प्रवासमा पनि उनै जातिय कुरा !! सोच बदलौँ , जातियता भन्दा माथी उठौँ

1199

जातीयतामा आँच पुग्ने शब्द प्रयोग गरिएको भिडियोको फुटेज केही दिन अघि सामाजिक संजालमा छायो । ढाका टोपी लगाउदा कामी दमै जस्तो देखियो भनेर एक जना व्यक्तिले ख्यालख्यालैमा भनेको शब्दलाई लिएर सशक्त दलित एकता समाज दक्षिण कोरियाले प्रेस विज्ञप्ति समेत निकाल्यो । विज्ञप्तिमा किरात राई यायोख्खा बुसान दक्षिण कोरियाले आयोजना गरेको उभौली पर्वको तयारी गर्दागर्दै उक्त समाजका आधिकारिक व्यक्तित्वहरुको समूहले कोरियाकै एक रेष्टुराँमा बसेर विशेष गरी निक नेपाल ट्राभल्सका संचालक ध्यान राईले ढाका टोपी लगाउने क्रममा बोलिएको उक्त शब्दले दलित समुदायको आत्म सम्मानमा आधात पुग्ने गरी प्रयोग गरिएको शब्दप्रति आपत्ति जनाएपछि निक नेपाल ट्राभल्सले सामाजिक संजालमार्फत् माफी समेत माग्यो । तर उक्त विषयलाई लिएर किरात राई यायोख्खाले पनि फेरी विज्ञप्ति प्रति खण्डन गर्दै अर्को प्रेस विज्ञप्ति निकाल्यो । यसरी कोरियामा दुई जातिय संस्थाबिच दोहोरी चल्यो ।

मैंले पनि भिडियो फुटेज हेरें जस्मा एक जना महानुभावले ढाका टोपी लगाएको अनि कसैले ख्याल ठट्टा गर्दै कामी दमै जस्तो देखियो भनिएको सुनिन्छ । ती भन्ने व्यक्तिले कुन अर्थमा त्यस्तो शब्दको प्रयोग गरे ? के सोचेर भने उनैलाई थाहा होला । तर ढाका टोपी जो कोही जाती विशेष वा व्यक्तिसँग दाँज्नु पर्छ जस्तो लाग्दैन । किनकी टोपी हरेक नेपाली पुरुषको पहिचान पनि हो र नेपालको राष्ट्रिय पोशाक पनि । कसैले टोपी लगाउदैमा कामी जस्तो देखियो, बाहुन जस्तो देखियो या राई, लिम्बू या मगर या त तामांग जस्तो देखियो भन्नुको त्यति औचित्य छ जस्तो लाग्दैन । र जुन शब्दले कुनै जाति या वर्गलाई त्यति ठुलो आघात पुर्याउला जस्तो पनि लाग्दैन । तर बुझाइ र सोचाई आ आफ्नै हुन्छ । जुन शब्दले कसैलाई हेपेको या गिराएको महशुश हुन्छ भने त्यस्तो बेला चुप लागेर सहनु पनि अन्याय नै हो । तर जुन शब्द, जुन व्यवहारले कसैलाई हानी पुर्याउदैन अथवा कसैको आत्मसम्मानमा ठेस लाग्दैन भने वास्ता नगरेकै राम्रो हो । किनकी तीललाई पहाड बनाएर टाउको दुखाउनु भन्दा काग कराइराख्छ पिना सुकिराख्छ भन्ने उखानलाई शिरोधार्य गर्नु नै ठिक होइन होला र?

यो मेरो नितान्त व्यक्तिगत विचार हो । कसैको चित्त नबुझेमा माफी चाहन्छु । जातपात, धर्म, संस्कृति आ-आफ्नै स्थानमा छन् । तर जातपात र धर्मलाई उच्च र निज सम्झनु र त्यहि अनुसार व्यवहार गर्नु राम्रो होइन । यसो भनिराख्दा मलाई मेरो बाल्यकाल अर्थात् गाउँले जिवनको याद आयो । मेरो गाउँ पुरै राईहरुको बस्ती । अलि तल पुछारमा दमाई गाउँ थियो । माथि सिरानमा कामी गाउँ । चाडपर्व, विवाह व्रतवन्ध जस्ता शुभकार्यका लागि कपडा सिलाउने तिनै दमाई अनि पञ्चैबाजा बजाउन उनीहरु नै चाहिने । यता खेतबारी कमाउन चाहिने सम्पूर्ण फलामको औजारदेखि गरगहना बनाउन कामी नभइ नहुने । उनीहरुको सिप मेहनतले हाम्रो जिन्दगी चल्ने तर उनीहरुले छोएको पानी नचल्ने, घरभित्र पस्न नपाउने यो कस्तो भेदभाव होला भन्ने लाग्थ्यो । तर समाजमा चलेको चलन र संस्कारको अगाडि कसको के लाग्थ्यो र ? हामीलाई कक्षा १ देखि ७ सम्म गणित विषय पढाउने शिक्षक हुनुहुन्थ्यो विश्वकर्मा थरकै । उहाँबाट विद्यालयमा धेरै ज्ञान लिन्थ्यौं तर कुनै भोज भतेरहरुमा अलग्गै राख्थ्यौं । हाम्रो घरमा आउदा उहाँलाई बाहिर नै राखेर पुरानो सिलबरे थालमा अलग्ग भात दिन्थ्यौं अनि भात खाइसकेपछि पानी हालिदिन्थ्यौं उहाँले आफ्नो थाल आफै धोएर जानुहुन्थ्यो । गुरु जस्तो व्यक्तिलाई गरेको व्यवहारले मन चसक्क दुख्थ्यो आफैंलाई हिनताबोध हुन्थ्यो ।

बर्षायामको मौसम थियो, एकजना नेपाली थरकी बहिनीलाई पहिलो पटक मासिक धर्म भयो । उनका अभिभावकले पाँच दिनसम्म माइतीको मुख हेर्न हुन्न भनेर हाम्रो घरमा पठाइदिए । हाम्रो घर सानो थियो । बाहिर साँघुरो पिँढीमा बस्नु पर्ने । पानी पर्दा बछेटाले हिलै हुन्थ्यो । भर्खर दश बाह्र वर्षमा लागेकी ती किशोरीले पाँच रात कसरी एक्लै कटाइन् आफैं कल्पना गर्नुस् । कमसे कम घरभित्र हामीसँगै सुत्न पाएकी भए नत झरीले झिज्ला भन्ने डर हुन्थ्यो नत राती केहीको डर नै हुन्थ्यो । पन्ध्र, सोह्रवर्षे जवानीमा टेकियो अर्थात् कुखुरे वैंश भन्छन् क्यारे कसैको कुरा नसुन्ने । घरमा भन्दा साथीहरुसँग मात्र बस्न मन लाग्ने उमेर । जुनेली रातमा बरालिन्थ्यौं पनि गाउँ नै थर्किने गरी हल्ला गर्दै । मंसीर पुस महिनाको टहटह जुनमा रातभरी बारी भरीको मकैको ढोड जम्मा गरेर आगो ताप्दै कोदोको नल काटिसकेर उज्यालो हुने बेला परालको कुनिउ भित्र घुस्रिन्थ्यौं । हाम्रो समुहमा हाम्रै दौतेरी थिइन् एकजना दमिनी (दलित) केटी (दमिनी, कामी दमै त्यो बेला बोलिने ठेट गाउँले शब्द भएकोले यहि शब्द प्रयोग गरेको छु यदि कसैको आत्मसम्मानमा चोट पुगे क्षमाप्रार्थी छु ।) पनि थिइन् ।

हामी कसैले थाहा नपाउने गरी उनको घरमा गएर खाना खाल्थ्यौं । तल्लो जातले छोएको खानुहुन्न भन्ने समाजमा हुर्केका हामी दमैको घरमा लुकेर खाना खाँदा हामीलाई जति आनन्द र मिठो लाग्थ्यो त्यो भन्दा ज्यादा खुशी त उनीहरुको मुहारमा झल्किन्थ्यो । पछि शहर पसें गाउँघरमा जस्तो त्यति ठुलो भेदभाव देखिन शहरमा । दतिल साथीहरुको पनि संगत भयो । कोठा लिएर सँगै बसियो खाइयो खै केही भएन । गाउँमा दलितले छोएको खायो भने घरभित्र पसायो भने कुल देवता रिसाउछन् विरामी परिन्छ भन्थे । शहरमा सँगै बसियो खाइयो केही भएन । शायद शहरमा कुल देवता नभएर हो कि ? अहिले दलितप्रतिको भेदभाव, छुवाछुत प्रथा हट्दै गइरहेको छ । कसैलाई हेप्न र जे पायो त्यहि बोल्न नपाउने कानुन समेत बनिसकेको छ । तर जसरी १०४ वर्षे राणाकालिन समयमा बसेको चाकडी चाप्लुसी प्रथाको प्रभाव अहिलेको शिक्षित युवाहरुमा समेत हट्न सकेको छैन त्यसरी गरी दलितहरुलाई हेपेर प्रयोगमा ल्याइएको विभिन्न उखान टुक्काहरु र बोलिने शब्दहरु अझै हाम्रो मन मस्तिष्कबाट मेट्न सकेको छैन । त्यसैको प्रभाव त होला केही समय अघि सांसद तथा गायिका कोमल वलीले संसदिय बैठकमा त्यो बेला बोलिने उखान टुक्का राजाको काम छोडी कामीको देवाली विचारै नगरी प्वाक्कै भनिहालिन् । सहेर बस्ने जामाना कहाँ छ र? दलित समुदायले तत्काल विरोध गर्न थाले । विचरी कोमल वलीले माफी नमागी धरै पाइनन् ।

हामी सानै हुँदा गाउँमा केटाकेटीहरुले धेरै झगडा गरे रोए यो देउ उत्यो देउ भने भने आमाबाउले भन्थे, के सारो कराको कामीदमैका छोराछोरी जस्तो । फोहोर गरेको देख्दा पनि भन्थे, कति फोहोरी भका कामीदमैका छोराछोरी जस्तो देखियो । अहिले त्यसो भनियो भने त विरोध मात्र हो र पुलिस पो आइपुग्छ समाउन । मुद्धा खेप्न पर्छ अनि आत्मसम्मानमा ठेस पुर्याउने शब्द प्रयोग भयो भनेर माफी माग्दै जरिवाना समेत तिर्नुपर्छ ।

वस्तवमा यो जात त्यो जात, ठुलो जात सानो जात भनेर आफैमा भेदभाव गर्नु राम्रो होइन । गोरो मान्छेको पनि रगत रातै हुन्छ कालो मान्छेको पनि रगत रातै हुन्छ । जातजाति, धर्म संस्कृति त एउटा सुन्दर फुलबारी हो । सबैले एकअर्कालाई सम्मान गरौं । सभ्य बनौं । सचेत गरौं जय मानवता ।।

 

प्रतिक्रियाहरू