कोरियामा कोरोना सन्त्रास

1604

गाउँघर, सहर बजार, चोक गल्ली अङ्कित समाज भयाभह छ? या छैन? थाहा छैन। तर सामाजिक सञ्जालरूपी समाज अत्यन्त्रै भयाभहको पनि अन्तिम कष्टकर स्थितिमा गुज्रिरहेछ। छिनछिनमा तातिरहेछ। त्यहीँ तातिरहेको परिस्थितिमा मानिसहरूको मनस्थिति चिसिरहेछ। धमिलिरहेछ। निरासिरहेछ।

च्याउँजस्तै उम्रिएका अनलाइन र युटुबे भाइरसहरूले मानिसभित्रको डर, त्रास र निराशा दिन दुई गुना रात चार गुनाका दरले ह्वात्तै बढाएका छन्। कोही डरत्रास फैलाइरहेका छन् त कोही आफैं चिकित्सक बनेर औषधोपचारविधि सिकाइ रहेका छन्।

सामाजिक सञ्जालमा देखापरेको भयाभह स्थितिलाई पछ्याउँदै सहरको भयाभह स्थितिको भयाभह रूप हेर्न इच्छा जाग्यो- कोरोना बाँचिरहेको सहरको र मानिसहरूलाई सताइरहेको सहरको।

गत शनिबारको साँझ। रफ्तारमा थिएँ। अफिसबाट रूम र रूमबाट सउल एक फन्को लगाउन।

जेब्राक्रस अलि टाढै थियो। बिना जेब्राक्रसमै कुदें। पूर्वबाट रफ्तारमा गुडेर आइरहेको विकासे कारले जोडले हर्न बजायो। सायद मेरो हतार देखेर होला! कुदेरै जेबीमार्टको गल्ली हुँदै ब्लुथेक अपार्टको फेदमा पुगें।

नवौं तलामा एउटा रूम छ।

अपार्टमेन्टको लिफ्टमै ‘कोरोनाभाइसले आक्रमण गरेपछि अस्पतालमा भर्ना भएकी महिलाको अवस्था दयनीय छ’ शुक्रबार साँझको अपडेट टिभी समाचार थियो।

म झसंग भएँ। तर्सिएँ र तर्किए। अपार्टमेन्टको लिफ्ट चढ्ने बटम थिच्न ज्याकेटको गोजीमा हातका औंला राखेर लिफ्टको बटम थिच्ने प्रयास गरें। गोजीमा डटपेन रहेछ। डटपेनको सहायताले लिफ्टको बटम थिचें। कसेर मास्क लगाएँ। औंला गोजीमा लुकाएँ।

लिफ्ट खुल्यो। पुनः डटपेनकै सहायताले लिफ्टको ढोका लगाएँ। लिफ्ट उक्ल्यो आकाशतर्फ।

मोबाइलमा काकावमेफ एप अन गरें। स्थानीय क्षेत्रमा गुड्ने लोकल बसको समयतालिका हेरें। नौ मिनटभित्रमा बस आउँदै रहेछ। म चढ्नुपर्ने स्टेसन पुग्न तीनदेखि चार मिनट लाग्छ।

हतारहतार ड्रेस चेञ्ज गरें। पाइन्टको पछाडिको दाहिने गोजीमा एटिएम कार्ड, र आइडीकार्ड छिराएँ। मोबाइल चार्जर र हेडसेट ज्याकेटको गोजीमा राखें र कुदें उही रफ्तारमा। उहीँ बाटो हुँदै बस स्टेसन पुगें।

जहाँ, एक जमात मास्कधारीहरू प्रतीक्षारत छन् बसको। उनीहरू व्यग्र हतारमा देखिन्थे। घरि टिभी स्क्रिनमा हेर्थे त घरी बसको रुटमा।

लुकीलुकी उनीहरूको अनुहार चिहाएँ।

प्राय: सबैको आँखा मोबाइलमै। मौन छन्। निराश छन्। डरले भयाभित छन्। सर्तक पनि छन्। लाग्यो उनीहरू भाइरसको अपडेट हेर्दैछन्।

बस स्टेशनमा राखिएको टिभी स्किनसँगै जडित माइकबाट महिला आवाजमा गुञ्जियो-  बस नं. ७९ आउँदैछ। प्रतीक्षा गर्नुहोस्।

नेभेगिसन् टिभी स्क्रिनमा बस आएको संकेतसंगै बस आयो।

बस रोकियो। मास्कवाला चालकले स्टेरिङ सिटबाटै दुबै ढोका खोलिदिए। अगाडिबाट चढ्ने र पछाडिबाट झर्ने।

यात्रुहरू लाइनै बसभित्र उक्लिए। चालकले शिर निहुँराएर सबै यात्रुलाई अभिवादन गर्यो। यात्रुले पनि अभिवादन फर्काउँदै बसको ढोकानेरै राखिएको कार्ड रिडरमा टिमनी कार्ड (विशेष मेसिनबाट पैसा राखेपछि बस, रेल र ट्याक्सीको भाडा तिर्न मिल्ने) टसाउँदै पछाडि पछाडि सरे। वृद्धवृद्धा, अपांग र गर्भवती महिलाहरूका लागि आरक्षण गरिएका सिट खाली थिए। तर यात्रुहरू उभिएरै यात्रा गरिरहे।

मास्क नलगाएका कोही छैनन्। कोही एक  र एकअर्कासँग बोल्दैनन्। बोल्नेको त कुरै छौडौं हेर्दा पनि हेर्दैनन्। हेर्दैमा त सर्दैन भन्ने थाहा हुँदाहुँदै पनि कसैले हेर्दैनन्। सबै आफ्नै धुनमा मौन र मोबाइलमा व्यस्त।

टिभी स्क्रिनमा आगामी स्टेसनको नाम दिइरहेको थियो- स्टेशन रेल।

अधिकाशं यात्रु यहीँ स्टेशनमा झरे। यहाँबाट छुट्ने मोनोरेल कम्प्युटरचालित हो। जहाँ चालक हुँदैन। एक जना निरीक्षक चालक हुन्छ। प्रतिमिनट एक सय पचासदेखि दुई सय किमीको गतिमा गुड्ने रेलका स्टेशन दुईदुई मिनटको फेरमा छन्। यहाँबाट अन्य रेल परिवर्तन गर्न पनि मिल्छ।

इन्छन् विमानस्थलदेखि सउल स्टेशनको एक्सप्रेस रेल खमाम स्टेशनमा आउँदैछ। म त्यहीँ रेल चढ्ने र सिधै सउल पुग्ने सोच बनाई रेल परिवर्तन गरें।

 

कोरियामा कोरोनाको पहिलो लक्षण देखिएको सहर हो थेगु।कोरोना लागेकामध्ये नब्बे प्रतिशत बिरामी त्यहाँ छन् र निधन हुनेहरू पनि। त्यो प्रान्त अत्यन्तै निराशामा,शोक अनि त्रासमय छ। मन त थियो त्यहाँको गतिविधि राम्ररी नियाल्ने तर समय अभाव भयो।

दोस्रोमा कोरोनाले धेरैलाई सताएको सहर हो- राजधानी सउल। जहाँका लागि म हिँडिरहेछु।

साथीहरू म जान लागेको देखेर डराइरेहका थिए मलाई नजान सुझाव दिइरहेका थिए। तर म निश्चिन्त, निस्फिक्री रूपमा हिँडिरहेकी छु,बिना भय।

रेल परिवर्तन गर्ने स्टेशन भित्रैको बाटोमा छु। जहाँ कोरोना भाइरस जाँच गर्ने स्वचालित मेसिन राखिएको छ। जुन, मेसिनमा जोडिएको हेल्थ सेन्सरले सय मिटर वरपर कोरोनाको लक्षण भएको मानिसलाई पत्ता लगाउन सक्छ। मेसिनप्रति कर्के नजर लगाउँदै मानिस आवतजावत गरिरहेछन्।

सबैले मास्क लगाइरहेका छन्। प्राय:ले सेता, नीला, पहेँला र काला रङका मास्क लगाइरहेका छन्। हातमा मोबाइल र कानमा एयरफोन घुसाएका छन्। सबै आआफ्नै धुनमा।

सउल जाने रेलको प्रतीक्षामा थिएँ। इन्छन विमानस्थलबाट सउल जाने रेल आउनु पर्ने थियो। रेल आउञ्जेल म मानिसहरूको मनस्थिति बुझ्ने कोशिस गर्दै थिएँ। स्टेशनको पूर्वपश्चिम गर्दै थिए।

मान्छे ठोक्किएर ढल्ला तर आँखा कसैसँग जुध्दैन। लाग्छ, कतिबेला भाइरस कसको आँखामा गाडिन्छ। कसको नाकबाट छिर्छ। कसको हत्केलामा टासिन्छ। तर कसैलाई अत्रोपत्रो छैन।

मलाई लागेको थियो। सामाजिक सञ्जालमा जे देखिरेहको थिएँ सब झूट हुन्। सबै झूट होइन रहेछ। बाहिरको वातावरण पनि त्रासमै रहेछ। तर जति सामाजिक सञ्जालमा छ त्यति पटक्कै छैन।

रेलको प्रत्येक डिब्बाका छेउछेउ हुने असक्त वृद्धवृद्धाका लागि राखिएका बाह्रसिट र बीचबीचमा हुने गर्भवती महिलाका लागि राखिएका सिट एकाध खाली थिए। अन्य पूरै भिड। निस्कने निस्किरहे, चढ्ने चढिरहे। तर मास्कविहीन कोही छैनन्।

रेल गुड्यो। डिब्बामा बसिरहेका र उभिइरहेका अधिकांश मोबाइलमा व्यस्त देखिन्थे। विमानस्थलबाट छुट्ने रेलमा विदेशमा गएका र आएका धेरै हुन्छन्। उनीहरूसँगै कोरोना नआएका होलान् भन्न सकिँदैन। मैले पनि मास्कका डोरीलाई टाइट गरें।

किम्फो इन्टरनेसनल विमानस्थलको जमिनमुनिको स्टेशनमा रेल रोकियो।

घरबाट आफन्तहरूको तारन्तर फोन आइरहेको थियो।

‘कोरियामा कोरोनाले मानिसहरू मरेका मरै छन्। छिटो घर फिर्ता आऊ।’

म उल्टै सान्त्वना दिइरहेको छु उहाँहरूलाई।

कोरोनाकै कारण निधन हुने ९५ प्रतिशत वृद्धवृद्धा भएको सन्चार माध्यमहरूले फुकिरहेका छन्।

रेलमा चढ्ने र झर्ने क्रम जारी थियो।

रेल अन्डरग्राउण्डमै कुदिरहेको छ रफ्तारमा। तर लाग्छ, रेलको गतिभन्दा तीव्र गतिमा मान्छेहरूको मन कुदिरहेको छ। उनीहरू छिट्टै घर पुगेर स्वयंम क्वारेन्टाइनमा बस्न आतुर छन्।

हामी यात्रारत रेल किम्फो विमानस्थल हुँदै मागुकनारु, डिजिटल मिडियासिटी, हुदेइप्गु, खुदक र सउल स्टेसनको नौतलामुनिको लिगमा पुगिएर रोकियो। यात्रुहरू सबै निस्किए र आआफ्नो गन्तव्यतर्फ लागे।

 

जमिनबाट नौ तलामुनि, व्यवस्थित रेलमार्ग। वृद्धवृद्धाका लागि लिफ्ट। अन्यका लागि एलिभेटर र सिमेण्टी सिडी। बीचबीचमा ट्वान्टीफोआवर पसल (जहाँ प्याकिङ खानाका साथै अन्य खाजा, पानी र अन्य जुस पदार्थहरु किनेर खान सकिन्छ।)

जमिनमुनिबाट करिब आठ मिनेट एलिभेटरमा हिँडेर म जमिनमुनिकै अर्को लोकल रेल चढ्ने ठाउँतिर लागें।

छल्लानाम्दो सिन्सानबाट खेङिगदोको सोयोसान जानका लागि आइरहेको एक नम्बर रेललाइन चढेर दोङ्देमुन (जुन ठाउँ नेपालीहरूको लागि कोरियाका विशेष चाडपर्वमा जमघट हुने सिटी हो।) त्यहाँ पुग्ने सोच बनाई रेल परिवर्तन गरें।

मास्क नै मास्क लगाएकाले रेल खचाखच थियो। भाइरसको डर सबैमा छ। डर सबैमा छ। वा डरभन्दा सतर्कता कि! डिब्बा मौन छ।सबको कानमा इयरफोन।

एकअर्कामा बोल्न त परै जाओस् हेर्न पनि नहेर्नेहरू यसपालि भने सबैको ध्यान ममा थियो। सबैले मतिर आँखा तेर्साए। मलाई हाँछ्यू आएको थियो। नाकभित्रको रौं नाक र मुख जोड्ने प्वालमा अड्केर।

उनीहरूलाई लागेको होला- यसमा पक्कै कोरोनाका लक्षण छन्। उनीहरूले छड्के आँखाले हेर्दै मास्क कसेर लगाए। उनीहरू बेस्सरी हतासिएका थिए। मानौं यसरी हतासिए कि गुडिरहेको रेल रोकेर कुद्न चाहें। भाग्न चाहेँ। तर, मन कुदाए पनि रेल रोकिएन भए पो। कुनै भैपरी नआएसम्म स्टेसनबेगर रोकिँदैन पनि।

ट्रेनमा स्टेसनका नाम मात्र होइन समाचारका हाइलाइट, मौसमको जानकारी, कोरोनाका लक्षण, बच्ने उपाय र परामर्शका लागि नम्बरलगायतका जानकारी दिइरहेको थियो।

 

रेलको नेभिगेसन टिभीमा दोङ्देमुन आएको मौखिक र अक्षरांश जानकारीसँगै रेल रोकियो।

बसको भाडारिडर मेसिनमा सवारीकार्ड टसाएर यात्रा सुरूआत गरेको मैले रेलबाट उत्रदा पुनः टसाएँ। किलोमिटर अनुसार न्युनतम् भाडामा केही रकम थपेर काट्यो। तीन नम्बर गेटबाट निस्किँदा रातको साढे आठ भएको थियो। मौसम एक डिग्री।

पहिला पहिला आधा रातसम्म जाग्राम रहने यो सिटी अहिले सुनसान छ। सवारी साधन कम गुडिरहेका छन्। नेपालीहरूले व्यापार, व्यावसाय गर्ने ठाउँ, रेमिट बैंक र हुण्डी कारोबार गर्ने इलाका, नेपाली युवा गन्थनमन्थन गर्न भेटिने हब।

एक फन्को लगाइ जुङ्रोतर्फ लागेँ। सुनको सहर-कोरियाको प्राचीन सहर।

रातभर ननिदाउने त्यो सहर पनि आधाउधी निदाइसकेछ।

रातको दस बज्दै थियो। कोरियन रेष्टुराँमा छिरें। दुई जना कामदार पाहुना कुरेर बसेका थिए। हत्तपत्त उनीहरूको अनुहारमा मुस्कान छायो। मलाई स्वागत गरे। मैले खाना मगाएँ। तर, पाक्न समय लाग्ने भएपछि निस्किएँ र अर्कोमा पसें। त्यहाँ पनि उस्तै सुनसान।

‘सहरमा हिजोआज खाना खाने पाहुना निकै कम आउँछन्। खासै परिकार पनि पाक्दैनन्। सहर शून्य छ। चोक-चोकमा साँझ गुञ्जिदैनन्। घुमन्तेहरू आउँदैनन्’, रेष्टुराँ मालिकले दुखेसो पोखे।

निकैबेरको भलाकुसारीसँगै उनले मलाई एक बटुका मिएक खुक (समुन्द्रीसागको सुप) भात र  केही किम्ची दिएँ। कुरा गर्दै खाना खाएँ र साहुलाई धन्यवाद दिँदै रेष्टुराँबाट बाहिरिएँ।

रातको ११ बज्न केही मिनेट बाँकी थियो। एकाध मानिसहरू मात्र हिँडडुल गरिरहेका थिए। केही निजी र केही सार्वजानिक सवारीमा सवार थिए।

गुडिरहेको ट्याक्सीलाई हात उठाएँ। रोक्न संकेत दिएँ। ट्याक्सी रोकियो। चालक पनि मास्कमा र म पनि।

मास्कभित्रैबाट मैले खाङ्वामुनसम्म पुर्याइदिन अनुरोध गरेँ।

 

उनले ट्याक्सीलाई युटर्न गरे र खाङ्वामुनतर्फ स्टेरिङ तेर्साए।

बाटो अवधिभर दुबै मौन थियौं हामी। ओर्लने ठाउँ आयो।कार्ड दिएँ। उनले भाडा रिडर मेसिनमा कार्ड छिराए,लागेको पैसा काटे। तर मैले धन्यवाद पनि भन्न नपाउँदै ट्याक्सी यसरी हुँकाए कि मानौं उनलाई कही जान हतार थियो।

सेजोङ्रो खाङ्वामुन मध्यसउल।

कहीँ पनि अँध्यारो नरहेको सडकमा कुद्नेहरूको मन भने अँध्यारो भएको छ। मानिसहरू एकाध हिँडिरहेछन्। खासै चहलपहल छैन। सून्यप्रायः छ। कोरियामा शान्तिपूर्ण होस् या अशान्तिपूर्ण आन्दोलन धर्ना दिने ठाउँ हो यो।

यहाँका केही सडक र चोक हिँड्दाहिँड्दै रातको एक बज्यो। भाइरसले नभेट्याइहाले पनि भेट्याएजस्तै थकित भएको म नजिकैको मोथेल (होटल) तर्फ लागेँ।

डर अन्धविश्वासको जड हो। अज्ञानाताको छाया हो। डरसँग डराउने होइन, जुधौं। अनावश्यक डरलाई मनबाट हटाऔं। खानपान र सरसफाइमा ध्यान पुर्‍याऔं र स्वस्थ जीवन बाँचौं।

सरसफाइमा ध्यान पुर्याउँ। धेरै मानिसहरू जमघट हुने ठाउँहरूमा नजाऔं। मास्क लगाएर यात्रा गरौं। खोक्दा वा हाँछ्यू गर्दा अरुलाई नपर्ने तरिकाले नाकमुख छोपेर गरौं। बाहिर गएर घर फर्केपछि हातमुख साबुनपानीले धोऔं। स्वास्थको ख्याल गरौं। र संक्रमणको शंका लागेमा तत्काल परामर्श लिउँ। अस्पताल जाऔं।

कोरियामा हालसम्म नेपालीहरू संक्रमित नभएको पाइएको छ। शनिबार बिहानसम्म कोरियामा कम्तीमा एक सय जनाको मृत्यु भएको छ। नयाँ संक्रमित १४७ जना थपिएका छन्। योसँगै कोरियामा कोरोना संक्रमित संख्या ८ हजार ७ सय ९९ पुगेका छन्।

प्रतिक्रियाहरू