहिले निमार्णस्थलको लागि छुट्टाइएको जग्गालाई घेर्न लागिएको छ। रंगशालाको गुरूयोजना र डिजाइनको काम अगाडी बढेको जनाउँदै धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्षसमेत रहेका उनले अहिलेसम्म साढे पाँच करोड सहयोग संकलन भएको जानकारी दिए ।

३५ विधाका खेलका लागि एकेडेमी सञ्चालन गर्ने उद्देश्यले रंगशाला निमार्ण गर्न लागिएको उनले बताए। केही दिनअघि फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिर उर्फ सुन्तली पनि फिल्डमा नै रहेकी थिइन। नेपालको तीन करोड जनताको आँटकै आधारमा क्रिकेट रंगाशाला निर्माण हुन लागेको भन्दै सबैले आ–आफ्नो स्थानबाट सहयोग गरिदिन उनले आग्रह गरिन्।

‘एउटा साधारण व्यक्तिले देखेको सपना हो यो, त्यसैले सबै मिलेर सपना साकार पार्ने हो’, उनले भनिन्, ‘एउटा बाटोमात्रै पिच हुँदा त्यसले कति विकास ल्याउँछ भन्ने कुरा त प्रष्टै छ। हामी विदेशी खेलाडी ल्याएर खेलाउने सपना देखिरहेका छौं। त्यसैले यो रंगाशाला निर्माण भइसकेपछि त्यसले कस्तो खालको विकास ल्याउला कल्पना गरौँ न।’

केही समययता भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको प्रारम्भिक काम सुरु भएको छ । धुर्मुस सुन्तली फाउन्डेसनले बनाउने रंगाशालाको औपचारिक शिलान्यास नभएपनि विभिन्न प्रारम्भिक काम थालिएको हो । अहिले धमाधम साइट अफिस निर्माण र कम्पाउण्डलाई जस्ताले घेर्न फलामका खम्बा राख्ने क्रम चलिरहेको छ । २० विगाहा ८ कठ्ठामा बन्ने रंगशालाको नापजाँच गरी सबै क्षेत्रमा जस्ताको बार लगाइने छ । यसका लागि दिनहुँजसो मिस्त्री र कामदारहरू जुटिरहेका छन् ।

भरतपुर महानगरपालिका९१६ स्थित शान्ति चोकमा रंगशाला निर्माण गर्न लागिएको छ । रंगशाला निर्माणमा खटिने कामदारका लागि आवास र सामान राख्न गोदाम बनाउन लागिएको छ । रंगशालाको साइट अफिस स्थापना गरिएको छ । अहिले रंगशालाको गुरूयोजना र डिजाइनको काम अगाडि बढेको छ । यो काम ६ महिनाअघि सकिने धुर्मुसले जानकारी दिए ।

तीन अर्ब रुपैयाँ एकजना व्यक्तिका लागि ठूलो भए पनि सबै नेपालीका लागि ठूलो नभएकाले जनताको तहबाट पूरा सहयोग हुने विश्वासमा आफू रहेको उनले बताए । रकम जुटाउन सकिन्छ भन्नेमा उनी आत्मविश्वासी देखिन्छन् ।

‘रंगशाला विश्वकै नमूना र नेपाली मौंलिकता झल्काउने खालको हुनेछ,’ धुर्मुसले भने, ‘रकम जुट्यो, प्रकृति र परिस्थितिले साथ दियो भने तोकिएको समयअघि नै रंगशाला बन्छ । कसरी काम गर्नुपर्दछ हामीलाई थाहा छ ।’

रंगशाला निर्माण सहयोगार्थ मलेसियामा कार्यक्रम सम्पन्न भइसकेको छ भने आगामी दिनमा जापान, अष्ट्रेलिया र दुबईमा कार्यक्रम तय भइसकेको छ ।

प्रतिक्रियाहरू