उल्लेख्य नेपालीको उपस्थितिमा एनआरएनए कोरियाको नेतृत्व बिशेष कार्यक्रम साझा बहस सम्पन्न

1080

नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको आयोजनामा आगामी सेप्टेम्बर २१ र २२ मा हुन लागेको एनआरएनए दक्षिण कोरियाको सातौं महाधिवेशनका सन्दर्भमा आगामी नेतृत्वका लागि उम्मेदवारहरुसंगको साझा बहस कार्यक्रम सम्पन्न भएको छ । राजधानी सउल स्थित प्रवासी मजदुर युनियनको हलमा आइतबार आयोजित कार्यक्रममा एनआरएनए दक्षिण कोरिया को आगामी महाधिवेशनमा नेतृत्वका लागि बिभिन्न पदहरुका उम्मेदवारहरु, बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायत कोरियामा रहेका आम नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष रंजनराज कुंवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनए दक्षिण कोरियाका अहिले सम्मका सफलता, असफलता र कोरियामा रहेका आम नेपालीहरुको एनआरएनए कोरिया प्रतिको आकर्षण, गुनासो लगायत उम्मेदवारहरुका भावी योजनाहरका बारेमा बहस केन्द्रीत रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष किसन गौतमले एनआरएनए दक्षिण कोरियाले बिगतमा नेपाल र नेपाली समुदायका लागि के कस्ता कामहरु गर्यो र कहा कहा चुक्यो र आगामी नेतृत्वमा आउन चाहने उम्मेदवारहरुसंग बिगतमा नेतृत्वले पुरा गर्न नसकेका कामहरु पुरा गर्न के कस्तो भिजन र योजनाहरु रहेका छन भन्ने कुरा कोरियामा रहेका आम नेपालीहरुको चाँसो को बिषय भएकोले नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले भावी नेतृत्वका उम्मेदवारहरुलाई सर्वसाधारणहरुसंग बहसमा ल्याएको र यो सार्वजनिक बहस सफल र सक्षम नेतृत्व चयनका लागि अमूल्य रहने नेपाल पत्रकार महासंघको बुझाई रहेको बताए ।
कार्यक्रममा वर्तमान अध्यक्ष लक्ष्मी लामा गुरुङले आफ्नो कार्यकालमा भएका कार्यहरु उल्लेख गर्दै एनआरएनए दक्षिण कोरियालाई नयाँ क्षेत्रहरु थपेर क्षेत्रीय अबधारणामा अघि बढाएको र एनआरएनए दक्षिण कोरियालाई दर्ता प्रक्रियामा अघि बढाएको कुरा बताउदै चुनावको बेला मात्र होइन अरु बेलामा पनि सबैले संस्थाको निगरानी राख्नु पर्ने कुरा बताइन । उहाँले एनआरएनएको चुनावको बेला यसो गर्छु उसो गर्छु भनेर उम्मेदवार बनेर चुनाव जितेर आउने र एक दुइटा मिटिङमा आएर त्यसपछि हराउने प्रवृतिले आफूले सोचे जस्तो काम गर्न नसकेको बताउनुभयो । संस्थामा समय दिन सक्ने र जिम्मेवारी बहन गर्न सक्ने व्यक्ति मात्र नेतृत्वमा आउनुस भन्दै एनआरएनए दक्षिण कोरियालाई भोलिको पुस्ताले गर्व गर्न सक्ने खालको बनाउन सफल र सक्षम नेतृत्व चयनका लागि सदस्यता शुल्कमा नबेचिन समेत आग्रह गरिन् ।
कार्यक्रममा आगामी महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका विपिन गुरुङ, यज्ञराज सुवेदी र बुद्धि गुरुङ, वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार दिपक पुन र जीवन कुमार थापा, उपाध्यक्ष पदका उम्मेदवार यदु लामिछाने, ईश्वर रोकाया, सोम बाइबा तामाङ र संजीव राई , महासचिव पदका उम्मेदवार धर्मराज जोशी र बिमलराज सुवेदी, सचिव पदका उम्मेदवार किशोर कोइराला र अभिषेक सापकोटा, कोषाध्यक्ष पदका उम्मेदवार कुसाङ शेर्पा र राजेन्द्र दुलाल र आइसीसी सदस्यका लागि वर्तमान अध्यक्ष लक्ष्मी लामा गुरुङ, ओम जुङ्जालीले आ आफ्ना भनाईहरु राख्दै आफूलाई बिजयी गराउन आफ्नो दावेदारी प्रस्तुत गरेका थिए ।
औपचारिक कार्यक्रम सकिएपछि दोस्रो चरणको  पत्रकारहरु र सर्वसाधारणसंगको अन्तरक्रिया कार्यक्रममा बिशेष गरी अध्यक्ष पदका तीनै जना उम्मेदवार र महासचिव पदका दुई जना उम्मेदवारहरुले सोधिएका प्रश्नहरुको जवाफ दिएका थिए । एनआरएन दक्षिण कोरियालाई लिगल प्रोसेसमा लाने,मजदुर मैत्री बनाउने र सबै नेपालीहरुको साझा संस्थाको रुपमा स्थापित गर्ने कुरामा तीनै जना अध्यक्ष पदका उम्मेदवारहरुको एउटै भनाई रहेको थियो । संस्था र नेपाली समुदायको लागि आफुले दिएको सामाजिक योगदान र आगामी दिनहरुमा संस्थालाई समय दिन सक्ने र सक्षमताका आधारमा मूल्यांकन गरेर आफूहरू मध्येबाट अध्यक्ष छान्ने छुट सबै एनआरएन सदस्यहरुमा रहेको भन्दै अध्यक्ष पदका दावेदार विपिन गुरुङ र बुद्दि गुरुङले आफुले नेपालीहरुका समस्याहरुमा गरेको सहयोग र सामाजिक क्षेत्रमा गरेको योगदान नै आफुहरुको चुनाव जित्ने आधार भएको बताएका थिए । यसैगरी अध्यक्ष पदका अर्का उम्मेदवार यज्ञराज सुवेदीले लामो समयदेखि एनआरएन दक्षिण कोरियाका कार्य गतिविधिहरु नजिकबाट नियाली रहेको र राजधानी सउलमा बस्ने मात्र एनआरएन नभएर कोरिया भरिका नेपाली एनआरएन हुन भन्दै एनआरएनलाई झोले एनआरएन होइन संस्थागत एनआरएन बनाउनका लागि आफू नेतृत्वका लागि अगाडी बढेको बताए । उहाँले नेपाल हाउसलाई सधैं हात थापेर सहयोगदाताको भरमा चलाउन नसकिने भन्दै यसलाई एनआरएन दर्ता भैसकेपछि कोरियन समाज कल्याण मन्त्रालय सित समन्वय गरेर समाज  कल्याण मन्त्रालयको सहयोगमा कोरियामा नेपाली कला तथा सांस्कृतिक केन्द्रको रुपमा सञ्चालन गर्न सकिने अबधारणा राखेका थिए।
यसैगरी महासचिव पदका उम्मेदवार धर्मराज जोशीले अहिले मजदुरका समस्या समाधानमा कोरियामा रहेका नेपाली क्षेत्रीय संघ संस्थाहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै कतिपय अवस्थामा राजदुतावास समेत दुख पिडामा परेका नेपालीहरूलाई क्षेत्रीय संघ संस्थाहरुको जिम्मा लगाएर पन्छिने गरेको दुखेसो गरे । उहाँले राजदुतावास, एनआरएन र नेपाली क्षेत्रीय संघ संस्थाहरु को बीचमा समन्वय गरेर नेपालीहरुका समस्या समाधानमा प्रभावकारी भूमिका खेल्न सकिने बताए । यसैगरी महासचिव पदकै दावेदार बिमलराज सुवेदीले बिगतमा जस्तो चुनाव जितेर आफू नहराउने भन्दै आफ्नो पूरा समय संस्थाका लागि दिन र नेपाल र नेपालीका लागि केही गर्न भनेर आफू एनआरएनमा आउन लागेको बताएका थिए ।
कार्यक्रममा एनआरएनए दक्षिण कोरियाका संरक्षक डा देवी बस्नेत, नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका संरक्षक रुद्र शर्मा तथा पूर्व कोषाध्यक्ष गिरिराज कुवरले आ आफ्ना भनाई राख्दै पत्रकार जगतले परिवेश बदल्न सक्ने क्षमता राख्ने भएकोले यस्ता सार्थक बहसहरुले सामाजिक वस्तु स्थितिको सही संस्लेषण गरी समाजलाईसही दिशामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए । कार्यक्रम पत्रकार महासंघ का महासचिव मिन विकले सञ्चालन गरेका थिए भने सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको वेबसाइट www.fnjkorea.org समेत लान्च गरिएको थियो l।

प्रतिक्रियाहरू