सरकार मलाई ‘निसन्तानको अनुमति’ दे।

0
217
म एक सामान्य परिवारको मान्छे। म सानो छँदा बाट नै मेरो हजुरवुवाले मलाइ कैयौँ पटक घोकाएको शब्द हो ‘न्याय’। अन्याय गर्नु र अन्याय सहनु दुबै अपराध हो भन्ने कुराबाट आक्रान्त मेरो मस्तिष्कले आज जीवनको एक कटु सत्यलाई कैयौँ कोस अगाडिनै सोच्न बाध्य बनाएको छ। एक अविवाहित युवालाइ सन्तानको चिन्ता लाग्नु नौलो कुरा मानिन्छ। तर मेरो देशमा घटेका पछिल्ला केहि घटनाक्रमहरुले म अत्तालिएको छु यतिखेर। मेरो देशमा आफ्नै भबिष्य हराइरहेको  बेला म भोलि जन्मिने सन्तानको भबिष्य सम्झेर चिन्तित छु।
 गर्भबाटनै असुरक्षित हुँदै यो धर्तिमा पाइला टेक्ने छोरी त्यहि दिनदेखि ऊ सबैतिरबाट असुरक्षित हुन्छ मेरो देशमा। जन्मेको दश दिनको बच्चादेखि वृद्द हजुरआमाहरु समेत बलात्कृत भएको खबरले आज अखबार र अनलाइन भरिएको देख्दा म आफु लोग्नेमान्छे हुनुमा घृणा लागेको छ। नारीलाइ सृष्टि कर्ता र देविको अवतार भनेर घोक्रो फुट्नेगरि घोकेको मेरो समाजमा आज तिनै नारीमाथि कुदृष्टि लगाउने यौनपिपाशुहरूको बिगबिगी छ। आफ्नै घरदेखि लिएर स्कुल, कलेज, हस्पिटल, अफिस,बाटो घाटो,पुलपुलेसा कहिँकतै पनि आफु लुटिने डरले नारी हुनुमा अभिषाप सम्झनु पर्ने यो कस्तो बिडम्वना हो? अझ आफुलाइ जन्मदिने बुबा बाट नै आफु असुरक्षित महसुस गर्नुपर्छ भने संसारमा कहाँ सुरक्षा मिल्छ?। यस्तो भयावह स्थिति हुँदाहुँदै म कसरि छोरी जन्माउन सक्छु सरकार?
 चारैतिरबाट गिद्दे नजरले घेरिएको मेरो समाजमा कतै सुरक्षाको अनुभूति मिल्दैन।अनि म कसैको चाकडि र झण्डा नबोकेकै कारण कुर्सीमा बसेर फोन मात्र घुमाउनेहरूको संगत छैन म सँग त्यसैले पनि भोलि अन्याय मा परेँभने मेरो लागि सडकमा कुर्लिदिनेहरू पनि कमाउन सकिन। पावर र पैसाको भरमा न्यायलाई दागबत्ती दिएर सडकमा न्यायको भिख माग्नको लागि म कसरी छोरीको बाउ बन्न सक्छु। कदापि सक्दिन सरकार।
 छोरा गर्भमा भएको थाहा पाएपछि संसार जितेझै गर्ने हाम्रो समाजका छोराहरूलाई पनि केलाऊँ न एकैछिन। परिवर्तित यो समयमा केहि नसिक्ने र नजान्ने हो भने संसारकै सोझो बन्नु पर्दछ। अझै मेरो देशमा सोझो हुनु पनि पुर्वजन्मको पाप सरह छ। हामि सोझासाझाहरूको लागि नै राज्यले जघन्य अपराधको तीर सोझाएको छ, जसमध्ये एउटा गतिलो उदाहरण निर्मला हत्या प्रकरणमा आरोपित भनिएका दिलीप बिष्ट हुन्। यी र यस्तै कारणहरुले गर्दा म मेरो छोरालाइ शिक्षक बनाउने सोच गरिरहेको बेला  रेडियोले स्कुल,कलेजमा शिक्षक बाटनै छात्रा बलत्कृत भन्ने समाचार पढिरहेको छ….।
            मन फेरियो, अब एक राष्ट्रसेवक प्रहरी  बनाउँछु। फेरि सम्झेँ कसैको आफन्त जोगाउनकै लागि एक कल फोनको भरमा नै न्यायलाइ पैताला मुनि राख्न खोज्दा  कन्चनपुरकी  निर्मला पन्तको लागि देशैभर दन्केको आगो। अहँ..यो पनि हुन सक्दैन। अनि डाक्टर बन्न पनि त अश्मिता बेचेर नै लाइसेन्स लिनु पर्नेरहेछ। कमीशनको खेलमा कम्सल सामान प्रयोग गर्ने इन्जिनियर र पैसाको बिटोको साइजको आधारमा न्यायको वकालत गर्ने वकिलहरु (केहि बाहेक) पनि बलात्कारी सरह देख्न थालेको छ मेरो आँखाले आजकल। यो समाजमा म एक न्यायप्रेमी बाउ बन्न खोज्नु मुर्खता नै हो। जुन असम्भव छ।
  मैले छोरालाइ एक कुशल राजनेता बनाउन पनि मन नभएको हैन, तर देश र जनताको लागि रातदिन सोच्नुपर्ने उसको दिमागले कसरी बलात्कारी र अपहरणकारीलाई संरक्षण दिन सकिन्छ भन्नेतिर सोचिदीयो भने….। सरकार यो विकराल अवस्था आखिर कहिले सम्म? यस्तो देख्दा देख्दै म कसरी सन्तानको कल्पना गर्न सक्छु? कदापि सक्दिन । जबसम्म बलात्कार जस्तो जघन्य अपराध रोक्नको लागि राज्यले यथेष्ठ कानुन बनाउन र कार्यान्वयन गर्न सक्दैन तबसम्म तपाइँ र मैले जन्माउने सन्तान कि त बलात्कारी बन्छन्, कि त बलात्कृत हुने पक्का छ। कानुनले जघन्य अपराध मानेका केसमा आरोपित केहि ब्यक्तिलाइ समेत राज्यले नै फुलमाला सहित पदवि हस्तान्तरण गरेको देख्दा यस्तो लाग्छ, कि गरिब र दुखिहरूको लागि मेरो देशमा न्याय भन्ने शब्द अब मरिसक्यो।
   जवान जति सबै विदेश पठाएर शुन्य बनेको हाम्रो गाउँसमाजमा राज्यले नै बलात्कारी लाई संरक्षण दिएपछाडि आउने नतिजा सजिलै अनुमान लगाउन सकिन्छ। राज्यका सबै संयन्त्र लगाउँदा पनि दुई महिना सम्म निर्मला पन्तको  हत्यारा पत्ता नलाग्ने मेरो देशमा विकाश र सम्मृद्दि हेर्न अझै कति वर्ष कुर्नुपर्ला नेपालीले?
 सरकार,आम नेपालीहरू आज न्याय, सुरक्षा र सुशासनको अभावमा छन्, नकि  चुच्चे रेलको । नत्र त तिम्रो चुच्चे रेल भित्र पनि ‘कोठि’ नहोला भन्ने के ग्यारेन्टी छ? जग नै कमजोर भएको घरको छत बलियो बनाउँदैमा ढुक्क भएर बस्नु मुर्खता मात्र हो। पुन एकपटक:- पावर र पैसाको भरमा न्याय लाइ दागबत्ती दिएर पिडीतले सडकमा न्याय खोज्नु पर्ने दिन जबसम्म रहन्छ तबसम्म म जस्ता लाखौं युवाहरूले सन्तानको कल्पना नगर्दा पनि हुन्छ। आउनुहोस् ,सरकार सँगको मेरो मागलाई समर्थन गरौँ। त्यसैले सरकार मलाई “निसन्तानको अनुमति” दे ।
आर के. पौडेल/ बाग्लुङ्ग
हाल:- दक्षिण कोरिया

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here