विश्वलाई नेपाल चिनाउने साहसी व्यक्ति – मीरा राई

0
216

सन् २०१४ मार्च।

मीरा राई आफ्नो ज्यानभन्दा निकै ठूलो, ह्वार्लाङ्ग परेको सेतो टिसर्ट लगाएर एकाबिहानै बालाजु बाइपासबाट आर्मी ब्यारेकतिर ‘जगिङ’ गरिरहेकी थिइन्। त्रिभुवन आर्मीका दुई धावक भीम गुरुङ र कृष्ण गुरुङ उनलाई उछिन्दै बढे। आर्मीको गेट नजिकै पुगेपछि दुवै एकछिन टक्क उभिए।

मीरा हस्याङ–फस्याङ गर्दै उनीहरूसँगै दौडिने प्रयत्न गरिरहेकी थिइन्।

भीमले सोधे, ‘भाइ तिमी पनि जान्छौ?’

मीराले उत्तर दिइन्, ‘जान्छु।’

मीराको स्वर सुनेपछि भीम र कृष्ण छक्क परे। भीम केही लजाए। र, भने, ‘ए..! बहिनी पो रहेछ।’

मिराको ‘गेटअप’ नै त्यस्तै थियो। उनलाई आफूहरूकै रफ्तारमा दौडिएको देखेपछि भीम र कृष्णले प्रस्ताव राखे, ‘शनिबार पनि आउ है।’

मीरालाई लाग्यो, ट्रेनिङका लागि होला!

अर्को शनिबार बिहान उनी ४ सय रुपैयाँमा किनेको जुत्ता, करातेगुरु ध्रुवविक्रम मल्लले किनिदिएको ट्राउजर पहिरेर कसैलाई थाहै नदिई बालाजु जंगल पुगिन्। त्यस दिन आर्मी गेटअगाडि ठूलो भीड थियो। त्यहीँ पुगेपछि उनलाई थाहा भयो, बालाजुको डाँडो हुँदै हात्तिवनसम्म ५० किलोमिटरको अल्ट्रा दौड प्रतियोगिता हुँदै रहेछ। भीम र कृष्णले उनलाई त्यसैमा भाग लिन पो डाकेका रहेछन्!

मीरासँग खल्तीमा एक पैसा थिएन। उनीसँग त्यतिबेला जम्मा हजार रुपैयाँ रहेछ, त्यो पनि डेरामै छाडेर आएकी रहिछन्। ब्यारेकभित्र छिर्दा लाग्ने २० रुपैयाँ दस्तुर पनि नभएपछि भीम र कृष्णले नै तिरिदिए। उनीहरू पानी खाने टुमलेट र अन्य बन्दोबस्तीका सामानसहित आयोजना स्थल पुगेका थिए। मीरा भने रित्तो हात थिइन्। दौड सुरु हुनुअघि उनीहरूले मीरालाई सय–सय रुपैयाँको पाँचवटा नोट थमाउँदै भने, ‘बाटोमा काम लाग्छ, राखिरहनु।’

मीरालाई अचम्म लागेछ– दौडिन आएको मान्छे, पैसा किन दिएको होला!

उनले पहिरेको ट्राउजरमा खल्ती थिएन। उनलाई पैसा कहाँ राख्ने फसाद पर्यो। वास्तवमा मीरालाई दौड सुरु हुनुभन्दा अघिसम्म थाहा थिएन, अल्ट्रा दौड भनेको के हो? उनले जुत्ताको चेपमा पैसा कोचिन्। र, आयोजकले दौड सुरु भएको जनाउ दिएपछि दौडिन थालिन्।

मीरा सानैदेखि दौडन्थिन्।

धनकुटाको पारीगाउँ भनेर चिनिने भोजपुरको सानुदुम्मामा जन्मेकी मीरा त्यहीँका भीरपाखामा दुई बहिनी र भाइलाई काँधमा राखेर दौडदै हुर्किइन्। उनको घर पुग्न धनकुटाको सदरमुकामबाट कस्सिएर हिँड्दा ठ्याक्कै एक दिन लाग्छ। राईहरूको अन्त्येष्टि गर्ने चिहान नजिक ‘हुर्ली वन’ मा रहेका तीन घरमध्ये एउटामा २७ वर्षअघि जन्मिएकी हुन्, मीरा। त्यतिबेला उनको गाउँको कुल जनसंख्या थियो, १४।

मीरालाई सानै उमेरदेखि घरभित्रको काममा कहिल्यै इच्छा लागेन। बरु उनी आफ्नो दाजुसँगै वस्तुभाउ चराउन भीरपाखा चहार्थिन्। टाढाको कुवाबाट पानी बोकेर ल्याउँथिन्। भीरको रुखमा चढ्न सिपालु थिइन्। त्यसैले हजुरबुबाले उनको नामै राखिदिएका थिए– बाँदर। घरदेखि स्कुल पुग्न गाउँका अरू केटाकेटीलाई डेढ घन्टा लाग्थ्यो, मीरा भने एक घन्टामा मज्जाले पुग्थिन्।

जति काम गर्दा पनि थाक्दै नथाक्ने उनको गजबको ‘स्टामिना’ थियो। त्यही भएर होला, आमाले पनि धनकुटाको सदरमुकामबाट ढाडमा बोकेर खाद्यान्न ल्याउनुपर्दा उनलाई नै लिएर जान्थिन्। अभाव र अशिक्षाबीच हुर्किए पनि मीराका बुबा आफ्ना छोराछोरीलाई जसरी भए पनि पढाउन चाहन्थे।

आफ्नो गाउँ, घरपरिवार र डाँडापाखामा दौडिएको विगतलाई सम्झिरहेकी मीराको होस त्यतिबेला फर्कियो, जब उनलाई २२ किलोमिटरको दौड पूरा गर्ने क्रममा रिंगटा लागेको अनुभव भयो।

‘पसिनाले भिजेको मेरो शरीरबाट ‘इनर्जी’ सबै सक्किसकेको थियो। मसँग दौडिरहनु भएका दाजु राज प्रधानलाई यो थाहा भएछ। उहाँले चम्पादेवीको अन्तिम चेक प्वाइन्टमा बस्ने दिदीलाई ५० रुपैयाँ दिएर भन्नुभएछ, पछाडि एउटी बहिनी आउँदै छिन्। उनलाई केही किनेर खानू भन्दिनु,’ भर्खरै नेसनल जियोग्राफीले विश्वकासाहसिक खेलाडीको मनोनयन सूचीमा राखेको नेपाली चेली मीरा राईले शनिबार सेतोपाटीसँगको कुराकानीमा भनिन्, ‘मलाई दौडिँदा खानुपर्छ भन्ने पनि थाहा थिएन। दौड सुरु हुनुभन्दा अघि दाजुहरूले दिएको पाँच सय रुपैयाँको महत्व त्यसपछि बल्ल बुझेँ। जुत्ताबाट निकालेर हेर्दा पसिना र खुट्टाको रगडाईले पैसा त धुजाधुजा भइसकेको रहेछ।’

राज प्रधानले छाडेको ५० रुपैयाँबाट चाउचाउको सुप र एउटा फ्रुटी खाएपछि मीरा फेरि तंग्रिइन्। नभन्दै उनले महिलातर्फको उपाधि जितिन्। दौड पूरा गरेपछि जुत्ता फुकालेर हेर्दा प्वाल परेको रहेछ। उनलाई मनमा फेरि चिसो पस्यो। जुत्ता त गयो, अब बिहान के लगाएर ‘जगिङ’ गर्ने? रोचक कुरा, त्यो प्रतियोगितामा उपाधि जित्ने महिला खेलाडीलाई इनामस्वरुप ७ हजार रुपैयाँ राखिएको रहेछ।

यता, काठमाडौंमा बबाल भइसकेको रहेछ। त्यतिबेला मीरा आफ्नो कराते गुरु मल्लको घरमै बस्थिन्। बिहान घरबाट निस्किँदा ‘जगिङ’ गरेर दुई घन्टाभित्रै फर्किने त हो नि भन्ने सोचेर उनले कसैलाई भनेकी थिइनन्। पुरस्कार थापेर घर फर्किंदा रातको आठ बजिसकेको थियो। मल्लको घरमा रुवाबासी सुरु भइसकेको थियो।

आफ्नो चेलीलाई कसैले अपहरण गर्यो कि? कसैले मारेर फ्याक्यो कि? यस्तै आशंकाबीच मल्लले पुलिसमा रिपोर्ट गरे। तर, आठ बजे मेडल र सर्टिफिकेट बोकेर घर प्रवेश गर्दा एकछिन त मल्लकी दिदीले उनलाई घुरेर हेरिरहिन्। त्यसपछि डाँको छाडेर रुन थालिन्।

‘खुब गाली खाएँ मैले। तर, किन हो मलाई गाली पनि मिठो लागिरहेको थियो। मैले पहिलोपल्ट पुरस्कारस्वरुप पैसा मात्र होइन, अल्ट्रा रेसमा दौडिने विशेष किसिमको जुत्ता र टिसर्ट पनि पाएको थिएँ,’ पछिल्लो समय खेलकुदको माध्यमले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउने सबैभन्दा प्रभावशाली व्यक्ति बनेकी मीराले भनिन्।

हुन त मीराको जीवनमा थुप्रै ‘टर्निङ प्वान्ट’ छ। तर, उनी यो दौडलाई आफ्नो खेल जीवनकै ठूलो ‘टर्निङ प्वान्ट’ मान्छिन्।

उनले यो दौडमा भाग लिएको एउटा फोटो नेपालमा अल्ट्रा दौड आयोजना गर्दै आइरहेका बेलायती नागरिक रिचर्ड बलको हातमा पुगेछ। उनी दशरथ रंगशालामा सिधै उनलाई भेट्न आइपुगे।

‘उहाँले पहिले जुत्ताको नाप सोध्नुभयो। त्यसपछि डाइटका लागि भनेर ३५ सय रुपैयाँ छोडिदिनु भयो। पछि साथीभाइलाई भनेर डाइट खान मलाई ८ हजार रुपैयाँ उपलब्ध गराउन थाल्नुभयो,’ मीरा भन्छिन्।

रिचर्ड बलको सम्पर्कमा पुगेपछि उनले मुस्ताङमा सम्पन्न अर्को अल्ट्रा दौडमा भाग लिने अवसर पाइन्। यहाँ उनको भेट इटालीकी योगगुरु टिटे टोनिङसँग भयो। उनले मुस्ताङमा पनि उपाधि जितिन्। त्यसपछि उनलाई इटालीमा आयोजना हुने दुईवटा अल्ट्रा दौड प्रतियोगितामा भाग लिन पत्र आयो।

उनले सुरुमै खबर पठाइन्, ‘म गरिब छु। खर्च गर्न सक्दिन। र, सरकारले पनि सहयोग गर्दैन।’ उनले इटालीबाट दौडका लागि आएको प्रस्तावबारे रिचर्डलाई पनि सुनाइन्। रिचर्ड यति उत्साही भएछन्, सुन्नेबित्तिकै भने, ‘जान चाहन्छौं। पासपोर्ट ल्याऊ।’

मीरा फेरि अतितमा पुगिन्।

तीन महिनाअघि नेपालमा बसेर केही नहुने निस्कर्षबीच उनले मलेसियामा रोजगारीका लागि जाने मन बनाएकी रहिछिन्। यसका लागि उनले काठमाडौंको एउटा म्यानपावर कम्पनीमा आफ्नो पासपोर्ट बुझाएकी थिइन्। भिसा लागिसकेपछि म्यानपावर कम्पनीले उनलाई पासपोर्ट बुझ्न बोलाएको पनि थियो। तर, उनलाई अहिलेको अवस्थामा ल्याउन सबैभन्दा ठूलो योगदान गरेका कराते गुरु मल्लले थाहा पाएपछि सम्झाएका रहेछन्।

मीराको क्षमता बुझेका मल्लले फकाउँदै भनेका रहेछन्, ‘कम्तिमा एक वर्ष यहीँ संघर्ष गर। केही भएन भने मैं तिमीलाई राम्रो ठाउँमा पठाइदिउँला।’

त्यसपछि मीराको रोजगारीका लागि मलेसिया जाने इच्छा बीचैमा तुहियो। गुरुको अगाडि उनले मलेसिया जाने निर्णय त्याग गरिन्। तर, म्यानपावर कम्पनिको अफिस गएर आफ्नो पासपोर्ट फिर्ता लिने हिम्मत जुटाउन सकिरहेकी थिइनन्।

अब रिचर्डले पासपोर्ट मागेपछि उनलाई फेरि आपत पर्यो। उनी गुरुलाई नै लिएर म्यानपावर कम्पनी पुगिन्। धेरै ठूलो गलफत्तीपछि १२ हजार रुपैयाँ तिरेर म्यानपावर कम्पनीबाट आफ्नो पासपोर्ट फुत्काउन सफल भइन्।

त्यसपछि रिचर्डले भिसा आवेदनका लागि उनको पासपोर्ट दिल्लीस्थित इटालीको दूतावासमा पठाइदिए। भिसा आज आउँछ भन्यो, आउँदैन्। भोलि आउँछ भन्यो, आउँदैन। उड्ने दिन नजिकिन लागिसक्दा पनि भिसा आएन। रिचर्डले आफैं दूतावासमा सम्पर्क राखे। त्यसपछि पो उनी छाँगाबाट खसेजस्तै भए।

वास्तवमा रिचर्डले मीराको पासपोर्ट राम्रोसँग ‘चेक’ नै नगरी दूतावास पठाएका रहेछन्। उनको पासपोर्टमा मलेसियामा रोजगारीका लागि पहिले नै भिसा लागेको थियो। त्यस्तो अवस्थामा उनलाई ‘ट्राभलिङ भिसा’ कसरी दिने?

यतिबेला मुस्ताङमा भेटिएकी टिटे मीराका लागि भाग्यमानी साबित भइन्। उनले मीराको ४५ दिनको इटाली बसाइँको सम्पूर्ण जिम्मेवारी लिइन्। जुन दिन उनी इटाली उड्दै थिइन्, त्यसको ६ घन्टाअगाडि मात्र भिसा नेपाल आइपुग्यो।

‘म दंग थिएँ, तर,मेरो गल्तीले पिछा छोडिरहेको थिएन,’ पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न जाने क्रममा भोगेको अफ्ठेराहरू उनले सम्झिइन्।

त्रिभुवन विमानस्थलको अध्यागमन विभागले पनि पासपोर्ट हेर्नेबित्तिकै उनलाई रोक्यो। अध्यागमनका पदाधिकारीको तर्क थियो, ‘मलेसियाको रोजगारीको भिसा हुँदा हुँदै इटाली किन? भाग्न जान लागेको?’

नेपाली खेलकुदमा एसियाली देशमा खेल्न जाँदा त भाग्ने परम्परा छ भने झन् युरोपमा नभाग्लान् भन्ने के ग्यारेन्टी थियो र! फेरि मीरा एक्लै त्यो प्रतियोगितामा भाग लिन जाँदै थिइन्। उनीसँग न प्रशिक्षक थिए न त अन्य पदाधिकारी नै। अंग्रेजी त टाढाको कुरा, त्यतिबेला नेपाली पनि कनिकुथी बोल्ने मीराका लागि त्यो क्षण वास्तवमै कठोर थियो। किनभने यसअघि उनका जति पनि काम थिए, ती अरूले नै गरिरहेका थिए। यहाँ उनी नेपाली ‘ब्युरोक्रेसी’ सँग एक्लै ‘डिल’ गरिरहेकी थिइन्। पछि एक जना हाकिमलाई माया लागेछ। भनेछन्– ‘जान देऊ।’

दंग परेकी मीरा उडानका लागि हवाइजहाजको ढोका बन्द हुनु केही समयअघि मात्र सिँढीबाट उक्लेकी थिइन्। ४५ दिन इटाली बसाइका क्रममा मीराले ५७ किलोमिटरको सेलारोन्डा ट्रायल रेसको उपाधि मात्र होइन, ८३ किमीको ट्रायल डेग्ली इरोइको उपाधि पनि जितिन्।

८३ किमीको डेग्ली इरोइको ट्रायल रेस जितेर मीरा जतिबेला नेपालको ठूलो झन्डामा बेरिएर उपाधि ग्रहण गर्दै थिइन्, दर्शकदीर्घाबाट आवाज आयो– ‘गोर्खाज्… सी इज गोर्खाली।’

यतिबेला उनी एकछिनका लागि उदयपुरको बेल्सोरस्थित विशालकुमार स्मृति ब्रिगेडको पुरानो माहौलमा पुगिन्। गाउँको पद्येरी स्कुलबाट ७ कक्षा पास गरेपछि मीरा नजाँनिदो किसिमले तत्कालीन नेकपा माओवादीले सुरु गरेको ‘जनयुद्ध’ मा होमिएकी थिइन्। २०६२–६३ मा शान्ति सम्झौता सुरु भएपछि नेपाली सेनामा गाभिने लोभलाग्दो चाहनाबीच उनी उदयपुरको दोस्रो क्याम्पमा थिइन्। उनको जोश, जाँगर र हिम्मतका कारण क्याम्पका सबैले भन्ने गर्थे, ‘हामी त त्यस्तै हो, तँ चाहिँ कुनै पनि हालतमा आर्मी बन्छेस्।’

उनी सपनामा पनि आर्मीको पोसाकमा ड्युटी गरेको देख्न थालिसकेकी थिइन्। गाउँमा आमाबुबालाई पनि भनिसकेकी थिइन्, ‘तपाईंहरू ढुक्क हुँदा हुन्छ।’

तर, नेपाल आर्मीमा समाहित हुने बेला नाम पढियो, त्यसमा उनको नाम थिएन।

आर्मीमा समाहित नहुने सबैलाई १० हजार रुपैयाँ थमाइयो। मीराले पनि १० हजार बुझिन्। घर फर्किदै गर्दा आर्मी बन्न नपाएका धेरै साथी रुवाबासी गरिरहेका थिए। मीरा भने घर नफर्किने निर्णयमा पुगिन्। उनलाई आफू आर्मी बन्न नसकेको कुरा आमाबुबालाई बताउन दुई महिना लाग्यो। घरबाट तारन्तार फोन आउँथ्यो, ‘के भयो?’

उनी उत्तर दिन्थिन्– ‘चिन्ता गर्नु पर्दैन, भै हाल्छ।’

उदयपुरबाट अयोग्य लडाकुका लागि माओवादीले सिन्धुलीमा राखेको क्याम्पमा पुगेकी मीराले त्यहीँबाट एसएलसी पास गरिन्। त्यहाँबाट माओवादीलाई कराते सिकाउने गुरु मल्लको बालाजुस्थित डोजोमा आइन्। काठमाडौंमा उनलाई बस्नेदेखि खेल्ने सबै सुबिधा मल्ल गुरुले नै मिलाइदिएका थिए। जति खेल्दा पनि नथाक्ने उनको अचम्मको शारीरिक क्षमता देखेपछि मल्ल गुरु पनि अवाक् बनेका थिए। मल्ल गुरुले नै उनलाई धाविका बनाउन नेपाली एथलेटिक्स प्रशिक्षक सुशिलशमशेर राणा कहाँ ट्रेनिङका लागि लगेका थिए।

मीराले काठमाडौंमा आयोजना भएको पाँचौ बृहत राष्ट्रिय खेलकुद र धनगढीमा सम्पन्न छैटौं बृहत राष्ट्रिय खेलकुदमा माओवादीको पिएलए क्लबबाट भाग लिएकी थिइन्। समथर स्थानमा हुने दौडमा उनलाई खासै रुचि थिएन। अझ दशरथ रंगशालामा फन्को लगाउँदा उनलाई निसासिएझैं लाग्थ्यो।

इटालीबाट दुईवटा उपाधि बोकेर घर फर्किंदा त्रिभुवन विमानस्थलमा उनको जम्काभेट फेरि एकपल्ट तिनै पदाधिकारीसँग भयो। उनको सफलता देखेर सबै कर्मचारी दंग परे। अझ, उनीहरू मीरा देश फर्किएर आएकोमा आश्चर्य मान्दै थिए। ‘अहिले अन्य प्रतियोगिताका लागि विमानस्थल पुगे भने उहाँहरू हाँस्नु हुन्छ र शुभकामना दिनु हुन्छ। खुब रमाइलो लाग्छ,’ मीरा भन्छिन्।

२०१४ को अन्त्यमा हङकङमा ५० किमीको एमएसआइजी अल्ट्रा दौड प्रतियोगिताको आयोजना भयो। त्यो दौड पनि मीराले नै जितिन्। उनको त्यो सफलतापछि हङकङको समाचारपत्रले छापेछ– ‘माओवादीकी पूर्व लडाकुले जितिन् उपाधि।’

यो समाचार पढेपछि रिचर्ड यति दंग परेछन्, उनले मीरालाई सोधे, ‘तिमी माओवादी लडाकु हौ?’ वास्तवमा रिचर्डलाई थाहा नै थिएन, मीरा पूर्व लडाकु हुन् भनेर। तीन महिनामा मीराको यो तेस्रो विदेशी उपाधि थियो। सबै कुरा यति छिटो भइरहेको थियो, मीरा पनि अचम्म मानिरहेकी थिइन्। उनले आफू माओवादी हुँदा रिचर्डलाई केही अफ्ठेरो पर्ला कि भनेर सोधिछिन्, ‘त्यो समाचार तपाईंलाई मन पर्यो?’

रिचर्डको सामान्य प्रतिक्रिया थियो, ‘ठिकै छ।’

मिरा राई आफ्ना कराते गुरू ध्रुबबिक्रम मल्लसँग। तस्बिरः नारायण महर्जन
पछि एउटा सामान्य जमघटमा मीराले द्वन्द्व क्रममा बन्दुक बोकेर खिचेको तस्बिर उनलाई देखाइदिइन्। त्यतिबेला रिचर्ड एकटकले मीरालाई नियालिरहेका थिए। मीरा पूर्व लडाकु भएको समाचार पढेपछि इटालीमा टिटे पनि दंग परिछन्। उनको पिता इटालीको आर्मीका अवकाशप्राप्त अफिसर थिए। टिटेलाई भन्दा उनको पितालाई मीराको समाचारले मन छोएछ।

‘अहिले झन् बढी माया गर्नु हुन्छ,’ मीरा भन्छिन्।

गत वर्ष स्पेनमा सम्पन्न १ सय १० किमीको विश्व म्याराथन प्रतियोगितामा मीराले तीनपल्टकी च्याम्पियन फ्रेन्च धाविकालाई हराइन्। उनको चर्चा विश्वव्यापी बन्यो। अल्ट्रा म्याराथनमा अपराजित मानिएकी फ्रेन्च खेलाडीलाई हराएपछि विदेशी मिडिया पनि उनको सफलता देखेर छक्क पर्यो। यसको कारण के भने, फ्रेन्च खेलाडीका लागि त्यहाँको सरकारले करौडौं रुपैयाँ लगानी गर्दै आइरहेको छ, तर मीराको हकमा नेपाल सरकारले पाँच पैसा पनि लगानी गरेको छैन।

यही प्रतियोगिता खेल्ने क्रममा मीराको विषयलाई लिएर सोलोमन टिमका फिजियोले एउटा रोचक तथ्य उजागर गरे– मीराको देब्रे खुट्टाको ‘लिगामेन्ट’ च्यात्तिएको छ। अर्थात् उनी लामो समयदेखि घाइते लिगामेन्टकै भरमा विश्वकै सबैभन्दा खतरनाक दौडमा भाग लिँदै आइरहेकी मात्र छैनन्, उपाधि पनि जितिरहेकी छन्। अझ, विश्वकै खतरनाकमध्ये एक स्पेनको यस प्रतियोगितामा घाइते अवस्थामै तीनपल्टको च्याम्पियनलाई १ सय १० किलोमिटरको दौडमा पछाडि पार्नु कुनै चमत्कारभन्दा कम थिएन।

अहिले मीरालाई नेसनल जियोग्राफीले वर्षकै साहसी व्यक्तिको सूचीमा राख्नुको कारण पनि यही हो। साहसिक खेलकुदमा प्रयोग हुने लुगादेखि सबै उपकरणको निर्माता सोलोमन कम्पनीले उनको यही क्षमता बुझेर केही सामान प्रायोजन पनि गरेको छ।

उनले गत महिना इटालीको चर्चित भिरोन अस्पतालमा घुँडाको शल्यक्रिया गरेकी थिइन्। उनको उपचारमा पनि राज्यले एक पैसा खर्च गरेको छैन। उनी भने खेलकुदको माध्यमबाट विश्वलाई नेपाल चिनाउने बाटोमा अग्रसर छिन्।

– सेतोपाटी

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here