परदेशमै बित्नेछन कयौं दशैं हरु

3537

गाउँ छोडी शहर पसेकाहरु झोला बोकी लस्कर लागेर गाउँ आउँदा, परदेश तथा लाहुरदेखि गुन्टा र लामो टेप्रीकोट काधँमा बोकेर रेडियो घन्काउदै मास्लो घरका कान्छा बा ‘आच्छा लेकिन’ भन्दै घर फर्किदा, वरपरका साथीहरू नयाँ कपडामा सजिदा साच्चै नेपालीहरुको महान चाड बिजया दशमी आएको अनुभुती हुन्थ्यो । दशैं आउनु अघि नै सबै गाउँले भेला भएर बाटो खन्ने तथा सरसफाई गर्ने गर्थे । गाउँका दिदीबहिनीहरु रातो माटो र कमेरो ल्याएर घर छेप्ने र लिपपोत गर्दे घरलाई टलक्क टल्काउने गर्थे ।
गाउँ छोडेर शहर बसेका दाजुभाइहरु सबै जम्मा हुन्थे । परदेशबाट दशै मनाउन फर्केका लाहुरेहरु टाउकोमा नरिबलको तेल लगाएर जुल्फी हल्लाउदै ‘अच्छा लेकिन,क्यानाम’ भन्दै लाहुरे भाकामा गफ गर्दा दशैंको रौनक नै अर्कै हुन्थ्यो । फुलपातीको दिनदेखि नै दर्शै शुरु हुन्थ्यो । नबमीको दिन गाउँमा शिकार (मासु)नपकाउने त सायद कोहि हुन्थेन । सबैको घरमा बासनादार र मिठो मसला राखेर सिकार पकाउँदा त गाउँ नै बास्नामय हुन्थ्यो । विजय दशमीको दिन सबैले नयाँ- नयाँ कपडा लगाएर मान्यजनको हातबाट टीका र जमरा लगाउदै आशिष लिने गरिन्थ्यो ।
दशैंमा मान्यजनबाट आशिष भन्दा पनि हामी केटाकेटीहरुलाई त दक्षिणाकै बढी महत्व हुन्थ्यो । त्यसैले पनि टिका लगाउने होडबाजी नै हुन्थ्यो । दसैंमा जम्मा गरेको पैसाले दशैको दोस्रो दिन नजिकैको ताराखसे मन्दिरमा शराय नाच हुदा लाग्ने मेलामा जेरि (जुलेबी) किनेर खाने गथ्र्यौं। तर बिडम्बना, दशैंमा टिका लगाएर छोरी चेलीलाई मात्र दक्षिणा स्वरुप पैसा दिने गरिन्थ्यो छोरालाई भने दक्षिणा दिने चलन थिएन । आफ्नो घर वरपर काका बडाको घरमा दक्षिणा नपाए पनि आमासँग दुई घण्टाको बाटो हिडेर मामाघर जाँदा भने दक्षिणा टन्नै पाइन्थ्यो । मामाघरमा टीका लगाएर पाएको पैसा तीन घन्टा लगाएर गन्दा पनि दस रुपैया पुग्दैन थियो । तर पनि यो मन कति खुसी हुन्थ्यो सायदै बर्णन गर्न सकिदैन ।
त्यति पैसाको पनि योजना भने कति हो कति । आहा, कति रमाइला थिए ती दिनहरु ती पलहरु । त्यो पैसाले के के मात्र किन्ने रहर थिएन होला । त्यो बेला धेरै नै चलनमा आएको टाइटनिक लेखेको रुमाल किन्नु पर्ने, लामो लामो कपाल कोर्ने गाइयो किन्नु पर्ने जो पाइन्टको पछिल्लो तिरको गोजिमा राखेर स्कुलमा साथीहरूलाई देखाउनु पर्ने रहर । भर्खरै पलाउन लागेको बैँसमा अनुहारमा क्रिम लगाउने रहर । त्यसैले त्यहि पैसाबाट वटरफ्ल्याइकोे डब्बा किन्नु पर्ने त्यति मात्र कहाँ हो र ? आफू सुत्ने कोठाको भित्तामा टास्ने राम्रा राम्रा हिरोइनको पोस्टर सजाउने । तर यी सपनाहरु दशै सकिएसँगै चकनाचुर हुन्थ्यो ।
त्यो बेलाको दशैमा दस रुपैया नभए पनि कति रमाइलो थियो कति खुसी थियो यो मन । जोस थियो जाँगर थियो । समयसँगै जिम्मेवारी पनि बढ्दै गयो । पाँच रुपैयाँ, दश रुपैयाँ हुँदै एक सय, पाँच सयदेखि हजार रुपैयाँ सम्म दक्षिणा जम्मा हुने दिन आयो तब दशैमा टीका लगाउन गाउँमा जम्मा हुने रमाइलो गर्ने अबसर नै जुरेन । अहिले पनि फेरि दशै आएको छ तर म परदेशमा छु । परदेशबाटै धेरे दशैंहरु केवल सम्झनामा मात्र मनाइयो । तर यो शरीर टाढा भए पनि यो मन घरीघरी त्यहि गाउँमा पुगिरहन्छ, घुमिरहन्छ । लाग्छ, अझै कयौं दशैहरु यसै गरि परदेश मै बित्ने छ्न । हरेक दशैंमा बुबा आमा भन्नू हुन्छ, “दशै त आयो छोरा तर तँ आइनस” । छोराछोरीले सोध्छन्, ‘बाबा तपाई अहिलेको दशैमा पनि न आउने ?’ श्रीमती फोनमै सुकसुकाउदै भन्छिन्, “दशै आएर के गर्नु हजुर नहुँदा दिउँसै अँध्यारो लाग्छ “ ।
तर के गर्नु रहर त कस्लाइ पो थियो र यो एकान्त प्रवासमा एक्लै तड्पिएर गुम्सिन । देश बिकास होला र रोजगार देशमा नै खुल्ला अनि आफ्नै जन्मभूमिमा फर्कौला र आफ्नै परिवार नातगोता आफन्त साथीभाईसँगै दशै मनाउला भनेको । खै ? कहिले आउला ती दिन ? २९ वर्षमा २७ जना प्रधानमन्त्री बनाउने मेरो देशले जनताको बारेमा सोच्ने समय नै पाएन । देशबाट बढ्दो पलायन युबा शक्तिलाई सन्चय गर्न सकेको छैन । केही गर्छु भनेर स्वदेश फर्केका साथीहरू छ महिनामा फेरि परदेशमै फर्केर आउदा मलाई पनि आफ्नै देश फर्कन्छु भन्ने आँट नै आउन छाडयो । आशा छ देशमा आर्थिक बिकास हुँदै जानेछ रोजगारीका बाटाहरु खुल्दै जानेछन् । राजनीतिक स्थिरता हुने छ । शान्ति सुरक्षाको अनुभुती जनताले पाउने छ्न अबको केही बर्ष कोहि पनि नेपालीले यसरी परदेशमा नै चाड पर्व मनाउन पर्ने छैन । यो बर्ष यस्तै भयो अर्को बर्ष दशैँमा टीका जमरा लगाएर सङ्गैँ रमाउँला है साथीहरु ।

प्रतिक्रियाहरू