नेपाल एयरलाइन्सले अर्डर गरेको एयरबस३३०–२०० वाइडबडी जहाज तयार भएको छ। यो सगै जहाज जुन २७ मा काठमाडौं आइपुग्ने भएको छ। असार १५ पछि एयरलाइन्सले हप्ताको कोरियामा ३, जापानमा २  र साउदी अरबमा ४ उडान गर्ने अनुमति पाएको छ। जापानसँग हप्तामा ४ पटक उडान अनुमति माग गरिएको थियो ।

असार १५ पहिले पहिलो जहाज आएपछि साउन १५ भित्र अर्को जहाज आउने नेपाल एयरलाइन्सका प्रवक्ता रविन्द्र श्रेष्ठले बताए। रोल्सरोयस ट्रेन्ट ७०० इन्जिन जडान हुने जहाजमा २७४ सिट हुनेछन् । २५६ इकनोमी क्लास हुने जहाजमा १८ बिजनेस क्लास रहनेछन्।

उडानका लागि लिनुपर्ने अनुमति पाएको र त्यहाँ जिएसए नियुक्तीको काम भइरहेको एयरलाइन्सका कर्पोरेट डाइरेक्टरसमेत रहेका श्रेष्ठले बताए।


नयाँ जहाज आएपछि नागरिक उड्डयन प्राधिकरणबाट पुरा गर्नुपर्ने प्रक्रिया पुरा भएपछि उडान सुरु हुने श्रेष्ठले जानकारी दिए। व्यावसायिक उडान गर्नुपहिले प्राधिकरणबाट विभिन्न प्रक्रिया पुरा गर्नुपर्ने नियम रहेको छ। वाइडबडी जहाज उडानका लागि एयरलाइन्सले क्रू टिम पनि तयार पारिरहेको बताएको छ।

वाइड बडी विमान उडानको लागि ६० प्रतिशत विदेशी पाइलट ल्याउने तयारीमा एयरलाइन्स रहेको छ। नेपालभित्रको जनशक्ती पर्याप्त नहुने भएकोले विदेशबाट ल्याइने एयरलाइन्सका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए।

एउटा वाइड बडी जहाज उडाउन ८ क्याप्टेन र ८ कोपाइलट चाहिन्छन्। यसमा सुरुमा ४ जना क्याप्टेन र ६ जना कोपाइलट एयरलाइन्सले नै तयार गरिरहेको छ। बाँकी विदेशबाट ल्याइने कंसाकारले जानकारी दिए।

दोस्रो जहाज आएपछि कूल ११ जना क्याप्टेन ६ जना कोपाइलट विदेशी हुने छन्। विस्तारै एयरलाइन्सले तालिम तथा प्रशिक्षण दिएर आन्तरिक पाइलट बढाउँदै लिने कंसाकारले बताए।

प्रतिक्रियाहरू