हुण्डी कारोवारको आरोपमा एनआरएन कोरियाका कोषाध्यक्ष नेपाल फिर्ता

5741

हुण्डी कारोबारको आरोपमा दक्षिण कोरियाले गैरआवासीय नेपाली संघ दक्षिण कोरियाका एक पदाधिकारीलाई देशनिकाला गरेको छ ।

एनआरएनए कोरियाका कोषाध्यक्ष आलोक बानियाँलाई डिपोर्ट गरेर नेपाल पठाइएको छ। राजधानी सोल नजिक तोङ्देमुन बजारबाट अघिल्लो महिना पक्राउ परेका उनलाई एक महिना हिरासतमा राखी नेपाल पठाइएको हो।

लामो समयदेखि हुण्डी कारोबारसम्बन्धी मुद्दा खेपिरहेका उनलाई पटक पटक थुनामा राखेर अनुसन्धान गरेपछि गत साता नेपाल फर्काइएको थियो। बानियाँले सस्तो दरमा नेपाल रकम पठाइदिने भन्दै नेपाली कामदारको अवैधानिक रुपमा रकम संकलन गरेको पुष्टि भएपछि उनलाई प्रहरीले नेपाल पठाएको हो।

कोरियामा दशक बिताएका बानियाँ कुक भिसामा गएका थिए। भिसा परिवर्तन गरी उनले विद्यार्थी भिसा बनाएका थिए। लामो समय कोरियामा व्यवसाय गर्दै संघसंस्थामा आवद्ध एक उच्च तहका नेपालीको साथले उनी हुण्डी कारोबारमा प्रवेश गरेको एनआरएनएका एक प्रतिनिधिले जानकारी दिए।

पछिल्लो समय हुण्डी कारोबारीमाथि प्रहरीले निगरानी बढाएसँगै हुण्डी कारोबारी धमाधम पक्राउ पर्न थालेको त्यहाँ कार्यरत एक नेपालीले जानकारी दिए। क्षणिक लाभको लागि नेपाली कामदारहरुले अवैधानिक तबरबाट पैसा नेपाल पठाउने कार्य गरिरहेका छन्।

जोखिमपूर्ण तरिकाले पठाएको रकम गुमेको अवस्थामा कामदारले उजुरी भने गर्न सक्दैनन्। अवैधानिक माध्यमबाट अपनाएका कारणले पैसा गुमे पनि पिडितहरु उजुरी गर्न हिच्किचाउँछन्।

५ वर्षअघि पनि एनआरएनए कोरियाका एक पदाधिकारी करिब ३ करोड रुपैयाँ लिएर फरार भएका थिए। कोरियामा लामो समयदेखि व्यवसाय गर्दै आएका एक नेपालीले कोरियामा पर्दाअगाडि संघसंस्थाको बिल्ला भिरेर पर्दापछाडि हुण्डी गर्नेहरुको संख्या उल्लेख्य रहेको बताए।
नेपाललाइभबाट साभार