नेपाली विद्यार्थी समाज (सोन्सिक) दक्षिण कोरियाले आफ्नो सातौ शैक्षिक सेमिनार आगामी डिसेम्बर २९ र ३० तारिख दक्षिण कोरियाको इक्सान स्थित वोनखोङ्ग विश्वविद्यालयमा आयोजना गर्ने भएको छ l दुई दिन सम्म चल्ने कार्यक्रममा पहिलो दिन “नेपालको संघीय शिक्षा नीतिमा प्रवासमा रहनुभएका नेपालीहरुको भूमिका” विषयक कार्यशाला गोष्ठी तथा दोस्रो दिन “नेपालको विकाश र अनुसन्धानमा प्रवासी नेपालीको भूमिका” विषयमा सेमिनार हुनेछ l
सोन्सिकले वार्षिक रुपमा गर्ने सेमिनारले कोरियामा रहेका विभिन्न विश्वविद्यालयमा अध्ययन तथा अनुसन्धान गरिरहेका नेपाली विद्यार्थीहरुले आफ्नो अनुभव तथा ज्ञानलाई नेपालको विकाश र समृद्धिमा जोड्ने साथै नीतिगत कार्यान्वयनमा विदेशमा रहेका विद्यार्थीको समन्वयकारी भुमिका कस्तो हुने भन्ने बहसको निरन्तर अभ्यास भएको बताउनुहुन्छ – सोन्सिक सभापति तुलसी पौडेल।
सेमिनार कार्यक्रममा गरिने छलफलको निष्कर्षलाई प्रतिवेदनको स्वरूप दिएर नेपाल सरकारको सम्बन्धित निकायमा बुझाउने योजना रहेको पनि सभापति पौडेलले जानकारी दिनुभयो। सेमिनारमा कोरिया रही लामो समय शिक्षा र अनुसन्धानमा संलग्न हुनुभएका व्यक्तित्व , विभिन्न विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरु तथा प्रवासी नेपाली समुदायको उल्लेख्य सहभागिता हुनेछ l कार्यक्रममा दक्षिण कोरियाका लागि नेपालका राजदुत महामहिम अर्जुन जंग बहादुर सिंह प्रमुख अथितीको रुपमा रहनु हुनेछ भने कार्यक्रममा अनुसन्धानको प्रस्तुतीकरण तथा जानकारीमुलक पोस्टर पनि प्रदर्शन गरिने हुँदा सम्पूर्ण विद्यार्थी, अनुसन्धानकर्ता र सहभागीहरुको लागि फलदाई हुने बताँउनुहुन्छ – कार्यक्रम संयोजक प्रकाश देबकोटा ।
त्यसैगरी, कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउन २९ तारिख साँझ, सांगीतिक एबम सांस्कृतिक साँझको तयारी पनि गरिएको छ। जसमा विविध नेपाली गीत – संगीत, दोहोरी, भजन तथा सांस्कृतिक कार्यक्रम पनि रहने जनाइएको छ। कार्यक्रममा कोरियामा रहेका विद्यार्थीहरुका लगि सहजीकरण गर्ने उदेश्यका लागि तयार पारिएको पुस्तक विमोचन पनि गर्ने संस्थाका सचिब दीर्घराज जोशीले बताउनु भएको छ।
कार्यक्रम आयोजक कमिटीले कोरियामा रहनु भएका सम्पूर्ण विद्यार्थी, अनुसन्धानकर्ता तथा विभिन्न सामाजिक संघ- संस्था र विशिष्ट व्यक्तिलाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक आमन्त्रण गरेको छ भने उत्कृष्ट प्रस्तुतीकरण तथा पोस्टरहरुलाई पुरस्कृत गरिने र प्रमाणपत्र प्रदान गरिने पनि आयोजकले जानकारी दिएको छ ।