
आफ्ना छोराछोरीले पढाईमा राम्रो नतिजा ल्याउन भन्ने चाहना सबै अभिभावकको हुने गर्दछ। हुन पनि किन नहोस तिनै छोराछोरीको उज्ज्वल भविष्यको रेखा कोर्ने उदेश्य लिएर खाडिमा 50 डिग्रीको तापक्रममा बेल्चा उठाइ आफ्नो जवानी बेचिरहेका छन अभिभावकहरू। कसैले ज्याला मजदुर गरि छोराछोरीको लागि कापी- कलम अनि ड्रेसको जोहो गरिदिएका हुन्छन। आफ्नो छोराछोरिले राम्रो स्कुलमा पढ्न पाउन, राम्रो शिक्षा प्राप्त गरून् र भोली आफु आफ्नो परिवार र देशको लागि केहि योगदान गरून् भन्ने सबै अभिभावकहरुको चाहना हुन्छ। हुन पनि पछिल्लो समय धेरैजसो बालबच्चाहरूले राम्रो नतिजा (प्रतिशत) ल्याएर आफ्नो लेभल पास गरेका समाचार हेर्न सुन्न र पढ्न पाइन्छ। हाम्रो देशमा पनि शिक्षामा व्यापक सुधार तथा परिवर्तन भएको महसुस हामीले गर्न सक्छौं। आज एसईई को रिजल्ट आउने रे ! ए आज त हाम्रो बाबुको रिजल्ट आउने दिन! स्कुलमा सरहरूले त नानिले राम्रो गरेकि छे भन्नुहुन्थ्यो आज रिजल्ट कस्तो आउने हो खै! ल फलानाको छोरीले त जिल्ला टपि अरे। फलानाको छोराले 95% ल्यायो रे! श्यामको छोरा पनि टाठो छ भन्थे नभन्दै ए प्लस ल्याएछ 93% आयो रे! एकछिनमा फेसबुक खोलेर हेर्दा- ल बधाई छ हाम्रो छोराले 90% ल्याएर एस इइ पास गरेकोमा। मेरि छोरीले 85 ल्याएर एसईई पास गरिन उनलाई वधाई छ हाम्रो सपना पुरा गरिदिएको मा यस्तै यस्तै!! हो हाम्रो छोराछोरि भन्नु नै हाम्रो सम्पत्ति हुन हाम्रो गहना हुन।
उनिहरुको सफलतामा हामि खुसि नभएर को हुन सक्छ। तर यसो भन्दै गर्दा हाम्रा छोराछोरीले कत्ति व्यवहारिक कुरा सिके अथवा उनिहरुले प्राप्त गरेको डिग्री (नतिजा) ले उनिहरुको व्यवहारमा कति परिवर्तन आयो भन्ने पक्षको पनि ख्याल गर्नुपर्छ। यदि व्यावहारिक कुरा थाहै छैन भने त्यो डिग्रीको कुनै अर्थ रहँदैन। पढेको मान्छे उच्च शिक्षाको लागि अमेरिका अष्ट्रेलिया जानु कुनै बैंक अथवा सरकारी कार्यालयमा राम्रो जागिर खानु वा कुनै एनजिओ आईएनजि चलाउनु बैंकको सिईओ चलाउनु मात्र हैन। पढेको मान्छेले घरमा हजुरबुबा हजुरआमा को रेस्पेक्ट पनि गरेको हुनुपर्छ। आमाबुबाको भावना पनि बुझेको हुनुपर्छ। भात खान जानेको मान्छेले धान रोप्न पनि सिकेको हुनुपर्छ। एसइइ पास गरेको मान्छेलाई दुध कहाँबाट आउँछ भन्दा डेरिबाट भन्यो भने त्यो ज्ञानले उसको व्यवहार परिवर्तन गर्न सक्दैन। प्लस टु पास गरेको मान्छेलाई घरमा पाहुना आउँदा पानि दे चिया कफि सोध पाहुना को सम्मान गर भनेर सिकाउनु पर्छ भने त्यो ९०% को कुनै भ्यालु हुँदैन। एकपटक करिब 2 वर्ष पहिला म एकजना आफन्तकोमा गएको थिएँ।
संयोगवश उहाँको ब्याचलर तेस्रो वर्ष अध्ययन गर्दै गरेकि छोरी विदामा घरमा आएकि रहिछन्। मलाई थाहा थिएन उनि त्यति ठुली भैसकिन भन्ने। एक्कासी ब्याचलर पढ्दै छे भनेर उनको मम्मीले भन्दा पो झसङ्ग भएँ समय कति छिटो बित्दो रहेछ भनेर। साथिको मा गएकि उनि हामि घरमा कुरा गर्दै गर्दा ढोकाबाटै मम्मी भोक लाग्यो खाजा दिनुस मलाई भन्दै भित्र पसिन। हामि सबैलाई देखिन तर भोक लागेको अभिनय गर्दै किचनमा पसिन। उनि सानो संभवत 3/4 कक्षामा पढ्दा देखि उनिसंग मेरो देखभेट थिएन त्यसैले अहिले उनले चिन्ने त कुरै भएन। तर घरमा आएको पाहुनासंग परिचय गर्न। सन्चो बिसन्चो सोध्न चिन्नैपर्छ त? पछी बाबाले बोलाएर घरमा को आएको छ चिनिस नमस्ते गर दाईलाई भनेपछि बल्ल दुई हात सम्म उठाइन्। र केहि नबोलि आफ्नो कोठातिर फर्किइन। यसो भन्दै गर्दा उनले मलाई रेस्पेक्ट नगरेकोमा मेरो आपत्ति हैन तर हाम्रो शिक्षा प्रणालि र विद्यार्थीको जिवनमा त्यसले पारेको प्रभावबारेको कटाक्ष पनि हो। त्यसैले छोराछोरिको उच्च अंक सहितको नतिजा चाहने अभिभावकले उनिहरूको नैतिक पक्षमा पनि ख्याल गर्ने कि। नत्र बोटमा लटरम्मै फलेर पाकेको दानाभित्र किरा परेको छ भने त्यसको के अर्थ बाहिर सुन्दर देखिँदैमा!
लेखक: दिपक खनाल, मालारानी- ३ अर्घाखाँची, हाल दक्षिण कोरिया