कालो मान्छे ,पहेलो ज्याकेट, निलो स्टिकर

1594

खासमा केहि दिन अगाडिको बेमौसमी झरीमा एकछिन रुझियो ।त्यही दिन देखि हल्का रुघा लाग्ने, सामान्य खोकी लाग्ने,घाँटी खस खस गर्ने भो । कोरोनाको यस्तो बिगबिगीमा मनमा थोरै त्रास जस्तो उत्पन्न भए पनि पानीमा रुझेर हो कोरोना भन्ने जिनिस हैन भन्नेमा शतप्रतिशत ढुक्क थिए । तैपनी बिहानै अस्पताल गए ।

अस्पताल यति जिम्मेवार र सुरक्षित कि बर्णन गरि साध्य छैन । पुग्ने बित्तिकै मुल गेट बन्द गरेर बाहिरै टेण्ट टासेर बसेका सुन्दरी स्वास्थ्यकर्मी युबतीले के समस्या छ भनेर सोधे । सिधा साधा बताए – हल्का रुघा-खोकी लागेको छ,थोरै घाँटी दुखेको छ । त्यति सुनाए पछि उनिहरुको चेहेरा को रङ्ग अलिक उड्यो । अनुहारको माक्स अलिक मजाले मिलाएर लगाए । मेरो शरिरमा यसो दायाँ बायाँ स्प्रे छर्किदै फाराममा विवरण भर्न लागे । त्यति गरे पछि एउटी युबतीले सांकेतिक साइरन बजाएर भित्र बाट चिकित्सक बोलाइन।

पुरै शरीर सेता कपडाले छोपिएका तीन जना चिकित्सक आएर फेरी उहीँ प्रश्न दोहोर्याएर सोधपुछ गरे । मैले पनि माथिकै समस्याको उत्तर दोहोर्याए । त्यति बताएपछि मलाइ कुनै रेडकर्नर नोटिस जारी पश्चात् समातेर सफलता पाएको कुख्यात सन्दिग्ध ब्यक्ती झै हाइ अलर्ट गर्न लागे । मानौ, अब त्यत्रो ठूलो अस्पताल को सम्पूर्ण श्रोत ,शक्ति म तिर नै केन्द्रित हुँदै छ । म ढुक्क थिए कुनै चिन्ता थिएन ।तर उनिहरुको त्यो तयारी,तादरुकता ,चासो र जिम्मेवारी देख्दा त्यो अबधिभर साच्चै नतमस्तक बनिरहे ।

शिर देखि पाउ सम्म सेता कपडा ले बेरिएका चिकित्सक मध्य हत्तपत्त कोहि रगत झिक्न लागे,कोहि ज्वरो नाप्न लागे ,कोहि प्रेसर नाप्न थाले , कोहि दाया बायाँ स्प्रे छर्कन लागे ,कोहि अन्य समस्याहरु सोध्न लागे । रगत को रिपोर्ट मोटामोटी १० मिनेटमै आयो । सामान्य आउनु थियो ,सामान्य आएछ ।अनि बल्ल उपचार कक्ष भित्र लगियो । उपचार कक्षमा मलाइ निकै पटक उपचार गरिसकेका राम्रै परिचित चिकित्सक थिए । कतिसम्म भने उनीसग एकपटक सगै बसेर गिलास ठोक्काएर मज्जाले रक्सी पिउने अबसर समेत मिलेको थियो । रगतको रिपोर्ट सामान्य भनेर आइसकेकै थियो । त्यसमा उनले अरु थप केहि जाचेर एक हप्ता औषधि सेवन गरे सबै ठिक हुने सुझाब सहित प्रेस्क्रीप्सन थमाए । साथै अस्पतालको कुनै प्रयोजनका लागी हुन सक्छ मेरो ज्याकेटमा निलो स्टिकर टासेर एउटा सामुहिक तस्बिर खिच्दै बाहिर निस्कन अनुमती दिए । बाहिर निस्कने बेलामा मैले मुस्काउदै सोधे – डाक्टर साब सामान्य रुपमा आएको बिरामी माथी यत्रो यातना किन ? उनले भने – ‘सरी’ यो हाम्रो जिम्मेवारी हो ,यो हाम्रो ड्युटी हो ।

बाहिर निस्कदा मनमनै पशुपतिनाथ लाइ सम्झे – सबै नागरिकले आ-आफ्नो जिम्मेवारी अनुसार यसरी बहन गरे देश यस्तै बन्न कति नै समय लाग्थ्यो होला र । तर यस्ता अधिकाम्श जिम्मेवारी जति सबै तिम्रो काधमा थुपार्दा तिमिलाई पनि कति गार्हो भएको होला है ?

प्रतिक्रियाहरू