नेपाल पत्रकार मञ्चको दक्षिण कोरिया शाखा गठन, सन्तोष खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन

255

दक्षिण कोरियाको छुनछ्न नाम्दो छनान सि सङ्ह्वान स्थित नामसौल विश्वविद्यालयमा आज एक कार्यक्रमका बिच नेपाल पत्रकार मञ्च दक्षिण कोरिया शाखाको गठन गरिएको छ ।

नामसौल विश्वविद्यालयको सभाहलमा मञ्चका केन्द्रिय सल्लाहकार एवं नामसौल विश्वविद्यालयका प्राध्यापक तथा नेपाल विभाग प्रमुख डा. सृजना थापाको सभापतित्वमा बसेको बैठकले सो गठन गरेको हो । बैठकले पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय रुपमा काम गर्दै आउनुका साथै कोरियामा डाक्टर पढ्दै गरेका सन्तोष खड्काको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरेको छ । नव गठित कार्यसमितीको उपाध्यक्षमा राजकुमार तामाङ महासचिवमा सत्य प्रकाश यादव(एसपी यादव), सचिवमा बेदनाथ आचार्य, कोषाध्यक्षमा प्रमिला बुढाथोकी र सदस्यहरुमा क्रमशः सुमन कार्की, शुभराज कडरिया, कान्ति खतिवडा, नवराज पाण्डे, शान्तिकला राइ, गंगा प्रजापति, तुलसी तिमिल्सिन र शिवकुमार कार्की रहेका छन् ।

नेपाल पत्रकार मञ्चको बारेमा संक्षेपमा प्रकाश पार्दै अध्यक्ष खड्काले भने- कोरियामा नेपालीले भोग्नु परेको समस्या र तिनको निकासका लागि हामी यहाँका पत्रकारहरु संग हातमा हात र काधमा काध मिलाएर अगाडी बढ्न तयार रहेको बताए । मन्तव्यका क्रममा मञ्चका केन्द्रिय सल्लाहकार एवं नामसौल विश्वविद्यालयका प्राध्यापक तथा नेपाल विभाग प्रमुख डा. सृजना थापाले कोरियामा नेपालीको अवस्था र नेपालीले भोग्नु परेको समस्या र तिनका समाधानका लागि पत्रकारले खेल्नु पर्ने भुमिकाको बारेमा जानकारी गराएकी थिइन । कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको उदघोषण नेपाल पत्रकार मञ्च दक्षिण कोरिया शाखाका महासचिव सत्य प्रकाश यादव (एसपी यादव) ले गरेका थिए । गठन कार्यक्रममा पत्रकार र विद्यार्थीहरुको भव्य उपस्थिती रहेको थियो ।