नेपाल जस्तो बिकाशसिल देशले कोरिया बाट धेरैकुरा सिक्न सक्छ – डा. सूर्यराज आचार्य

1702

साझा पार्टीका प्रवक्ता तथा प्राध्यापक डा. सूर्यराज आचार्य थेगुमा आयोजित ट्रान्सपोर्ट पूर्वाधार विकास सम्बन्धि सेमिनारमा सहभागी भइ स्वदेश फर्किनुभएको छ । थेगुको खेन्यङ् विश्वविद्यालय, कोरिया सोसाइटी अफ ट्रान्सपोर्टेसन र कोरिया ट्रान्सपोर्ट इन्स्टिच्युटको संयुक्त आयोजनामा ट्रान्सपोर्ट विकास सम्बन्धि सेमिनारका मुद्दाहरुमा कोरियाको अनुभवबाट विकाशसील देशहरुले के शिक्षा लिन सक्छ र कोरियाले अन्तर्राष्ट्रिय प्राज्ञहरु, अध्येताहरुबाट के कस्तो सहयोग लिन सक्छ भन्ने विषयमा सेमिनार र अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको थियो । गत अगष्ट ४ देखि ७ सम्म थेगुस्थित खेन्यङ् विश्वविद्यालयमा आयोजित ३ दिने सेमिनारमा पूर्वाधारविद् प्राध्यापक डा.सूर्यराज आचार्यले पनि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल, थाइल्यान्ड, भियतनाम लगायत एसियाली मुलुकहरुमा यातायात विकासका मुद्धाहरु के हुन र कोरियाको दोस्रो विश्वयुद्धपछि अहिलेसम्म कोरियाको यातायात विकासका कुराहरुमा उनीहरुको अनुभव, नीतिगत कुराहरुदेखि लिएर, योजनाका कुराहरु, सञ्चालनका कुराहरु र पूँजीका कुराहरु आदि विषयमा राम्रा र नराम्रा पक्षहरुबाट नेपाल लगायतका विकाशसील देशहरुले के शिक्षा लिन सक्छ भन्ने विषयमा छलफल भएको डा.सूर्यराज आचार्यले जानकारी दिनुभयो । कोरियामा आयोजित सेमिनारको बारेमा अनुभव उहाँकै शब्दमा ।
यातायात विकासका कुराहरुमा हरेक देशहरुमा आ–आफ्नै समस्याहरु हुन्छन् । कोरियामा पनि आफ्नै किसिमका समस्याहरु छन् । कोरियाको सब–वेहरुमा जानुभयो भने बिहानको समयमा एकदमै भिड हुने गर्छ । यहाँ ट्राफिक जामहरु पनि अत्यधिक हुने गर्छ । यातायातको क्षेत्रमा यत्रो लगानी गर्दा पनि यहाँ समस्याहरु छन् । कोरियाको थेगु सानो शहरमा पनि वार्षिक १० अर्ब रुपौयाँ सार्वजनिक यातायातमा सिटी अफिसले सब्सिडि दिदो रहेछ । यातायात पूर्वाधार विकासमा कुनै गणितिय शुत्र छैन । यसबाट हामीले पनि पाठ के सिक्न सक्छौ त? कोरियामा योजना बनाउँदा भएका गल्तिहरु हाम्रो विकाशसील देशहरुमा नहोस् भन्ने चाहाना कोरियाको छ । यहाँको सफल योजनाहरु र असफल योजनाहरुबाट हामीले धेरै कुराहरु सिक्न सक्छौं । खासगरी हाम्रो जस्तो देशहरुमा प्राज्ञिक तहमा अध्ययन अनुसन्धानको लागि यहाँको रिसर्च इन्स्टिच्युटहरुको पनि चासो रहेको पाइयो । रिसर्च भनेकै जहाँ समस्याहरु छन् त्यहाँ समस्या समाधानका लागि उपायहरु खोजिन्छ । हाम्रो जस्तो देशहरुमा भएका समस्यालाइ समाधाना गर्नको लागि यहाँका प्राज्ञहरु अध्ययन अनुसन्धान गर्ने विषयमा साझेदारी गर्न चाहेको मैले पाएँ ।
पूर्वाधार विकासमा पैसा भन्दा पनि ज्ञान ठूलो हो । पूर्वाधार विकास भन्ने बित्तिकै विकाशसील देशहरुले विकसित देशमा गएर वैदेशिक सहायता माग्ने प्रवृत्ति छ । खासगरी अध्ययन अनुसन्धान तहमा हुने साझेदारी विन–विनको अवस्थामा हुन्छ ।
१९६० को कोरियाको अवस्था र हाम्रो अवस्था लगभग उस्तै-उस्तै थियो। कोरियाले त्यो समयमा सोल-बुसान राजमार्ग बनाउँदा अहिले हाम्रो देशमा भए जति पनि इन्जिनियरहरु र प्रविधिक क्षमता थिएन। १९७१ मा सोल मेट्रो बनाउँदा अहिलेको काठमाडौं जत्ति धनी यो सहर थिएन। हाम्रो अहिलेको आर्थिक अवस्था भन्दा कोरियाको त्यो बेलाको आर्थिक अवस्था कमजोर थियो । कोरियाले पूँजीको व्यवस्था, आन्तरिक क्षमताको विकास, प्रविधि हस्तान्तरण जस्ता कुराहरु कसरी कुशल रुपमा व्यवस्थापन गर्यो भन्ने कुराहरु हाम्रो लागि एकदमै महत्वपूर्ण विषयहरु हुन । ति कुराहरु हाम्रो लागि निकै उपयोगी हुन्छन् ।
सम्पूर्ण रुपमा यो सेमिनारबाट हामीले लिने ज्ञान नै हो । सरकारी तवरमा गरिने यस किसिमका कार्यक्रमहरुको महत्व आफ्नै ठाउँमा छ भने विज्ञहरुको प्राज्ञिक तहमा गरिने कार्यक्रमको महत्व छुट्टै किसिमको हुन्छ । त्यसैले मैकले मिस गरेको एउटा कुराचाहिं हाम्रो देशका विश्वविद्यालयमा यस किसिमको अध्ययन अनुसन्धानको एकदमै कमि छ । यहाँ मैले सोचेको भन्दा ठूलो संख्यामा नेपाली विद्यार्थीहरु रहेको पाएँ । कोरियाका राम्रा विश्वविद्यालयमा अध्ययन गरेर यहाँ सिकेको सिप, ज्ञान, कोरियाको विकासको अनुभवहरुलाई नेपाली विद्यार्थीहरुले नेपाल फर्केर पुलको रुपमा काम गर्नुहुनेछ भन्ने मेरो विश्वास छ । त्यो पनि हाम्रो लागि ठूलो पूँजीको रुपमा प्रयोग हुन सक्ने सम्भावना मैले देखेको छु ।
कोरियाको यातायातसम्बन्धि सरकारी नीति निर्माणको तहमा पेशागत समाज वा व्यक्तिहरुको ठूलो भुमिका रहेको देखियो । विशुद्ध पेशागत समाजले सरकारको नीति निर्माणलाई विवादरहित ढंगबाट मध्यस्थता गरेर समायोजन गरिदिने काम गरिदिन्छ । किनकी पेशागत समाज भनेको त विज्ञानमा आधारित हुन्छ, अनुसन्धान र वस्तुगत कुराहरुमा आधारित हुन्छ ।  हामीले त सबै पेशागत समाज, संघसस्थाहरुलाइ अनावश्यक राजनीतिकरण गरेर निकम्मा जस्तै बनाएका छौ । त्यसकारण नेपालमा पनि त्यस किसिमका अध्ययन अनुसन्धानका लागि राजनीतिकरण नगरिकन वातावरण बनाएर काम गर्ने हो भने त्यसले सरकारी नीति निर्माणमै ठोस उपलब्धिमुलक भुमिका खेल्न सक्ने देखिन्छ ।
म राजनीति शुरु गर्नुभन्दा निकै अघि देखि नै टोकियोमा काम गर्थे । त्यसबेला देखि नै म अन्तर्राष्ट्रिय ट्रान्सपोर्टेसनको प्राज्ञहरुको सञ्जालमा आवद्ध छु । मेरो त्यो रिसर्चरहरुको नेटवर्कमा पुरानो सम्बन्ध छ । मेरो पार्टीमा पनि म पोलिसी डिपार्टमेन्टको प्रमुख छु । त्यसले गर्दा यस किसिमको छलफल मेरो एक्पोजरले पार्टीलाई पनि प्रत्यक्ष रुपमा फाइदा पुगेको छ । हामी अहिले साझा पार्टीमा हरेक क्षेत्रको नीति निर्माणमा लागेका छौ । अहिले पनि कतिपय नीति निर्माणका कुराहरुमा हाम्रो स्पष्ट दृष्टिकोण छ जुन अन्य ठूला राजनीतिक दलहरुभन्दा फरक छ । हामीले बेला बेलामा ति कुराहरु सार्वजनिक पनि गर्ने गरेका छौं ।
विकास र समृद्धिका कुराहरुमा सरकारले गरेका राम्रा कामहरुलाइ सहयोग गर्ने पार्टीको नीति नै छ । हामी आलोचना मात्र गर्दैनौ । सुझाव र समाधान पनि दिन्छौ । ति कुराहरुका लागि विभिन्न फोरमहरुमा इलेक्ट्रोनिक प्रिन्ट मिडियाहरुका बहसमा पनि म सहभागी भइरहेको हुन्छु । खासगरी पूर्वाधारको क्षेत्रमा भइरहने वौद्धिक बहसहरुको क्रममा पार्टीको पंक्तिभन्दा बाहिर रहेर पनि मैले काम गरिरहेको हुन्छु । सरकारले चाहेको खण्डमा स्वतन्त्र विज्ञको रुपमा वा पार्टीगत दुवै रुपमा पनि सहयोग तयार छु ।

प्रतिक्रियाहरू