५४ लाखसहित पाँच हुण्डी कारोबारी पक्राउ

2676

नेपाली मुद्राको अवैध ओसारपसार हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका अभियुक्त र बरामद रुपैयाँलाई सोमबार पर्सा प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी वीरगञ्जको विभिन्न स्थानबाट बरामद गरिएको ५४ लाख ९६ हजार र हुण्डीको कारोबारमा संलग्न भएको अभियोगमा पक्राउ परेका पाँचजना अभियुक्तलाई सार्वजनिक गरेको हो।

वीरगञ्जको घडिआर्व र माइस्थान चोकमा हुण्डी कारोबार भएको सूचनाका आधारमा कारबाही गर्दा स्रोत खुलाउन नसकेको भारी परिमाणमा नेपाली रुपैयाँ बरामद भएपछि आवश्यक अनुसन्धानका लागि दुईजना भारतीय र तीनजना नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए।

उनले अवैध कारोबारमा संलग्न भएको अभियोगमा पर्साको बिन्दवासनी गाउँपालिका(५ का पवनकुमार गुप्ता, वीरगञ्ज(६ का अजय मानन्धर, बारा सिम्रौनगढ नगरपालिका(१ का अजयकुमार जैशवाल, भारत बिहार रक्सौलका अशोक श्रीवास्तव र भारत बिहार रामगढवाका सावीर मियाँलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए।

पक्राउ परेका मध्ये पवनकुमार गुप्ता र अजयकुमार जैसवाल अवैध मुद्राको मुख्य कारोवारी भएको अनुसन्धानबाट खुलेको नायब उपरीक्षक थापाले जानकारी दिए । उनले आइतबार अपराह्न्न प्रहरीले गरेको छापामारीका क्रममा आठजना व्यक्तिलाई नियन्त्रणमा लिएकामध्ये तीनको संलग्नता कारोबारमा नदेखिएपछि उनलाई छाडिएको बताए।

बरामद गरिएको रुपैयाँ र पक्राउ परेका व्यक्तिलाई सोमबार राजश्व अनुसन्धान विभाग हरिहर भवन काठमाडौँ पठाउने तयारी भएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रियाहरू