‘मन पनि पोल्यो त्यहाँ, मेरो तन पनि पोल्यो, जान्नँ म अब कोरिया’

1053

सपना आर्मी बन्ने थियो तर शरीरले साथ दिएन। छातीको आकार आवश्यक भन्दा केही साँघुरो भयो र उनी सेकेण्ड लेफ्टिनेन्टको परीक्षामा अघिल्लो चरणका लागि छनोट भएनन्। फुटबलमा ‘गाउँले स्ट्राइकर’ भनेर चिनिन्थे। तर गाउँको मैदानमा खेल्ने उनी सीमित घेरामै रहे, कसैको नजरमा परेनन्।

व्यापार गर्ने मनसाय पनि नबनाएका होइनन्, त्यसमा पनि परिस्थितिले साथ दिएन। त्यतिबेला भर्खर २३ वर्षमा हिँड्दै गरेका कैलालीको गौरीगंगा नगरपालिका बढैपुरका नृपसिंह बस्नेतलाई व्यापारमा लगानी गर्न परिवारले विश्वास गरेन।

गाउँबाट सदरमुकाम धनगढी पढ्न गएका उनको संगत शहरिया साथीसँग हुन थाल्यो। उनका आवश्यकता बढ्दै गए। साथी–संगतीसँग आफ्नो लवाइखवाइ तुलना गर्न थाले। चिया खाजाका लागि पनि सधैँ साथीहरुको भर, आफूसँग पैसा नहुने। उनलाई विरक्त लाग्न थाल्यो।

मनग्य आम्दानी गर्ने चाह मनमा तीव्र र गढिलो बनेर बसेपछि बस्नेत धनगढी छोडेर कोरियन भाषा परीक्षाको तयारीका लागि काठमाडौँ हानिए । तयारी राम्रैसँग गरे, परीक्षा दिए, अनि गाउँ फर्किए।

बारीमा लगाएको तोरी छिन्ने बेला भएको थियो, गाउँले अधिकांश त्यसमै व्यस्त। गाउँको चउरमा फुटबल खेलेर असिनपसिन भएर फर्किँदै थिए, साथीको फोन आयो ‘ओई के भो तेरो रिजल्ट?’ तर नृपसिंहले रिजल्ट आएको थाहा पाएका थिएनन्। रिजल्ट थाहा पाउन साइबर जानुपर्ने (गाउँबाट केही टाढा) उनी भोलि जाने भन्दै आरामसँग सुते।

दोस्रो दिन रिजल्ट हेरेपछि नृपसिंह छाँगाबाट खसेजस्तै भए। कोरियन भाषा परीक्षामा उत्तीर्ण भएका उनी खुशी हुनुभन्दा धेरै तनावग्रस्त बनेको बताउँछन्।

‘अब मैले पनि विदेश जानुपर्ने भयो, मेरो पढाई, सपना, घरपरिवार, मेरो गाउँ, परिवेष सबै छुट्ने भयो, ओहो म पनि विदेशिने भएँ, मेरो पनि हालत विदेशिनुपर्ने हुने भयो’, त्यो क्षण सम्झिँदै नृप भन्छन् ‘निकै हतास, उदास भएको थिएँ, आर्मी बन्ने सपना सम्झेर आँशु झरेको थियो ।’

नृपलाई अब बधाई दिनेको ओइरो लाग्यो, तर उनी अनौठो मान्थे।

किन बधाई दिएका होलान् ? मैले के गरेको छु र बधाई पाउनका लागि ? भन्ने लागिरहन्थ्यो, लगातार बधाई आइरहेपछि बल्ल उनलाई लाग्यो, ‘कोरियालाई त धेरै नेपाली युवाहरुले ‘सपनाको देश’ मान्दा रहेछन्।

कोरियन भाषा परीक्षा उत्तीर्ण भएका साथीहरुसँगको भेट बाक्लिन थाल्यो । सबैले धेरै पैसा कमाई हुन्छ भन्न थालेपछि उनको तनाव केही कम हुँदै गयो । राम्रै देशमा गइरहेको छु कि जस्तो पनि लाग्न थाल्यो।

नतिजा आएको चार महिनापछि भिजा लाग्यो, उनको बिदाईमा घरपरिवारका सदस्यसँगै केही साथीहरु काठमाडौँ आए।

‘देश छोडेर जान थालेको म विमानस्थलमा रुन थालेँ, मेरा साथीहरु पनि उतै आएको भए हुन्थ्यो, सबैजना सँगै बसेर काम गरिन्थ्यो तर अब म एक्लो हुने भएँ भनेर मन अमिलो भएको थियो’, नृप भन्छन् ‘विमानस्थलबाट बिदाई हुदाँको त्यो क्षण साच्चिकै हृदयविदारक हुँदो रहेछ, मन सम्हाल्न नसकिदाे रहेछ।’

तनावहरु मनमा लिएर कोरिया उडेका नृप जहाजको झ्यालबाट बाहिर देखिएका बादलका टुक्राहरु र अकाशका विविध आकृति अनि तल जमिनमा देखिने दृश्यहरुमा भुल्न थाले । तर कोरियाको विमानस्थलमा उत्रेपछि उनको मनमा फेरि चिसो पस्यो । विमानबाट उत्रेर बाहिर झर्न नपाउँदै उनीसहित २५० जना नेपालीलाई बसमा कोचियो ।

‘विमानबाट झरेर बाहिर आँखा लगाउन पाएको थिएनँ हामीहरु सबैलाई बसमा राखेर तालिम केन्द्रमा लगियो’, नृप भन्छन् ‘त्यतिबेला अब मैले बाहिर संसार देख्न नपाउने पो हो कि जस्तो लाग्न थाल्यो ।’

कम्पनीमा काम सुरु गर्नुभन्दा पहिले एक हप्ताको तालिम लिनुपर्दाे रहेछ । तर पहिलो दिन तालिममा गएका नृप दोस्रो दिनदेखि गएनन् ।

‘घरको याद, थकान र तनावले थलिएको थिएँ, तेस्रो दिनसम्म तालिममा नगएपछि प्रशिक्षक नै कोठा ढकढक्याउन पुगे र मलाई तालिममा लगे । त्यसदिन तालिम अन्तर्गतको परीक्षा रहेछ ।’

‘प्रशिक्षकले मलाई सबैभन्दा अघि लगेर लापर्वाही गरेको भन्दै गाली गरे, यस्तै हो भने नेपाल फर्काइदिने धम्की दिए ।’

‘मैले थकित भएको भन्दै माफी मागेँ तर प्रशिक्षकको गाली रोकिएन’, नृप भन्छन् ‘त्यसपछि मैले आफूलाई नेपाल फर्काइदिन आग्रह गरेँ ।’

‘तालिम हलमा एकाएक सन्नाटा छायो, साथीहरु मुखामुख गर्न थाले । केही साथीहरुले सम्झाएपछि मात्रै तालिममा सहभागी हुने अठोट गरेँ ।’ केही दिनपछि कम्पनीमा काम सुरु भयो ।

‘नेपालमा कुनै किसिमको जागिर अथवा काम नगरेको मलाई दैनिक १० देखि १२ घण्टा काम गर्न निकै गाह्रो भयो । तर काम सुरु गरेको पहिलो १४ दिनमा ९६ हजार रकम तलबका रुपमा खातामा आएपछि मन फुरुङ्ग भयो । ओहो काम गाह्रो भए पनि पैसा त धेरै आउँदो रहेछ भन्ने भयो ।

‘मैले काम गर्ने कम्पनीमा चाइनीज र कोरियन बाहेकको विदेशी म मात्रै थिएँ, नेपाली कामदारका रुपमा कम्पनीले पहिलो पटक नै मलाई काममा भर्ना गरेको रहेछ । सुरु–सुरुमा त सबैले माया गरे । सबैसँग सजिलै घुलमिल हुन सक्ने मलाई एक्लोपनको पनि महसुस भएन’, नृप भन्छन्, ‘तर समय बित्दै जाँदा कोरियन कामदारले निकै हेप्न थाले।’

कोरियनहरुले गर्ने गालीले असह्य हुन थाल्यो । नेपालीहरुलाई उनीहरु गधाका रुपमा हेर्छन् विदेशी भूमिमा धन कमाउन गएको मलाई यो कुराले साह्रै पोल्यो । भोलि नै नेपाल फर्किन्छु जस्तो पनि लाग्न थाल्यो । तर जब मासिक रुपमा तलब खातामा चढ्थ्यो ती सबै दुःखहरु हराएर जान्थे । काम गरिरहँदा निधारबाट तरक्क पसिना चुहिए पनि तलबकै याद आएर थकानको महसुस कम हुन्थ्यो। जति धेरै काम गर्‍यो त्यति धेरै मालिकले माया गर्ने तर लोकल कामदारले अत्यधिक पीडा दिने ।

लोकल कामदारले हेप्न थालेपछि नृपले तीन वर्षपछि कम्पनी परिवर्तन गरे । तर नयाँ कम्पनीमा  पनि उस्तै ।

‘कोरियनहरु नेपालीहरुलाई गधा भन्थे, गधाकै व्यवहार गर्थे, नेपालमा काम नपाएर यिनिहरु यहाँ आएका हुन् जति सक्दो काममा पेलाउनुपर्छ, जतिसक्दो अप्ठ्यारो काममा लगाउनुपर्छ भन्ने उनीहरुको मानसिकता थियो । त्यो बेला कोरिया पुगेका नेपालीहरु भन्दा पनि समग्र नेपाली र नेपालकै अपमान भएको आभाष मलाई हुन्थ्यो ।’

अर्थतन्त्रमा अब्बल बनेको कोरियामा कामलाई पूजा गर्ने परिपाटी भने आफूलाई ठीक लागेको नृप बताउँछन् । त्यहाँ कामलाई पूजा गर्ने चलन छ मान्छेको अथवा भगवानको पूजा भन्दा पनि कामलाई पूजा गर्ने पद्धतिले होला कोरियाको अर्थतन्त्र बलियो बनेको छ तर मानसिक र व्यवहारिक रुपमा भने उनीहरु कमजोर रहेको नृप बताउँछन् ।

‘सानो गल्ती भए पनि नराम्रोसँग गाली गर्ने उनीहरुको बानी हुन्छ । भाषा नबुझिएपनि कुन हदसम्मको गाली गरेको होला भन्ने कुरा उनीहरुको अनुहारबाट प्रष्ट हुन्थ्यो’ नृप भन्छन्’, ‘मैले दोस्रो पटक कोरिया नफर्कने अठोट उतै रहँदा गरिसकेको थिएँ ।’

कोरियामा रहँदा नृपलाई सबैभन्दा पीडादायक क्षण भनेको श्रीमती गभर्वती हुँदा थियो । गर्भमा सन्तान हुर्काउँदा र सुत्केरी व्यथाको पीडामा रहेकी श्रीमतीलाई श्रीमानको सबैभन्दा धेरै साथ चाहिने कुरा उनले बुझेका थिए ।

‘तर परदेशी जिन्दगीले मैले त्यो साथ श्रीमतीलाई दिन सकिनँ, धेरै दुःख लाग्छ, श्रीमती प्रशव पीडामा रहँदा पनि म कोरियामा कम्पनीको काममै थिएँ’, नृप भन्छन् ‘असह्य भएपछि बिदा लिएर कोठामा एक्लै बसेँ तर अहँ मनको बेदना कम भएन, लाग्थ्यो मेरो श्रीमतीले मलाई के सोचिरहेकी होलिन्?’

पाँच वर्षे कोरिया बसाईका क्रममा आर्जित धनले नृपले गाउँमै पक्की घर बनाउने बुवाआमाको सपना पूरा गरे । आफ्नो विवाहको खर्च आफै जोडे । घरपरिवारलाई आवश्यक खर्च दिए ।

बचेको केही रकमले व्यापार गर्ने सोच अनुसार हाल काठमाडौँको गोंगबुमा नृपले गेष्ट हाउस सञ्चालन गरेका छन् । ‘पाँच महिना भयो गेष्ट हाउस सञ्चालन गरेको, सन्तुष्ट छु, परिवारसँग बसेर काम गरिरहँदा आनन्दको महसुस भइरहेको छ’, उनी भन्छन् ।

शनिबार दिउँसो नृपले सञ्चालन गरेको होटल यानमा पुग्दा उनी ग्राहकलाई खाना दिइरहेका थिए, आफै टेबलहरु सफा गरिरहेका थिए ।

‘कतिले भन्छन्, होटलको साहु भएर पनि आफै झाडु लगाउने यो त अलि सुहाएन नि, तर मलाई त्यो कुराले कुनै फरक पर्दैन, कामको पूजा गर्नुपर्छ भन्ने कुरा मैले कोरियाबाट सिकेर आएको छु’, नृप भन्छन् ।

विदेशमा गएर गर्ने मेहनतको १० प्रतिशत मात्रै पनि नेपालमै गर्ने हो भने मुलुक समृद्ध हुन समय नलाग्ने नृपको अनुभव छ । ‘कोरियामा हजारौँ जोशिला युवाहरु श्रम गरिरहेको देख्दा मलाई देशको अवस्था देखेर टिठ लाग्छ’, नृप भन्छन् ‘ती युवाहरुलाई सरकारले स्वदेशमै रोजगार दिन सके प्यारो नेपाल स्वर्ग जस्तै हुने थियो ।’

नृपले चाहेमा उनी दोस्रो पटक पनि कोरिया जान सक्छन् । त्यसका लागि कम्प्युटरबाट दिइने परीक्षा दिनुपर्छ जुन उनी सजिलै पास गर्न सक्ने बताउँछन्। ‘तर म अब कोरिया जान्न, त्यहाँ नेपालीलाई गधा भन्छन् म मेरै देशमा केही गर्छु’, उनले भने ।

कोरिया अथवा विदेशबाट हुने कमाइलाई नृप ट्याङ्करको पानीको संज्ञा दिन्छन् जुन प्रयोगपछि रित्तिन्छ ।

‘विदेशको कमाइ ट्याङ्करको पानी हो तर स्वदेशमै इलम गर्नु मूलको पानी जस्तै हो, मुल कहिल्यै रित्तिदैन, ट्याङ्कर छिनभरमै रित्तिन्छ’, नृपले भने ।

यहि सोच राखेर खोलिएको गेष्ट हाउसमा हाल श्रीमती दुर्गाले पनि नृपलाई साथ दिएकी छन् । दुवै मिलेर हाँसीखुशी काम गरिरहेका उनीहरुका सन्तानका रुपमा एक छोरा छन् ।

नृपसिंह बस्नेत

कोरिया गएको एक वर्षपछि स्वदेश फर्केका नृपले त्यही बेलै विवाह गरेका थिए । विवाह गरेको केही दिनमै फेरि कोरिया उडेका उनी हेमन्त रानाको चालिस कटेसी रमाउँदा बोलको गीत पटक पटक सुन्थे । कोरियामा साथीहरुसँग जमघट हुँदा त्यही गीत आफै गाएर मोबाइलमा रेकर्ड गरी श्रीमतीलाई पठाउथेँ ।

श्रीमतीको मोवाइलमा सुरक्षित उक्त क्लिप अहिले सँगै बसेर सुन्दा र हेर्दा मन रोमाञ्चक बन्ने गरेको नृपले सुनाए ।

– देश संचार

प्रतिक्रियाहरू