सामाजीक कार्यसँगै फेसबुकमा संगठित बुहारी ग्रुपले मनायो भब्यताका साथ दोस्रो वार्षिक उत्सव (फोटोसहित)

1441

विश्वभर छरिएर रहेका नेपाली बुहारीहरु मात्र समावेश गरिने गरी सामाजीक सञ्जालमा खोलिएको ग्रुप हो बुहारी ग्रुप। जसमा हाल करीव १० हजार बिबाहित महिलाहरु आवद्द रहेका छन्। जँहा घर व्यवहार देखि शिक्षा, स्वास्थ्य तथा रोजगारीका समस्याहरु जो कोही सदस्यलाई पर्दा सजिलै एकले अर्कोलाई सहयोग तथा परामर्श दिने गरिन्छ। त्यस्तै, कतिपय बुहारीहरुको लागि आफ्नो कला तथा सीप देखाउने गतिलो स्थान भएको छ भने ग्रुपकै माध्यमबाट कतिपयले राम्रो ब्यापार-ब्यबसाय पनि गरेका छन् । त्यस्तै, सीप सिक्न चाहनेहरुलाई पनि यो राम्रो अवशर भएको छ। अझ अर्को कुरा त धेरैले ग्रुपकै माध्यमवाट मन मिल्ने आत्मिय साथी पाएका छन्, जो सँग अन्य समयमा पनि दु:ख सु:ख बाढ्न पाएकोमा खुशी देखिन्छन्।

गत वर्ष जेष्ठ ११ गते सामाजिक सञ्जालकै माध्यमबाट संगठित भएको यो ग्रुपले गत शनिवार मात्र दोस्रो वार्षिक उत्सव भव्यताका साथ मनायो।

यो वर्ष कुन कुन जिल्लामा के कसरी मनाईयो त दोश्रो वार्षिक उत्सव भन्ने प्रश्नमा ग्रुपकी एडमिन प्रभा आचार्यले दिएको जानकारी यस्तो छ।

१) झापा बिर्तामोडका बुहारी सदस्यहरुबाट झापाको अर्जुनधारास्थित कप्तानबारीमा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका १० जना विद्यार्थीका लागि ने.रु. ११ हजार रुपैयाँ बराबरको खाद्यान्न र शैक्षिक सामाग्री हस्तान्तरण

२) झापा दमकस्थित बुहारी ग्रुपका सदस्यहरुवाट झापाको गौरादह नगरपालिका–१ मोती माध्यमिक विद्यालयका १५ जना छात्रछात्रालाई १५ दर्जन कापी, १० प्याकेट डटपेन, ५ प्याकेट पेन्सिल र १५ थान पोशाक वितरण

३) चितवनका बुहारी सदस्यहरुवाट स्थानीय रेबिका बाल प्रतिष्ठानका बालबालिकालाई १७ हजार ८०५ रुपैयाँ सहयोग हस्तान्तरण

४) नवलपरासीका बुहारी सदस्यहरुवाट मौलाकालिका अपाङ्ग सेवा कावासोती नवलपरासीका १७ जना बालबालिकालाई नगद १५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री हस्तान्तरण

५) हेटौँडाका बुहारी सदस्यहरुवाट ॐ बृद्धाश्रमका ३१ जना बुद्धबृद्धाको लागि ११ हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री प्रदान

६) बुहारी ग्रुपको तर्फवाट वुटवलकी मृगौला फेल भएर उपचार गराइरहेकी विष्णु परियारको उपचार सहयोगको लागि ३० हजार रुपैयाँ र झापाका अर्का मृगौला फेल भएका विरामी विकास न्यौपानेलाई १७ हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण

७) पोखराका बुहारी सदस्यहरुवाट पोखराको रामघाटमा रहेको परोपकार इसीडि सेन्टरका २४ जना विपन्न बालबालिकालाई २० हजार रुपैयाँ बराबरको शैक्षिक सामाग्री हस्तान्तरण सँगै झोला, पुस्तक, खानेपानीको जार, वाटर डिस्पेन्सर कलर, राइस बोल्स, बल, चम्चा, वाल चार्ट लगायतका सामाग्री प्रदान गरेका छन्।

ग्रुपमा आचार्यसहित मनिषा थापा, बिमला पाण्डे एडमिनमा रहेका छन् भने मोडरेटरमा तुलसा आचार्य गौतम रहेकी छिन् । यस वर्ष जस्तै गत वर्ष पनि यो ग्रुपले बिभिन्न सामाजीक कामहरु गरेको थियो। कोरियामा पनि यस ग्रुपका सदस्यहरु धेरै रहेका छन्।

यसै सन्दर्भमा रहेर ग्रुपकी एक जना एडमिन प्रभा आचार्यसँग गरिएको छोटो कुराकानी यस्तो छ।

बबिता ओली (क्षेत्री) : गत वर्ष पनि हामीले केही कुरा त गरेका थियौ नै, यो वर्ष थप के अनुभव बटुल्नु भयो ?

प्रभा आचार्य : यो वर्ष ग्रुपमा धेरै मेम्वर पनि थपिनु भएको छ। पक्कै पनि ग्रुपमा मेम्वर बढे सँगै यो वर्ष एन्निभर्सरी डे मा गत वर्षको भन्दा धेरै व्यक्ति तथा संस्थालाई सहयोग गर्न पायौँ। यो हाम्रो लागि निकै गर्व र खुशीको कुरा हो जस्तो लाग्छ।

बबिता ओली (क्षेत्री) : यसपाली तपाईहरुले थप जिम्मेवारी लिनु भएको छ, २ जना छात्रहरुलाई पढाईदिने भनेर यस्को बारेमा थोरै बताईदिनुस् न ?

प्रभा आचार्य : हो, यो वर्षवाट हामीले अनाथ बच्चा,बृद्ध तथा अपांगहरुको हेरचाह गर्ने संस्था, बिद्ध्यालय हरुलाई सहयोग गर्ने सँग-संगै केही जेहन्दार तथा न्युन आय भएका फि लगायतको स्कुलको शुल्क तिर्न समेत नसक्ने कमजोर आर्थिक अवश्था भएका वालवालिकाको उच्च शिक्षाको लागि केही सहयोग गर्ने निर्णय गरेका छौ। त्यही अनुसार यो वर्ष हामीले भक्तपुरको एक परिवारका जुम्ल्याह बच्चाहरु राम र लक्ष्मणको सम्पूर्ण शैक्षिक खर्च बेहोर्ने भएका छौ। भाइहरुको बुबा दैनिक मजदुर गर्नु हुन्छ र आमाले सिलाई बुनाईको काम गर्नुहुदो रहेछ र यो कमाईले उनिहरुको स्कुलको खर्च यसपालीबाट धान्न नसक्ने कुरा र क्लास ७ मा भर्ना हुन नसकेर स्कुल नै आउन नसक्ने कुरा हामी समक्ष आइपुगेकोले हामीले उनीहरुलाई सहयोग गर्ने निर्णय गरेका हौ।

र आगामी वर्षहरुमा पनि यस्तै आर्थिक अवश्था कमजोर भएका, पढ्नलाई एकदम इच्छुक, जेहेन्दार बिध्यार्थीहरुलाई सहयोग गर्ने भन्ने सोच छ। हामीले अहिले उनीहरुलाई क्लाक १० सम्म पढाइदिने निर्णय गरेका छौ। यस्को कारण हामी पनि यति गर्व गर्न सक्यौ कि बुहारी ग्रुपवाट हामीले केही बच्चालाई साक्षार बनायौ र कम्तीमा १० पास गरेपछि उनीहरुले केही न केही गरेर जिवन गुजारा गर्न सक्छन् भन्ने उद्देश्यले हो

बबिता ओली (क्षेत्री) : हुन त बुहारी भन्ने बित्तिकै घर- ब्यवहारकै कुरा जोडिन्छन्, खास अहिलेको समाजमा बुहारीहरुको अवश्थालाई चाँहि कसरी लिइरहनु भएको छ ? के पाउनु हुन्छ ग्रुपबाट ? समस्या केही देख्नु भाको छ?

प्रभा आचार्य : जति पनि हामीसँग ग्रुपमा जोडिने बुहारी ग्रुपका सदस्य हुनुहुन्छ उँहाहरु शिक्षित र अलिकति भए पनि संमृद्द परिवारको हुनुहुन्छ, जसलाई इन्टरनेटको पँहुच छ उँहाहरु भित्र पनि कतिपय शिक्षित परिवारमा भएका बुहारीहरु पनि घरयासी हरेक डिसिजन मेकिङका कुरामा आफ्नो श्रीमान, सासु, ससुरा लगायतबाट हेपिनु भएको, आफ्नो कुरा आफ्नो मत राख्न नपाइरहेको अवश्था र आफ्नो राय, सल्लाह ,सुझाबलाई सवैले महत्व नदिएको भन्नु हुन्छ।

धेरै जनाको परिवार बुहारी भन्नासाथ अलि बढी नै पेल्न खोज्ने, अलि पुरातनवादी सोचको हो भन्नु हुन्छ। धेरै जना बुहारीहरु उच्च शिक्षा पुरा गरेको पनि हुनहुन्छ, उहाँहरुलाई अब यति पढ्यौ किन जागिर गर्नुपर्यो? घरमै बस, छोरा-छोरी जन्माउ, हुर्काउ भन्ने कुरा गर्नुहुन्छ, यस्ले गर्दा तनाबमा हुनुहुन्छ।

यसरी सुन्दा एकदमै साना-साना लाग्छ यि सबै कुराहरु तर यसबाट पर्ने मानसिक तनाबले धेरै जना डिप्रेसनको शिकार हुने अवश्था आउन नसक्ला भन्ने कुराको चिन्ता लाग्छ। यस्तै धेरै समस्या आँउछन् दिनैपिच्छे। मानसिक अनि आफ्नो स्वास्थ्य लगायतका हरेक कुरामा छोरीलाई भन्दा बुहारी हेपिएको अनुभव गर्नुहुन्छ उँहाहरु। मैले व्यक्तिगत कुरा गर्नुपर्दा उँहाहरुको घर परिवार नजिकवाट नियाल्न त सक्दिन तर पनि केही न केही भेदभाव भएको चाँहि महशुश गर्छु। र यो संग-संगै ग्रामीण भेगका बुहारीको अवश्था झन कति जटिल होला भन्ने सोच आँउछ।

बबिता ओली (क्षेत्री) : यो वर्ष भरि तपाईको ग्रुपले निकै नै सामाजीक सेवा पनि गर्यो, यस्को बारेमा पनि बताईदिनुस् न ?

प्रभा आचार्य : हामीले सकेसम्म अलिकति भए पनि सबैलाई सहयोग गर्यौ भनेर दिनै पिच्छे फेसबुकमा आउने बिभिन्न हेल्प पोष्टलाई फलो गरिरहेको हुन्छौ र साँच्चै नै पैसाको अभाबले कसैको ज्यान लगायत कसैले पढ्न पाको छैन, कोही अपांग ह्वील चियरको अभावमा ओच्छ्यानमै जिवन बितिरहेको छ भने त्यस्ता केसहरुमा अलि अलि भए पनि सहयोगको हातहरु बढाएको छौ र बढाइरहनेछौ।

बबिता ओली (क्षेत्री) : हुन त यो कुनै ठुलो संस्था नै त होइन तर पनि निकै नै उदाहरणीय कामहरु गरिरहेको हामी सामाजीक सञ्जालहरुमा देख्न सक्छौ? अबको भावी योजना चाँहि के छ ?

प्रभा आचार्य : भावी योजना भनेर अहिलेबाट नै ठूलो योजना त बनिसकेको छैन तर गत सालबाटै ग्रुप दर्ता गर्ने योजना त थियो तर दर्ता गरिसके पछि आइपर्ने हरेक कुराको लागि हामी अहिल्यै नै समय निकाल्न सक्ने अवश्थामा पुगि नसकेकोले यस्को काम केही पछि सारेका छौ। यसैगरी हाम्रा सदस्यहरुको साथ माया र सहयोग रहिरह्यो भने हामी यस्तै सामाजीक कार्यहरु त गरिरहनेछौ। शुरुमा रमाइलोको लागि मात्र ग्रुप क्रेट गरे पनि अब चाँहि हाम्रो थोरै सहयोगले कुनै दुखीको अनुहारमा मुस्कानको साक्षी बन्न बानी परेका छौ र यो आत्मा सन्तुष्टि पाउन निरन्तर गरिरहनेछौ।

बबिता ओली (क्षेत्री) : अन्यमा के भन्न चाहानुहुन्छ?

प्रभा आचार्य : बुहारी ग्रुप भन्ना साथ थाहा नहुनेले ग्रुपमा सासुका कुरा त काट्ने होला नि भनेर हाँसोमा उडाउँनुहुन्छ सिधैँ तर त्यो होइन। यसो भनिरहँदा उँहाहरुले हामीले गरेको सामाजीक कामहरुको मुल्यांकन गर्न चाँहि बिर्सनुहुन्छ। एकदम दु:ख लाग्छ यस्तो कुराले चाँहि, चित्त दुख्छ। अझ कोही कोही पुरुषहरु त अब हामी पनि ज्वाँइ ग्रुप, बुहारो ग्रुप खोल्न पर्यो भन्नु हुन्छ – यस्तो सुन्दा धेरै नराम्रो लाग्छ। वश: उँहाहरुलाइ यति भन्न चाहन्छु कि हाम्रा सामाजीक कार्यहरुमा साथ र हौसला दिनुहोला। अन्यथा, नराम्रो कुरा गरेर हामी घर ,परिवार सवैलाई केयर गर्दै अलिकति समय छुट्याएर केही राम्रा काम गर्न खोज्नेलाई हतोत्साहित चाँहि कृपया नगरिदिनुहोला भन्न चाहन्छु। हामीले प्रत्येक वर्ष सामाजीक कामहरु धेरै नै गरेका छौ। बुहारी भन्ने शव्द नेपालको टिपिकल शव्द हो सो यही नामबाट हामीले “We बुहारी” राखेका हौ। जँहा हामी बुहारीको लागि यो दोश्रो घर जस्तै भएको छ। जँहा केही नियम र अनुशासनमा बसेर हामी आत्मीयता साटासाट गर्ने गर्छौ। र अन्त्यमा जो हामीसँग जोडिनु भएको छैन तपाई बिबाहित महिलाको लागि हामी सँधै स्वागत गर्न तयार छौ भन्न चाहन्छु। धन्यवाद।

 

प्रतिक्रियाहरू