कोरियामा रहेका नेपाली कामदारको सेवा सुविधाबारे गृहमन्त्रीको चासो

4999

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकसँग भेटवार्ता गरेका छन्।

गृहमन्त्रालयमा बिहीबार दिउँसो भएको भेटमा नेपाल-दक्षिण कोरियाको सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको गृहमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ।

भेटमा गृहमन्त्री थापाले पछिल्लो समय दक्षिण कोरिया र उत्तर कोरियाबीच भइरहेको वार्ता र छलफलको स्वागत गर्दै यसले समग्र विश्वमै शान्ति कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले दक्षिण कोरियामा नेपालीलाई रोजगारीको अवसर दिएकोमा  धन्यवाद दिँदै त्यहाँ कार्यरत नेपालीको सेवा, सुविधा तथा सुरक्षाका विषयमा राजदूतसँग चासो राखेका छन्।

भेटमा राजदूत सिकले नेपालको प्रवेशाज्ञा प्रक्रिया केही झन्झटिलो रहेको कारण यहाँ कोरियाली लगानी गर्न आउँदा केही समस्या रहेको बताए। यस विषयमा बुझेर तत्काल सुधार गर्ने जवाफ गृहमन्त्री बादलले राजदूत पार्कलाई दिएका छन्।

राजदूत पार्कले नेपालमा ऊर्जा, पर्यटनलगायतका क्षेत्रमा कोरियाली कम्पनीले लगानी गरिरहेको भन्दै त्यसमा थप लगानी गर्न कोरिया तयार रहेको बताए।

अहिले ३५ हजार नेपाली दक्षिण कोरीयामा कार्यरत रहेको र २० हजारले कार्य अवधि पूरा गरेर नेपाल फर्किसकेको जानकारी दिँदै कोरियामा कार्यरत नेपालीको हितका विषयमा आफू संवेदनशील रहेको बताएका छन्।

प्रतिक्रियाहरू