
अर्थब्यबस्थालाइ सुचारु गर्न शारीरिक वा मानसिक तवरले गरिने काम नै श्रम हो। कामहरु पूर्ण रुपले शारीरिक वा पूर्णरुपले मानसिक हुदैनन। कुनै काममा शारीरिक बलको प्रयोग बढि हुन्छ मानसिक पक्षको प्रयोग कम हुन्छ भने कुनै काममा मानसिकरुपले बढि र शारीरिक रुपले कम बल प्रयोग गर्नु पर्ने हुन्छ। त्यसै गरेर उध्यमशिलता भनेको एउटा बिचार हो। यो मानव जातिलाइ प्राप्त भएको एउटा अनुपम उपहार हो। यसमा अधिकतम रुपमा मानसिक पक्षको प्रयोग हुने हुन्छ।हुन त श्रम र उध्यमशिलता एक अर्कामा अन्तर संबन्धित नभएको भने होइन। तसर्थ “श्रम कोरियामा उध्यम नेपालमा ” भन्ने बिषय शिर्षकले कोरियामा श्रम गर्दा उपार्जन भएको पुंजि र सीपलाइ उध्यमशिलताको प्रयोग गरेर नेपालमा उध्यम गर्न उत्प्रेरित गर्न मनसाय अन्तरनिहित छ भन्ने बुझ्न सकिन्छ। त्यसकारण यस निबन्धमा म मेरा अनुभव, विचार, भावाना र तर्कहरुलाइ त्यहि सेरो फेरोमा राख्न प्रयत्न गर्ने छु।
कोरियामा काम गर्न अाउने अधिकांश नेपालीहरुको पेशा कृषि हो। परम्परागत प्रणालीबाट गरिने निर्वाहामुखि कृषि पेशाबाट हामी अौधोगिक राष्ट्रको श्रमिकको रुपमा अाँउदा श्रम संस्कृतिको बारेमा बुझ्न बाँकि धेरै रहेछ भन्ने कुरा सजिलै अनुभुत गर्न सक्छौ। मुख्य गरेर श्रमलाइ गरिने सम्मान र अथक गरिने श्रम कोरियाबाट हामीले सिक्न सकिने मुख्य कुरा हो। स्वदेशमा रहदा श्रम प्रतिको दृष्टिकोण कोरिया बसाइको केहि समय पश्चात धेर थोर सबैमा परिवर्तन हुन्छ नै। युरोप र अमेरिका पछि तुलनात्मक रुपमा केहि बढि कमाउने सकिने र इपियस प्रणालीबाट कोरियामा नै स्थापित हुने संभावना अत्यन्त कम हुने हुनाले यहाँबाट अार्जन गरेको पुंजी, ग्यान र सीपलाइ उध्यमशिलताको माध्यमबाट उध्यमी बनाउन सहज हुन्छ।यस्तो अनुकुलता हुँदा हुदै पनि किन यस्तो हुन सकिरहेको छैन होला? हुन नसक्नुमा कारण के के हुन सक्छन होला? यस बारेमा हामीले निष्कर्ष निकाल्नको लागि मुख्य रुपले दुइ बिषयलाइ हेर्नु पर्छ। एउटा कोरियामा रहेको नेपाली समुदायको सामुहिक चिन्तन प्रणाली र अर्को नेपाल सरकारको नीति तथा कार्यक्रम।
पहिलो बिषयको सन्दर्भमा कुरा गर्दा कोरिया प्रवेश गरेर काम गर्न अाउने नेपालीहरु देशको सम्पुर्ण भुभागबाट उपस्थिति रहेको देखिन्छ। कोरियन भाषा परीक्षा पास गरेर मात्र कोरिया प्रवेशको अनुमति पाउने हुँदा यहाँ काम गर्न अाउने श्रमिकहरु अौपचारिक शिक्षा हासिल गरेको तर अदक्ष कामदार जसको अौधोगिक क्षेत्रलाइ चाहिने अाधारभुत ग्यान समेत हुदैन। देशको लामो समय सम्मको अस्थिर राजनीतिक ब्यबस्थाका कारणले उत्पन्न संक्रमणको कारण जर्जर बनेको देशको अर्थ ब्यबस्था र त्यसको कारण श्रृजित बेरोजगारिको कारणबाट कोरियाको रोजगारि लागि नेपाली युवाहरु प्रवेश गरेका छन। यो बाध्यताको रोजगारि त हो नै तर यो अाकर्षक पनि छ। बाध्यता र अाकर्षकताको अन्तर द्वन्दले यहाँ काममा अाउन युवाहरुलाइ नराम्ररि गाँजेको छ। कठिन किसिमको श्रम गर्नु पर्ने, धेरै अार्जन गर्न धेरै समय काम गर्नु पर्ने बाध्यताको बीच पनि नेपाली श्रमिकहरु बिभिन्न किसिमको राजनीतिक, भौगोलिक, जातिय, धार्मिक र अन्य प्रकारका अनौपचारिक संगठनहरुमा संगठित हुने, त्यसको माध्यमबाट सक्रिय हुने प्रचलन छ। यसरि सक्रिय हुने क्रममा कतिपय सन्दर्भहरुमा परोपकारि कामहरु हुने गरेका छन जुन सह्रानीय छ। एकोहोरो र कठिन कामबाट निरस दिन चर्यालाइ पुनर्ताजकि प्रदान गर्न यस्ता संघ संस्थाहरुले बेला बेलामा बिभिन्न किसिमको मनोरञ्जनात्मक कार्यक्रमहरु पनि गर्ने गर्छन। जसलाइ पनि स्वभाविक रुपमा लिन सकिन्छ। एक थरि श्रमिकहरु कोरियन भाषामा थप दक्षता हासिल गरेर वा केहि पुजीको जोहो गरेर कोरियामै लामो समय बस्नकोलागि अाफ्नो भिषा स्ट्याटस परिवर्तन गर्ने शिलशिलामा रहेको पाइन्छ। त्यसै गरेर केहि अाफ्नो कार्य अबधि सकिए पछि पनि कागजपत्र बिना नै काम गरिरहेको पाइन्छ। अरु सामान्यरुप अाफ्नो कार्य अबधि सकेर स्वाभाविक रुपमा स्वदेश फर्कनेहरु हुन्छन। यी सबै प्रकारका नेपाली श्रमिकहरुमा खास गरेर उध्यमशिलताको सर्वथा अभाव देखिन्छ। सामाजिक रुपमा बिभिन्न अभियानमा सक्रिय रहने नेपाली समुदाय सायद उध्यमशिल हुने समुदाय हो। तिनीहरुले अाफ्नो सक्रियतालाइ परोपकारि तथा मनोरञ्जनात्मक कार्यक्रममा केन्द्रित गरिरहेका छन। त्यो तत्काल हेर्दा असाध्यै राम्रो देखिएता पनि दिर्घकालिन रुपमा उध्यमशिलताको प्रवर्धन गर्दैन। अनगिन्ति परोकारि अभियानमा यिनीहरुको काम देखि बाकि रहेको समय खर्च गरिरहने हुदा उध्यमशिलताको बारेमा सोच्ने, छलफल गर्ने न समय हुन्छ न मुढ नै। यो समुदायको श्रमिकहरु जुवाको खालमा जुवा जित्ने खेलाडिसंग तुलना गर्न सकिन्छ। यिनीहरुले अाफुले श्रम गरेर कमाएको राम्रो प्रतिशत परोपकारमा खर्च गर्छन जसरि जुवाडेले जिते पछि जितौरि दिन्छ। तर जव खेलमा हारको शुरुवात हुन्छ त्यतिबेला जितौरि लिने पात्रले अर्को जित्ने पात्रलाइ पछ्याइरहेको हुनेछ। त्यतिबेला बाडेको जितौरिले कुनै काम गर्ने वाला छैन। अर्को पक्ष छ जस्ले बिबिध माध्यमबाट कोरियामा नै स्थापित हुने वा लामो समय कोरियामै बसोवासको लागि कोशिष गरिरहेको हुन्छ। उसको लागि कोरियाको श्रम र स्वदेशको उध्यमसंग कुनै लेनादेना हुदैन। त्यो बर्गमा पर्ने नेपाली श्रमिकहरु यहाँको सेवा सुविधाबाट लालाहित हुदै सकेसम्म यतै स्थापित हुने र भएन भने जीवनको उत्तरार्ध तिर रिटायर्ड जीवनको लागि मात्र स्वदेश फर्कने सोचाइ बनाएको हुन्छ। तेश्रो क्याटगोरिको श्रमिकहरुमा यता स्थापित हुन भन्दा पनि केहि समय बिना कागजात काम गर्ने र स्वदेश फर्कने सोच बनाएको हुन्छन। अहिले सम्मको ट्र्याक रेकर्ड हेर्ने हो भने कोरियामा रोजगारि गरेर अार्जन गरेको पुंजि स्वदेशमा उत्पादन मुलक श्रेत्रमा लगानी गरेर स्वरोजगार भएको वा रोजगारि श्रृजना गरेको नगण्य मात्रामा छ। मुलत किन यस्तो हुन्छ? यस्तो मनोबृति किन विकास भएको छ? यसको कारण खोजि गर्नु र त्यसलाइ निराकरण गर्नु बाञ्छनीय हुन्छ। यसले सरकारको तर्फबाट र स्वयंम मञ्जुरको तर्फबाट उध्यमशिलताको जागरण ल्याउनु जरुरि हुन्छ।
जसको लागि सरकारले कोरिया प्रवासनबाट फर्केकाहरुलाइ रोजगारि दिने भन्दा बढि स्वरोजगार बनाउने तथा केहि रोजगारि श्रृजना गर्न सक्ने बनाउन अावश्यक नीतिगत ब्यबस्था गर्नु पर्ने हुन्छ। नेपालको कुल जनसंख्याको झण्डै एकतिहाइ भाग रोजगारिको लागि बिदेशि भुमिमा सस्तो भाउमा अाफ्नो श्रम बेचिरहेको छ। जुन जनसख्या देश बाहिर छ त्यो उच्च उत्पादनशिल उमेर समुहको जनसंख्या छ। जस्ले जोखिम मोल्ने उध्यमशिल हुने हैसियत राख्दछ। हुन त यस बर्ष सरकारको नीति तथा कार्यक्रम र बजेटबाट बैदेशिक रोजगारिबाट फर्केकाहरु तथा अरु शिर्षकहरुमा पनि “सहुलियत पुर्ण कर्जा” को माध्यमबाट स्वरोजगार बनाउन १ अरब १० करोड रुपैया बिनियोजन गरिएको छ। जुन सकारात्मक पनि छ। सरकारले बजेट बिनियोजन गरेर त्यसको प्रभावकारि कार्यान्वयन हुन सकेन भने त्यो बालुवामा पानि हुने खतरा पनि हुन सक्दछ। मान्छेको उध्यमशिलता सर्व प्रथम सोचाइ वा विचारबाट शुुरु हुन्छ। उध्यमशिल बनाउन, त्यस प्रति उत्प्रेरित बनाउन, संभावनाहरु प्रति जागृत गराउन, बजारको बिष्लेषण गराउन, संभावित क्षेत्रहरु पहिचान गराउन ऋण दिनु पुर्व जानकारि गराउनु अाधारभुत काम हो। जुन कामको लागि सरकारि तवरको कुनै संस्थागत काम र नीतिगत योजना देखिदैन। जव सम्म ब्यक्ति अाफै उध्यमशिल हुदैन, केहि गर्छु भन्ने निश्चय हुदैन त्यतिबेला सम्म यस्ता सहुलियत पुर्ण कर्जाले मात्रले केहि हुन सक्दैन। ब्यक्ति अाफै पुरै तयारि नभइ थमाइदिएको कर्जाले ड्राइभिङ सीप नभइ थमाइदिएको चालक अनुमति पत्र जस्तो हुनेछ। जसको नियति दुर्घटना सिवाय अरु हुनै सक्दैन। त्यसैले बैदेशिक रोजगारिबाट फर्केको युवाहरुलाइ उध्यमी बनाउन सरकारको तर्फबाट केहि नीतिगत र संरचनागत ब्यबस्था गर्नु पर्ने हुन्छ। “कोरियामा श्रम नेपालमा उध्यम”शिर्षकको अासयलाइ हृदंगम गर्दै मलाइ लागेको केहि बिषयलाइ उठान गर्न चाहान्छु।
(१)उध्यमशिलता तालिम (Intreprenuership traning )
उध्यमशिलता एउटा बिचार, सोचाइ वा श्रृजनात्मकता (creativity)हो।श्रृजनात्मता अर्थात इनोनोभेटिभ मनोबृतिको चिन्तन प्रणालीको विकास गरेर मात्र ब्यक्तिलाइ उध्यमशिल बनाउन संभव हुन्छ। उध्यमी बन्न ब्यक्तिले पहिले अवसरहरु देख्ने सोचाइ बनाउनु अावश्यक पर्दछ। त्यो सोचाइ अार्थिक उपार्जनसंग संबन्धित हुनु पर्दछ। ब्यक्तिको त्यो सोचाइलाइ बजारको संभावनासंग तादात्म्यता गर्ने श्रृजनशिलता अावश्यक पर्दछ। हाम्रो बजारमा कुन चीजको माग छ, कुन चिजको सरप्लस छ, उत्पादनको गुण स्तर कसरि कायम गर्न सकिन्छ जस्ता बिषयहरु जान्न जरुरि हुन्छ। यस्ता अाधारभुत बिषयहरुको उचित जानकारि बिना ब्यक्ति उध्यमी बन्न प्रयत्न त गर्ला तर सफल उध्यमी बन्न कठिन हुन्छ। यसको मतलब के हो भने सहुलियत पुर्ण कर्जा पाउदैमा वा श्रम गरेर अार्जन गरेको पैसाले उध्यमी बन्छन भन्ने कुराको कुनै निश्चितता हुदैन। त्यसको लागि राज्यले मुख्य रुपले उल्लेखित बिषयमा काम गर्नु पर्ने हुन्छ ।ब्यबसायलाइ बैधानिक रुपमा सञ्चालन गर्न सरकारले निश्चित गरेको कानुनि प्रकृया पुरा गर्नु पर्ने हुन्छ। यसरि तोकिएको कानुनि प्रकृया पुरा गर्ने दौरानमा अपनाउनु पर्ने कानुनि ब्यबस्थमा वर्तमानमा रहेको अब्यबहारिक, झञ्झटिलो, अपारदर्शि कानुनको सट्टा सरल, ब्यबहारिक, पारदर्शि र एकद्वार प्रणालिमा जानु पर्दछ। कुनै ब्यक्ति उध्यमी बन्न चाहान्छ भने उसलाइ उत्प्रेरित गर्नु पर्दछ। उसको उत्साह थप सकारात्मक उर्जा प्रदान गर्दै ब्याबसाइ बन्नु भएकोमा बधाई तथा सफलताको शुभकामना छ भन्ने खालको वातावरण निर्माण गर्नु पर्दछ। हालाकी अहिले अनेकौ झञ्झट र भ्रष्ट अाचरणका कारण यो प्रकृया असहज छ। दोश्रो कुरा अहिलेको यस प्रतिष्पर्धि बजारमा प्रविधि (technology) को सहयोग बिना गरिने कामहरुमा उत्पादन लागत बढ्न गइ उत्पादित बस्तु महङ्गो हुन जान्छ र बजारमा प्रतिष्पर्धा गर्न नसक्ने हुन्छ। त्यसकारण प्रबिधिको क्षेत्रमा अावश्यक ब्यबस्था प्रविधिको बिकास गर्ने, अन्यत्रबाट प्रबिधि भित्र्याउने लगायतको सपोर्ट पनि राज्यको तहबाट गरिनु पर्दछ। जसले गर्दा उध्यमको लागि ब्यक्ति अाकर्षित हुन सक्छ। तेश्रो अाधारभुत पुर्वाधार सडक, बिजुलि र पानि जस्ता बिषयमा प्रथमिकताका साथ उपलब्ध गराइदिनु पर्दछ। चौथो र महत्वपुर्ण पक्ष भनेको संभावित क्षेत्र, त्यसको मार्जिन लगायतको जानकारिको सहज उपलब्धता हुनु पर्दछ। यि उल्लेखित कुराहरु भइसके पछि बैदेशिक रोजगारबाट फर्के पछि बिशेषत कोरियाको रोजगारिबाट फर्के पछि ब्यक्तिलाइ उध्यमशिल बनाउन उत्प्रेणा वा अभिमुखिकरणको अावश्यकता पर्दछ। यहाँ नेर के कुरा स्मरण गर्न बाञ्छनीय हुन्छ भने धेरै शारीरिक र थोरै मानसिक शक्ति प्रयोग गरेर काम गर्न अाउदा हामी असी पचासि घण्टा तालिम लिन्छौ। जुन सरकारले नै प्रबन्ध गरेको हुन्छ। तर ब्यक्तिलाइ स्वरोजगार बनाउने कुरा श्रमिक बनाउने भन्दा बढि श्रृजनशिल काम हो, जुन कामले स्वरोजगार मात्र नभइ रोजगारहरु श्रृजना गर्नुको साथ साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान गर्छ, यसले दीर्घकालिन, बलियो र अात्मा निर्भर अर्थतन्त्र बनाउन मद्दत गर्दछ, यी बिषयमा काम गर्न सरकारले अाफ्नो नीति बनाउनु पर्दछ। सरकारको संस्थागत संरचना हुनु पर्दछ। बैदेशिक रोजगारिमा गएका युवाहरुलाइ सरकारको अहिलेको नारा “सुखी नेपाली समृद्ध नेपाल” मा जोड्नु जरुरि छ। त्यसको लागि अब ढिला नगरिकन सरकारले संभाब्यताको अध्धययन, अावश्यक प्राविधिक सहायता, उत्प्रेरणा र तालिम सहितको काम गर्ने एउटा स्थायी संस्थागत संरचनाको निर्माण गर्नु पर्दछ। जुन उध्यमशिलता परिषद (intreprenuership council)वा उध्यमशिलता प्राधिकरण (intreprenuership authority)वा उध्यमशिलता तालिम केन्द्र (intreptrenuership tranning cetre)जस्तो खालको संरचना होस। जसले सम्भाब्यताको खोज (resarch) गर्दै अावश्यक ग्यानहरु संग्रह गरोस। खोज तथा अनुषन्धानका माध्यमबाट संग्रहित ग्यान (knowladge)लाइ एउटा उध्यमीले पुंजिको रुपमा ग्रहण गर्न सकोस जसले गर्दा रोजगारिहरु श्रृजना होउन। उल्लेखित कामहरु सहज भएको अबश्थामा मात्र ब्यक्तिले सहुलियत कर्जा लिएर वा अाफैले अार्जन गरेको पुजिको लगानि गरेर उध्यमी बन्न अभिप्रेरणा प्राप्त मात्र गर्दैन सफल उध्यमी समेत बन्दछ।
(२)कर्पोरेट संस्कृतिको निर्माण तथा ब्यबसाइक सुरक्षा:
असंगठित र थोरै थोरै पुंजिलाइ संगठित गरेर ठूलो पुजि निर्माण तर्फ अावश्यक नीतिगत ब्यबस्था अनिवार्य रुपमा गर्नु पर्दछ। कृषि, पर्यटन र जलबिधुत लगाएत उच्च तथा दिर्घकालिन रुपमा प्रतिफल दिने कर्पोरेटहरुको निर्माण गरि राष्ट्रिय उत्पादनमा बृद्धि गर्दै अायात प्रतिस्थापन गर्ने दिशामा काम गर्न पर्छ। जसले गर्दा अहिले भएको भयाभह ब्यापार घाटालाइ कम गर्न मद्दत पुग्दछ। उदहारणको लागि कोरियामा रोजगार अनुमति प्रणालि लागु भए यता लगभग ५० हजार नेपाली कोरियाको रोजगारिमा संलग्न भएका छन। प्रति एकजनाबाट कम्तिमा एक महिनाको तलव बराबरको रकम शेयर हुने गरि एउटा पब्लिक कम्पनि निर्माण गर्ने हो भने ५ अरब चुक्ता पुजिको एउटा कम्पनि निर्माण हुनेछ। अागामी पाँच बर्षमा अरु यति नै सख्यामा कोरियन रोजगारिमा प्रेवेश हुने कुरा मान्ने हो भने पनि कोरियन प्रवासि नेपालीको मात्र दश देखि पन्ध्र अरब चुक्ता पुजिको कर्पोरेट बिजिनेस निर्माण हुनेछ। त्यसै गरेर अन्य श्रम गन्तब्य मुलुकहरुको हिसाब गर्ने हो भने यो धेरै ठुलो सख्याको सहभागिता सहितको लगानि हुनेछ। यसबाट अहिले बिभिन्न देशमा अदक्ष कामदारको रुपमा कमसल काममा जिउ ज्यान जोखिम मोलेर, ५० डिग्रिमा ज्यान सुकाएर होस वा माइलन बिस बाइसमा ज्यान जमाएर कमाएको पुजीले भोलि कर्पोरेट हाउसको मालिक बन्ने मौका मात्र पाउने छैनन यो देशको समृद्धिमा मेरो योगदान छ भनेर अाजको बैदेशिक रोजगारिले अर्थतन्त्र धानिरहेको बर्गले गर्व गर्ने छन। यति मात्र होइन लाखौ रोजगारि श्रृजना हुनेछ। अागामी दशक देखि बैदेशिक रोजगारिमा जानु पर्ने बाध्यता हुने छैन। देशको यत्रो एकतिहाइ जनसख्या (जो उर्जाशिल र उत्पादनशील छ)को सहभागिता बिनाको समृद्धि कल्पना गर्न पनि सकिदैन। यो जनसख्यालाइ स्वदेश फर्काउने, अागामी पुस्तालाइ स्वदेशमै रोजगारि उपलब्ध गराउने, देशको बिकास समृद्धिमा अपनत्व महसुस गराउने, अंशियार बनाउने यो अति नै उपयोगि उपाय हुन सक्दछ।
हामी निन्तर भनिरहेका छौ हाम्रो देश श्रोत साधनले सम्पन्न मुलुक हो भनेर। हाम्रोमा जलश्रोतको अथाहा सम्भावना छ, जडिबुटि छ, जंगल छ, हिमाल छ, खनिजहरुको खानि छ, यस्तै सुक्ष्म जलबायु युक्त भुगोल छ। हामी सुनको थाल माथि बसेर भिख मागिरहेका छौ। कतै हामी संभावना खोज्न अल्छि गरिरहेका त छैन? खालि हामी समस्या मात्र त खोतलि रहेका छैनौ? प्रश्नहरु छन। अब हामीले हाम्रा सामु रहेका अवसरहरुलाइ उपयोग गर्ने र चुनौतिहरु भित्रबाट अबसर हरु निर्मार्ण गर्ने चिन्तनको बिकास गर्न जरुरि छ। यत्रा संभावनाको देशबाट बिदेशमा श्रम गर्न हामी अाइरहेका छौ। यसरि श्रम गर्न अाइरहदा हामीले अार्जन गरेको रकम कति छ? यसको उपयोग कसरि भएको छ? कति परिणाममा अार्जन भएको छ। यसरि अार्जन गरेको पुजिको पोटेनसियल के छ? यसमा सरकारले अध्ययन मनन गरेको छ या छैन? यदि छैन भने यता तिर किन ध्यान जान सकेन।छ भने किन प्रभावकारि हुन सकेन। बिदेशि लगानि, बिदेशि ऋणको लागि गरिने सरकारि प्रयास, सरकारि संस्थागत संरचना र कुटनीतिक पहलहरु मात्रले देशको संबृद्धि संभव हुदैन। जव सम्म नागरिक अाफै देश बनाउन अग्रसर हुदैन तब सम्म फरक प्रयासहरुको खास अर्थ हुदैन। यसो भनिरहदा मैले के कुरा गर्न खोजेको हो भन्ने कुरा एउटा उदहारणबाट प्रष्ट गर्न चाहान्छु। कोरियामा हाल काम गरिरहेको नेपाली श्रमिकहरुको सख्या करिव ४० हजार छ। यो सख्यामा रहेका नेपालीहरुले न्युनतम १ लाख ५० हजार रुपैया देखि अधिकतम ३लाख रुपैया सम्म अार्जन गरिरहेको छन। यसको मतलव ४० हजार नेपालीको कोरियन रोजगारिमा अौसत अाम्दानी लगभग २ लाख २५ हजार रुपैया हुन अाउछ। यसरि अौसतमा २लाख २५ हजार रुपैयाको दरले ४० हजार नेपालीले प्रति महिना ९ अरब रुपैया अार्जन गर्छन। एक बर्षमा यो रकम १ खरब ८ अरब रुपैया हुन्छ। यदि ५ बर्ष सम्म यो ४० हजार को सख्यामा रहेको नेपालीको संख्या निरन्तर हुने हो भने ५ खरब ४० अरब रुपैया अार्जन हुने देखिन्छ। यो रकम हाम्रो जस्तो सानो अर्थतन्त भएको देशको लागि सानो होइन। देशमा रोजगारि श्रृजना हुन नसकेर बैदेशिक रोजगारिमा गएकाहरुबाट यति ठुलो बिप्रेषण हुदा यसको सकारात्मक उपयोगको लागि सरकारि नीति स्पष्ट हुन अावश्यक छ। हामी करौडौ खर्च गरेर लगानी सम्मेलन गर्छौ। लगानी अाकर्षण गर्नको लागि। ठुला र मेघा प्रोजेक्टको लागि त्यो अावश्यक पनि छ। तर छरिएर रहेको यत्रो ठुलो पुजिलाइ लगानि मैत्रि बनाउन, उत्प्रेरित गर्न बिशेष योजना हुन अाबश्यक छ। यस्ता पुजिले ग्रामिण अर्थतन्त्रलाइ उकास्न मद्दत गर्ने मात्र नभइ स्थानिय स्तरमा स्वरोजगार हुने रोजगारिहरु श्रृजना गर्ने मात्र नभइ उत्पादन समेत बृद्धि हुनेछ। उत्पादनमा बृद्धि भएमा अायत प्रतिस्थापन भइ थोरै भए पनि ब्यापार सन्तुलनमा योगदान हुनेछ। यो ४० लाख युवा मध्ये ४० हजारको मात्र हो। यसै गरि ४० लाख युवाहरुलाइ यो अभियानमा जोड्ने गरि सरकारले बिशेष कार्यक्रम ल्याउने हो भने यसले ब्यक्तिको उध्यमशीलता त बिकास गर्छ नै यको साथसाथै रोजगारि श्रृजना हुने, उत्पादन बढ्ने र ब्यापार सन्तुलन समेत हुन्छ। जसको कारणबाट रेभिन्यु जेनेरेट हुने हुँदा सरकारले विकास र निर्माणमा प्रसस्त खर्च गर्न सक्दछ। तिव्रम विकास हुने हो र अावश्यक पुर्वाधार सरकारले बनाइदिन सक्ने हो भने यति अथाह श्रोत साधन भएको, प्राकृतिक सुन्दरताले भरिपुर्ण हाम्रो देशमा युवाहरुको पलायन रोक्न मात्र सकिने होइन पलायन भएकाहरुलाइ समेत स्वदेश फर्कन अाकर्षित गर्न सकिन्छ।
समग्रमा उध्यमशिलता एउटा चिन्तन प्रणाली हो। अहिले नेपाली युवाहरुमा एक किसिमको निराशा ब्याप्त छ।पारिवारिक पृष्ठभुमि, सामाजिक अन्तर सम्बन्ध, राजनीति एवमं त्यसले दिने परिणाम र सञ्चार माध्यमहरुको समाचार संप्रेषणमा नकारात्मकको प्राथमिकीकरण जस्ता कारणहरुले अाजको पुस्ता वर्तमान र राजनीति प्रतिको दृष्टिकोण सकारात्मक छैन। निराश ब्यक्तिबाट श्रृजनशिलताको अपेक्षा गर्न सकिदैन। सर्वप्रथम लामो राजनीतिक संक्रमणको क्रममा अाजको युवा जसरि प्रशिक्षित भएको छ त्यसलाइ बिल्कुलै परिवर्तन गर्न जरुरी छ। हामीले लिने अौपचारिक शिक्षा देखि हाम्रो समाज र राजनीतिले अब अधिकारका मात्र कुरा घोकाएर हैन सामाजिक दायित्व बोध पनि गराउनु पर्दछ। सरकारको नीति कार्यक्रमहरु वितरण मुखि भन्दा पनि इनोभेसन, स्वरोजगार, रिसर्च, प्रविधि र ग्यानको बिकासमा लगाउदै जानु पर्दछ।अब वर्तमानको पुस्तालाइ संभावनाहरु छन भनेर अाशाको जागृत गर्नु पर्दछ। बिशेष गरेर कोरियाको कामबाट अार्जन गरेको सीप र पुंजीलाइ. सरकारले एउटा प्याकेजको रुपमा घोषणा गरेर यसको सुरुवात गर्नु पर्दछ। बिशेष गरेर कोरियाको श्रममा रहनेहरुको लागि कोरियामा कार्यरत रहदा, अाउनु पुर्व र फर्किसके पछि पनि निरन्तर उध्यमशील बन्न उत्प्रेरित गर्ने खालको कार्यक्रमहरु गर्नु पर्दछ। कोरियन नेपाली समाजका अग्रजहरु, कोरियको बिभिन्न बिश्व बिध्यालयमा अध्ययन गर्ने बिध्यार्थीहरु, अध्ययापन गराइरहनु हुने प्रध्यापकहरु, नेपालमा फर्केर सफल उध्यम गर्न सफल ब्यक्तित्वहरुले यसमा प्रमुख भुमिका खेलेर कोरिया बाध्यताले श्रमिक बनेको यो उच्च संभावा भएको युवा वर्गलाइ नेपालको सफल उध्यमी बन्न प्रेरणा, हौसला र मार्ग दर्शन गर्नु पर्दछ। यसो हुन सकेमा बैदेशिक रोजगारिबाट फर्केकाहरुले देशको अारथिक बिकासमा मेरो पनि भुमिका छ भनेर गर्व गर्न सक्नेछन भने अागामी पुस्ताले स्वदेशको बिकासमा अाफ्नो समय, श्रम र सीपको प्रयोग निर्बाध गर्न पाउने छन।
धन्यबाद।
परशुराम सापकोटा।
ललितपुर। (हाल दक्षिण कोरिया)
(नेपाली दुतावासद्धारा आयोजित निवन्ध प्रतियोगितामा तेस्रो पुरस्कार बिजेता)