२५औं वर्षगाँठमा एन.सि.सि. कोरियाले मनायो भब्यताका साथ रजत जयन्ती

431

कोरियामा स्थापित सबैभन्दा पुरानो संस्था नेपाली सम्पर्क समिति (Nepalese Consulting Committee – NCC) ले हिजो भब्यताका साथ रजत जयन्ती मनाएको छ। अध्यक्ष अन्जु के.सीको सभापतित्व एवं सस्थापक तथा संस्थाका पूर्व अध्यक्ष निरज थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिशेष अतिथिहरु NRNA अध्यक्ष लक्ष्मी लामा (गुरुङ), NCC पुर्व अध्यक्ष रामहरि गुरुङ, NCC प्यासिफिक संयोजक बिनोद कुँवर, NRNA ICC सदस्य तथा NCC पूर्व अध्यक्ष लोचन राई, NCC संरक्षक तथा NRNA पुर्व अध्यक्ष के.पी सिटौला , MTU अध्यक्ष उदय राई, एसिया फोरम अध्यक्ष किस्मत मणि श्रेष्ठ, NRNA  निवर्तमान अध्यक्ष राजु क्षेत्री लगाएत बिभिन्न सामाजिक संघ-संस्थाहरुका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो। कार्यक्रमलाई औपचारकता प्रदान गर्दै सभापति तथा प्रमुख अतिथि लगायत अतिथिहरुले सामुहिक रुपमा २५ ओटा मैनबत्ती बाली कार्यक्रम शुभारम्भ गरेका थिए भने  प्रमुख अतिथिले रजत जयन्तीको ब्यानरवाट कार्यक्रम उद्घाटन गरेका थिए।

संस्थाले आफ्नो स्थापनाकालको २५ औं वर्षगाँठ पुरा गरेको अवशरमा विबिध सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो भने नेपाली पञ्चे बाजाको साथमा कार्यक्रममा सहभागीहरु नाचेका थिए। कार्यक्रममा संस्थालाई स्थापनाकाल देखि हाल सम्म बिभिन्न तवरबाट सहयोग गर्ने व्यक्ती, मिडिया, तथा सामाजिक क्षेत्रमा काम गरिरहेका संघ-संस्थालाई सम्मान पनि गरेको थियो। हेल्लो नेपालसंगको कुराकानीमा अध्यक्ष के.सीले संस्थालाई आजको अवश्थासम्म ल्याइपुर्याउन सहयोग गर्नु हुने सबैलाई धन्यवाद दिएकी छिन्।

वि.स.१९९३ सालमा स्थापना भएको एन.सि.सि.ले कोरियामा दुतावास नभएको बेलामा समेत दुतावासको काम गर्दै आएको थियो भने जापानमा रहेको दुतावाससंग समन्वय गरी प्रशासनिक कार्यहरु गर्दै सामाजिक कार्यहरुमा योगदान दिदै आएको थियो। त्यसैले, त्यतिबेला सहयोग गर्ने केही कोरिएन नागरिकहरुलाई समेत संस्थाले वर्ष सम्मान गरेको थियो। रजत जयन्तीको अवशरमा संस्थाले स्मारिका समेत प्रकाशन गरेको छ। कार्यक्रममा बिगतका वर्षहरुमा निरन्तर सेवा गरेका तथा संस्था संचालनमा रही योगदान पुर्याएका केही व्यक्तिहरु नेपालवाट आएका थिए।

कोरियामा सामाजिक कार्यमा अग्रसर देखिएको एन.सि.सि.ले हालै मात्र वुद्ध प्रतिमा स्थापना अभियानलाई सफलता पूर्वक सम्पन्न गरेको छ भने कोरियामा रहेका विभिन्न सामाजिक संघ-संस्थाहरुको छाता संगठनको रुपमा काम गर्दै आइरहेको छ।