काेरियामा दुई दिनकाे अवधिमा ३ नेपालीको दुखद निधन

1525
दक्षिण कोरियामा पछिल्ला दुइ दिनको अवधीमा तीन नेपालीको मृत्यु भएको छ । सोमबार बिहान लमजुङका होम गुरुङ मृत फेला परेको भोलीपल्ट अर्थात आज मंगलबार सोलुखुम्बुका एक र म्याग्दीका एक  जनाको मृत्यु भएको राजधानी सोलस्थित नेपाली दूतावासले जनाएको छ । लमजुङको दुराडाँडा घर भएका अन्दाजी ४५ वर्षीय गुरुङको राजधानी सोलको तोङ्देमूनस्थित एक मोटेल ( आवासको मात्र सुविधा हुने होटल)मा मृत फेला परेको कोरियन प्रहरीलाई उद्धृत गर्दै नेपाली दूतावासका श्रम कन्सुलर डिल्लीराम बास्तोलाले जानकारी दिनुभएको छ । आइतबार राती मोटेल लिएर एक्लै सुतेका मृतक गुरुङ सोमबार साँझ सम्म मोटेलको काउण्टरमा नआएपछि मोटेलले प्रहरीको सहायतामा कोठा खोलेको थियो । खोलेर हेर्दा गुरुङ मृत भेटिएका थिए । प्रहरीले मोटेलका राखिएका सिसिटिभी मार्फत आवश्यक जानकारी बुझेको थियो । मृतक गुरुङलाई अस्पतालमा लगेर पोष्टमार्टम गर्दा ह्दयघातका कारण निधन भएको रिपोर्ट आएको थियो । कोरियन प्रहरीले पनि अस्पतालको रिपोर्टका आधारमा गुरुङ कोलस्टोरल अत्याधिक भएका कारण ह्दयघात भएको मृत्यु भएको बताएको थियो । मृतक गुरुङको नेपालमा श्रीमती र एक सन्तान भएको बुझिएको छ । मृत्युका बारे घरपरिवारलाई खबर गर्ने काम भइरहेको घटनास्थल पुगेका श्रम कन्सुलर बास्तोलाले जनाउनु भएको छ ।
त्यसैगरी आज बिहान साढे बजेतीर आन्सानस्थित एक कम्पनीमा कार्यरत म्याग्दीका थापा थरका एक नेपालीको मृत्यु भएको छ । औद्योगिक दुर्घटनामा परी थापाको मृत्यु भएको बताइएको छ । दुर्घटनामा परेका थापालाई अस्पताल लैजादै गर्दा मृत्यु भएको दुतावासले जनाएको छ । त्यस बारे थप बिवरण लिने काम भइरहेको पनि दूतावासले जनाएको छ भने मंगलबारै एक जनाले आत्महत्या गरेको पनि दूतावासले बताएको छ । सोलुखुम्बुका राई थरका  युवाले कम्पनीको छतबाट हाम फालेर आत्महत्या गरेको बताइएको छ। यस बारे पनि बुझ्ने प्रयास भइरहेको छ ।
 
आर्कषक कमाई मानिने दक्षिण कोरियामा इपिएस मार्फत रोजगारीका लागि नेपाली आउने क्रम शुरु भए यता औद्योगिक दुर्घटना, सुतेको अवस्थामा निधन, आत्महत्या, सवारी दुर्घटना लगायत विविध कारणले झण्डै एक सय पचास जनाको मृत्यु भइसकेको छ । नेपालीको ज्यान जाने क्रम बढेपछि नेपाल सरकारले सत्यतथ्य बुझ्न सरकारी चिकित्सकको टोली यहाँ पठाएको थियो । कोरियाका विभिन्न शहरमा भ्रमण तथा कम्पनीमा पुगेर स्थलगत अवलोकन गरेको टोलीले अझै सम्म सत्यतथ्य रिपोर्ट सार्वजानिक गरेको छैन् । यसले के पुष्टि गर्छ भने सरकारी टोलीको आगमन भ्रमणमा मात्र सिमित छ ।

यस अघिको सम्प्रेषित न्यूजमा सोलुखुम्बुको हुनुपर्ने अन्यथा भएकोमा क्षमापार्थी छौ ।

प्रतिक्रियाहरू