मन्दिर सम्झँदै कोरियन चर्चमा काटेका रातहरु…

1634

एस्ट्रे (Ash-Tray) को रासमा अर्को ठुटो झोस्दै गर्दा जीवनले आफैँसँग परिचय माग्छ । म इस्तब्ध हुन्छु कसरी चिनाउनु आफूलाई ? संसारले चिनेका हरु त आफ्नो बारेमा थोरै बोल्दैमा मन्चबाट बिदा माग्छन् म त झन छेउ न पुच्छरको मान्छे । यदि नाउँ नै परिचय हुन्थ्यो भने हर मान्छे न्वारन कै दिनदेखि चर्चित हुन्थ्यो होला, परिचय खोज्दै देश, परदेश धाउनु पर्ने थिएन, सिङो जीवन नै ब्यतित गर्नु पर्ने थिएन । उसो त एकै नाउँ हुनेहरु पनि प्रसस्त छन् त्यसैले म पनि मेरो नाउको दुई अक्षरप्रति त्यति ध्यान नै दिदिन र पनि यस्तैमा एकाध नाउँ ओठसम्म आउँदै फर्कदै गरे । मनले घरी आमा, बुवा र भगवान उच्चारण गथ्र्यो, ओठसम्मै आउथ्यो तर निस्वर भएर फर्किन्थ्यो । संसारमा केही त छ परम तत्व जसले यो मनलाई सान्त्वना दिन्छ र त होला मनले केही नाउँहरु बार–बार उच्चारण गरिरहन्छ । यस्तै रोउँ कि हाँसुको दोसाधमा एकोहोरिएको मन चर्चको घन्टीको आवाजले झस्याङ्ग हुन्छ … एस्ट्रेले फिलिन्ङो मारी सकेको थियो, म निमोठ्दै थिए … उ अस्तित्व गुमाएर एस्ट्रे मै डुङ्गुर भएर बस्यो, म चर्चमा बसेजस्तै गरी … ।

आज काम छोडेको ४५ औँ दिन परदेशको बास अनि परधर्मको आश्रय । एसिया कै विकसित र व्यस्त मानिएको देश, आउन पाउँदा जति खुशी र प्रसन्न भएको थिएँ त्यो यहाँ काम थाल्दाकै पहिलो दिन भरीसम्मलाई पनि कायम रहन सकेन । आउने बेला झोला चिन्न सजिलो पर्छ भन्ने निहुँमा ठूला अक्षरमा दक्षिण कोरिया लेखेको थिएँ, आज जब त्यो झोला फर्केर हेर्छु त्यही नामले टोक्ला झैँ गरी हेरे जस्तो लाग्छ, कुकुर र स्याल भनेर गाली गरे झै लाग्छ । कल्पनामाजस्तो सुन्दर थिएन यथार्थ । बचपनमा औँलाले देखाउँदै रमाएको जुन जस्तो लाग्छ परदेश चाहे त्यो कोरिया, जापान, युके होस् वा त्यो स्वतन्त्रताको स्वर्ग मानिएको अमेरिका नै किन नहोस् ।

थोरै बेर मात्र घोरिएर हेर्नुहोस् चारै तिर प्रवासीहरुको चित्कार सुनिन्छ । नेपाल छँदा आफ्नो व्यक्तिगत फाईदाको लागि पर धर्मको आड लिने र धर्म परिवर्तन गर्न तत्पर हुनेहरुप्रति अलि रुखो नजरले हेर्ने मान्छे म आज आफैँ परधर्मको आश्रयमा प्रवासमा जिउनु पर्दैछ । हातमा चर्चको क्रस बोकेर मेरो कल्याण गर प्रभु भनेको छु, बाइबल माथि हात राखेर गीताको उपदेश सम्झेको छु । माहोलमा ‘गड इज ग्रेट’ गुन्जिँदै गर्दा म मन मनै प्रभु तिम्रो लीला अपरम्पार छ भनेको छु, मनमा राँको बोले पनि, आँखामा ज्वालामूखी देखाएको छैन ।
अब त आदत पर्न खोज्दै छ, राम सम्झँदै क्राइस्ट जपेको पनि ४५ दिन भई सकेछ । घरबाट यो कामको लागि पैसाको खाँचो थियो भन्ने बहानाको पनि भाका नाघिसकेछ मेरो कामको टुङ्गो छैन । कहिले टमाटर बारी त कहिले गाई गोठमा कामको अनुभव बोकेर तेर्सो कामको पर्खाइमा बसेको म यहाँ काम पाउनु र छुट्नुको कुनै टुङ्गो नै छैन तर घर तिर घर छोडेका मितिदेखि नै हिसाब किताब राखिन्छ, अनुमान लाए जस्तो पैसो भित्रेन भने केटो फुर्मासी निस्केछ भनेर झुटो अनुमान लगाउछन् । दुई चार काम हेरेँ, चित्त बुझाउन सकिन र फर्केर यहीँ बास बस्दैछु । अझै कति दिन भजन मन्डली मै बित्ने हो त्यो पनि कुनै टुङ्गो छैन । पल्ला घरकाले पैसा पठाएकै भोलिपल्ट घरबाट सन्चो, बिसन्चोको नाउमा फोन अ‍ैहाल्छ, त्यसैले महिना मरेको बोध गराउँछ ।

अब त दोस्रो फोन आउने बेला पनि हुन आँटी सक्यो म नौलो बहाना सोच्दै छु । यहाँ आएकै पहिलो दिन जनै फाल्नु पर्यो, च्वाँचे खानु पर्योसम्म त भनेको छु तर चर्चको बास बस्नु परेको छ भनेको छैन, दुस्मन कुर्ले पनि आमाले पीर मान्लिन् भन्ने डर छ । फोनमा समेत धेरै बेर गफ गर्न डर लाग्छ कतै हाल बुझ्छिन् कि भन्ने डर । आज औँशीको दिन फोन नगरी पनि भएन, लामो कुरा गर्न पनि सकिन । छोरो कोक्रोमा रुँदा त मेलामा दुध चस्कने आमाहरु बोलीकै भर मै सारा हाल बुझी हाल्छन्, लामो गफ गर्न पनि डर, बनावटी हाँसेर गफ गरेरै औँसीको त्यो धर्म पनि पुरा गरेँ ।

मोटामोटी एकाध वर्ष अघिको कुरो हो, हिजो आज जसै गरी ५०–५५ हजारको हुलमा हेलिएर कोरिया जाने सपना बुन्दै फारम भरियो, अनि दिन रात एक गरेर जुटियो, गरेसी के हुन्नथ्यो, भाषा उत्तीर्ण गरियो, कृषि र उद्योग गरी दुई वर्गमा कामदार विभाजन गरिएको थियो, म कृषि तर्फ परे । कृषि प्रधान देशको मान्छे कृषिसम्बन्धी काम मै यहाँ आउन पाउँदा खुशी नै लाग्यो । मनमनै सोचेँ थेँ नेपाल फर्कदा पैसा र सिप दुबै लिएर आउँछु आफू पनि केही बन्छु अनि देशलाई पनि बनाउँछु । मनमा यस्तै यस्तै प्रगतिशिल सपनाहरु भरिएको थियो, शायद म जस्तै सपना सजाउने अरु साथीहरु पनि प्रशस्त हुनुहुन्छ होला यो परदेशी भूमिमा ।
अविवाहित मान्छे, हातमा टि. यु. को डिग्री, थोर बहुत पेसाको अनुभव, धेरै देश नघुमे पनि धेरै देशको बारेमा जाने–सुनेको थिँए किन कि आजको विश्व एक क्लिक मै सब हत्केलामा आउँछ । म पनि प्रविधिको पारखी, नेट कै माध्यमबाटै भए पनि धेरै थोरै जाने जस्तो लग्थ्यो तर देख्नु र भोग्नु अलि पृथक हुँदो रहेछ । हुन त नेपाली आहारिसे समाजमा यथार्थ कुरो गर्ने हो भने आफू गयो कमायो हामीलाई चै न आइज भन्छ भन्लान् भन्ने डर, तर आउनेहरुले के जानी राख्नु पर्छ भने जाबो ५ दशक मै पक्की रोड न देखेका कोरियालीहरुले करोड गन्न थाले, यो सब प्रभुको कृपाले भएको चै होइन । प्रत्येक दश जना मान्छेमा एक जना अपाङ्ग हुँदासम्म पनि खटेर देश आज यो स्थानमा छ ।
सम्पूर्ण कोरियालीले खुन पसिना सिन्चेर बनाएको देश हो यो । देशमा नीति निर्माण गर्नेहरु इमान्दार र जनता मेहनती भइदिए भने देश बन्न बेर लाग्दैन भन्ने ज्वलन्त उदाहरण हो । भौगोलिक हिसाबले अधिकांश पहाडी भू–भाग रहेको देश खानी र सम्पदाको काम नै प्रयोग गरेर पनि देशमा सुन फलाएका यहाँका जनताहरु । कामलाई नै सबथोक मान्ने यिनीहरु समयको निकै कदर गर्छन् । गर्छु भनी सकेको कुरो गर्दैन कि भन्नु पर्दैन । चर्चमा बसेका फुर्सदिला दिन रातहरुमा मैले गरेको विश्लेषणको भरमा मलाई हाम्रो देश पनि यसै गरी झिलिमिली पार्न सकिन्छ, विकसित पार्न सकिन्छ भन्ने पूर्ण आश लागेको छ ।
हिजो एउटा सार्क सम्मेलनको लागि केही व्यक्ति केही दिन खटेकै भरमा त काठमाडौंले मुहार फेरेको थियो भने प्रत्येक घरधुरीबाट एकजना मात्र पनि निस्केर देशको लागि एक साल खट्न सक्ने हो भने पुस्तौसम्म हाम्रा छोरा नाती विदेशमा कमारो भएर बस्नु पर्ने थिएन । आमाको आशिष थाप्ने बेला साहुको गाली खानु पर्ने थिएन । आज देश, काल र परिस्थितिलाई दोष दिँदै हजारौ लाखौं कर्मठ युवाहरु झोलामा डिग्री बोकेर यूरोपदेखी खाडीसम्म फैलिएका छन् । समाजले पैसालाई नै महत्व दियो नकमाइ पनि भएन, सबै ले यसै भनेर समाजलाई नै दोष थुपार्छन् । आखिर केले बनेको छ समाज ? तपाईं हामी अनि हाम्रै मान्यताले बनेको समाज र सामाजिक परम्परा त हुन् नि ।

यदि हाम्रै हितमा छैन भने समयसँगै त्यसको पनि परिवर्तन र समायोजन गरिनु पर्छ । हिजो १९ दिनको आन्दोलनमा सारा काम छोडेर सुकाएको मुलाको चाना र गुन्द्रुकको भरमा देशको मुहार फेरिन्छ भने हामी तयार छौं भनेर राजा फाल्न समेत साथ दिने जनतालाई दोष दिएर दशकौ बितिसक्दासम्म देशमा एउटा संविधान जारी गर्न नसक्ने नेताहरु नपुङ्षक हुन् । बरु यी ६०१ लाई नै ५ वर्से खाडीको भिषा हानेर मुग्लान् लखेट्नु पर्ने, यदी यिनलाई पनि देशको साँचिकै माया छ भने केही वर्ष देशलाई रेमिट्यान्स पठाएर हेरुन्, नेपाली जनता यिनको योगदानको कदर गर्दै भारी बहुमतले विजयी गराउन तयार हुनेछन् । ६०१ मध्येबाट कोही एक मात्र पनि यस्तो छ भने म जस्ता १०० युवाहरु देश फर्केर परिश्रम गर्न तयार छन् ।

सरकारी अस्पतालमा दबाइ नगर्नेहरु, सरकारी विद्यालयमा छोराछोरी नपढाउनेहरुलाई सरकारको नाइके हुने कुनै अधिकार छैन । गाई मारेर गधा पोस्नेहरुलाई गोठको जिम्मा दियो भने गाई त परै जाओस् यिनले दाम्ला किला पनि बेचेर खाने छन् । त्यसैले यसै लेख मार्फत सरोकारवालाहरुलाई यो पनि भन्न चाहन्छु कि तिमीहरु केही गर्न सक्दैनौ भने गर्छु भन्नेहरुलाई छेकबार नलगाइ देउ । तिमीले देशको उन्नती गर्न सकेनौ भन्दैमा सिङ्गो नेपाल आमाको कोखलाई दोषि नभन ।
म जस्ता झोलामा डिग्री बोकेर मासिक १ लाखमा बिचिनेहरु सबैको मनोवृत्ति यही हो । जसरी कोरियनहरुले पनि साउदीको गर्मी, लेबनानको खानी र जर्मनको कम्पनीहरुमा सिकेको राष्ट्रले कदर गर्यो आफ्नो सिप अनुसारको औजार र प्रविधि भित्र्याउन चाहनेहरुलाई सरकारले हौसला र प्रोत्साहन गर्यो, त्यसै गरी हाम्रो देशले पनि प्रत्येक कामदार देश भित्रँदा ‘एक भिषा एक औजार’ को नीति मात्रै लागु गरिदिने हो भने युवामा मुग्लान मोह घट्दै जानेछ ।

यहाँका टनेल र बगानहरुमा काम गर्न दक्ष कहलाएकाहरु देश फर्केर पनि सो दक्षता कायम राख्न सक्ने छन् । यहाँका कम्पनीहरुमा अङ्ग भङ्ग हुँदासम्म काम गरेकाहरु फर्केर जाँदा कुनै एक सानो औजार लान खोजे पनि देशले दोहोरो कर लगाउँछ र निरुत्साहित पार्छ, हिजो कसैको अधिन नमानेर स्वाधिन रहेका पुर्खाका सन्तानहरु आज गुलाम हुन विवश छन् । यो सबै कुरामा सरोकार वालाको ध्यान जाओस् ।

जसरी जर्मनमा पसिना बगाएर कमाएको पैसाले जर्मनबाट थोत्रा मेसिन किनेर फर्के कोरियालीहरु र आजको यो कोरिया हाम्रो अगाडि सम्पन्न भएर उभिएको छ, यसै गरी हाम्रो देशले पनि आफ्नो सिप अनुसारको ‘प्रति भिषा एक औजार’ बिना रोक तोक देश भित्रिन दिने हो भने भावी पुस्ता अरुको गुलाम हुन पर्ने थिएन । देशको गर्वमा रहेको खानी खेर जाँदैछ, पहाड बिस्फोट भएर ग्यासले म यहाँ छु भनेर भन्छ, खोलाले सुन बगाएर बगरमा फालिदिन्छ त्यही पनि हामी विदेसी चीज कै पछाडि दौडन्छौँ, आफ्नी आमाको अर्ती भन्दा पराइको चेपारो निको मान्छौ ।
आजको युवामा राष्ट्र प्रेम जागी सकेको छ, बेलायतका होटलमा भाँडा माझ्नु पर्दा, अमेरिकी सडकहरु झाडु लगाउनु पर्दा, अनि यूरोपको शौचालय हरु सफा गर्दै गर्दा अब देश फर्केर काम गर्नु पर्दा कसैलाई लाज हुन्ने छैन । देश छँदा आफ्नो बाबु सरहको पियनलाई तँ भनेर हकार्नेहरु यूरोप अमेरिका पुग्ना साथ काम सानो ठूलो नहुँदो रहेछ भनेर गुणगान गाउँन थाले सकेका छन् । खुशी लाग्छ नयाँ पुस्तामा सोच फेरिइ सकेको छ ।

जति नै ओठ घुमाएर अङ्ग्रजी बोले पनि त्यो पनि एक भाषा मात्र नै हो त्यसलाई ठुलै आँखाले हेर्नु पर्ने केही पनि छैन । बाजेका पालादेखि नै बन्जर खण्डब प्रस्तलाई पान्डवहरुले मिहेनेत गरेर इन्द्रप्रस्त बनाएको गाथा सुनेका हामी नेपालीहरु प्रकृतिक छटाले भरीपूर्ण देशका गरीब नागरिक भएर बच्नु परेको छ । हिजो भोकमरी लागेर सबै जन्तु र वनस्पती खाने बानी लागेका कोरियालीहरु आज तेरो देशमा पनि धान फल्छ भनेर सोध्छन्, हामीले त कन्दमुल खान छोडेको सतकौ हुन आँटी सक्यो यिनिहरु अझै खाँदै छन् र पनि हामीलाई नै भोका नाङ्गा देख्छन् ।
मुग्लानमा पैसासँगै धेरै कुरा कमाइयो, मुख्य कुरो त अनुभव नै हो । कामप्रति को लगाव, अनि कामको सम्मान नै मुख्य हुन् । यहाँ च्याउका टनेलहरुमा पहँेलिदै काम गरियो, फूलमा पानी हालियो, कुखुरा, बङ्गुर र गाई सबैको सेवा गरियो अब यो सब देश मै गएर गर्नलाई कुनै धक हुने छैन, कोरियामा कमाएको सबै भन्दा ठूलो कुरा यही हो । यहाँ कम्पनीमा दिन रात केमिकलसँग लडेर, धुलो धुवाँ नभनेर आहोरात्र खटिनेहरुको कथा पनि यस्तै छ । भोटेको सेख्या र सिप्पालसँगै असार १५ को दही चिउरा मिस नगर्ने नेपालीहरु कमै होलान् यहाँ ।

पैसाले सबैलाई गुलाम बनायो तर त्यही पैसा देश मै कमाउने बाटोको सिर्जना गर्ने प्रयास कसैले गरेन । खोरिया मासेर सागपात लाउनु भन्दा बारी नै बेचेर कोरिया छिर्न सजिलो मान्यौँ, पैसाले सुख त दिन सक्छ तर सन्तोष दिन सक्दैन, जो देश मै छुट्यो । अझ कलिलो उमेरमा मुग्लान छिरेर ठूलो महत्वाकांक्षा पाल्नेहरुलाई पैसाको उडुसले हर रात टोक्छ, न त निन्द्रा पर्छ न त आराम नै । कतिपय सब त्यागेर मृत्युको बाटो रोज्छन् बढो निरिह हुन्छन् सब थोक बिर्सिन्छन् अनि जीवनदेखि नै हात धुन पुग्छन् ।

यस्तै यस्तै तर्कनामा समय गएको थाहै भएन, मुग्लान छिरेको आज वर्षदिन हुन आँटी सकेछ, बाहिर आकाश केही उज्यालो हुँदै आयो, चराहरु कराउन थाले । शब्दको अर्थ बाबु भन्ने लागे पनि ‘फादर’ भन्नु पर्ने चर्चको माहोल जो, हिजो प्रर्थनाबाट सँगै सुत्न भनी निस्केको फेरी हातमा बाइबल र क्रश लिएर चर्च भित्र छिरेँ, एक निमेश मै रात छर्लङ कटेछ, नुनको सोझो गर्नकै लागि भए पनि ‘गड’ जप्न जानु पर्ने बेला भइसकेछ, फेरी उदाएको सूर्येसँग अर्को नयाँ मृदुभाषि साहुकोमा काम गर्ने म्यासेज आओस् भन्दै बढो आशावादी हुँदै मोबाईल समातेर श्री कृष्ण सम्झँदै क्राइस्ट जप्न हिँडे . . . ।

पुनः प्रकाशित आलेख

प्रतिक्रियाहरू