यसकारण पुनः कोरिया फर्किन बाध्य छन् युवाहरु

1911

नेपाली युवाहरुको ठूलो समूह दैनिक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट रोजगारीको शिलशिलामा विभिन्न देशलाई गन्तब्य बनाई बाहिरिन्छन् । जसमध्ये कोही कहिल्यै नउठ्ने गरी ढलेर रातो बाकसमा फर्किन्छन् । कोही अंगभंग भएर, अपाङ्ग भएर फर्किन्छन । प्रदेशमा सहज नहुँदानहुँदै  पनि नेपालीको अर्को उत्तम विकल्प छैन् विदेश जानुबाहेक ।

मेरो एक जना साथी करिब ७ वर्ष पहिले ईपिएस मार्फत रोजगारको लागी कोरिया आएको थियो । र कोरियाको कार्यकाल ४ बर्ष १० महिना पुरा गरेर नेपाल फर्कियो । फर्किने बेला मसँग भेटेर भनेको थियो ‘अव विदेश नधाउने साथी नेपाल मै गएर केहि सामान्य ब्यापार ब्यवसाय गरेर परिवारसँगै बसेर गुजारा चलाउने ।’ हुनपनि थेजिकम वापत प्राप्त एकमुष्ट रकम सँगै अन्य अरु केही रकम जम्मा गरी लगभग २० लाख रुपैयाँको लगानिमा काठमाण्डौमा एउटा पसल सञ्चालन गरेको थियो । केही महिना अगाडी म नेपाल गएको बेला उक्त पसलमा जाने अवसर जुरेको थियो । पसल राम्रै चल्छ होला जस्तो देखिन्थ्यो । राम्रो प्रगती गरेछ साथीले भन्ने मनमा लागिरहेको थियो । तर हिँजो मलाई नेपालवाट साथीको फोन आयो र भन्दै थियो ‘ब्यापार घाटामा चल्ने र विभिन्न बाहानामा चन्दा  संकलनका लागी आउने पत्रहरु र अनिवार्य रुपमा बुझाउनुपर्ने  धम्किपूर्ण  चन्दा  आतंकको कारण लगभग ७/ ८ लाख रुपैयाँ घाटा खाएर २ महिना पहिले नै पसल बेचिसके । अव म फेरी कोरिया आउने विचारका साथ सिविटी र पिविटी दुबैतर्फ फर्म भरिसकेको छु । मेहेनतका साथ पढ्नेछु अव कोरियामै आएर फेरी भेटौँला ।’

साथीको कुरा सुनिसकेपछि मनमा चसक्क बिझायो र उक्त कुरालाई आर्टिकल मार्फत सेयेर गरेको हुँ । यी माथीका घट्ना त एउटा प्रतिनिधी घट्नामात्र हुन् । यहाँ धेरै नेपाली युवाहरु विदेश गएर कमाएको केही सम्पत्ति पनि स्वदेशमा लगानीको उचित वातावरण बन्न नसक्दा अलमलमा छन र फेरी विदेश नै फर्किनु बाहेक विकल्प देख्दैनन् । देशमै केही गर्छु भनी स्वदेश प्रदेशवाट स्वदेश फर्केको युवा फेरी विदेश नै फर्किनुपर्ने अवस्थाको सृजना हुनु सामान्य घट्ना हुँदै होईनन् । देशमा ठूलै तामझामका साथ युवा स्वरोजगार कार्यक्रम घोषणा भएपनि जापानसँग श्रम सम्झौता भयो अरु कुनै नयाँ देशमा कामदार पठाउने प्रक्रिया अगाडी बढ्यो भन्दै ठूला मिडियाहरुमा प्रचारवाजी गरिनु र त्यसैमा रमाउनु दुखद कुरा हो । सरकार नेपालीको आम्दानीको स्रोत बैदेशिक रोजगार मात्र हो र ? हाम्रो देशवाट निर्यात हुने भनेको युवाहरु मात्र हुन ?
दुईचार जना व्यक्तिहरुलाई त त्यसवाट मोटो रकम कमिसन प्राप्त हुन सक्ला तर यो दिर्घकालीन समाधान पक्कै होईन् । दुईचार जना व्यक्तिको जीवनयापनमा परिवर्तन हुनु भनेको सिंगो देश परिवर्तन हुनु पक्कै होईन्  । सगरमाथाको देश, गौतम वुद्धको देश, वीर गोर्खालीको देश हो भनेर मात्र अरु देशका नागरिकले नेपालीहरु महान हुन्् नभन्दा रहेछन् । देश विकास भएपछि मेरो देशमा भएका कुराहरुको प्रचार–प्रचार गर्नु आवश्यक नै हुँदैन आफै खोजीखोजी थाहा पाउनेछन् ।

नेपाली युवाहरुले मरुभूमीमा कत्ति भवनहरु ठड्याईसके तर हाम्रो आफ्नो देशमा भने भएका खेतियोग्य जमिन खनजोत अभावमा जंगल बनेका छन् । गाउँघरहरुमा वृद्धावृद्धि तथा असक्तहरु मात्र बाँकी छन् । उमेरले अठार कटेपछि कामदार भिषामा विदेश । विद्यार्थी पल्स टु पास गर्छ उच्च शिक्षाका नाममा विदेश अनि विदेशमै पलायन । कलाकार बन्यो चर्चा कमायो विदेश पलायन । नर्स, डाक्टर, ईन्जिनियर बन्यो ऊ पनि विदेश नै पलायन । देश विकासका लागी सबैभन्दा पहिले नेपालीहरुको विदेश पलायनलाई रोकथाम साथै विदेशीएकाहरुलाई स्वदेश फर्किनको लागी उचित वातावरण सृजना हुनु आवश्यक छ । देशमै रोजगारको ग्यारेन्टी हुनु आवश्यक छ । विभिन्न विकसीत देशहरुमा शरनार्थी भिषा बनाएर साथै अवैधानीक रुपमा रहने नेपालीहरुको मात्रा दिनानुदिन बढ्दै जानु पक्कै नेपाल देशको हितमा हुने छैन् । अवको छोराछोरीले रोजगारका लागी विदेश धाउन नपरोस् ।

प्रतिक्रियाहरू