हिमआँधीमा परी मृत्यु भएका पाँच कोरियन सहित नौ जनाको शव काठमांण्डौ ल्याउने तयारी

481

म्याग्दीको धौलागिरि स्थित गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परी मृत्यु भएका नौ जनाकै शव फेला परेका छन्।आइतबार बिहानै हेलिकप्टरमार्फत् घटनास्थल पुगेको उद्धार टोलीले पहाडको खोंचबाट मृतक नौ जनाकै शव निकालेको हो।घटना सार्वजनिक भएलत्तै शनिबार बिहान सिम्रिक एयरको हेलिकप्टर घटनास्थल गएको थियो। माथिबाट हेर्दा आठ जनाको मात्र शव देखिएको थियो भने प्रतिकूल मौसमका कारण शव ल्याउन सकेको थिएन।

पुनः आज आइतबार बिहानै सिम्रिककै हेलिकप्ट चढेर घटनास्थल पुगेको उद्धार टोलीले नौ जनाकै शव संकलन गरेको हो। अहिले नौवटै शव गुर्जा गाउँमा ल्याएर एकिन र पहिचान गर्ने काम भइरहेको गण्डकी प्रदेश प्रहरीका प्रवक्ता एवं डिएसपी गोविन्द पुरीले जानकारी दिए। मृतकमध्ये एक जना गुर्जाकै बासिन्दा भएकाले उनको शव त्यहीं छाड्ने र बाँकी आठ शव पोखरा हुँदै काठमाडौं ल्याउने तयारी भइरहेको उनले टेलिफोनमा नेपालखबरलाई जानकारी दिए। उनले भने, ‘अहिले डकुमेन्टेसन गर्ने काम भइरहेको छ, त्यो सकिएपछि शव उठाइनेछ।’

-- Ad --


प्रहरीका अनुसार यही असोज २४ गते राति गुर्जा हिमालको आधार शिविरको टेन्टमुनि सुतिरहेका बेला एक्कासि आएको हिमआँधीमा परेर चार नेपाली र पाँच कोरियाली नागरिकको मृत्यु भएको थियो। प्रहरीका अनुसार हिमआँधीमा परेर मृत्यु भएकामा संखुवासभा हटियाका छिरिङ भोटे, भोटेखोलाका लाक्पा सोङबु भोटे, फुर्वा भोटे र म्याग्दी, गुर्जाका नेत्रबहादुर छन्त्याल छन्।
यसैगरी दक्षिण कोरियाका जोहोन ली, च्याङ हो किम, इल जिन रिम, योङ जिक यु र जुन मो झोङको मृत्यु भएको छ।गुर्जा हिमाल आरोहण र पदयात्राका लागि गएका उनीहरू असोज २४ गते राति हिमआँधीमा परेका थिए । आधार शिविर पुगेको टोली सम्पर्कविहीन भएपछि शुक्रबार गुर्जाका बासिन्दा आधार शिविरतर्फ गएका थिए।

स्थानीयको टोली शुक्रबार राति फर्किएपछि शनिबार बिहान मात्रै दुर्घटनाबारे जानकारी भएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए। आठ वर्षपछि गुर्जा हिमाल आरोहणमा गएको पहिलो टोली दुर्घटनामा परेको हो।