नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरियाले गरिब विद्यार्थीका लागि अक्षयकोष स्थापना गर्न अभियान थाल्ने भएको छ । हिजो राजधानी सउलको दोङदेमूनस्थित नेपाल हाउसमा आयोजना गरिएको कोरियामा आदिवासी जनजाति एकता र महासंघको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा अभियान थाल्ने घोषणा गरिएको थियो ।
आदिवासी जनजाति महासंघ कोरियाका कार्यवाहक अध्यक्ष मल्लिका थकालीको सभापतिमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागी अधिंकाशले आदिवासी जनजातिको हितको पक्षमा महासंघले थप प्रभावकारीले भुमिका खेल्नुपर्ने सुझाव दिएका थिए । जनजातिका जायज मुद्धा राज्यबाट कार्यन्वन गराउन महासंघले कोरियाबाट पनि केन्द्रलाई थप दबाब दिनुपर्ने पनि सुझाव ब्यक्त भएका थिए । कार्यवाहक अध्यक्ष थकालीले सहभागीहरुले दिनुभएको सुझावलाई शिरोपर गर्दै कोरियाबाट पनि केन्द्रलाई दबाब दिने बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा एनआरएनए कोरियाका अध्यक्ष लक्ष्मी लामा गुरुङ, प्रमूख सल्लाहकार चित्र बहादुर मोक्तान, आइसिसि सदस्य लोचन राई, सल्लाहकार भक्त शेरचनले जनजातिका मुद्धामा आदिवासी जनजातिहरु एकजुट हुनुपर्ने र महासंघको भुमिका थप शसक्त हुनुपर्ने धारणा ब्यक्त गरेका थिए । महासंघका महासचिब केशर दर्लामी मगरले सञ्चालन गर्नु भएको कार्यक्रममा महासंघका कार्यसमितिका सदस्य सहित कोरियामा सक्रिय १२ वटा जातिय संस्थाका पदाधिकारीले आफ्नो धारणा राखेका थिए ।